हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
एन राइट गाजामा धमाधम प्यालेस्टिनीहरूको जातिसंहार भइरहेको छ । गत हप्ता मात्र १४० जनाको हत्या भयो । पश्चिम किनारमा हजारौँ प्यालेस्टिनीहरूलाई पक्राउ गरेर कारागार चलान गरिएको छ । इजरायली बमबारीका कारण अस्पताल, विश्वविद्यालय, पाठशालाहरू, सांस्कृतिक केन्द्र र बजार एवम् फुटबल मैदान ध्वस्त भए । (राष्ट्रसङ्घले प्यालेस्टिनी शरणार्थीहरूका निम्ति स्थापना गरेका ८ राम्रा विद्यालयहरू १० दिनमा नष्ट भए ।) गाजाका ‘सुरक्षित स्थल’ मा जनता त्राहीमाम छन् । यता अमेरिकामा भने पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास हुनुका साथै वासिङ्टन डिसीमा नेटोको ७५ औँ स्थापना दिवस धुमधामले मनाइयो ।
गाजाको ‘मारकाट’ मा बाइडेन सहअपराधी
जातिसंहार जारी छ । नेटोको उत्साव पनि सक्कियो । पूर्वराष्ट्रपति ट्रम्पको हत्याप्रयासले गर्दा राष्ट्रपति बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्नुप¥यो । उनले भने, “अमेरिकामा राजनीतिक हिंसालाई कुनै ठाउँ छैन । अमेरिकी राजनीति कहिल्यै पनि मारकाट मैदान हुनुहुन्न ।”
बाइडेनको कार्यकाल हेर्दा अमेरिकामा राजनीतिक हिंसा हुनुहुन्न र अमेरिका मारकाट मैदान बन्नुहुन्न भन्नु हावादारी हो । नेटो देशहरूले इजरायलको मारकाट मैदान गाजामा आगो दन्काउँदै छन् । तिनकै कारण जुलाई १२ गते शनिबारको दिन खान युनिस सहरमा इजरायलले रकेट हान्यो र ९० भन्दा बढी प्यालेस्टिनीहरू एकै पलमा मारिए भने ३ सत्न्दा बढी घाइते भए । आज जुलाई १३ गतेका २४ घन्टाभित्र मात्र कैयन शरणार्थी शिविरमा ८० प्यालेस्टिनीहरू मारिए ।
नेटो देशले दन्काउँदै छन् आगो
नेटोका ३२ सदस्य देशका प्रमुखहरू र त्यसका १० ‘विश्व साझेदार’ अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, कोलम्बिया, मङ्गोलिया, इराक, अफगानिस्तान र पाकिस्तान नेटोको ७५ औँ वार्षिकोत्सव मनाउन संरा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भेला भए ।
यीमध्ये केही नेटो सदस्य तथा साझेदारले गाजामा भइरहेको इजरायली जातिसंहारमा साथ–सहयोग दिँदै आएका छन् ।
नेटो मुख्यालयमा इजरायली कार्यालय
इजरायलसँग नेटोको लामो, नजिकको र तुलनात्मकरूपमा अज्ञात सम्बन्ध छ । आठ वर्षअघि सन् २०१६ मा नेटोको ब्रसेल्स मुख्यालयमा इजरायलको लागि अलग्गै कार्यालय स्थापना भएको थियो । नेटोसँगको इजरायली घनिष्ठताको महत्वबारे चर्चा गर्दै उक्त कार्यालयको उद्घाटनमा प्रधानमन्त्री नेतन्याहुले भनेका थिए, “इजरायलको सुरक्षामा टेवा दिने यो एउटा महत्वपूर्ण पाइला हो । यसबाट इजरायलको स्थान स्पष्ट हुन्छ । सुरक्षाको क्षेत्रमा धेरै सङ्घ–सङ्गठन हामीसँग सहकार्य गर्न चाहनुहुन्छ भन्ने यसबाट प्रमाणित हुन्छ ।”
नेटो मुख्यालयमा इजरायललाई आफ्नो कार्यालय खोल्न ठूलो दबाबपछि मात्र सम्भव भएको थियो । सन् २०१४ मा नेटोको नयाँ साझेदारी नीति सुरु भयो । तर, सन् २०१६ सम्म टर्कीले इजरायललाई नेटोमा प्रवेश गर्नबाट रोक्न विशेषाधिकार प्रयोग गरिरह्यो । शक्तिशाली नेटो सदस्यहरूले टर्कीलाई दबाब दिएपछि मात्र इजरायलले नेटो मुख्यालयमा आफ्नो कार्यालय खोलेको थियो ।
पर्दापछाडि सन् २०१५ मा टर्की र इजरायलबिच सम्झौता वार्ता चलिरहेको थियो । सन् २०१० पछि यी दुई देशको सम्बन्धमा बिग्रेको थियो । इजरायली कमान्डो सेनाले माभी मार्मरामा बसेका १० तुर्क अभियन्ताको हत्या गरेको थियो भने ५० भन्दा बढीलाई घाइते बनाएको थियो । मार्मरा गाजा गइरहेको तुर्क जहाज थियो । गाजाको स्वतन्त्रता यात्रामा मार्मरालगायत सात जहाज निस्केका थिए । सन् २०१५ को वार्तापछि दुई देशबिचको खटपट साम्य भयो ।
नेटो दस्तावेजहरू हेर्दा नेटो र इजरायलले झन्डै ३० वर्ष मिलेर काम गरेका छन् । खासगरी विज्ञान र प्रविधि, आतङ्कवादको प्रतिरोध, नागरिक सचेतना, आम नरसंहारकारी हतियारको प्रतिरोध, महिला, शान्ति तथा रक्षाको क्षेत्रमा यी दुईबिच सहकार्य भएको पढ्न पाइन्छ । अन्य जलसेनासँग काम गर्न सक्ने आफ्नो क्षमता अभिवृद्धि गर्न नेटोले आफ्नो ‘अपरेसन सी गार्जियन’ कार्यक्रममा इजरायललाई साझेदार बनायो । त्यस्तै, नेटोको ‘साझेदार तालिम तथा शिक्षा केन्द्रहरू’ मा इजरायलको सैन्य चिकित्सा प्रतिष्ठानले ‘विशेष सहयोगी’ को रूपमा काम गर्दै छ ।
औपचारिक रूपमा इजरायल नेटो सदस्य होइन । तर, ऊ ‘भूमध्यसागरीय सम्वाद’ कार्यक्रमको हिस्सा हो । यो कार्यक्रमको प्रायोजन भूमध्यसागरका सात देशसँग मिलेर नेटोले गर्छ ।
अपवादमा मात्र ४ नेटो देश
इजरायलसँगको नेटोको लामो सम्बन्धका कारण नेटो देशहरूले इजरायललाई हतियार बेच्ने गरेका हुन् । यसका साथै केही देशले इजरायलको विशाल हतियार उद्योगबाट हतियार पनि किन्दै आएका छन् ।
क्यानडा, नेदरल्यान्ड, स्पेन र बेल्जियम मात्र यसमा अपवाद छन् । बाँकी २८ नेटो देशले इजरायलसँग हतियार किनबेच जारी राखेका छन् । गाजामा प्यालेस्टिनीहरूको नरसंहार गरिरहँदा समेत इजरायलसँग यी देशको लेनदेन जारी छ । अदालती मुद्दाका कारण डेनमार्कले संरा अमेरिका जाने एफ–३५ लडाकु विमानका पार्टपुर्जाको निर्यात रोक्न सक्छ । अमेरिका यी विमान इजरायललाई बेच्ने हुनाले डेनमार्क त्यो निष्कर्षमा पुग्दै छ ।
लाट्भियाले समेत इजरायललाई हतियार बेच्यो भने लिथुआनियाले इजरायलसँग हतियार खरिद ग¥यो । ग्रीस, अल्बानिया, स्लोभाकिया र अन्य नेटो देशले इजरायलसँग सैन्य उपकरणहरू खरिद गरेका छन् ।
‘द एक्सन अन आम्र्ड भायलेन्स’ नामक संस्थाले इजरायलको विश्वव्यापी हतियार व्यापारबारे विस्तृत विवरण निकालेको छ ।
इजरायलको महासहयोगी संरा अमेरिका
सन् १९४८ मा इजरायलको स्थापना भए यता संरा अमेरिका वैदेशिक सहायताको उसको सबैभन्दा ठूलो स्रोत रहिआएको छ । इजरायलले हालसम्म अमेरिकाबाट ३१० अर्ब डलर बराबरको आर्थिक र सैन्य सहयोग लिइसकेको छ । २०२३ अक्टोबर ७ पछि अमेरिकाले एउटा कानुन ल्याएर इजरायललाई कम्तीमा साढे १२ अर्ब डलरको सैन्य सहयोग उपलब्ध गराइसकेको छ । यसअघि अमेरिकी संसद्ले सन् २०२४ मार्चमा इजरायललाई ३.८ अर्ब डलर सहयोग गरेको थियो भने २०२४ अप्रिलमा त्यसमा ८.७ अर्ब डलर थप्यो ।
अक्टोबर ७ पछि इजरायललाई गरिएका सत्न्दा बढी सैन्य सहयोगमध्ये दुई सहयोगबारे मात्र अमेरिकी संसद्मा छलफल भयो । अमेरिकामा अन्य देशलाई दिइने २५ करोड डलरभन्दा बढीको आर्थिक सहयोगबारे संसद्मा छलफल गर्नुपर्ने प्रावधान छ । तर, दुईबाहेक अन्य सहयोगबारे जनतालाई बताइएन । त्यसैले ती सहयोगबारे किटेर भन्न सकिन्न । यसबाहेक इजरायली सेनाले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाका लागि छुट्याएर राखिने रणनीतिक हतियारखानाबाट पनि हतियार पायो । सन् १९८० को दशकदेखि अमेरिकाले विभिन्न प्रकार हतियारहरूको भीमकाय हतियारखाना चलाउँदै आएको छ ।
गाजाबासीहरूमाथि बमबारी गर्न इजरायली वायुसेनाले प्रयोग गरेका सबै विमान अमेरिकानिर्मित हुन् । यसमा फ्रान्सको एउटा एयरबस हेलिकप्टर मात्र अपवाद छ । इजरायल अमेरिकाको एफ–३५ संयुक्त हमला विमान चलाउने विश्वको पहिलो देश हो । यसलाई हालसम्मकै उन्नत प्रविधिजडित लडाकु विमान मानिन्छ । सन् २०२४ को अन्त्यसम्ममा इजरायलले ७५ वटा एफ–३५ विमान लिनेछ भने अहिलेसम्म उसले ३६ विमान लिइसकेको छ । यसको भुक्तानी अमेरिका सरकारकै सहयोगमा इजरायलले गर्नेछ !
सन् २०१६ मा अमेरिका र इजरायलले तेस्रो १० वर्षीय समझदारीपत्रमा हस्ताक्षर गरे । सन् २०१८–२०२८ सम्म यसको अवधि छ । यो समझदारी अनुसार अमेरिकाले इजरायललाई सो अवधिमा ३८ अर्ब डलरको सैन्य सहयोग दिनेछ† ३३ अर्ब डलर बराबरको सैन्य उपकरण र ५ अर्ब डलरको मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्न अनुदान दिनेछ । सन् २०१९–२०२३ को अवधिमा इजरायलले पाएको सैन्य सहयोगमध्ये ६९ प्रतिशत अमेरिकी थियो । यो तथ्याङ्क ‘स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युट’ (सिप्री) ले गत मार्चमा सार्वजनिक गरेको हो ।
जनसङ्ख्याका हिसाबले इजरायल विश्वमा ९८ औँ स्थानमा छ । इजरायलको ९४ लाख जनसङ्ख्या विश्वको कूल जनसङ्ख्याको ०.११ प्रतिशत मात्र हो । क्षेत्रफलका दृष्टिले इजरायल विश्वमा १५४ औँ स्थानमा छ । जनसङ्ख्या र क्षेत्रफलले सानो भए पनि ‘सिप्री’ को सन् २०१९–२०२३ को तथ्याङ्क अनुसार हतियार आयातमा इजरायल विश्वकै १५ औँ ठूलो देश हो । विश्वभरि हुने हतियार आयातमध्ये २.१ प्रतिशत आयात इजरायल एक्लैले गर्छ । इजरायल विश्वकै ९ औँ ठूलो हतियार निर्यात गर्ने देश हो । विश्वको कूल २.४ प्रतिशत हतियार निर्यात ऊ एक्लै गर्छ ।
जर्मनी दोस्रो ठूलो सहयोगी
इजरायललाई हतियार सहयोग गर्ने देशमा जर्मनी दोस्रो ठूलो देश हो । विदेशी हतियार सहयोगमध्ये ३० प्रतिशत हतियार इजरायललाई जर्मनी एक्लैले दिन्छ । सन् २०२३ मा जर्मनीले इजरायललाई ३५ करोड ३७ लाख डलर बराबरको सैन्य उपकरण र हतियार दिने निर्णय ग¥यो । सन् २०२२ को तुलनामा त्यो १० गुणा बढी थियो । यी सहयोगमध्ये ४ पनडुब्बी थिए भनी जर्मन अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गाजाको जातिसंहारमा सहअपराधी भएको आरोपमा जर्मनीविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा निकारागुआले बुझाएको उजुरीमा यो तथ्य पनि उल्लेख छ । इजरायलमा सैन्य सामग्री पठाएर जर्मनीले राष्ट्रसङ्घको जातिसंहार महासन्धि उल्लङ्घन गरेको र प्रकारान्तरले अन्तर्राष्ट्रिय मानवअधिकार कानुन मिचेर जातिसंहारमा टेवा दिएको सन् २०२४ अप्रिलमा निकारागुआले न्यायालयमा आफ्नो तर्क पेश ग¥यो ।
परिणाम, अन्तर्राष्ट्रिय न्यायालयले संसारभरिका राष्ट्र तथा नागरिकलाई जातिसंहार रोकथाम गर्न थप अग्रसर हुन आह्वान ग¥यो । तर, इजरायललाई हतियार बेच्नबाट जर्मनीलाई रोक्न आपत्कालीन आदेश जारी गर्नुपर्ने अर्जी खारेज गरिदियो ।
क्रूर यथार्थ प्रकट भयो । इजरायललाई हतियार बेच्नबाट जर्मनीलाई रोक्न आपत्कालीन आदेश जारी गर्न अस्वीकार गरेपछि इजलासको अध्यक्षता गरेका न्यायाधीश नवाफ सलामले धृष्टतापूर्वक भने – अदालतको “विशेषतः खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको दीर्घकालीन र व्यापक अभाव भोग्न विवश स्थितिमा गाजापट्टीका प्यालेस्टिनीहरूको घातक आजीविकाप्रति गहिरो चासो छ ।”
अदालत “सम्पूर्ण राज्यहरूलाई विशेषतः सशस्त्र द्वन्द्वमा संलग्न पक्षलाई हतियार उपलब्ध गराउने सम्बन्धमा तिनले अभिव्यक्त गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता याद दिलाउन जरुरी ठान्छ किनभने यस्तो हतियारलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्नमा प्रयोग गर्न सकिने जोखिम रहन्छ ।”
अन्तर्राष्ट्रिय न्यायालयको फैसलामा विमति राख्दै वादी पक्षले जर्मन सरकार यस मामिलामा इमानदार नरहेको विचार राख्यो । उसले भन्यो, “मौखिक सुनुवाइ बन्द भएपछि निकारागुआले सन् २०२४ मा इजरायलका लागि निर्यात लाइसेन्स प्रदान गरेको विषयमा जर्मन सरकारकै सूचनातर्फ न्यायालयको ध्यानाकृष्ट गर्दै आएको छ । यी निर्यातमा युद्धजन्य हतियार तथा अन्य सैन्य उपकरण छन् । यी सामग्री तालिम वा परीक्षणका लागि होइनन् भनी जर्मनीले नै अघिका निश्चित लाइसेन्सको हकमा बताइसकेको छ । सन् २०२४ मा प्रदान गरिएका लाइसेन्समा मेसिनगनका सामान, प्रक्षेपक, (थल वा जल) युद्धबेडाको कोटीमा पर्ने सामग्री, जलसेनाका विशेष उपकरण, पुर्जा र थल युद्धपोतका सामानका साथै रासायनिक, जैविक एजेन्ट, चिढ्याउने तत्व, रेडियोधर्मी पदार्थ र तत्जन्य उपकरण र सामग्री छन् । गैर–घातक उपकरणसँग जोडिएका ‘अन्य सैन्य सामग्री’ को विषयमा न्यायालयमा यसअघि नै चर्चा भइसकेको जाहेर छ । न्यायालयमा यसको संक्षिप्त चर्चा अति सरलीकरण गरियो किनभने जर्मन कानुनअनुसार निश्चित घातक हतियारहरू पनि ‘अन्य सैन्य उपकरण’ को कोटीमा पर्न सक्छन् ।”
सन् २०२४ अप्रिलमा अन्तर्राष्ट्रिय कानुन र गाजाको चालु जातिसंहारलाई उद्धृत गर्दै मानवअधिकार अधिवक्ताहरूले बर्लिनको प्रशासनिक अदालतसमक्ष इजरायलमा ३ हजार ट्याङ्कप्रतिरोधी हतियार पठाउने जर्मन सरकारको निर्णय स्थगन गराउन अर्जी दिए । यो खबर रोयटर्सको हो । इजरायल पठाउन तयार १० हजार खेप हतियारको निर्यात अनुमति प्राप्त गर्न बुझाइएको दर्खास्त सदर हुन बाँकी छ ।
अमेरिका अन्तर्राष्ट्रिय न्यायालयको आदेश मान्दैन
इजरायललाई जर्मनीले भन्दा दोब्बर हातहतियार दिने संरा अमेरिका अन्तर्राष्ट्रिय न्यायालयको अनिवार्य आदेशलाई मान्यता दिन्न ।
पहिले अमेरिकाले अन्तर्राष्ट्रिय न्यायालयको अनिवार्य आदेशलाई मान्थ्यो । निकारागुआमा अमेरिकाको सैन्य हस्तक्षेपमा न्यायालयले प्रतिकूल आदेश जारी गरेपछि अमेरिकाले सन् १९८५ मा उसले आफ्नो अभिमत फिर्ता लियो । लगत्तै, अमेरिकालाई लिएर न्यायालयको आदेश निश्चित सन्धिमा मात्र अनुबन्धित वा सीमित हुन पुग्यो । खासगरी पछिल्ला वर्षहरूमा अमेरिकाले सकेसम्म अन्तर्राष्ट्रिय न्यायालयबाट पन्छिन चाहेको छ । सन् २००५ र २०१८ मा लगातार अन्तर्राष्ट्रिय न्यायालयबाट प्रतिकूल निर्णयहरू आएपछि त्यसको जवाफमा अमेरिका कन्सुलर सम्बन्धबारे भियना अभिसन्धिका लागि वैकल्पिक प्रोटोकल (भिसिसिआर) बाट बाहिरियो ।
जर्मन सांसदको विरोध
२०२४ जुलाई ६ गते वासिङ्टनमा आयोजित ‘युद्ध नकारौँ, शान्ति सकारौँ’ गोष्ठीलाई जर्मन सांसद सेवम दाग्देलनले सम्बोधन गरिन् । जुलाई ७ गते ह्वाइट हाउसमा भएको शान्ति जुलुसमा पनि उनी बोलेकी थिइन् ।
आफ्नो मन्तव्यमा उनले एउटा रोचक तथ्य दिइन् । सन् २०१९ देखि २०२३ सम्ममा इजरायलले लिने बाह्य हतियारमध्ये ३० प्रतिशत जर्मनीले दिन्थ्यो भने सन् २०२३ मा इजरायल पठाइने हतियारको सङ्ख्या एकाएक बढेर ४७ प्रतिशत पुग्यो । त्यो वर्ष इजरायलले प्राप्त गर्ने हतियार आपूर्तिमा अमेरिकाको योग ५३ प्रतिशत थियो ।
दाग्देलनले नेटोबारे तीन मिथक सुनाइन् ।
पहिलो मिथक : नेटो अन्तर्राष्ट्रिय कानुनअनुसार चल्ने रक्षा गठबन्धन हो ।
दाग्देलनले भनिन्, “तीनवटा उदाहरण मात्र दिन्छु । पछिल्लो पच्चिस वर्षमा नेटोले युगोस्लाभिया र लिबियाविरुद्ध बिनाकारण अवैध युद्ध छेड्यो । यो गठबन्धनको नेता संरा अमेरिकाले जबर्जस्ती इराकमाथि हमला गरेर त्यसलाई कब्जामा लियो ।”
दोस्रो मिथक : नेटो प्रजातन्त्र र विधिको शासनको पक्षमा छ ।
“वास्तवमा सैन्य तानाशाही वा फासिवादी सत्तालाई आफ्नो सदस्य बनाउन नेटो कहिल्यै हिच्किचाएन । नेटोको एउटा संस्थापक सदस्य हो पोर्चुगल । उसले आफ्ना औपनिवेशिक युद्धहरूमा हजारौँ अफ्रिकीहरूको हत्या गरेको थियो र सयौँ अफ्रिकीहरूलाई उसले यातनागृहमा यातना दिएरै मारेको थियो । नेटोको यी साझा मूल्यमान्यतालाई ती घटना कहिल्यै अड्चन बनेनन् ।इर्दोगानलाई नै लिऔँ । उनले सिरियामा जिहादी आतङ्कवादी समूहलाई सहयोग गरे तर नेटोको लागि यो कुनै नैतिक समस्या होइन ।”
तेस्रो मिथक : साझा मूल्यमान्यतामा विश्वास गर्ने नेटो मानवअधिकारको पक्षमा उभिन्छ ।
“वास्तवमा ब्राउन विश्वविद्यालयका अध्येताहरूको अध्ययन अनुसार विपत २० वर्षमा संरा अमेरिका र उसका सहयोगी देशहरूले थालेका युद्धमा परेर ४५ लाख मानिस मारिएका छन् । ग्वान्टानामो तटमा अवस्थित जलसेनाको अखडामा आज पनि यातनागृह सञ्चालनमा छ । अमेरिकी युद्ध अपराधका प्रमाणहरू प्रकाशित गरेकै हुनाले पत्रकार जुलियन असान्जलाई १४ वर्षसम्म मर्नेगरी यातना दिइयो । गाजामा भइरहेको नरसंहारमा बेन्जामिन नेतन्याहुको चरमपन्थी सरकारले अझै पनि अमेरिकी र युरोपेली सैन्य सहयोग पाइरहेको छ । आत्मरक्षाको अधिकारको दुहाइ दिएर यसलाई सही ठह¥याउन सकिन्न ।”
तेस्रो नम्बरमा इटाली
‘सिप्री’ को प्रतिवेदन अनुसार सन् २०१३ देखि २०२३ सम्म इटाली इजरायललाई हतियार बेच्ने देशको सूचीमा तेस्रो नम्बरमा छ । इजरायलले पाउने वैदेशिक हतियारमा ४.७ प्रतिशत हतियार इटालीले दिन्छ । सन् २०२३ मा बेलायतले इजरायललाई कम्तीमा ५ करोड २५ लाख डलरको सैन्य सामग्री बेच्ने निर्यात अनुमति दियो । यसमा खासगरी गोलाबारुद,हवाई वाहन तथा विमान, हेलिकप्टर र राइफलका पुर्जा र गोलीहरू छन् ।
बेलायत सरकारले सिधै इजरायललाई हतियार दिन्न तर विभिन्न कम्पनीलाई अमेरिकी आपूर्ति शृङ्खलामा सैन्य सामग्री पठाउन लाइसेन्स दिन्छ । यस्ता सामग्रीमा एफ–३५ विमान पनि पर्छन् । पछिल्लोपल्ट फ्रान्सले इजरायलमा जहाजभरि युद्ध सामग्री पठायो । जहाजमा फ्रान्सेली कम्पनी थेल्सका ड्रोनलगायत विद्युतीय उपकरण थिए । २०२४ मे २६ गते यी सामग्री पठाइएको थियो ।
नेटो साझेदारले पनि हतियार बेच्छन्
पछिल्लो दशकमा इजरायलसँग दक्षिण कोरियाको हतियार व्यापार फस्टाएको छ । यी दश वर्षमा दक्षिण कोरियाले इजरायललाई ४ करोड ७० लाख डलरको हतियार बेच्यो । इजरायली बस्ती बसाल्न प्यालेस्टिनीहरूका घर भत्काउन प्रयोग हुने उपकरण इजरायललाई हुन्डाइ कर्पोरेसनले बेचेको हो ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वङले गाजामा द्वन्द्व सुरु भएपछि इजरायललाई आफ्नो देशले हतियार आपूर्ति नगरेको दाबी गरिन् । यद्यपि, सन् २०२४ फेब्रुअरीमा अस्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागले जारी गरेको तथ्याङ्कअनुसार उसले इजरायललाई १ करोड १५ लाख डलरको ‘हतियार र गोली’ प्रत्यक्ष निर्यात गरेको छ । अस्ट्रेलियाको संसदीय सुनुवाइमा त्यस विभागका प्रमुख अर्थशास्त्रीले गत पाँच वर्षमा अस्ट्रेलियाले इजरायललाई १ करोड डलर बराबरको ‘हातहतियार र गोलीगठ्ठा’ निर्यात गरेको स्वीकार गरे ।
नेटोका अन्य ठूला साझेदारमा जापान र न्युजिल्यान्डले जातिसंहार सुरु भएयता इजरायललाई हतियार बेचेका छैनन् ।
नेटोको वक्तव्यमा गाजाको जातिसंहार छैन
गाजामा चालु इजरायली जातिसंहारमा नेटो देशहरूको गहिरो मिलेमतो छ । तैपनि, वासिङ्टनमा सम्पन्न नेटो शिखर सम्मेलनको अन्तिम वक्तव्यमा यसबारे एक शब्द उल्लेख गरिएन । ३८ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिए† लाखौँ मानिस घाइते भए† २१ लाख प्यालेस्टिनी जनताका आवास, अस्पताल, पाठशाला, विश्वविद्यालय, मठमन्दिर र राष्ट्रसङ्घका पूर्वाधारहरू ध्वस्त भए ।
छोटोमा मध्यपूर्वलाई मात्र नेटोले ‘दक्षिणी छिमेकी’ भनी उल्लेख ग¥यो । मध्यपूर्वबारे उल्लेख गरिएको अनुच्छेदमा नेटो महासचिवले दक्षिणी छिमेकमा विशेष प्रतिनिधि नियुक्त गर्ने, जोर्डनको राजवंश अम्मान सहरमा नेटोको सम्पर्क कार्यालय खोल्न राजी भएको, कुवेतमा नेटो–आइसीआई क्षेत्रीय केन्द्रलाई निरन्तरता दिने र “इराकी अधिकारीहरूको अनुरोधमा हामीले इराकी सुरक्षा संस्थानलाई सहयोग व्यापक बनाउने र इराकका लागि नेटो मिसनमार्फत हाम्रो कामकारबाही जारी राख्ने” उल्लेख छ ।
(एन राइटले अमेरिकी सेनामा २९ वर्ष काम गरिन् र सेनाको कर्णेल पदमा पुगेर अवकाश लिइन् । उनले अमेरिकी कूटनीतिज्ञको रूपमा १६ वर्ष काम गरिन् र अमेरिकाले इराक युद्ध सुरु गरेपछि त्यसको विरोधमा सन् २००३ मा राजीनामा दिइन् । उनी ‘विमति ः सचेत स्वरहरू’ नामक पुस्तककी सहलेखिका समेत हुन् ।)
एमआर अनलाइन । सम्यक
Leave a Reply