भर्खरै :

भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनमा निकोलस माडुरो ५१.२० प्रतिशत मत प्राप्त गरी विजयी

भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनमा निकोलस माडुरो ५१.२० प्रतिशत मत प्राप्त गरी विजयी

काराकस, २३ जुलाई (टेलिसुर) । दक्षिण अमेरिकी देश भेनेजुयलामा बृहत् देशभक्त ध्रुवका साझा उम्मेदवार, बोलिभारियाली क्रान्तिका नेता निकोलस माडुरो शान्तिपूर्ण वातावरणमा आइतबार सम्पन्न निर्वाचनबाट ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरी पुनः निर्वाचित हुनुभएको राष्ट्रिय निर्वाचन परिषद् (CNE) ले सार्वजनिक गरेको छ ।
निकोलस माडुरो चाभेजको विरासतको वैध निरन्तरता र साम्राज्यवादी षड्यन्त्रहरूविरुद्ध भेनेजुयलाको सार्वभौमसत्ताको रक्षक हुनुहुन्छ ।
राष्ट्रिय निर्वाचन परिषद्का अध्यक्ष एल्विस अमोरोसोले निर्वाचनमा १ करोड एक लाखभन्दा बढी मतदान भएको जानकारी दिनुभयो ।
उम्मेदवार निकोलस माडुरो ५१ लाख ५०,००० मत (५१.२%) प्राप्त गरी पुनः निर्वाचित हुनुभएको छ । निर्वाचनको अवधिमा कुनै उल्लेखनीय अप्रिय घटना नभएको र ५९ प्रतिशत मतदान भएको बताइएको छ । दोस्रो सर्वाधिक मत पाएका दक्षिणपन्थी उम्मेदवार एडमन्डो गोन्जालेज ४० लाख ४५ हजार ९७८ मतसहित (४४.२ प्रतिशत) प्राप्त गर्न सफल भएका छन् ।
देशको कुल २,१६,२०,७०५ भेनेजुयलामा रहेका मतदाता र विदेशमा बसोबास गर्ने २,२८,००० मतदाताले देशभर फैलिएका १५,००० भन्दा बढी मतदान केन्द्रहरूमा मतदानको अधिकार प्रयोग गर्न योग्य थिए ।
निर्वाचन स्थानीय समयअनुसार बिहान ६ः०० मा सुरु भएको थियो र बेलुकी ६ः०० बजे समाप्त भएको थियो । यूएस कार्टर सेन्टर, ल्याटिन अमेरिकाका चुनावी विज्ञहरूको परिषद्, विज्ञहरूको संयुक्त राष्ट्र प्यानल र अन्यका विदेशी पर्यवेक्षकहरूलगायत विश्वभरका सहभागीहरूका साथ चुनावमा व्यापक अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन पर्यवेक्षण गरेका थिए ।
निर्वाचन पर्यवेक्षकहरूमा ल्याटिन अमेरिका, क्यारेबियन, युरोप, अफ्रिका, उत्तर अमेरिका र एसियाका हजारौँ राजनीतिज्ञ, शिक्षाविद्, सांसद, बुद्धिजीवी, पत्रकार र व्यक्तित्वहरू रहनुभएको छ ।
निकोलस माडुरो नोभेम्बर २३, १९६२ का दिन काराकासमा जन्मनुभएको थियो र एक सङ्घर्षपूर्ण राजनीतिक मार्गबाट गुज्रिनुभएको छ । जुन मार्गले उहाँलाई एल भ्यालेको पेरिसमा एक वेटरको रूपमा आफ्नो विनम्र सुरुवातबाट भेनेजुयलाको राष्ट्रपतिसम्म पु¥यायो । उहाँको राजनीतिक चरित्रको विकासक्रमले सामाजिक र श्रमिक आन्दोलनको ध्येयहरूको लागि निरन्तर समर्पणलाई प्रस्ट पार्छ ।
माडुरोले आफ्नो राजनीतिक सक्रियता ८० को दशकमा समाजवादी लीगबाट सुरु गर्नुभएको थियो, त्यतिबेला उहाँ काराकस मेट्रो (१९९१–१९९८) मा कन्डक्टरको रूपमा काम गर्नुभएको थियो । त्यहाँ उहाँले श्रमिक अधिकारका लागि उनीहरूको सङ्घर्षको नेतृत्व गर्नुभएको थियो । यस अवधिमा, उहाँले आफ्नो नेतृत्व र सङ्गठनात्मक कौशल प्रदर्शन गर्दै काराकस मट्रो युनियन (SITRAMECA) को स्थापना गर्नुभएको थियो ।
सन् १९९३ मा कमान्डर ह्युगो चाभेजसँगको भेट उहाँको राजनीतिक जीवनको उल्लेख्य मोड थियो । बोलिभारियाली क्रान्तिकारी आन्दोलन २०० (MBR-200) र पछि पाँचौँ गणतन्त्र आन्दोलन (MVR) मा सामेल भई माडुरो चाभेजको कट्टर समर्थक बन्नुभयो । भेनेजुयलाको राजनीतिमा उहाँको उदय द्रुतगतिमा भएको थियो । १९९९ मा उहाँ सांसदमा निर्वाचित हुनुभयो र राष्ट्रिय संविधानसभामा भाग लिनुभयो । राष्ट्रिय संविधानसभाले जनताको लोकप्रिय इच्छाद्वारा स्वीकृत बोलिभारियाली गणतन्त्र भेनेजुयलाको नयाँ संविधानको मस्यौदा तयार गरेको थियो ।
२००० र २००६ को बिचमा, निकोलस माडुरोले संसदको अध्यक्षतासहित राष्ट्रियसभामा विभिन्न भूमिका निभाउनुभएको थियो । उहाँको संसदीय अनुभवले प्रमुख आयोगहरूजस्तै एकीकृत सामाजिक विकास र अर्थतन्त्रलाई समेटेको छ, जसले उहाँलाई सरकारमा ठुलो भूमिकाको लागि तयार पारेको थियो ।
कमान्डर चाभेजले माडुरोको क्षमतालाई मान्यता दिनुभयो र उहाँलाई २००६ मा परराष्ट्र मन्त्री नियुक्त गर्नुभयो । त्यतिबेला माडुरोले बहुध्रुवीय विश्व निर्माण गर्ने, ल्याटिन अमेरिकी एकीकरणलाई प्रवद्र्धन गर्ने र शान्ति निर्माण गर्ने अभियानमा एक केन्द्रीय खेलाडीको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि उहाँले २०१२ मा उपराष्ट्रपतिको पद ग्रहण गर्नुभयो । चाभेजको माडुरोमाथि विश्वास स्पष्ट भयो जब चाभेजले आफ्नो अन्तिम शल्यक्रियाअघि उहाँलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गर्नुभयो ।
सन् २०१३ मा कमान्डर ह्युगो चाभेजको निधनपछि निकोलस माडुरोले राष्ट्रपतिको निर्वाचनमा थोरै अन्तरले जीत हासिल गर्नुभएको थियो । उहाँको राष्ट्रपति कार्यकालमा अमेरिकी सरकार र युरोपेली सङ्घद्वारा प्रतिबन्धहरूलगायतका महत्वपूर्ण चुनौतीहरू खडा गरिएका थिए । त्यसले भेनेजुयलामा अभूतपूर्व आर्थिक सङ्कट र धेरै अन्तर्राष्ट्रिय दबाबहरू निम्त्याएको थियो । यद्यपि, उहाँले आफ्ना सार्थकहरूसँग सम्पर्कमा रहन ‘सडकहरूको सरकार’ जस्ता कार्यक्रमहरू कार्यान्वयन गर्दै भरपर्दो जन आधारको समर्थन कायम राख्नुभएको छ ।
राष्ट्रपति निकोलस माडुरो २०१८ र २०२४ मा पुनः नर्वाचित हुनुभएको छ् र चाभेजको विरासतको वैध निरन्तरता र साम्राज्यवादी षड्यन्त्रहरूविरुद्ध भेनेजुयलाको सार्वभौमसत्ताको रक्षकको रूपमा कायम हुनुभएको छ ।
एक ट्रेड युनियनवादीको रूपमा सुरु भएको उहाँको राजनीति राष्ट्रपति पदमा पुनः निर्वाचित भई हालको स्थितिसम्ममा माडुरोलाई दृढ सङ्कल्पित, एकता र प्रतिरोधद्वारा चिन्हित राजनीतिक नेतृत्वको चित्रण गर्दछ, जसले बहुसङ्ख्यक भेनेजुयाली जनताको गहिरो बोलिभारियाली समाजवादी विचार र साम्राज्यवादविरोधी विश्वासलाई प्रदर्शित गरेको छ ।
जनवरी १५, २०२४ मा राष्ट्रका नाममा आफ्नो वार्षिक सन्देशमा, राष्ट्रपति निकोलस माडुरोले भेनेजुयलाहरूलाई शान्तिको संरक्षण र सामाजिक कल्याणको सुनिश्चितता गर्ने नयाँ आर्थिक र उत्पादक मोडेल निर्माण गर्ने उद्देश्यले सात परिवर्तन (७–टी) कार्यक्रमको सामूहिक विस्तारलाई गहिरो, छलफल र योजना बनाउन आग्रह गर्नुभएको थियो ।
राष्ट्रपतिद्वारा व्याख्या गरिएअनुसार, यो कार्यक्रम जनताद्वारा कल्पना गरिएको र लेखिएको हो । माडुरोका अनुसार, भेनेजुयलाका जनतालाई ७–टीको कार्यक्रम कार्यान्वयनको लागि परामर्श गरिएको छ । उनीहरूको योगदानका साथ परिवर्तनहरू सुदृढ गरिएका छन् ।
७–टीको पहिलो बिन्दु अर्थतन्त्र र मुद्रास्फीतिको सामना गर्न नयाँ उत्पादन मोडेलको विकास हो । विज्ञान, प्रविधि, शिक्षा र संस्कृतिलाई दोस्रो स्थानमा राखिएको छ । यसरी प्रतिबन्ध र जबरजस्ती र एकपक्षीय उपायहरूले क्षतिग्रस्त भेनेजुएलाका सबै पूर्वाधारहरू पुनः प्राप्ति गर्दै तेस्रो पक्ष राष्ट्रिय सुरक्षा र प्रतिरक्षा हो, जुन सामाजिक शान्तिको सुदृढीकरणदेखि गुयाना एसेकिबाको क्षेत्रको पुनः प्राप्तिसम्मको क्षेत्र हो ।
सामाजिक अधिकारको सार्वजनिक चरित्रको सीमाङ्कन र भेनेजुयलाहरूलाई उनीहरूको आवश्यकतामा सहयोग गर्न सरकारी व्यवस्थापनको सुधार ७–टीको चौथो र पाँचौँ बुँदाहरू हुन्, जसले जनताको जीवनको गुणस्तरमा योगदान पु¥याउने सामाजिक परियोजनाहरूलाई वित्तपोषण गरिरहेको छ ।
७–टीको छैटौँ बिन्दुको उद्देश्य जलवायु परिवर्तनसँग लड्ने, प्रकृतिको हेरचाह गर्ने संस्कृति, वैकल्पिक ऊर्जा स्रोतहरूको प्रवद्र्धन र खाद्य उत्पादन योजनाको स्थापनामा आधारित छ ।
७–टीको अन्तिम बुँदाले अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरणमा जोड दिएको छ, जसको उद्देश्य भेनेजुयलालाई ब्रिक्स समूहमा समावेश गर्ने, ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय–सेलाक र हाम्रो अमेरिकाका जनताका लागि बोलभारियाली गठबन्धन विस्तार गर्न– जनताको व्यापार सन्धि (ALBA–TCP) लाई सुदृढ पार्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *