भर्खरै :

पुरानै पाप

पुरानै पाप

दुई दशकसम्म ‘द न्युयोर्क टाइम्स’ को संवाददाता भई मैले अतिक्रमित प्यालेस्टिनमा बसी काम गरेको थिएँ । धेरै पछि यसपालि प्यालेस्टिन पुगेँ । तर, अहिले पनि मैले इजरायली कब्जाको विषाक्त वातावरण भोग्नुप¥यो ।
……..
अतिक्रमित प्यालेस्टिनको एक भाग हो रमल्लाह । रमल्लाहमा परिचित दृश्य देखियो – खुला ढलको हिरिक्क पार्ने गन्ध, डिजल गाडीको गडगड, चिप्लेकीराजस्तै घस्रिने इजरायलका हतियार बन्द गाडी, गोरो वर्णका उपनिवेशवादीहरूले हाँकिरहेका केटाकेटी हुलिएका भ्यान† यी चालकहरू पक्कै पनि यहाँका रैथाने नभई अमेरिका, रुस वा बेलायतका हुनुपर्छ । छिटफुट परिवर्तनबाहेक रमल्लाह उस्तै छ ।
सडक र चौबाटोमा जहाँतहीँ निलो र सेतो रङको इजरायली झन्डा फहराइएका चौकीहरू लहरै भेटिन्छन् । उपनिवेशवादी बसोबासीहरूका राता झिँगटीले छाएका घरहरूले प्यालेस्टिनी गाउँ–सहर वरपरका पहाड भरिएका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार यी बस्ती गैरकानुनी हुन् । बसोबासीहरू सङ्ख्याले मात्र होइन, आकारले पनि फैलिँदै छन् । तर, तिनलाई सैनिक तगारा, काँडे तार र घिनलाग्दा चौर र बगैँचाभित्र ठड्याइएका सुरक्षा चौकीहरूको पहरा छ । सुन्दर भू–दृश्यबिच उपनिवेशवादीहरूसँग छेलोखेलो पानीका मुहान छन् भने प्यालेस्टिनीहरूलाई ती मुहानबाट वञ्चित गरिएको छ ।
२६ फुट अग्लो कङ्क्रिटको नागबेली पर्खालले पश्चिम किनारका बासिन्दालाई खुला आकाशयुक्त कारागारमा बसेको भान पार्छ । ४४० माइल लामो यो पर्खालले पूरै अतिक्रमित प्यालेस्टिनलाई घेरिरहेको छ । पर्खालमा मुक्ति युद्धका प्रतीक चिह्न र अल–मस्जिदलाई झल्काउने तस्बिर छन् । पर्खालमा प्यालेस्टिनी सहिदहरूका रूपाकार र गलल्ल हाँसिरहेका दाह्रीवाल यासिर अराफातका तस्बिर कोरिएका छन् । ओस्लो सम्झौतामा इजरायललाई सहुलियत दिएर यासिर अराफात विद्वान एडवार्ड साइदका शब्दमा ‘प्यालेस्टिनका पेताँ’ बनेको मानिन्छ । (जर्नेल पेताँ दोस्रो विश्वयुद्धमा फ्रान्सलाई जर्मनीको हातमा सुम्पिने नेता थिए । अनु.) पर्खालले पूरै भू–दृश्यलाई चिराचिरा पारेको छ; मरेको सर्पले जस्तै प्यालेस्टिनीहरूलाई तिनका नातागोताबाट टाढा पारेको छ; प्यालेस्टिनी गाउँबस्तीलाई टुक्र्याएको छ, गाउँलेहरूलाई आफ्नै बगैँचा, जैतुन बगान र खेतखलियानबाट अलग्याएको छ; आफ्नै नदीनालाबाट पर लघारेको छ; प्यालेस्टिनी जनतालाई यहुदी राज्यको घेराभित्र कैद गरेको छ ।
पश्चिम किनाराबाट मैले रिपोर्ट गरेको दुई दशक बितिसकेको छ । समय घर्किसकेको छ । यद्यपि, आजको गन्ध, अनुभूति, भावना र दृश्य, अरबी भाषाको बहाव तथा हावामा फैलिरहेको आकस्मिक र नृशंस मृत्युको दुर्गन्धले उही पुरानो पाप वा दुष्टता प्रकट गरिरहेछ । मानौँ, म यहाँबाट कहिल्यै फर्केको थिइनँ ।
म एउटा कालो मर्सिडिजमा छु । मेरा चालक एक अधबैँसे युवक छन् । इजरायली निर्माण क्षेत्रमा कार्यरत उनले अहिले रोजगारी गुमाएका छन् । अक्टोबर ७ यता इजरायलमा कार्यरत सबै प्यालेस्टिनीको हाल यस्तै छ । उनका चार सन्तान छन् । बचत धन घट्दै छ । तर, हार मानेका छैनन् । सङ्घर्ष जारी छ । रासन किन्न, पानी–बत्ती र पेट्रोलको पैसा तिर्न धौधौ छ । उनको जीवन नै कब्जामा छ । खाली छ । तर, हार मानेका छैनन् । शत्रुसामु घुँडा टेकिसकेको प्यालेस्टिनी प्राधिकरणले उनको दुःख हर्न सक्दैन । उनी हमासलाई रुचाउँदैनन् । उनका यहुदी साथीभाइ छन् । उनी हिब्रु पनि बोल्छन् । पछिल्लो कब्जाले उनी र आसपासका सबैलाई छिन्नभिन्न पार्दै छ ।
एक सर्को चुरोट तान्दै उनी भन्छन्, “केही महिना अझै यस्तै चल्यो भने हामी म¥यौँ भनेर जाने हुन्छ । मान्छे हैरान भइसक्यो । मान्छेहरू भोकभोकै छन् । दिनप्रतिदिन भोकाहरूको सङ्ख्या बढ्दै छ ।”
हाम्रो गाडी रुखो मरुभूमि र जेरिकोबाट नागबेली परेर पहाड खोस्रिँदै माथि उक्लेको सडकमा धुलो उडाउँदै अघि बढिरहेको थियो । यो सडक नुनिलो मृत सागरको ठीक माथि छ । पृथ्वीकै निम्न बिन्दु मृत सागरबाट माथि उठेर यो सडक रमल्लाहतिर लाग्छ । म मेरा मित्र तथा उपन्यासकार आतिफ अबु सैफकहाँ जाँदै छु । अक्टोबर ७ को दिन उनी आफ्ना १५ वर्षे छोरा यासिरसँगै गाजामा थिए । इजरायलले संसारै तिर्मिराउने कारबाही थाल्दा उनी त्यहाँ आफ्ना आफन्तलाई भेट्दै थिए । जातिसंहारको दुःस्वप्न भोग्दै र त्यसबारे लेख्दै उनले ८५ दिन बिताए । मनै खल्बल्याउने उनको दैनिकी ‘बायाँ नहेर’ पुस्तक बनी प्रकाशित भएको छ । राफाको बाटो हुँदै उनी त्यो मारकाटबाट बचेर इजिप्ट पुगे । त्यहाँबाट जोर्डन हुँदै उनी रमल्लाह फर्केका छन् । यद्यपि जातिसंहारको घाउ आलै छ । यासिर कोठाबाट बाहिर निस्किन पनि डर मान्छ । ऊ साथीसङ्गीहरूसँग पनि उति बोल्दैन । त्रास, मानसिक आघात र घृणा फैलाउँछन् उपनिवेशवादीहरू । सुरुमा उनीहरू यस्तै कुरा प्रसार गर्छन् ।
पछि आतिफ मसँग खुल्यो, “म अझै गाजामै छु । त्यहाँबाट बाहिर निस्किन सकिरहेको छैन । यासिर अझै पनि बमको आवाज सुनिरहेछ । उसले अझै पनि लासैलासका चाङ देखिरहेछ । ऊ मासु खान्न । रातो मासु देख्यो कि जबालियामा नरसंहार हुँदा उद्दार टोलीमा बसेर आफूले समातेका मानव लासको झल्को आउँछ । त्यहाँ मैले आफ्नै दाजुभाइको मासु समातेँ । अझै पनि म भुइँमा गुन्द्री ओछ्याएर सुत्छु । गाजामा पाल टाँगेर हामी यसरी नै सुतेका थियौँ । झिसमिसेमै उठ्छु । कहिले बम पड्केर मरिने हो भनी त्रासैत्रासमा बाँचिरहेका ती मान्छेलाई सम्झिन्छु ।”
पहाडको पिछाडमा पुगेपछि हामी मोडिन्छौँ । बेलाबेला कार र ट्रकहरू अघिपछि गरिरहन्छन् । हामी अगाडि जाने केही गाडी मोडिन्छन् । अगाडि इजरायली चेकपोस्ट छन्† फोस्रो रङका कङ्क्रिट बाक्सा ठड्याइएका छन् । सिपाहीहरू गाडी रोक्दै कागजात जाँच्दै छन् । चेकपोस्ट पार गर्न प्यालेस्टिनीहरू घण्टौँ पर्खिन सक्छन् । इजरायली सेनाले तिनलाई गाडीबाट गलहत्याएर निकाल्न र थुनामा राख्न सक्छ । इजरायली चेकपोस्टमा जे पनि हुन सक्छ । प्रायः कुनै जनाउ नदिई यी चेकपोस्ट राखिन्छ । धेरै चेकपोस्टमा गतिलो व्यवहार हुन्न ।
हामी पछि फर्किन्छौँ र मूल सडकबाट मोडिएर एउटा धुलाम्य बाटोमा अघि बढ्छौँ । उबडखाबड छ बाटो । बेलाबेला हामी गरिब गाउँ हुँदै अघि बढ्छौँ ।
अमेरिकाको दक्षिण र आदिवासी इलाकामा काला जातिलाई यसरी नै अलग्गै राखिन्थ्यो । अल्जेरियालीहरूलाई फ्रान्सले यस्तै व्यवहार गथ्र्यो । भारत, आयरल्यान्ड र केन्यामा बेलायती राजमा यस्तै हुन्थ्यो । उपनिवेशवादको युरोपेली मकुन्डो फेरिएको छैन । उपनिवेश बनेका जनतालाई विषालु सर्प ठान्ने उपनिवेशवादीहरूको दैवी अधिकार हराएको छैन । उपनिवेशका जनतालाई अपमान गर्दा, तिनलाई सताउँदा र दण्डको डर नमानी तिनलाई दनादन मार्दा उनीहरू रमाउँछन्, अश्लील मुस्कान छोड्छन् ।
जोर्डनबाट अतिक्रमित प्यालेस्टिनमा पस्दा राजा हुसेन पुलमाथि इजरायली जाँचकीले मसित दुइटा प्रश्न सोध्यो ।
“तिमीसँग प्यालेस्टिनी पासपोर्ट छ ?”
“तिम्रा आमा वा बुबा प्यालेस्टिनी हुन् ?”
सारमा म बिटुलिएको छु/छैन भनी बुझ्न खोजेँ ।
जातीय विभेदले यसरी नै काम गर्छ ।
प्यालेस्टिनीहरू आफ्नो भूमि फिर्ता चाहन्छन् । तब मात्र शान्तिको कुरा गर्नेछन् । इजरायलीहरू शान्ति चाहन्छन् तर त्यसअघि प्यालेस्टिनी भूमि चाहन्छन् । यी तीन वाक्यमा यो पूरै द्वन्द्वको सार समेटिएको छ ।
टाढा जेरुसेलम देखियो । खासमा जेरुसेलममाथि पहाडभरि यहुदी बस्तीहरूको ताँती देखियो । पहाडका थुम्काभरि भव्य महलहरू निर्माण गरिएको छ । बन्दुक घुसाउन सजिलो हुने गरी जानाजान तिनका झ्याल साँघुरा बनाइएका छन् ।
हामी रमल्लाहको बाहिरी फेरोमा पुग्यौँ । इजरायली सेनाको फराकिलो छाउनीअगाडि बाक्लो ट्राफिक थियो । हामीलाई त्यहीँ रोकियो । त्यहाँ कलान्दिया चेकपोस्ट छ । यो पूर्वी जेरुसेलम र पश्चिम किनारबिचको पहिलो चेकपोस्ट हो । यहाँ इजरायली कब्जाविरुद्ध बेलाबखत प्रदर्शन भइरहन्छ । ती प्रदर्शन दबाउन इजरायली सेनाले गोलीबारी गरिरहन्छ ।
मैले आतिफलाई भेटेँ । हिँडेरै हामी कवाब पसल गयौँ र बाहिर राखिएको एउटा सानो टेबलमा बस्यौँ । इजरायली सेनाको पछिल्लो घुसपैठका डोबहरू कुनाकाप्चामा देखियो । केही दिनअघि रातको समय इजरायली सेनाले विदेशबाट पठाइएको पैसा बुझ्ने पसलहरूमा आगो लगाएका थिए । पसलहरू पूरै डढेका थिए । अबदेखि विदेशबाट आउने रकम बुझ्न झन् गाह्रो हुनेछ । यसकै लागि आगजनी गरिएको बुझ्न गाह्रो छैन ।
इजरायलले अतिक्रमित पश्चिम किनारमा बसोबास गरिरहेका २७ लाख प्यालेस्टिनीहरूको जीवन रातारात कस्टकर बनाएको छ । हामी चारैतिरबाट ७ लाखभन्दा बढी यहुदी उपनिवेशवादीहरूले घेरिएका छौँ । तिनका बस्ती झन्डै १५० रणनीतिक बिन्दुमा फैलिएका छन् । तिनको आफ्नै सपिङ मल, विद्यालय र चिकित्सालय छन् । यो औपनिवेशिक विकाससँगै उपनिवेशवादीहरू र तिनका सैनिकले मात्र प्रयोग गर्न पाउने विशेष सडक छन् । ती सडकमा कडा पालोपहरा हुन्छ । तिनको आवास क्षेत्र प्यालेस्टिनीहरूको पहुँचबाहिर छ । त्यहाँ बन्द सैनिक क्षेत्र छन् । ती इलाकालाई इजरायलले ‘प्रकृति आरक्ष’ घोषणा गरेको छ । तिनको वरिपरि सेनाले धेरै सुरक्षा घेराहरू बनाएको छ । प्यालेस्टिनी नगर र सहरलाई एक्ल्याउन तिनले चाहेको बेला तुरुन्तै सडक जाम गर्न सक्छन् । यसरी प्यालेस्टिनी नगर र सहरलाई जुनसुकै बेला यातनागृहमा बदल्न सक्छन् ।
आतिफले भन्यो, “अक्टोबर ७ यता पश्चिम किनारमा बाहिरफेर निस्किन असाध्यै मुस्किल बनेको छ । प्रत्येक गाउँ, नगर र सहरको मूलढोकामै चोकपोस्टहरू राखिएका छन् । आफ्नी आमा अथवा जीवनसङ्गीलाई भेट्न चाहनुभयो भने तपार्इँ रमल्लाहबाट नेब्लससम्म पुग्नुपर्छ । यसको लागि तपार्इँलाई सात घण्टा लाग्छ किनभने मूल सडक बन्द छ । तपार्इँलाई पहाडको बाटो प्रयोग गर्न बाध्य पारिन्छ ।”
मूल सडक प्रयोग गर्दा ९० मिनेटमै नेब्लस पुगिन्छ ।
अक्टोबर ७ यता पश्चिम किनारामा इजरायली सैनिक र उपनिवेशवादी सोचका जनताले ५२८ प्यालेस्टिनी सर्वसाधारणको हत्या गरिसकेका छन् । यीमध्ये १३३ बालबालिका छन् भने घाइतेको सङ्ख्या ५,३५० भन्दा बढी छ । यो तथ्याङ्क राष्ट्रसङ्घका प्रमुखले दिएका हुन् । इजरायलले ९,७०० प्यालेस्टिनीहरूलाई बन्दी बनाएको छ । यिनलाई बन्धकभन्दा फरक पर्दैन ! बन्धक हुनेमा सयौँ बालबालिका र गर्भवती महिला छन् । तीमध्ये धेरैलाई चरम यातना दिइएको छ । इजरायली कालकोठरीमा केही डाक्टरलाई मर्ने गरी यातना दिइयो । विदेशी सङ्घसंस्थामा काम गर्ने केही बन्दी थुनामुक्त हुनासाथ मरे । कारागारमा ठाउँ खाली गर्न इजरायली रक्षामन्त्री इतमार बेन–गभिरले प्यालेस्टिनी कैदीहरूलाई मार्न भने ।
रमल्लाहमा प्यालेस्टिनी प्राधिकरणको मुख्यालय छ । त्यो पहिले इजरायली निगाहमा थियो । उसले त्यहाँ विभत्स हिंसा गर्दैनथ्यो । अक्टोबर ७ पछि स्थिति बदलियो । जथाभावी छापा मार्नु र निर्दोष प्यालेस्टिनीहरूलाई पक्राउ गर्नु अहिले रमल्लाह सहरको दैनिकी बनेको छ । बेलाबेला मान्छे ताकेरै गोलीबारी र हवाई बमबारी भइरहेको छ । अक्टोबर ७ पछि इजरायलले पश्चिम किनारका ९९० गाउँघरमध्ये कसैलाई कब्जा ग¥यो भने कसैलाई बुलडोजरले धुलोपिठो पा¥यो । उसले जबरजस्ती केही घरधनीलाई आफ्नै घर भत्काउन भन्यो भने कसैलाई अचाक्ली जरिवाना तिरायो ।
रमल्लाहको पूर्वी भेगमा पर्ने गाउँहरूमा भारी हतियार लिएका इजरायली उपनिवेशवादीहरूले विभत्स दङ्गा मच्चाइरहेका छन् । अल–मुघायिर गाउँनजिकै अप्रिल १२ का दिन एउटा १४ वर्षे उपनिवेशवादी ठिटो मारिएपछि पनि यस्तै घटना भएको थियो । उपनिवेशवादीहरूले ११ गाउँमा गएर प्यालेस्टिनीहरूका घर र गाडीहरूमा आगजनी गरेर खरानी पारे । तिनले बाटोघाटो ध्वस्त पारे, एकजना प्यालेस्टिनीलाई मारे र दर्जनौँलाई घाइते बनाए ।
पश्चिम किनारमा इजरायलले पछिल्लो तीन दशककै ठुलो जमिन कब्जा गर्ने आदेश दिएको छ । रमल्लाहको उत्तर–पूर्वी भागमा एउटा विस्तृत भूखण्ड नै कब्जा गरिँदै छ । अतिवादी दक्षिणपन्थी सोचका बेजालेल स्मोत्रिच अहिले इजरायली वित्तमन्त्री छन् । उनी यहुदी बस्तीमा बस्छन् र हालै उनलाई औपनिवेशिक बस्ती विस्तार गर्ने जिम्मा दिइएको छ । उनले पश्चिम किनारमा लाखौँ नयाँ उपनिवेशवादीहरूको बाढी ल्याउने वाचा गरिसकेका छन् ।
स्मोत्रिचले ओस्लो सम्झौताबाट पश्चिम किनारमा बनाइएका विशेष क्षेत्र नामेट पार्ने प्रण गरेका छन् । क) इलाकाले पश्चिम किनाराको १८ प्रतिशत भूमि ओगटेको छ । यो नितान्त प्यालेस्टिनी नियन्त्रणमा छ । ख) इलाकाले पश्चिम किनाराको २२ प्रतिशत भूमि ओगटेको छ । यो इजरायली सेनाको कब्जामा छ तर यसमा प्यालेस्टिनी प्राधिकरणको पनि हक छ । ग) इलाकाले पश्चिम किनारको ६० प्रतिशत भूमि ओगटेको छ र यो पूर्णतः इजरायली कब्जामा छ ।
आतिफले भन्यो, “संसार अन्धो छ, आफूलाई गाजामा जातिसंहार गर्नबाट कसैले रोक्न सक्दैन र पश्चिम किनारको युद्धमा कसैले ध्यान दिनेछैन भन्ने इजरायलले बुझेको छ । युद्ध भन्ने शब्द नै प्रयोग गरिन्न । पश्चिम किनारमा सामान्य इजरायली सैन्य कारबाही भइरहेको भनिन्छ । मानौँ हामीमाथि जे भइरहेको छ, त्यो सामान्य हो । क, ख र ग भनेर छुट्याइएका अतिक्रमित भूभागबिच आजभोलि कुनै भिन्नता छैन । बसोबासीहरूले झन् बढी भूभाग कब्जा गर्दै छन् । तिनीहरूले झन् बढी हमला गर्दै छन् । यसको लागि तिनलाई सेना पनि चाहिन्न । तिनीहरू छद्म सैनिक बनेका छन् । तिनलाई इजरायलको दक्षिणपन्थी सरकारले हतियार र अन्य सहयोग दिन्छ । सन् १९४८ यता हामी निरन्तर युद्धमा छौँ । यो त त्यही युद्धको नयाँ चरण मात्र हो ।”
जेनिन र त्यसको छरछिमेकका शरणार्थी शिविरमा इजरायली सेनाका दस्ताहरूले दैनिक हमला गर्छन् । ती हमलाकारीबिच छद्म कमान्डो टोली, निसानेबाज र बुलडोजर पनि हुन्छन् । तिनले पूरै टोललाई धुलोपिठो पारेर सम्याउँछन् ।
तिनले भुइँमा आफ्नो काम गरिरहँदा आकाशमा मेसिनगन र मिसाइल जडान गरिएका ड्रोन, युद्धविमान र आक्रामक अपाचे हेलिकप्टर उडिरहन्छन् । यसरी पूरै गाउँ–टोलको नामनिसान मेटिन्छ । गाजामा जस्तै यहाँ पनि चिकित्साकर्मी र डाक्टरहरूको हत्या हुन्छ । मे ५१ को दिन इजरायली निसानेबाजले ५० वर्षीय सर्जन उसाइद कमाल जेबारिनको हत्या ग¥यो । जेनिन सरकारी अस्पतालमा काम गर्न के पुगेका थिए निसानेबाजको गोली लागेर उनी मरे । यसका साथै भोकले चर्को महामारीको रूप लिएको छ ।
आतिफले भन्यो, “इजरायली सेनाले अकस्मात् छापा मार्छ, प्यालेस्टिनीहरूलाई मार्छ र एकाएक बेपत्ता हुन्छ । केही समयपछि ऊ फर्किन्छ । हाम्रो भूमि लुटेर मात्र पुगेको छैन इजरायलीहरूलाई । तिनीहरू यो भूमिका धेरैभन्दा धेरै मूलवासीलाई मार्न खोज्छन् । त्यसैले उसले निरन्तर कारबाही गर्दै आएको छ । त्यसैले पनि निरन्तर सशस्त्र मुठभेड हुने गरेका हुन् । तर, यी मुठभेड भड्काउने इजरायल नै हो । यिनै मुठभेडलाई निहुँ बनाएर तिनीहरू हामीलाई प्रहार गर्छन् । हामी जहिल्यै तनावमा बाँच्छौँ । दिनदिनै मृत्युको मुख देखिरहेका हुन्छौँ ।”
पश्चिम किनारमा चर्किरहेको नाटकीय हिंसालाई गाजामा भइरहेको जातिसंहारले ओझेल पारेको छ । तर, पश्चिम किनार आफैमा दोस्रो मोर्चा हो । इजरायलले गाजालाई खाली गर्न सक्छ र त्यसपछि पश्चिम किनारलाई तारो बनाउन सक्छ ।
आतिफले भन्यो, “इजरायलको उद्देश्य फेरिएको छैन । ऊ प्यालेस्टिनी जनतालाई खाँज्न चाहन्छ र बढीभन्दा बढी प्यालेस्टिनी भूभाग लुटेर झन् धेरै यहुदी बस्ती निर्माण गर्न चाहन्छ । ऊ प्यालेस्टिनलाई यहुदीकरण गर्न खोज्दै छ । यसको लागि ऊ अहिले प्यालेस्टिनीहरूलाई जीवित राख्ने सबै स्रोतसाधन लुट्दै छ । अन्तिम उद्देश्य त पश्चिम किनारलाई निल्नु नै हो ।”
“शान्ति प्रक्रिया उत्कर्षमा छँदा सबैजना शान्तिको प्रस्तावले लठ्ठ परेका थिए । इजरायल भने त्यो प्रस्तावलाई विफल पार्ने खेलमा जुटिसकेको थियो । सन् १९९३ मा धेरै प्यालेस्टिनीहरू अराफातले सही गरेको शान्ति सम्झौताको विपक्षमा थिए । तर पनि अराफात फर्किँदा सबैले उनलाई खुला दिलले स्वागत गरे । उनीहरूले अराफातलाई मारेनन् । उनीहरूले शान्ति हुन्छ भने हेरिहालौँ न भने । उता इजरायलमा ओस्लो सम्झौतामा सही गर्ने प्रधानमन्त्रीको हत्या भयो ।”
आतिफले भन्यो, “केही वर्षअघि जबालियाको पूर्वमा राष्ट्रसङ्घले खोलेको पाठशालाको भित्तामा कसैले एउटा अनौठो नारा लेखेछ, ‘हामी पछि धकेलिँदै छौँ’ भनेर । त्यो सन्देशपूर्ण थियो । प्रत्येक नयाँ युद्धले हामीलाई पुरानै दिनतिर लतार्छ । त्यसले हाम्रा घर, हाम्रा सङ्घसंस्था, हाम्रा मस्जिद र हाम्रा चर्चहरू ध्वस्त पार्छ । हाम्रा खेतबारी, बगैँचा र पार्कहरू उजाड्छ । एक–एक युद्धबाट बौरिन फेरि वर्षौँ लाग्छ । हामी पुरानो युद्धबाट बौरिएका मात्र हुन्छौँ, नयाँ युद्ध आइहाल्छ । चेतावनीको कुनै साइरन बज्दैन । हाम्रो फोनमा कुनै सन्देश आउन्न । युद्ध आइहाल्छ ।”
यहुदी बसोबासी उपनिवेशवाद बहुरूपी छ । त्यसले रूप त फेर्छ तर भित्र उस्तै हुन्छ । त्यसको दाउपेच बदलिरहन्छन् । त्यसको जोड कहिले दमनकारी हुन्छ त कहिले कम दमनकारी हुन्छ । शान्तिको त्यसको फलाकोले त्यसको नियतमा मकुन्डो लागेको हुन्छ । आफ्नो घातक, अश्लील र जातिवादी बदनियतले सबैलाई कुल्चिँदै त्यो अघि बढ्छ । तैपनि प्यालेस्टिनीहरू डटिरहेछन्; उनीहरूले हार मानेका छैनन्; जस्तोसुकै कठोर परिस्थितिमा पनि प्रतिरोध गरिरहेका छन्; निराशाको अन्तहीन पातालबाट आशाको सानो झिल्को निकाल्दै उनीहरू लडिरहेका छन् । शब्दकोशमा यी सबैलाई जनाउने एउटा शब्द छ – वीरतापूर्ण ।

स्रोत : सब्सटाक डट कमबाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *