भर्खरै :

नेपालमा भारतीय हस्तक्षेप !

नेपालमा भारतीय हस्तक्षेप !

नेपालमा हिजोआज नेपाली चेली माता प्रतिभाको सामाजिक सञ्जालमा व्यापक चर्चा छ । उनको नेपाल आगमनको स्वागतमा भएको तामझामको बारेमा क्रिया प्रतिक्रियाहरू आएका छन् । उनी २३ वर्षकी नेपाली चेली थिइन् । उनी काभ्रेको मण्डनदेउपुरकी ब्राह्मण कुलमा जन्मेकी माता प्रतिभा देवीको नाममा चर्चित थिइन् । उनको वास्तविक नाम प्रतिभा पराजुली थिए । उनी १२ वर्षको कलिलो उमेरमै हजुरबुबाको प्रभावमा भारतको वृन्दावनमा गई दीक्षित भएर माता प्रतिभादेवी बनेकी थिइन् । उनी भारतका जया किशोरी, चित्रलेखापछिका तेस्री कान्छी प्रभावशाली पुराण, कथा वाचिका हुन सफल भइन् । त्यसैले, उनलाई पशुपति, गुज्यश्वरी, बङ्गलामुखी, पनौती त्रिवेणीमा स्थानीय धार्मिक श्रद्धालुहरूले बाजागाजासहित स्वागत गरेका थिए । उनले प्रभावशाली कथा, पुराण वाचिका भएकीले हिन्दू धर्मप्रति आस्था राख्ने नेपालीको मन जितिन् । तर, आफ्नै देशमा आउँदा भारतीय बाक्लो सुरक्षाकर्मीको घेरामा आएकोमा जनतामा खिन्नता छाएको छ । यसलाई नेपाली जनताले विभिन्न कोणबाट हेरेका छन् ।
सामाजिक सञ्जालमा उनको पहिरन र बडीगार्डको बारेमा धेरै टीकाटिप्पणी भएको पाइन्छ । सनातन हिन्दू धर्म परम्पराअनुसार हिन्दू धर्म प्रचारक, पुराण वाचिका भएकीले ऋषि, साधु, सन्त, जोगीले जस्तो पहेँलो गेरु वस्त्र, रुद्राक्ष माला, नाङ्गो खुट्टा या सामान्य चप्पलमा हिँड्नुपर्नेमा उनी त्यसरी हिँडिनन् । उनीहरू स्वच्छ, त्यागी र इमानदार हुनुपर्ने हो । उनीहरु स्वच्छ, निःस्वार्थ, पवित्र भई त्यागी मनले दिएको दानमा दैनिक गुजारा चलाउँछन् । उनीहरू कुनै सञ्चय गर्दैनन् । धन सम्पत्तिमा उनीहरूको आशक्ति हुँदैन । उनीहरू जहाँ बास बस्छन् त्यही परिवार र घर त्यही सम्पत्ति हुन्छन् । उनीहरूको जीवन, ज्यान, धन, सम्पत्ति भनेको नै प्रकृति, निःस्वार्थी, त्यागी, कर्मशील श्रद्धालुहरूको न्यानो माया र दान नै हुन्छ । तर, उनको लवाइखवाइ, सुरक्षा घेरा र बन्दोबस्त देख्दा नेपाली जनताले उनलाई शङ्काको आँखाले हेरेका छन् ।
हुन त उनीहरूको शिक्षादीक्षा र ज्ञान भनेको कथा र पुराण वाचनको क्रममा वाचन श्रवण गर्न आएका लाखौँ हजारौँ भक्तजनहरूको सहानुभूति लिन, माया पाउन र मन जित्न भकानिने गर्छन् । जतिसुकै अन्याय अत्याचार भए पनि त्यसविरुद्ध सङ्घर्ष गर्न उनीहरू शिक्षा दिँदैनन्† ज्ञान वा शिक्षा बाँड्दैनन् । उनीहरु मानिसलाई गरिब, दुःखी, अशिक्षित जनतालाई भइरहेको अन्याय, अत्याचार, शोषण र दुःखको कारण अज्ञान भन्छन् । उनीहरू पुराण श्रवण गर्न आएका श्रद्धालु जनतालाई कहिले पनि गरिब जनताको अन्याय, अत्याचार र दुःखको मुख्य कारक शोषक, सामन्त, पुँजीपति, भ्रष्टाचारी, देशघाती र विदेशी दलाल हो भन्दैनन् । त्यसविरुद्ध गरिब र दुःखी जनता एक भएर सङ्घर्ष गर्न उनीहरु सिकाउँदैनन् । त्यस्तो भव्य पुराण वाचन कार्यक्रमको आयोजना गर्नेहरू कति त लाखौँ हजारौँ खर्च गर्ने, दान दक्षिणा दिने, चन्दा राख्ने धर्मात्मा श्रद्धालुहरु त्यस्तै धनी, शोषक, सामन्त, भ्रष्टाचारी, घुस्याहा, तस्कर र देशघातीहरू पनि हुन्छन् । उनीहरू मञ्चमा पुराण वाचिकाको दायाँबायाँ एउटै निधारमा श्रीखण्डको टीका, घाँटीमा रुद्राक्षको माला लगाएर, गेरु वस्त्र धारण गरेर सँगै बसेका हुन्छन् । उनीहरू हुने नहुने काम गरेर जोरेको कालो धन सेतो बनाउन, आफूलाई त्यस्तोमा देखाएर मात्र धर्मात्मा देखाउन चाहन्छन् ।
हुन त धर्ममा सबै समान हुन्छन् । त्यहाँ धनी–गरिब, माथिल्लो तल्लो जात, हुँदा खाने र हुने खानेबिच केही पनि भेदभाव हुँदैन भनिन्छ । ती पुराण, कथा वाचक, वाचिकाहरू अनि रुद्राक्ष माला, श्रीखण्डको टीका र गेरु वस्त्र धारण गरिएका पापीहरू पनि त्यस्तै बखान गर्दछन् । उनीहरू बाघ र बाख्रा एउटै खोरमा राख्नुपर्छ भन्छन् । तर, व्यवहारमा त्यस्तो कहाँ हुन्छ र ! गरिब वा तल्लो वर्गका जनता, श्रद्धालुहरू त्यहाँ आउन पनि सक्दैनन् । दान, दक्षिणा र भेटी पनि चढाउन सक्दैनन् । आए पनि तिनीहरूले परैबाट अछुट, दरिद्र, फोहरी भनेर विभेद, छिः छिः र दुरदुर गरिहाल्छन् । त्यसो त सबै धनी, व्यापारी, उद्योगपति, वाचक, वाचिका कार्यक्रम आयोजक त्यस्ता नहुन पनि सक्छन् ।
नेपाली चेली पुराण वाचिका प्रतिभा पराजुली आफ्नै देशमा आउँदा पवित्र धार्मिक धाम पशुपतिमा आउँदा बाक्लो भारतीय बडीगार्डको घेरामा आएकोमा विभिन्न प्रश्नहरू उब्जिएका छन् । उनी आफ्नो मातृभूमि, देशकै धार्मिक एवम् सांस्कृतिक राजधानी पशुपतिमा आउँदा किन दर्जनौँ भारतीय सुरक्षाकर्मीको घेरामा आउनुप¥यो ? उनको सुरक्षाको नाम वा बहानामा उनीहरू किन नेपालमा आए ? नेपाली सुरक्षाकर्मीहरू हुँदाहुँदै भारतले त्यस्ता सुरक्षाकर्मी किन पठायो ? के त्यो धर्मको नाम र आवरणमा नेपालमाथि भारतीय हस्तक्षेप होइन ? के हाम्रो देशको स्वाधीनता र सार्वभौमिकता रक्षा गर्न हामी सक्षम र स्वतन्त्र छौँ ? भन्न सकेनौँ ? सरकार र शासक दलले हाम्रा नेपाली चेलीलाई देशमा सुरक्षा दिन सक्षम छौँ भन्न कि सकेनन् ? त्यस्तो भन्ने आँट किन भएन ? के हाम्रा नेपाली प्रहरी, सशस्त्र प्रहरी र सेनाले उनलाई सुरक्षा दिन सक्षम छैन ? के त्यो तागत राख्दैन ? हाम्रा सरकार र शासकहरू किन भारतसामु घुँडा टेक्छन् ? के भारतले नेपाललाई उनको सुरक्षा दिन सक्दैन भन्ने सन्देश दिन खोजेएको होइन ? हिजो संरा अमेरिकाले नेपालमा अप्रिय घटना घटाएर आफ्नो सेना पठाउने बहाना बनाउन, आक्रमण गर्न, निहुँ खोज्न नेपाल आतङ्कवादीको आश्रयस्थल, केन्द्र बन्दै गएको आरोप लगाएको होइन ? के उनीहरूले लगाएको आरोप तथ्यसङ्गत छन् ? होइन भने त्यसको खण्डन गर्नुपर्छ कि पर्दैन ? यी प्रश्नको जवाफ सरकारले नेपाली जनतालाई दिनु आवश्यक छ ।
मित्र राष्ट्र उत्तर कोरियालाई संरा अमेरिकाको प्रभाव र दबाबमा नेपालमा रहेको कोरियाली दूतावास, कूटनीतिज्ञहरूलाई कम्युनिस्ट भनिएको सरकारबाटै बलजफ्ती निकाल्न लगाइएको थियो । उत्तर कोरिया संसारका बहुमत गरिब, शोषित, पीडित र स्वतन्त्रताका लागि लडिरहेका जनताको परम मित्र, सङ्कटको बेलाका साथी हुन् भने अमेरिकी साम्राज्यवादका लागि आतङ्कवादी भए । आतङ्कवादीले सबैलाई आतङ्कवादी नै देख्छन् । उत्तर कोरियाले सन् १९५०–५३ को युद्धमा अमेरिकी साम्राज्यवादलाई धुलो चटाएर पठाएको थियो । उत्तर कोरियाले उनलाई शान्ति भए शान्ति, युद्ध भए युद्ध भनेर चेतावनी दिएको थियो । तर, उत्तर कोरियाले पहिला हामी युद्ध चाहँदैनौँ, शान्ति चाहन्छौँ भनेको थियो ।
चाणक्य नीतिले भन्छ, अरु देशलाई, शत्रु देशलाई हराउनु छ, जित्नु छ भने ज्योतिष, व्यापारी, ऋषि, साधु, सन्त, भिक्षु, धार्मिक पुराण वाचक, वाचिका आदि गुप्तचरमार्फत प्रयोग गरिन्छ । जो सामान्य जनतालाई थाहा हुँदैन । लोभ, षड्यन्त्र, जात, धर्म, क्षेत्र, लिङ्ग, अधिकार, शङ्का र उपशङ्का उब्जाएर जनतालाई, शासकहरूलाई एक आपसमा फुटाउने, जुताउने, भिडाउने गर्दछन् । विगतमा हाम्रो देशमा त्यस्तो वातावरण बनाउन उनीहरूले नखोजेका होइनन् । उनीहरू भारतीय रूपैयाँ, डलर, एनजीओ, आईएनजीओ, दलालमार्फत आज पनि त्यस्तो वातावरण बनाउन खोज्दै छन् र भोलि पनि खोज्दै नजाला भन्न सकिँदैन । उनीहरूलाई नेपाल पसेर छिमेकी मित्र राष्ट्र चीनमा उपद्रव मच्चाउनु छ । चीनलाई विश्वमा अगाडि बढ्नबाट रोक्नु छ । यसमा हाम्रा शासक र नेपाली जनता सधैँ सचेत र चनाखो रहनु आवश्यक छ । नेपाली चेली प्रतिभा पराजुलीलगायत दाजुभाइ तथा दिदीबहिनीहरू भागवत पुराण, कथा वाचक, वाचिका वा अन्य कुनै बहानामा नेपालको विभीषण नबन्न नेपाली जनताले आग्रह गरेका छन् । त्यसो त हिजो रामदेवमाथि रअको एजेन्ट भनेर नेपाली जनताले आरोप नलगाएका होइनन्; विरोध नगरेका होइनन् । हुन त प्रतिभाले म नेपाली हुँ; मेरो शरीरमा नेपाली रगत बगेको छ; म नेपाली माटोलाई ढोग्छु, माया गर्छु, सम्मान गर्छु भनेकी थिइन् । त्यो बोली र भावनाअनुसार तिनले व्यवहार या परिणाम देखाउँछ कि देखाउँदैन समयले देखाउने नै छ । त्यसो त हिजो भारतले मिचिएको, बलपूर्वक अतिक्रमित लिम्पियाधुरासहितको नेपालको चुच्चे नक्सा नेपाली जनताले प्रकाशित गर्दा त्यसको समर्थन ग¥यो भनेर बलिउड अभिनेत्री नेपाली चेली मनिषा कोइराला भारतबाट लखेटिएका थिए ।
भारतले लेन्डुप डोर्जेलाई ज्वाइँलाई जस्तो मान सम्मान दिएर, प्रशंसा गरेर सिक्किम निलेजस्तै सशस्त्र जनयुद्धका नाममा भारतमा १० वर्ष सेल्टर वा ज्वाइँ पालेजस्तै पालेर माओवादीलाई ट्रोजन हर्स बनाएजस्तै उनलाई पनि धर्मको नाममा, शिक्षादीक्षाको नाममा वृन्दावन भारतमा पालेर ट्रोजन हर्स, विभीषणजस्तो बनाउने त होइन भनेर देशभक्त नेपाली जनताले चिन्ता लिइरहेका छन् ।
त्यसैले, यस्तो धर्म, प्रजातन्त्र, विकास, सहयोगलगायतका विभिन्न नाम र बहानामा नेपालमाथि हुने विदेशी हस्तक्षेप र आक्रमणको देशभक्त जनताले समयमै विरोध गरेर देशलाई जोगाउनु आवश्यक छ । जसरी हिजो हाम्रा वीर योद्धाहरू (पुर्खा अग्रज) ले बलिदान दिएर बचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *