भर्खरै :

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

– रमेश लम्साल/हरि लामिछाने
काठमाडौँ, २५ पुस (रासस) ः चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ ।
कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ ।
उक्त पुल डबल लेनमा निर्माण गरिनेछ । उक्त पुल ५०० मिटर लामो हुनेछ । प्रतिमिटर रु २० लाख लागतमा रु एक अर्ब रकममा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा निर्माण गरिने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बन्नेछ ।
हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक अर्जुनजंग थापाले राससलाई जानकारी दिनुभयो ।
त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ ।
उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । “पुल मानव सभ्यतासँग जोडिएकाले पनि आकर्षक बनाउन खोजिएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धिसँग पुल जोडिएको हुन्छ । हामीले त्यसैलाई ध्यान दिन खोजेका हौँ” उपमहानिर्देशक थापाले भन्नुभयो ।
नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तैः चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइनेछ । चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ । विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी गरेको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार हालसम्मकै नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ ।
विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिनुभयो ।
कर्णाली नदीमाथि निर्माण गरिएको पुलको प्रविधि तथा ज्ञानको विषयमा नेपाली प्राविधिक जानकार नभएको र केही विषयसमेत थाहा नपाउने अवस्था रहेकाले चितवन–नवलपरासी जोड्ने पुल निर्माणको प्रविधि नेपाली प्राविधिकले समेत सिक्ने अवसर प्रदान गर्न लागिएको हो । कर्णाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक दुई हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् ।
विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । सिडिइ शाक्यले आगामी दिनमा निर्माण गरिने पुल चार लेनको बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *