भर्खरै :

अन्तिम सेप्टेम्बर ११

अन्तिम सेप्टेम्बर ११

यो समय यसअघि मैले छिचोलिसकेको छु ।
बितेका २८ वर्षमा म र मजस्ता दसौँ लाख मानिसको लागि सेप्टेम्बर ११ को मङ्गलबार शोकको दिन बन्दै आएको छ । सन् १९७३ को सेप्टेम्बर ११ को मङ्गलबार भएको सैनिक सत्ताविप्लवले चिलीबाट प्रजातन्त्र खोसियो, मृत्यु सिङ तिखारेर हाम्रो जीवनमा पस्यो र हाम्रो जीवन सधैँ सधैँको लागि बदलेर गयो । आज फेरि झन्डै तीन दशकपछि भद्रगोल इतिहासका खराब देवताहरूले अर्को एउटा देशलाई मङ्गलबारकै दिन, सेप्टेम्बर ११ कै साइतमा मृत्युको आहालमा डुबाए । सेप्टेम्बर ११ को मङ्गलबार फेरि एकपल्ट अर्को भयानक दिन बन्यो ।
चिली र अमेरिकी मितिलाई अलग बनाउने भिन्नता र दुरी फराकिलो भएको जो कोहीले स्वीकार्नै पर्छ । पृथ्वीकै सबभन्दा शक्तिशाली देशविरूद्ध भएको आतङ्कवादी हमलाको परिणाम समस्त मानव जातिले भोग्नुपर्नेछ । राष्ट्रपति बुशले भनेजस्तै त्यो हमलाले संसारमा तेस्रो विश्वयुद्धको सुरूआत पनि हुनसक्छ । भविष्यमा यो दिन पृथ्वीको इतिहास सधैँको लागि बदल्ने दिनको रूपमा स्मरण गरिने प्रबल सम्भावना छ । तर, संसारमा आइतबार बाँचेका ८ अर्ब मानिसमध्ये निकै कमले मात्र कुनै वर्ष यही मितिमा चिलीमा भएको घटनाको सम्झना गर्नेछन् ।
उत्तरी क्यारोलिनामा बसेर टेलिभिजन स्क्रिनमा विश्व व्यापार केन्द्रको दक्षिणी टावरमा दोस्रो विमान ठोक्काइएको दृश्य हेर्दै गर्दा मलाई दुई वटा सेप्टेम्बर ११ बिच तुलना र संयोगभित्र लुकेको अर्थ बुझ्न र निकाल्न जरूरी छ भन्ने विचारले सताइरह्यो । मेरो जीवनसँग गाँसिएका दुई वटा सहरमा भएका दुवै घटना मेरो लागि व्यक्तिगतरूपमै पनि उत्सुकतापूर्ण बने । न्युयोर्क सहरले मलाई निकै खाँचोको समयमा दस वर्ष शरण र खुसी दिएको थियो । चिलीको राजधानी सहर सान्टियागोले आफ्ना पहाडहरूको कोक्रोमा हुर्काउँदै मलाई एक युवा बनाएको थियो । दुई सहरले मलाई दुई भाष दिए– स्पेनिस र अङ्ग्रेजी । त्यसकारण, भावनात्मक झट्का सामना गर्न झन्डै मैले श्वास पनि सुस्तसुस्त फेर्नुपयो । त्यो गगनचुम्बी भवनको उचाइबाट सिधै तल खस्दै गरेका मानिसहरूको त्यो दिमाग खल्बलाउने तस्बिर नहेर्न पन्छिरहेँ । भवनमा ठोक्किएको विमानमा सवार यात्रुहरूको अन्तिम क्षणबारे नसोच्ने भरपुर प्रयास गरिरहेँ जसलाई अब आफूसँगै आफूजस्ता हजारौँ मानिसको पनि मृत्यु हुँदै छ भन्ने थाहा थियो । त्यही बखत मैले म्यानहटनमा रहेका मेरो मित्रको अवस्था बुझ्न फोन गरेँ । फोन उठेन । यही अलमलबिच मलाई उत्तर अमेरिकीहरूले गरिरहेको अनुभव आफ्नो लागि परिचित र अझ आफैले भोगेको जस्तो लाग्यो ।
मैले यी दुई घटनाबिच गरेको तुलना कुनै सतही र हलुका तुलना होइन । उदाहरणको लागि, सन् १९७३ मा चिलीमा भएको घटना र संरा अमेरिकामा आइतबार भएको घटना दुवैमा आतङ्क आकाशबाट झरेर देशका राष्ट्रिय निधिहरू सान्टियागोको राष्ट्रपतिभवन र न्युयोर्कको वित्तीय केन्द्र तथा वासिङ्टनको सैनिक केन्द्रमा ध्वस्त बनाइयो । अहँ मैले यी दुई घटनाबिच देखेको समानता अझ गम्भीर खालको छ । समानान्तर पीडा, उस्तै दुखाइ, उस्तै विमुखता । चिलीमा हामीले त्यो सेप्टेम्बर ११ मा भोगेको भाव अहिले प्रतिध्वनित भइरहेको छ । संरा अमेरिकाको सेप्टेम्बर ११ को घटना चिलीको सेप्टेम्बर ११ को घटनाको एउटा विशेष नयाँ अवतारजस्तो भएको अनुभव गर्छु । मैले जे देखिरहेको छु, आफ्नै आँखालाई पत्याउन सकिरहेको छैन । टीभीको पर्दामा म देखिरहेको छु, आफ्ना छोरा, बुबा, श्रीमती, प्रेमिका, छोरीका तस्बिर बोकेर सूचना खोजिरहेका मानिसको भिड । उनीहरू आफ्ना प्रियजन जिउँदो छन् वा मरिसके भन्ने कुराको सोधखोज गरिरहेका छन् । सिङ्गो संरा अमेरिका आफ्नो आफन्त र प्रियजन बेपत्ता हुनुको पीडाबोध गरिरहेका थिए । यसरी बेपत्ता भएका आफ्ना प्रिय मानिसको अन्तिम संस्कार गर्न पनि सम्भव थिएन । मानिसको अन्यायपूर्ण व्यवहारले निम्त्याएका ठुलठुला विपत्तिको कारण भएका यस्ता अपत्यारिला घटना प्राकृतिक महाविपत्तिको सामना गर्नु जत्तिकै कठिन हुने गरेको छ । सन् १९७३ को सैनिक विद्रोह र त्यसपछिका दिनमा मजस्तो व्यक्तिले बारम्बार दोहो¥याउने शब्दावली मेरो कानमा गुन्जिरह्यो, “हामीमाथि यतिसम्मको विपत्ति आइलागेको कुरा सम्झँदा पनि अपत्यारिलो छ । हिंसाको यस्तो चरमोत्कर्ष अरूमाथि मात्र हुनसक्छ, हामीमाथि हुन सक्दैन । यस्ता विनाशका रूप त हामीले चलचित्र, पुस्तक र कुनै कुनै पुस्तकको कुनै कुनै अनुच्छेदमा मात्र भेटाउन सक्छौँ । यदि यो कुनै नराम्रो सपना भए हामी किन ब्युँझिएका छैनौँ !”
संरा अमेरिका आफूलाई अरूभन्दा विशेष वा अलग ठान्छ । त्यसकारण, त्यहाँका नागरिक आफूमाथि संसारका अन्य देशका कम भाग्यमानी मानिसलाई दुःख दिएका कुनै पनि खालका प्राकृतिक विपत्ति वा दुःख आइनलाग्ने सोच्छ । बीसौँ शताब्दीमा भएका कुनै पनि ठुला लडाइँले संरा अमेरिकालाई छोएन । पर्ल हार्बरमा ‘बेइमानीको दिन’ (डे अफ इन्फेमी) को दिन भएको हमला संरा अमेरिकाले भोगेको त्यस्तै एउटा मात्र विपत्तिको दिन हो । त्यो घटना पनि संरा अमेरिकाभन्दा हजारौँ माइल पर भएको थियो । संरा अमेरिकाको त्यही आत्मसन्तोषी विश्वास नै आजबाट सधैँको लागि टुक्रियो । आजबाट संरा अमेरिकाले उही अनिश्चित र अस्थिर समय बाँच्नुपर्नेछ, जो संसारका अरू बासिन्दाहरू दैनिकरूपमा बाँच्ने गर्छन् ।
यो महाविपत्ति निम्त्याउने अपराधको कारण अमेरिकी जनताले भोग्नुपरेको असह्य क्षतिको पीडाबिच यदि यो समयलाई आत्मसमीक्षा र आत्मज्ञान प्राप्तिको अवसरको रूपमा नलिने हो भने यस्ता घटना फेरिफेरि पनि नदोहोरियोस् भनी म कामना गर्छु । यो आकारको सङ्कटले कुनै असल वा खराब, कुनै शान्ति वा युद्ध, कुनै आक्रमण वा मेलमिलाप, कुनै बदला वा न्याय, समाजको सैनिकीकरण गर्ने वा मानवीय बनाउने विषयमा नवीकरण गर्न वा विध्वंस गर्न प्रयोग गर्न सकिन्छ । अमेरिकी जनतालाई अहिलेको यो पीडा जित्ने, भयबिच बाँच्ने वा यस्तो असुरक्षाबिच बाँच्ने र अघि बढ्ने भन्ने विषयमा एउटै तरिका भनेको यस्ता दुःख आफूलाई मात्र परेको होइन भनी हृदयङ्गम गर्नु हो । हाम्रो साझा मानव समुदायको विशाल ऐनामा नियाल्ने हो भने उनीहरूभन्दा निकै टाढा टाढासम्म मानिसहरूले यस्तै अनपेक्षित सङ्कट भोगिरहेका छन् । उनीहरूले कहिल्यै नमेटिने चोट र आक्रोशको सामना गरिरहेका छन् ।
चिलीमा सैनिक हमला भएको वार्षिकीमै संरा अमेरिकाको मर्म र अन्तरमै पहिलो हमला हुनु के कुनै अदृश्य र बुझ्न कठिन कुनै कारणको निर्णय हुनसक्छ ? वासिङ्टनको पोषण पाएको र अमेरिकी जनताको नाममा चलेको सरकारले चिलीमाथि त्यो सैनिक हमला गराएको थियो । के अमेरिकी जनता, विशेषतः युवा पिँढीलाई कसैको शिकार हुनु भनेको के हो भन्ने कुरा बुझाउने एउटा तरिका हो ? अब उनीहरूले जान्नेछन्, न श्वास न लास हुने गरी आफ्ना प्रियजनलाई बेपत्ता बनाएपछि एउटा साझा नर्कमा बस्नुको दुःख कस्तो हुन्छ भन्ने कुरा । संसारभर धेरै तरिकाबाट भएका धेरै थरी सेप्टेम्बर ११ लाई बुझ्न अब अमेरिकी जनता सक्षम हुनेछन् । धेरै–धेरै मानिस र देशले भोगेको त्यो पीडा के अब अमेरिकी जनताले भित्रबाट महसुस गर्नेछन् ?
आतङ्कवादीहरूले संरा अमेरिकालाई एउटा राक्षसी राज्यको रूपमा एक्ल्याउन र अलग बनाउन चाहेका छन् । अमेरिकी आक्रामकता र हस्तक्षेपको शिकार बनाइएका बाँकी संसारका धेरै देश र मानिस यो राक्षसीकरण मान्न तयार छैनन् । अमेरिकामा सेप्टेम्बर ११ मा भएको घटनापछि संसार दुःखमा डुबेको छ । सबैतिरबाट सहयोगी हात अघि बढाइएको छ । ऐक्यबद्धताका सन्देशहरू जताततै फैलिएको छ । जो मानिस त्यो घटनामा परी मरे, तिनलाई आफ्नै मानिसको हत्या जत्तिकै मान्ने सङ्कल्प गरिएको छ ।
संसारको महाशक्तिसामु खन्याइएको यो सद्भाव उसबाट पनि फर्काइने अपेक्षा कायम छ । ठुला महाविपत्ति, अनिकाल, तानाशाह शासन र दमनबाट जोगिँदै आएका मानिसहरू मिलेर नै आजको संरा अमेरिका बनेको हो । आशा र सहनशीलताले भरिएको यो देशका जनताले अरू मानिसप्रति पनि उस्तै सद्भाव व्यक्त गर्ने हुन् वा होइनन्, यो अहिले नै भनिहाल्न सकिँदैन । पीडा र पुनर्जागरण भोगेका नयाँ अमेरिकी जनताले क्षतिग्रस्त मानवता जीर्णोद्धार गर्ने कष्टसाध्य प्रक्रियामा सहभागी बन्न खुलारूपमा तयार हुनेछन् वा छैनन्, आगामी दिन र वर्षमा हेर्ने नै छौँ । सबै मिलेर एउटा यस्तो संसारको रचना गर्न सक्नेछौँ जहाँ कुनै सेप्टेम्बर ११ को भय हुनेछैन ।

स्रोत : चिलीमा फासीवादको प्रतिरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *