त्यो भदौ २४ र यो भदौ २४
- भाद्र २२, २०८३
भक्तपुर, २३ भदौ । रसुवा–भोटेकोसी बाढीबारे प्रस्ट पार्ने ध्येयले ‘मजदुर’ दैनिकको आयोजना र ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको सहआयोजनामा कलेजको सभाहलमा ‘नेपालमा भूप्रकोपका आयामहरू’ विषयक जानकारीमूलक प्रस्तुति कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य योगेन्द्रमान बिजुक्छँेले जलवायु परिवर्तन र जलवायु न्यायसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धि र अभिसन्धिहरूबारे जानकारी दिँदै जलवायु परिवर्तन र विपद्का निम्ति बढी कार्वन निष्काशित गर्ने संरा अमेरिकालगायत पश्चिमा देशका शासकहरू आफ्नो उत्तरदायित्व पूरा गर्न तयार छैनन् भन्नुभयो ।
उहाँले नेपालजस्ता नगण्य कार्वन उत्सर्जन गर्ने विकासशील देशहरू जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का सिकार भइरहेको बताउँदै तापमान वृद्धि र जलवायु परिवर्तनलाई ढिलो गर्न जनताले ठुला र बढी कार्वन उत्सर्जन गर्ने देशका शासकहरूमाथि दबाब सिर्जना गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा रसुवा बाढी र जलवायु परिवर्तन विषयक प्रस्तुतीकरण गर्दै ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले भदौ १० गतेको बाढी विशाल हिमचट्टान टुक्रेर बगेर भएको अध्ययनले पुष्टि भइसकेको र त्यस घटनामा वैश्विक तापमान वृद्धि कारक रहेको बताउनुभयो ।
वैश्विक तापमान वृद्धि र जलवायु परिवर्तनमा युद्धले पनि ठुलो योगदान गरिरहेको अध्ययनले पुष्टि गरेको बताउँदै अनावश्यक युद्ध हुन नदिनु र युद्धको विरोध गर्नु पनि जलवायु परिवर्तन ढिलो गर्नका निम्ति योगदान गर्नु हुन्छ भन्नुभयो ।
कार्यक्रममा भूगर्भविद् डा. सुवेगमान बिजुक्छेँले ‘हिमाल र भूप्रकोप’ विषयक प्रस्तुतीकरण राख्दै नेपालको भूबनोटका कारण नै भूकम्प, भूक्षय, हिमपहिरो, बाढी र पहिरो नियमित भइरहने हुनाले जनधनको क्षति कम गर्न तिनको सामना गर्ने तयारी समयमै गर्नु जरूरी छ भन्नुभयो ।
उहाँले गाउँबस्ती र सहर बसाउन त्यस स्थानको भूस्थिति र भूगर्भको अध्ययन जरूरी रहेको बताउँदै जथाभावी डोजर चलाउने, सडक खन्ने र सहरीकरण गर्ने गतिविधिले प्राकृतिक विपत्तिमा जनधनको ठुलो क्षति भइरहेको स्पष्ट पार्नुृभयो ।
उहाँले नेपाल सरकारले हिमनदी र हिमतालहरूको अध्ययन र निगरानी गर्ने र विपद्को सूचना शीघ्रभन्दा शीघ्र दिने प्रणाली स्थापना र सञ्चालन नगरेमा बर्सेनिजसो विपद्का घटना र जनधनको क्षति भइरहनेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका उपप्राध्यापक अ.सुलभजङ रायमाझीले ‘जलवायु कानुनका जटिलता’ विषयक प्रस्तुतीकरण राख्दै जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनहरू धनी देशहरूको देशीय र वर्गीय स्वार्थको कारण लागू हुन नसकिरहेको बताउनुभयो ।
मजदुर दैनिकका प्रकाशक एवं सम्पादक उद्धव सुजखुको सभापतित्वमा सम्पन्न कार्यक्रममा ख्वप ई.कलेजका उपप्राचार्य ई. रत्नशोभा प्रजापति, लेखक सुरेश परियार र विद्यार्थी प्रतिनिधि सुजी हेंगजूले पनि भोटेकोसी बाढी, वातावरण संरक्षण र जलवायु परिवर्तनबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सुरुआतमा भदौ १० भोटेकोसी बाढीमा परी दिवङ्गत भएका र बेपत्ता भएकाहरूप्रति श्रद्धासुमनस्वरूप एक मिनेट मौनधारण गरिएको थियो ।
Leave a Reply