भर्खरै :

पक्षपात र अन्याय अत्याचार अशान्तिको स्रोत

पक्षपात र अन्याय अत्याचार अशान्तिको स्रोत

सबैको मुखमा झुन्डिएको शब्द हो शान्ति । तर, तिनीहरूलाई थाहा छैन कि अशान्ति कसरी हुन्छ र अशान्तिको स्रोत कहाँ छ ? अशान्तिको स्रोत शोषण, पक्षपात, अन्याय र अत्याचार हो । यस्तो काम देशभित्र पुँजीवादले गर्छ भने अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवादले गरिराखेको छ । देशभित्र वडा, पालिका, प्रदेश र सङ्घ सरकारले देश र जनताको विरुद्ध गतिविधि गर्दा अशान्ति हुन्छ । त्यो काम पुँजीवादी प्रजातन्त्रका हिमायतीहरूबाट हुन्छ । जनताको प्रजातन्त्र भएकोे देशमा शान्ति हुन्छ ।
देशहरूमा अशान्ति फैलाउने भनेका साम्राज्यवादी देशहरू हुन् । साम्राज्यवादी देशहरूको नाइके भनेको संरा अमेरिका हो । अमेरिका अरु देशको खानी वा प्राकृतिक स्रोतसाधन लुट्न लडाइँ गराउँछ । उसले आफ्नो देशमा उत्पादन भएको हातहतियार खपत गराउनको लागि अरू देशमा लडाइँ गराउँछ र हातहतियारको व्यापार गर्छ ।
प्राकृतिक स्रोत र साधन कब्जा गरेको उदाहरण इराकलगायतका देशहरू छन् । इराकको तेल अमेरिकाले लुट्न खोज्दा इराकी देशभक्त नेता सद्दाम हुसेनले हाम्रो देशको तेलको मूल्य हामी नै तोक्छौँ भनी जवाफ दिए । चुनावमा ९० प्रतिशत इराकी जनताले मत दिएर निर्वाचित गरे । यसरी इराकको तेलको निम्ति अमेरिका र इराकको लडाइँ भयो । अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले इराकमा अशान्ति मच्चायो र संरचनाहरू ध्वस्त बनायो । ९० प्रतिशत इराकी जनताले चुनेका देशभक्त नेता एवम् तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई अमेरिकाको कठपुतली सरकारले फाँसी दियो । आतङ्क मच्चाएर आफ्नो कठपुतली सरकार गठन गरेको भए तापनि त्यस कठपुतली सरकारले इराकमा भएका अमेरिकी सैनिक अखडाहरू हटाउने निर्णय ग¥यो । इराकी जनताको जुलुस भयो । त्यो अवस्था देखेर इराकी सरकारले इराकबाट अमेरिकी सैनिक अखडा फिर्ता लैजान भनेको थियो । तर, अमेरिकाले मेरो लगानी छ तिम्रो सरकारलाई मान्दैनौ भनी जवाफ दियो ।
संसारको अशान्तिको नाइके संरा अमेरिकाको अर्को व्यापारको माध्यम हो हातहतियार खपत । आफ्नो देशमा बनेका बम, अणुबम, मिसाइल र क्षेप्यास्त्रहरूको बिक्री वितरण गर्नु हो । रुस–युक्रेन र इजरायल–प्यालेस्टिनहरूको लडाइँमा अमेरिकी हातहतियारको धेरै खपत भयो ।
यदि संसारभरि स्थायी शान्तिको चाहना राख्ने हो भने वैज्ञानिक समाजवादी विचारलाई संसारभर फैलाउनुपर्छ र साम्राज्यवादी विचारलाई किनारा लगाउनुपर्छ । लडाइँमा लाग्ने खर्च विकास निर्माणमा लगाउनुपर्छ । लडाइँ गर्दा दुवैतर्फ विनाश हुन्छ र नोक्सान हुन्छ । त्यसकारण, स्थायी शान्तिको लागि वैज्ञानिक समाजवादी विचार विश्वव्यापी फैलाऔँ र पुरानो पश्चिमा पुँजीवादी प्रजातन्त्रलाई थन्को लगाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *