भर्खरै :

विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने

विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने

भक्तपुर, २४ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ बारे अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रचलनमा रहेका नियम–कानुनलगायत देशको भूगोल र राजनीतिबारे मजदुरहरू जानकार हुनु जरूरी छ भन्नुभयो ।
विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “इमानदार, निष्ठावान, असल आचरण र सङ्गठनको भावनाअनुसार अगाडि बढ्न सके पछुताउनुपर्ने स्थिति आउने छैन ।”
मजदुरहरू परिवर्तनको वाहक हुने धारणा राख्दै उहाँले संसारका प्रसिद्ध क्रान्तिहरू मजदुर–किसानकै सहभागिता सम्पन्न भएकोले मजदुरहरू अध्ययनशील हुनु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सकेन । शिक्षा, स्वास्थ्य र बिजुलीजस्तो अति अत्यावश्यक बन्दोबस्तमाथि कर लगाएबाट सरकार मजदुर–किसानको पक्षमा नरहेको स्पष्ट हुन्छ ।”
भदौ १० गते बिहान रसुवा जिल्लामा हिम–चट्टान फुटेर भोटेकोशी नदीमा गएको भीषण बाढीले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ जिल्लामा पु¥याएको ठुलो धन–जनको क्षतिप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य गोसाईले बाढी–पहिरामो परी निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले २०१६, २०४८ र २०७४ सालमा आएको श्रम ऐनले मजदुर वर्गको हित गर्न नसकेको स्पष्ट पार्दै समाजवादी व्यवस्थाले मात्र मजदुरहरूको हित गर्ने भएकोले समाजवादी व्यवस्था स्थापना गर्नु जरूरी छ भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिले सामाजिक सुरक्षा कोषमा आबद्ध भई मजदुरहरूले वार्षिक स्वास्थ्य बिमा र अन्य सेवाहरू लिन सकिने जानकारी दिनुभयो ।
श्रम ऐन २०७४ मा व्यवस्था भएको श्रम सम्झौता, विषयगत सम्झौता, समयगत सम्झौता, आकस्मिक सम्झौता र हायर एन्ड फायरबारे जानकारी दिँदै उहाँले पुँजीपति वर्गले बनाइने श्रम ऐनबाट मजदुरहरूको हित नहुनेतर्फ सचेत हुनु जरूरी छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको कार्यक्रममा समितिका उपाध्यक्ष विक्रम ढुकुछु र सचिव रमेश दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *