भर्खरै :

शिक्षकहरू प्रविधिमैत्री बन्नुपर्नेमा जोड

शिक्षकहरू प्रविधिमैत्री बन्नुपर्नेमा जोड

भक्तपुर, १० साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगरपालिका वडा नं. ७ एकाइ समितिको आयोजनामा बिहीबार शिक्षक भेला भयो ।
भेलामा वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले शिक्षकहरू सामाजिक कार्यकर्ता मात्र नभई सामाजिक डाक्टर बन्नुपर्ने धारणा राख्नुभयो । शिक्षकहरू प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिँदै सांसद गोसाईले घर अफिस, अफिस घर गरेर शिक्षकहरूले आफ्नो सामाजिक दायित्व पूरा गर्न नसक्ने बताउनुभयो । उहाँले शिक्षकहरू अनुसन्धानकर्ता बन्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय समाज, टोल र ठाउँमै सोधखोज तथा अनुसन्धान गर्दै मौलिक ज्ञान, सीप र दक्षताको विकास गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
शिक्षकहरूले देश र जनताको लागि बौद्धिक योगदान गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले राजनीतिक बदला भाव राख्नेहरू र शिक्षाविरोधीहरू मिलेर ख्वप विश्वविद्यालय विधेयक फिर्ता पठाएको बताउँदै त्यस्तो शिक्षाविरोधी सरकारको क्रियाकलापप्रति आपत्ति जनाउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा गरेका गतिविधिहरू जानकारी गराउँदै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अझै वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षक सरुवासम्बन्धी निर्देशिका–२०८१ जारी गरेर शिक्षक सरुवा झन् जटिल र अव्यवहारिक बनाएको कारणले त्यसविरुद्ध शिक्षकहरूले आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आदर्श आजाद मा.वि./कलेजका प्राचार्य श्रीकृष्ण किसीले शिक्षकहरूमा पठन संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिँदै निरन्तर अपडेट भइराख्नुपर्ने विचार राख्नुभयो ।
समितिका उपाध्यक्ष शोभालक्ष्मी गोसाईको सभापतित्वमा सम्पन्न सो भेलामा नेपाल मजदुर किसान पार्टी भ.न.पा. ७ एकाइ समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु, सदस्यहरू प्रकाश गोसाई र राकेश सुकुपायोले पनि आ–आफ्नो विचार राख्नुभयो ।
सो भेलाले प्रकाश गोसाईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *