विरामलाई नदोहो¥याऔँ भविष्य उज्यालो छ
- श्रावण ४, २०८३
संयुक्त राज्य अमेरिका र इरानबिचको युद्ध चर्किँदै छ । दुई देशबिचको युद्धको स्थिति हेर्दा तत्काल रोक्ने स्थिति देखिँदैन । अमेरिकाले इरानको सभ्यता नै अन्त्य गर्ने चेतावनी दिएको छ । इरानले आफ्नो देशको अस्तित्वको लागि आक्रमणको प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिका इरानलाई ध्वस्तै गर्ने पक्षमा छ । तर, इरानले आक्रमणको जवाफमात्रै दिँदै छ । आक्रामक शैलीमा अघि बढेको अमेरिकालाई इरानले पनि भित्तेजवाफ दिनुपर्ने हो । युद्धविराम भङ्ग गरेर इरानमा आक्रमण गर्ने आक्रामक देश अमेरिका हो । इरानमा अमेरिकी आक्रमण भएपछि मात्र इरानले प्रत्याक्रमण गरेको हो । अमेरिकाले इरानमा मात्र होइन साम्राज्यवादका पिछलग्गू देशसँग मिलेर अरु दर्जनौँ देशमा आक्रमण गरिसकेको छ । यो विश्वका मुलुक र जनताले थाहा पाएको विषय हो ।
अमेरिकाको आक्रामक शैलीले विश्वका देश र जनता अमेरिकी अमानवीय कार्यको निन्दा गर्दै चीन र चिनियाँ जनताको समर्थन गर्दै छन् । देश विकासमा सघाउने साथ दिने चीन र संसारका स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्दै ध्वस्त पार्ने अमेरिकाको विश्वका जनताले अनुभव गर्दै छन् । अमेरिकी प्रशासन इरानका राष्ट्र प्रमुखको हत्या गर्न पछि नपर्ने अनि आफूलाई हत्या प्रयास गरे इरान ध्वस्त पार्ने चेतावनी दिने ट्रम्पको शक्तिको अहङ्कार, अमानवीय व्यवहार र शान्तिविरोधी कदमको जति निन्दा गरे पनि पुग्दैन । यही कारण अमेरिकी जनतामात्र होइन संसारका स्वाधीन, न्यायप्रेमी र देशभक्त जनता अमेरिकाको विरोधमा छन् ।
अमेरिकाले साम्राज्यवादको नाइकेको भूमिका निर्वाह गर्दै छ । उसको आक्रमणकारी चरित्रमा अलिकति पनि हेरफेर भएको छैन । जब जब साम्राज्यवादीहरू अप्ठ्यारो स्थितिमा पर्छन् तब तब प्रजातन्त्र, सुरक्षा र शान्तिको ध्वाङ फुक्छन् । अमेरिकी साम्राज्यवादीहरू आन्तरिक र बाह्यरूपमा गम्भीर सङ्कटको सामना गर्दै छन्; विश्वमा उनीहरू बदनामसँगै पतन हुँदै छन् । अमेरिकामै जनताको युद्धविरोधी आन्दोलन हुँदै छ । अमेरिकी साम्राज्यवादले हिन्द–चीन र संसारका अरु देशहरूमा पनि हार खाइरहेको छ । संसारका स्वाभिमानी, स्वाधीनताप्रेमी, शान्तिकामी जनताले अमेरिकी साम्राज्यवादको खुलमखुला विरोध गरिरहेका छन्; साम्राज्यवादको विरोधमा हरेक दिनझैँ जुलुस प्रदर्शन तथा सभा गरिरहेका छन् । यो अमेरिकी साम्राज्यवादको संसारमा बदनाम मात्र होइन पतनको सङ्केत पनि हो । शान्ति, सुरक्षा, विकास चाहने देशभक्त, क्रान्तिकारी र प्रगतिशील तथा सङ्घर्षशील जनताले ‘शान्ति’ र ‘प्रजातन्त्र’ को पर्दाभित्र लुकेका अमेरिकी साम्राज्यवादीहरूले बढाएका आक्रमण, युद्ध गर्ने, गराउने र युद्ध गराउन उक्साउने कार्यको एकै स्वरमा विरोध गरिरहेका छन् । उनीहरूले अमेरिकाले गरेको ज्यादती, दमन, हस्तक्षेप र आक्रमणलाई एक एक गरी हेरिरहेका छन् र समीक्षा गरिरहेका छन् ।
अमेरिकी साम्राज्यवादले एसियाली आक्रमणमा जापानी सैन्यवादलाई ‘धावा बोल्ने शक्ति’ को रूपमा उपयोग गर्ने नीति लिएको थियो । अमेरिकी र जापानी आक्रमणकारी शक्तिमाझ कुनै पनि बेला एक ठाउँमा उभेर ‘शान्ति’ र ‘स्थिरता’ को नाउँमा कतै हस्तक्षेप या आक्रमण गर्न सक्छ । अमेरिकी साम्राज्यवादको रेखदेखमा जापानमा सैन्यवादको पुनरुत्थान भएको इतिहास संसारका स्वाभिमानी जनताले भुलेका छैनन् । अमेरिकामा झैँ जापानी सैन्यवादीहरूको आक्रमणकारी योजनाको विरोधमा जापानी जनता उभेका छन् । जापानी सैन्यवादीहरूले युद्ध छेड्ने कोसिस गरेमा जापानका जनता चुप लागेर बस्ने छैनन् । जापानी शासकहरूमाझ नै युद्धको विरोध गर्ने पक्ष पनि नभएको होइन । अमेरिकी साम्राज्यवादीहरूले एक समय चीनलाई अलग राख्ने र नाकाबन्दी गर्ने नीति नलिएको होइन । तर, चीन डराएन, झुकेन । बरु चीन शक्तिशाली समाजवादी राज्य बनेको छ । समयको परिवर्तनसँगै अहिले त संसारका मुलुकमा साम्राज्यवादविरोधी शक्तिको विकास र विस्तार भइरहेको छ । जनवादी गणतन्त्र चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठा दिन प्रतिदिन बढ्दै छ । सबै देशले विकास गर्न एकले अर्काेलाई सहयोग गर्नुपर्छ; विश्वमा शान्ति छर्नुपर्छ† विश्व सुरक्षित हुनुपर्छ; विश्वमा आतङ्क मच्चाएर हतियार बेचेर देश धनी हुने होइन भन्ने जनवादी गणतन्त्र चीनको विचार, कार्यशैली र गतिविधिले चिनियाँ सरकार र चिनियाँ जनताको समर्थन बढ्दै छ । यो चिनियाँ सरकार, चिनियाँ पार्टी र चिनियाँ जनताको विजयको सङ्केत हो ।
अमेरिकी साम्राज्यवादको विरोधमा भियतनामी जनताले वीरतापूर्ण लडेको इतिहास पनि स्मरण गर्नु समीचीन नै हुनेछ । साम्राज्यवादविरुद्ध कम्बोडिया र लाओसका जनताले लडेको इतिहास छ । कोरिया, चीन, भियतनाम, कम्बोडिया, लाओस र अरु एसियाली देशका जनताले साम्राज्यवादी नीति र त्यसको चलखेलविरुद्ध अझै न्यायपूर्ण सङ्घर्ष गरिरहनुपर्ने आवश्यकता छ । अमेरिकी साम्राज्यवादले संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ । यसमा संयुक्त राष्ट्र सङ्घ सचेत र चनाखो हुनु आवश्यक छ । संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बन्नु हुँदैन । संयुक्त राष्ट्र सङ्घको बदनाम गर्ने, संयुक्त राष्ट्र सङ्घलाई उपयोग गरेर संसारका मुलुकमा आफ्नो प्रभाव जमाउने र उपनिवेश बनाइरहेको तर्फ संयुक्त राष्ट्र सङ्घ सचेत हुनुपर्छ ।
Leave a Reply