भर्खरै :

प्रदेश राजधानीको प्रश्न

–पी. कृष्ण
देशमा पहिलोपल्ट सङ्घीय व्यवस्थालाई संस्थागत गर्ने क्रममा प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेशसभाको निर्वाचन सँगसँगै त्यहाँ उम्मेदवार बनेका धेरैजसो संविधानसभाका सदस्यलगायत प्रदेशसभाका सदस्य उम्मेदवारहरूले त्यतिबेला आफूहरू जितेर गएको खण्डमा जिल्लामा प्रदेशको राजधानी बनाउने भन्नुभएको थियो । त्यसले गर्दा अब आएर विभिन्न राजनीतिक पार्टीबाट जितेर गएका संविधानसभाका सदस्यलगायत प्रदेशसभामा विजयी सदस्यहरूले बाध्य भएर आफूहरू अगाडि बसेर आन्दोलन गरिरहेको कारण सरकारलाई आच्छुआच्छु परिरहेको छ । सहरी विकास मन्त्रालयले विभिन्न जिल्लामा अध्ययन गरी प्रतिवेदन बुझाइसकेको यो अवस्थामा त्यसलाई ध्यान नदिई नहुने भइसकेको छ ।  यस क्रममा अनुगमन समितिले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी गर्नु उपयुक्त हो कि होइन भन्ने कुराको अनुगमन गरी प्रतिवेदन बाहिर ल्याइसकेपछि झन् यो आन्दोलन चर्को ढ·मा अगाडि बढेको स्थिति छ ।

जग्गाको भाउ उकासेर जग्गा जमीन बाहिरी मान्छेहरूलाई बेचेर यहाँका रैथाने नेवारहरूलाई आदिवासीबाट सुकुमवासीको रुपमा परिणत गर्ने कार्य पनि यस्तै जग्गा तस्करहरूबाटै प्रत्यक्षरुपमा भइरहेको छ । त्यसो भएर पनि राजधानी भक्तपुरमा राख्न ल्याउने माग अन्य व्यक्तिहरूलाई भन्दा जग्गा तस्करहरूको चंगुलमा परेर नेताहरूले गरेको हो भन्ने कुरामा शङ्का गर्नुपर्ने देखिन्न । 

 
भक्तपुर जिल्ला देशमा सबैभन्दा सानो जिल्ला हो । यस जिल्लालाई सहरी विकास मन्त्रालयले हाल शिक्षा विभाग र शिक्षा कार्यालय राखेको सानोथिमि क्षेत्रलाई ३ नम्बर प्रदेशको राजधानी वा मन्त्रालय राख्न उचित हो भनी प्रतिवेदन प्रस्तुत गरिसकेको अवस्था छ । यो अन्तिम तयारी हो । प्रतिवेदनले भक्तपुर जिल्लालाई सबैभन्दा उपयुक्त स्थानको रुपमा लिएका कारणमध्ये पहिला नै यहाँ कृषि विकास बैङ्कको तालिम केन्द्र बोडे निर्माण भइसकेको कारणले सो स्थानलाई ३ नम्बर प्रदेशको संसद भवन बनाउन योग्य ठानिएको हो । यसरी पहिला नै पूर्वाधार तयार भएका स्थान भएकोले प्रतिवेदनमा यो स्थानलाई प्रदेश राजधानी बनायो भने धेरै तयारी गर्नु नपर्ने उल्लेख छ ।  एकातिर भक्तपुर ३ नम्बर प्रदेशका राजधानी प्रस्ताव भएपछि थुप्रै मानिसहरू खुसी भएको पाइन्छ ।
विशेष रुपमा भक्तपुरलाई राजधानी बनाइनुपर्दछ भन्नेहरू नेकपा एमालेका सांसद महेश बस्नेतलगायत स्थानीय एमाले नेता कार्यकर्ताहरू अत्यन्तै खुसी छन् । साथै स्थानीय काङ्ग्रेस, माओवादी केन्द्र र अन्य राजनीतिक पार्टी पनि उत्साहित भएका छन् । त्यतिमात्रै होइन स्वतन्त्र र विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएर पनि जग्गा तस्करमा संलग्न रहेका व्यक्तिहरू झन् बढी यो निर्णयबाट उत्साहित रहेका छन् । ह्वात्तै जग्गाको भाउ माथि पुगिसकेका कारण जग्गा दलालीहरू पनि सक्रिय छन् । यो पहिले नै थुप्रै मानिसहरूले अनुमान गरिरहेको विषय पनि हो । जग्गाको भाउ उकासेर जग्गा जमीन बाहिरी मान्छेहरूलाई बेचेर यहाँका रैथाने नेवारहरूलाई आदिवासीबाट सुकुमवासीको रुपमा परिणत गर्ने कार्य पनि यस्तै जग्गा तस्करहरूबाटै प्रत्यक्षरुपमा भइरहेको छ । त्यसो भएर पनि राजधानी भक्तपुरमा राख्न ल्याउने माग अन्य व्यक्तिहरूलाई भन्दा जग्गा तस्करहरूको चंगुलमा परेर नेताहरूले गरेको हो भन्ने कुरामा शङ्का गर्नुपर्ने देखिन्न ।  सबैभन्दा सानो जिल्ला भएर पनि ठूल ठूला महात्वाकाङ्क्षी माग गर्नु भनेको कमिलाले घ्याम्पो अँगालो मार्नु जस्तै हो । भन्न खोजेको कुरा भक्तपुर जिल्ला एक हिसाबले सांस्कृतिक नगर हो । अझ काठमाडौं उपत्यका नै एक हिसाबले सांस्कृतिक क्षेत्र हो । मल्लकालदेखि यो स्थान विश्वमा प्रसिद्ध सांस्कृतिक सम्पदा थियो । यस्तो अति उच्च स्तरको सम्पदा वा विश्व सम्पदा बचाउनको लागि मूल राजधानी काठमाडौंलाई दाङमा सार्नुपर्छ भन्ने माग औपचारिक रुपमा नेमकिपाले लामो समय अघिदेखि अगाडि ल्याएको छन् । यो समयमा पनि प्रदेशको राजधानी उपत्यकाभन्दा बाहिर राख्नुपर्ने माग नेमकिपाको छ । सानो जिल्ला भक्तपुरले ठूलो महात्वाकाङ्क्षा लिनु सही पनि होइन ।
आफ्नो क्षमता र योग्यतालाई ध्यान नदिइकन राजधानी राख्ने ल्याउने बेला बाहिरका मानिसहरू ह्वात्तै यहाँ बढ्ने सम्भावना रहन्छ । अहिले नै यहाँ जनसङ्ख्या बढेर पिउने पानी समस्या भक्तपुर नगरको सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । यस्ता विभिन्न कारणले भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी सहर बनाउने वा सांस्कृतिक केन्द्र घोषणा गरी सबै कलकारखाना, भट्टा, उद्योगहरू बाहिर लानुपर्ने थियो । विश्वका थुप्रै देशबाट आउने पर्यटकलाई निर्वाध रुपमा यहाँको सांस्कृतिक सम्पदा अवलोकन गर्न दिनको लागि राम्रो बन्दोबस्त गर्नुपर्ने थियो । त्यतिमात्रै होइन संसारको सबैभन्दा उत्कृष्ट सांस्कृतिक धरोहरमध्ये एक पाँचतले मन्दिर, सुनको ढोका र ५५ झ्याले दरवार जस्ता विश्व सम्पदाहरूलाई जोगाई राख्नको लागि यो नगरलाई सांस्कृतिक नगर घोषणा गर्ने तयारी लामो समय अगाडिदेखि भइरहेको थियो । यसरी विभिन्न खालको तयारी अगाडि बढिरहेको बखत भक्तपुर नगरपालिका सांस्कृतिक नगर घोषणा गर्नुको सट्टा प्रदेश नम्बर ३ को राजधानी बनाउने कुरा अगाडि आएको हो । यस्तो समयमा विभिन्न क्षमता, योग्यता र सुविधालाई मात्रै ध्यानमा राखेर यहाँका कुनै पनि कमी कमजोरी र साँगुरोपनालाई पटक्कै ध्यान नदिनु भने उचित होइन । यदि प्रदेश नम्बर ३ को राजधानी भक्तपुर ल्याउने हो भने अझ यहाँ पहिलेभन्दा दोब्बर जनसङ्ख्या बढ्ने छ ।
भक्तपुर नगर त्यसै पनि विश्वको सबैभन्दा बढी जनघनत्व भएको स्थान हो । त्यसको साथै यहाँ तस्कर, चोरी र भ्रष्टाचारीहरूको चलखेल पनि बढ्ने छ । त्यतिमात्रै होइन फोहर बढ्नेछ । राजधानी आ—आफ्नो जिल्लामा ल्याउने निहित स्वार्थको आन्दोलन भइरहेको अवस्था छ । भक्तपुरमात्रै होइन कि देशभर नै प्रदेशको राजधानी ल्याउनको लागि विभिन्न ढ·ले आन्दोलन अगाडि बढिरहेको यो अवस्थामा राजनीतिकको कारणले कुनै एक स्थानलाई प्रदेश राजधानी बनाउनुभन्दा त्यहाँको पूर्वाधार तयार भएको छ छैन भनी ध्यान दिएर विभिन्न किसिमको निर्णय गर्नु जरुरी छ । होइन भने यहाँ झन् झन् चोरी निकासी, डकैती, लूट एवं भ्रष्टाचार मौलाउँदै जाने देखिन्छ । अनि राजधानी आयो रे भनेर खुसी मानिरहेका आजका नेताहरू भोलि गएर पश्चातापमा नपर्ला भन्ने के ग्यारेन्टी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *