भर्खरै :

हनुमन्ते नदी पस्यो बस्तीमा

हनुमन्ते नदी पस्यो बस्तीमा

भक्तपुर, २२ साउन । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि मङ्गलबार साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।
भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ । जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।
हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।
भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले मङ्गलबार हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी दिँदै प्राकृतिक विपत्ति परेको स्थानमा आधा घन्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताउनुभयो ।
गडेधारा बस्तीका नागरिक पानी परेसँगै त्रासमा
सूर्यविनायक नगरपालिका–५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घरका बासिन्दा राति पानी पर्न थालेदेखि नै त्रासमा छन् । यही साउन १६ गते परेको वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोला र महादेव खोलामा आएको माटो मिसिएको बाढीसँगै माटोसहितको लेदो ३० घरभित्र पसेर पाँच फिटभन्दा बढी उचाइमा भुइँ तलाका सबै कोठा, आँगन र सडकमा माटो पुरिएपछि स्थानीय सोही घटना पुनः दोहरिएला भनेर रातिदेखि नै त्रासमा छन् ।
बस्तीमा घरभित्र १० फिट माथिसम्म पानी पस्दा एक तला घरको मानिस र भुइँ तलामा भाडामा बस्दै आएका करिब ३० परिवारको राति नै उद्धार गर्नुपर्दाको पीडा र करोडौँको भौतिक क्षति भएको एक साता नबित्दै पुनःपर्न थालेको भीषण वर्षाका कारण यहाँका बासिन्दा त्रसित अवस्थामा रहनुपरेको थियो ।
उक्त दिनको हिलोसहितको बाढीले ३० घरको भुइँ तलाको चारदेखि छ फिटसम्मको उचाइमा भरिएको माटोले करोडौँको भौतिक सम्पत्ति नष्ट हुनुका साथै केही घरको पर्खालसमेत ढलेर क्षति पु¥याएको थियो ।
स्थानीयको भुइँ तलाका सम्पूर्ण सामान नष्ट भएका छन् भने गाडी र मोटरसाइकल तथा स्कुटर पूर्णरूपमा डुबेर क्षति पु¥याएको भन्दै उहाँले भन्नुभयो, “राति १ बजेअगाडि नै हामी भुइँ तलाका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा लग्यौँ, प्रमुख जिल्ला अधिकारीको पहलमा सुरक्षाकर्मीलगायतको टोलीले उद्धार गरेका थियौँ ।”
मङ्गलबार पुनःखोलामा आएको बाढीले खोलामा दुई दिन अगाडि लगाइएको ढुङ्गाको पर्खालसमेत भत्काइरहेको जनाउँदै उहाँले पुनः बाढी बस्तीमा पसेर नोक्सान गर्ला भन्ने त्रासमा यहाँका करिब ३५ घरका बासिन्दा त्रासमा रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *