भर्खरै :

बजेटपछि बोराको २ सय रुपैयाँले बढ्यो चामलको मूल्य

बजेटपछि बोराको २ सय रुपैयाँले बढ्यो चामलको मूल्य

काठमाडौँ, २४ साउन । बजारमा चामलको मूल्य बढेको छ । एक महिनाको अन्तरालमा चामलको मूल्य बोरामा दुई सय रूपैयाँसम्म बढेको हो ।
अहिले जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बढेको किराना व्यवसायी चन्द्र थापाले जानकारी दिनुभयो । “चामल धेरै ब्रान्डका छन् । ब्रान्डअनुसार मूल्य फरक छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार एक महिना अघि प्रतिबोरा २२ सयदेखि २३ सय रूपैयाँमा बिक्री गरिएको चामल अहिले २४ सयदेखि २६ सय रूपैयाँ पुगेको छ ।
त्यस्तै, सोना मन्सुली चामल प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँमा बिक्री गरेको चामल अहिले १९ सयदेखि दुई हजार रूपैयाँ पुगेको हो ।
लङग्रेन बासमती चामलको मूल्य भने बढेको छैन ।
चालु आर्थिक वर्षको बजेटपछि बिस्तारै चामलको मूल्य बढ्न थालेको थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
“बजेटपछि नै मूल्य बढेको हो । तर, मौज्दात रहेकाले अहिलेमात्र मूल्य बढ्न थालेको हो,” उहाँले भन्नुभयो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत धानमा साढे दुई प्रतिशत अग्रीम कर लगाएका कारण चामलको मूल्य बढेको उहाँको भनाइ छ । उहाँका अनुसार चामलमा भने पहिल्यैदेखि नै अग्रीम कर लिँदै आएको थियो ।
सरकारले उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने मुख्य खाद्यान्नमा कर लगाउँदा यसको प्रत्यक्ष असर उपभोक्तामा परेको उहाँको भनाइ छ । मुख्य खाद्यान्नमा करको दायरा घटाउँदै लैजानुपर्नेमा झनै बढाउँदै लगेको उहाँले गुनासो गर्नुभयो ।
सरकारको अस्पष्ट आपूर्ति नीतिका कारण उपभोक्ताले महँगी खेप्न परेको उपभोक्ता माधव तिमल्सिना बताउनुहुन्छ ।
“सरकारले आपूर्ति सहज गरेर उपभोक्तालाई सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्छ,” उहाँले भन्नुभयो ।
भारतीय सरकारले गत वर्ष ९५ हजार मेट्रिक टन चामल ल्याउन नेपाललाई कोटा दिएको थियो । तर, यहाँका सरकारी तथा निजी कुनै पनि कम्पनीले चामल आयात गर्न सकेनन् ।
एकातिर आयात पनि हुन नसक्नु र अर्कोतिर स्वदेशी उत्पादनको सञ्चिति घट्दै जाँदा बजारमा मागभन्दा चामलको आपूर्ति कम भएकोले मूल्य बढेको हो ।
अहिले बजारमा जिरा मसिनो चामलको अभाव देखिएको उहाँ बताउनुहुन्छ । भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता हो । विश्वव्यापी चामल व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ । नेपालमा पनि ठुलो परिमाणमा भारतीय चामल भित्रिने गरेको छ । हामीकहाँ धेरै भित्रिने भनेको जिरा मसिनो र मोटा चामल हो । बासमती, ब्राउन राइस र अरू प्रकारको चामल पनि भित्रिन्छ तर यिनको हिस्सा कम छ । हामीकहाँ भारतबाट आउने चामललाई मुख्य गरी चार प्रकारमा विभाजन गरिएको छ, मोटा, मध्यम, मसिनो र बास्नादार ।
अहिले आयातीत चामलमध्ये करिब आधा परिमाण मोटा र मध्यम चामलको छ भने बाँकी आधा मसिनो र बास्नादार छ । यो समग्रमा गैर–बासमती चामल हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हामीकहाँ चामलका लागि वार्षिक ६६ लाख मेट्रिक टन धानको माग छ ।
त्यसमध्ये देशमै उत्पादन हुने ५६ लाख मेट्रिक टन हो । यो भनेको राम्रो उत्पादन भएका बेलाको औसत परिमाण हो । हाम्रो माग पूरा गर्न बाँकी १० लाख मेट्रिक टन धान भारतबाट आयात हुने गरेको छ । यो धानको ६० प्रतिशत बराबर चामल बन्छ । यस हिसाबले हाम्रो बजारमा करिब ४० लाख मेट्रिक टन चामलको माग छ ।
यसमध्ये करिब ६ लाख मेट्रिक टन चामलको माग हामीले भारतबाट ल्याएर पूरा गरिरहेका छौँ । यो परिमाणमा धान भित्याएर बनाइएको चामल पनि पर्छ ।
दालको पनि मूल्य बढ्यो
बजारमा दाल तथा गेडागुडीको मूल्य बढेको छ ।
सरकारले दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रीम कर लगाएसँगै मूल्य बढेको हो ।
बजारमा मुसुरो, मास, रहर, मुगी, चनालगायतका दाल पाइन्छ ।
मूल्य बढेसँगै मुसुरो दाल प्रतिकिलो एक सय ६०, रहर दाल तीन सय, मुगी एक सय ८० र कालो मासको मूल्य दुई सय २० रूपैयाँ छ । दालसँगै अन्य गेडागुडीको मूल्य पनि बढेको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा दाल तथा गेडागुडीमा कर लगाएको हो । गत जेठ १६ बाटै कर लगाए तापनि यसको असर भने अहिले देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *