भर्खरै :

शताब्दीकै सबैभन्दा भद्दा विवाह समारोह !

शताब्दीकै सबैभन्दा भद्दा विवाह समारोह !

एक वर्षमा भारतीय राज्य महाराष्ट्रमा आधिकारिकरूपमा ३ लाखभन्दा बढी परिवारका छोरीहरू विवाह खर्च जुटाउन नसकेर विवाह हुन नसकेको तथ्याङ्क छ । यस्तो अवस्थामा केही किसानको आत्महत्यामा छोरीको विवाह हुन नसक्नु कारक भएको हुँदा छोरीहरूले आफ्नो बुबाको मृत्युको लागि आफैलाई दोषी ठह¥याउँछन् । यस्तो देश भारतमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले झन्डै ६० अर्ब भारतीय रूपैँया खर्च गरेर आफ्नो छोराको विवाह उत्सव मनाए । हरेक दिन तीन किसानहरूले ऋण तिर्न नसकेर आत्महत्या गर्ने ठाउँ महाराष्ट्रको राजधानी मुम्बईमा यो भद्दा विवाह भएको थियो । ती किसानहरूमध्ये अधिकांशले लाख रूपैयाँको हाराहारीमा ऋण तिर्न नसकेका कारण आत्महत्या गरेका थिए । भारतको विभिन्न ठाउँमा भइरहेको द्वन्द्व, बाढी, भोकमरी, पुलहरू भत्किएको र हत्या हिंसाका समाचारका बिचमा अम्बानीले विवाह महोत्सव धुमधामका साथ मनाए । यस्ता घटनाहरूले देशको बढ्दो आर्थिक असमानता र उद्यमीवर्गको समृद्धिलाई प्रकाश पार्छ ।
पेट्रोकेमिकलदेखि टेलिकम र रिटेलसम्म फैलिएको व्यवसायका मालिक मुकेश अम्बानीले मार्च महिनाबाट सुरु भएको छोराको विवाह समारोहलाई विभिन्न चरण पार गरी ५ महिना लगाएर पैसाको खोला बगाए । विवाहमा दुलाहा दुलहीका आफ्ना नजिकका नातेदार र साथीहरूलाई बोलाएर भोजभतेर गर्ने चलन प्राचीनकालदेखि चलिआएको छ । तर, ‘गोरु बेचेको साइनोसमेत नभएको’ भनेजस्तै विश्वका धनाढ्यदेखि विश्व चर्चित गायक र कलाकारसम्मलाई आमन्त्रित गरेर झन्डै १ खर्ब नेपाली रूपैयाँ खर्च गरियो । भारतका उत्कृष्ट फेसन डिजाइनरहरूद्वारा तयार पारिएको पोशाकमा कार्यक्रममा उपस्थित हुन विश्वभरका सेलिब्रेटीहरूलाई अम्बानी परिवारले निमन्त्रणा दिए । विश्व प्रसिद्ध गायक गायिका रिहानादेखि केटी पेरी, जस्टिन बीबर र ब्याकस्ट्रीट ब्वाइजलाई पनि प्रदर्शन गर्न आमन्त्रित गरेर विवाह महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्न अम्बानी परिवारले कुनै कसर छोडेनन् । धनाढ्यहरूको चन्दाबाट चलेको भाजपाका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नवविवाहित जोडीलाई आशीर्वाद दिन नजानु त कुरै भएन । त्यसको साथै थुप्रै राजनीतिक दलका नेताहरू उपस्थित भएका थिए ।
भारतीय सरकारमा पुँजीपतिहरूको प्रभाव कति रहेछ भन्ने कुरा विवाह महोत्सव पश्चिम भारतको गुजरातको जामनगरमा प्रि–वेडिङ कार्यक्रम हुँदा विदेशी पाहुनाको लागि जामनगरस्थित भारतीय सेनाको हवाईअड्डासमेत प्रयोग भएको घटनाले पुष्टि गर्छ  ।
यस स्तरको अपव्ययले भारतमा रहेको अपार सम्पत्ति र व्याप्त कुरूप आर्थिक असमानतालाई झल्काउँछ । अधिकांश निम्न–मध्यमवर्गीय भारतीयहरूले आफ्ना छोराछोरीको विवाहको लागि खर्च जुटाउन ठुलो ऋण लिने देशमा यो स्तरको भद्दा मजाक भइरहेको छ । ८० करोड मानिसहरू सरकारले उपलब्ध गरेको निःशुल्क ५ केजी खाद्यान्नमा निर्भर देशमा यो समारोहलाई एकजना खर्बपतिको सम्पत्तिको अश्लील प्रदर्शनको रूपमा लिइएको छ । त्यसैले धेरै भारतीयले अम्बानीको यस्तो समारोह पागलपनको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।
अर्को प्रसङ्ग सरकारले यस्तो निजी भोजभतेरलाई सार्वजनिक कार्यक्रम घोषणा गरिनु पाखण्ड नै थियो । विवाह समारोहहरू मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजना गरिएको थियो । मुम्बई पुलिसले यस क्षेत्रमा ट्राफिक प्रतिबन्ध लगाएको थियो । तर, गरिब किसानहरूले आफ्नो अधिकारको लागि प्रदर्शन गर्दा सहरका कुलीन उदारवादी र मुख्यधाराका मिडियाहरूले ट्राफिक व्यवस्था अस्तव्यस्त भएको भनेर गुनासो गर्छन् । अर्कोतिर रिलायन्स इन्डस्ट्रीजले सन् २०१४ मा खरिद गरेको देशको सबैभन्दा ठुलो मिडिया समूहले विवाह समारोहले अस्तव्यस्त बनाएको ट्राफिक व्यवस्थाको बारेमा बेखबर भएर अम्बानीको प्रशंसा गरे ।
अम्बानी यो स्तरमा धनाढ्य कसरी भयो ?
कोरोनाकाल र रुस युक्रेन युद्धले गर्दा धेरै भारतीयहरू गरिबीको रेखामुनि भएकै समयमा मुकेश अम्बानीको सम्पत्ति रात दुईगुणा दिन चौगुणा भनेजस्तै गरी बढ्दै थियो । यो कसरी सम्भव भयो त ? मुकेश अम्बानीले रुसको सरकारी तेल कम्पनी रोजनेफ्टसँगको रणनीतिक सम्झौताबाट रुसमाथि लगाइएको प्रतिबन्धको मौकाको फाइदा उठाएका छन् । यस व्यवस्थाले रिलायन्सलाई छुट दरमा तेल सुरक्षित गर्ने मौका मिल्यो । अमेरिका र युरोपेली प्रतिबन्धहरूको बिचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र यसका व्यापारिक साझेदारहरूलाई पश्चिमी वित्तीय प्रणालीको विकल्प खोज्न प्रोत्साहित गरे । विश्वको सबैभन्दा ठुलो रिफाइनिङ कम्प्लेक्सको सञ्चालक रिलायन्स इन्डस्ट्रिजले रुसको रोजनेफ्टसँग एक वर्षको सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत रिलायन्सले रोजनेफ्टबाट हरेक महिना कम्तीमा ३० लाख ब्यारेल तेल रुबलमा तिरेर खरिद गर्छ । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरूले रुसी कच्चा तेल खरिद गर्न बन्द गरेपछि भारत विश्वको तेस्रो ठुलो तेल आयातकर्ता र समुद्री रुसी कच्चा तेलको उपभोक्ता बन्यो । छोटकरीमा भन्नुपर्दा पश्चिमी प्रतिबन्धहरू बेवास्ता गर्दै र वैकल्पिक भुक्तानी विधिहरूको फाइदा उठाउँदै अम्बानीले रुसबाट सिधैँ छुटमा तेल आपूर्ति सम्झौताबाट लाभ उठाएका थिए र उठाउँदै छ । रोजनेफ्टसँग सम्झौता गरेर रिलायन्सले तेल लेनदेनको लागि पश्चिमी च्यानलहरूबाट छुट्टिएर अकुत सम्पत्ति कमायो । रुसले तेल आपूर्तिमा दिएको छुट सरकारले सरकारी कम्पनीमार्फत सम्झौता गरेको भए फाइदा सबै सरकारी ढुकुटीमा जान्थ्यो । तर, त्यसो नगरी यससँग सम्बन्धित सम्झौता अम्बानीको निजी कम्पनीलाई दिएर देशले पाउन सक्ने लाभमाथि मोदी सरकारले घात गरे ।
अम्बानीको सम्पत्ति गुणात्मक तरिकाले बढ्नुको अर्को कारण उनको निजी दूर सञ्चार कम्पनी ‘जियो’ हो । भारत सरकारसँग भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) नामक दूरसञ्चार कम्पनीको स्वामित्व छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नाममा सरकारी कम्पनीको सम्पूर्ण पूर्वाधार निजी कम्पनीलाई प्रयोग गर्न दिएर मोदी सरकारले सरकारी कम्पनी धराशायी गर्ने काम ग¥यो । सरकारी संस्थालाई भित्रभित्रै खोक्रो बनाएर सरकारले आफ्नो सहयोगी धनाढ्य दाताहरूलाई धनी बनायो । दूरसञ्चार क्षेत्रमा झन्डै एकाधिकारजस्तै भएको जियोले अहिले अम्बानीको आम्दानीमा ठुलो हिस्सा योगदान गर्छ । हालैमात्र विवाह समारोहको बिचैमा मोबाइल रिजार्ज शुल्क बढाएको छ । सर्वसाधारण जनताले अम्बानीले विवाह भोजमा नबोलाइकन दाइजो लियो भनेर रिचार्ज शुल्क बढाएको प्रसङ्गलाई जोडेर व्यङ्गय गरिरहेका छन् ।
यसरी देशको सम्पत्ति दोहन गर्न पाएर एसियाकै धनी व्यक्ति बन्न सफल व्यक्तिले छोराको विवाहमा ६० अर्ब भारतीय रूपैयाँ खर्च गर्नु भनेको ‘लुटको धन फुपूको श्राद्ध’ भनेजस्तै भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *