भर्खरै :

काठमाडौँ उपत्यकाका खोलानालाको समस्याबारे एक चर्चा

काठमाडौँ उपत्यकाका खोलानालाको समस्याबारे एक चर्चा

नदी–खोलानाला मानव सभ्यतासँग गाँसिएको हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । यी खोलानाला काठमाडौँ उपत्यकाको रक्तनलीजस्तै हो भन्दा फरक नपर्ला । नदी–खोलानालाले स्थानीय वायुमण्डलमा निरन्तर जल–वास्पीय प्रणालीको काम गरिराखेको हुन्छ । साधारणतया खोलाले भूस्खलन, माटो थुपार्ने र पारबहन आदि कार्यहरू गर्ने विज्ञहरूको भनाइ रहेको छ । हुन त एक किसिमले यी खोलाहरू काठमाडौँ उपत्यकाको फोहरमैला र ढल बोक्ने साधन (पारबहन) जस्तै भइसकेको अवस्था छ ।
उपत्यकाका पुराना ऐतिहासिक नगर–बस्तीलाई खोलाको बाढी–पहिरोबाट सुरक्षित राख्न स्थानीय भूगोललाई विचार गरेर नगर बसाएको कुरा देखेका र पढेका छौँ । यस अर्थमा के भन्न सकिन्छ भने राज्यस्तरबाट अहिलेको अवस्था आउनुमा बस्ती विस्तारको लागि भू–उपयोग नक्सा/योजना (Land Use planning) समयमा बनाउन नसक्नु वा नहुनु एउटा प्रमुख कारक हो भन्दा फरक नपर्ला कि ?
नदी–खोलानालालाई यस्तो प्रदूषित अवस्थामा पु¥याउनमा हामी काठमाडौँ उपत्यकावासी नै जिम्मेवार छौँ । यसलाई पूर्ववत अवस्थामा ल्याउनु सबैको साझा जिम्मेवारी हो । उपत्यकाका खोलानाला एक आपसमा जोडिएको (Inter–connected) ले यसलाई पूर्णरूपमा सुधार गर्न समस्तिगत (Holistic) रूपमा गुरु योजना (Master Plan) बनाएर कार्य बढाउनुपर्ने देखिन्छ । हुन त खोला सफाइका लागि सरकारी र गैरसरकारी तहबाट प्रयास भइरहेको खबर पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा आएका छन् ।
काठमाडौँ उपत्यकाका खोलानाला प्रदूषित हुनुमा पुराना नगर/बस्तीका घरहरूमा सिमित जग्गाको कारणले गर्दा सेप्टि ट्याङ्की नहुनु र नयाँ नगर÷बस्तीमा कतिपय घरहरूको शौचालय र चर्पीहरूबाट निस्किने फोहर पानी सेप्टि ट्याङ्कीमा नपठाई सिधै ढलमा पठाइनु र त्यही ढलको प्रदूषित पानी सिधै खोलामा मिसिने भएपछि खोला प्रदूषित हुनु स्वाभाविक हो । जनसङ्ख्याको चाप र आधुनिकीकरणले गर्दा ट्वाइलेटको सङ्ख्या बढ्नाले पनि खोलाको पानी बढी प्रदूषित हुन गएको हो ।
साधारणतया शौचालय र चर्पीहरूबाट निस्किने फोहर पानी
(उपचार पोखरी वा अन्य मेकानिकल प्रविधिबाट) प्रशोधित गरी खोलामा पठाउनुपर्ने हो । निर्माण सम्पन्न भइसकेका कतिपय घरहरूमा नक्सामा सेप्टि ट्याङ्की देखाउने तर सेप्टि ट्याङ्की नबनाई सिधै ढलमा पठाएको/नपठाएको अनुगमन गरी नियमन गर्नु जरुरी छ । यसरी सेप्टि ट्याङ्कीबाट आएको ढलको पानीलाई प्रशोधित गरेर नदी–खोलानालामा पठाउन सकेको खण्डमा अहिले देखिएको भन्दा केही हदसम्म खोलाको पानी सङ्ग्लो हुन सक्दछ । अहिले विज्ञान र प्रविधिको विकासले गर्दा यस्ता प्रदूषित पानीलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गर्ने विभिन्न तरिकाहरू आइसकेका छन् । यसबारे राज्यको ध्यान जान जरुरी छ ।

खोलाको अहिलेको अवस्था (फोटो वेबसाइतबाट साभार)

काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका उद्योग–कलकारखानाहरूबाट निस्किने प्रदूषित (रसायनिक तथा अन्य किसिमका) पानीलाई उद्योग–कलकारखाना हाताभित्रै प्रसोधन गरेर मात्र नदी–खोलानालामा पठाउनुपर्ने विज्ञहरूको भनाइ रहेको छ । यसरी नै ठुला होटेल र स्कूल कलेजहरूले पनि गर्नुपर्ने बताउँछन् । यसो गर्न सकेको खण्डमा सहरी ढलमा चाप कम हुन जाने भएकोले ढल व्यवस्थापनमा गर्न सहज हुनेमा दुईमत नहोला । यसमा सम्बन्धित निकायले विज्ञहरूको सल्लाह लिएर नीति नियम बनाउनु ढिलो भइसकेको देखिन्छ ।
कुनै पनि नदी–खोलाको दुवै किनारा (खोलाको दायाँ र बायाँ) प्राकृतिक बहाब क्षेत्र (Streach of the River) हुन्छ । त्यो बहाब क्षेत्र भनेको डुबान क्षेत्र नै मान्नुपर्छ चाहे त्यो नियमित बहाब, मनसुन र अत्याधिक वर्षाको बेलामा होस् । मानव बस्ती बिस्तारको चापले गर्दा डुबान क्षेत्रभित्र पर्ने गरी बस्ती बसालेर (खोलालाई खुम्च्याएर) प्रकृतिलाई चुनौती दिनुको नतिजा बर्सेनि भोगिरहेका छौँ ।
थप त्यही खोलाको बहाब क्षेत्रमा दायाँबायाँ सडक निर्माण गरी खोलाको बहाबलाई खुम्च्याएपछि खोलामा बाढी आउनु स्वाभाविक हो । खोला छेउ यसरी सडक बनाउँदा स्थानीय बासिन्दाहरूले (जनचेतनाको कमीले गर्दा) खोलामा सहजै फोहर फाल्ने भएपछि खोला थप प्रदूषण हुन जान्छ । यदि खोलाको प्राकृतिक बहाब क्षेत्रको स्पष्ट मापदण्ड भएको खण्डमा खोला छेउछाउका जग्गा धनीहरूले पनि घर निर्माण गर्दा आफ्नो सम्पत्तिको सुरक्षाको लागि तोकेको मापदण्डअनुसार जग्गा छोड्न बाध्य हुन्थे होला । सायद सडकको मापदण्ड (Right of the Road) मा कडाइ गरेजस्तै नदी–खोलानाला आदिमा पनि मापदण्डमा कडाइ गरेको भए आज यो स्थिति आउने थिएन होला ।
छलफलको लागि करिब चार दशक अगाडि खोलाको मापदण्डका विषयमा कुरा राख्दा उपयुक्त होला । तात्कालीन काठमाडौँ उपत्यका नगर विकास समिति (अहिले प्राधिकरण भइसकेको अवस्था) का पूर्वप्राविधिकहरूका अनुसार खोलाहरूको मापदण्डको फरक फरक थियो । मनहरा र अन्य खोलाको १०० फिट (३० मिटर) भने वाग्मती नदीको दुवै किनारा हकमा ३०० फिट (१०० मिटर) थियो । यस्तो मापदण्डले खोलाको बहाब क्षेत्र फराकिलो हुने भएकोले बाढीले गर्ने सम्भावित क्षति कम भएको हुनुपर्दछ । यस्तै मापदण्ड भइदिएको भए बाढीले अहिलेको जस्तो क्षति व्यहोर्नुपर्ने थिएन होला ।
नदी–नालाखोलाहरू धार्मिक दृष्टिले पनि आफ्नै महत्व बोकेको छ । सायद यही कारणले नदी–नालाखोलाहरूलाई संरक्षण गर्नको लागि देवी देवताको नामकरण गरेको हुनुपर्दछ । हाम्रो देशमा नदी–नालाखोलाहरूलाई देवताको रूपमा पुजन गरिने ठाउँको यस्तो दयनीय अवस्था छ । नदी–नालाखोलाहरूका पुल भएर नाघेर जाँदा पटक पटक ढोग/प्रणाम भने गर्ने अनि त्यसैलाई भएभरको मलमूत्रदेखि घरबाट निस्केको फोहर फाल्ने भएपछि खोला यस्तो दुर्गति हुनु स्वाभाविक हो ।
परापूर्वकालदेखि घरमा पूजाआजा र चाडपर्वका समयमा प्रयोग भएका कुहिने वस्तुहरू बगाउने परम्परा छ र त्यस्ता वस्तुहरू जलचर तथा पशुपछीहरूको आहार हुन्थ्यो । यो प्रचलनलाई निरन्तर दिइएको तर अहिले कुहिने मात्र नभएर नकुहिने प्लास्टिक्जन्य तथा अन्य वस्तुहरूले गर्दा खोला थप प्रदूषित हुन पुगेको हो । यसलाई सबैले मनन गर्नु अति जरुरी छ ।
नदी–खोलाहरूमा बाढीको जलस्तरलाई नियन्त्रण गर्न र खोला छेउका घरहरूमा बाढी पस्न नदीन खोलालाई डो¥याउन (River Training) खोलाको दायाँबायाँ पर्खाल (Retaining Wall) लगाएको देख्न सकिन्छ । यसरी बनाइएका पर्खालले मनसुन र अत्याधिक वर्षाको बहाबको गतिलाई बढावा गर्ने भएकोले पुल र खोला किनारा क्षेत्रका संरचनाहरूलाई क्षति पु¥याउने सम्भावना बढी हुन्छ । खोलाको प्राकृतिक चक्रीय प्रणाली (River Ecology) को लागि पनि राम्रो होइन । यस्ता पर्खालहरू आवश्यक स्थानमा मात्र बनाई अन्य ठाउँमा नबनाउन विज्ञहरूको भनाइ रहेको छ ।

             लो ड्याम (फोटो वेबसाइतबाट साभार)

स्मरण होस्, काठमाडौँ उपत्यकाका खोलाले मनसून र अत्यधिक वर्षा भएको समयमा प्राकृतिक ढलको प्रणालीको रूपमा पनि काम गर्दै आएको छ । यही खालानालामा उपत्यकावासीका घरहरूबाट निस्किने ढल र फोहर यही खोला मिसिने भएकोले खुला ढलको संज्ञा पनि पाइसकेको अवस्था छ । अनि यही खोलालाई साँघुरो पार्ने कत्तिको बुद्धिमानी हो ?
खोलाको बहाबको मापदण्ड के कति हुनुपर्दछ र पर्खाल (Retaining Wall) को डिजाइन के कस्तो हुनुपर्ने हो भन्ने कुरामा छुट्टै विस्तृतरूपमै सम्बन्धित विज्ञहरूसँग छलफल गर्नुपर्ने देखिन्छ । हरेक वर्ष मनसून आएपछि बाढी–पहिरोको समस्यालाई न्यूनीकरण गर्न बिलम्ब नगरी नदी–खोलानालाको प्रकृतिलाई अध्ययन गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यतालाई पनि आधार मानेर मापदण्ड परिमार्जन गरी बृहत् कार्य योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने देखिन्छ ।
एउटा हेक्का राख्नुपर्ने कुरा के हो भने – अहिले नगरका धेरै जसो सडक, गल्ली, चोक तथा खुला ठाउँहरूमा कालोपत्रेदेखि ढुङ्गा–कङ्क्रिट छापिएकाले वर्षाको पानी जमिनले सोस्ने क्षमतामा ¥हास हुनाले खोलानालामा जलस्तर बढ्ने भएकोले यसलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ ।
अन्तमा, काठमाडौँ उपत्यकाका खोलाहरूमा मनसूनमा पानीको बहाब अत्यधिक हुने अनि सुख्खा मौसममा पानी कम भई बहाब पनि सुस्त हुने भएकोले यसका लागि उपयोगी र अनुकूल ठाउँहरूमा स्थानीय भूगोललाई अध्ययन गरेर ठाउँ ठाउँमा होचो बाँध अर्थात् लो ड्याम (Low Dam) हरू निर्माण गरेर बगेको पानीलाई उक्त बाँधमा पानी सङ्कलन (Run off delay) गर्नाले खोलामा पानीको घनत्व र बहाबलाई गतिशीलता दिन सकिन्छ । फोटोमा माथि देखाइएजस्तै यस्ता संरचनाहरू (Water Landscaping) उपयोगी र आकर्षक हुन सक्दछ । यस्ता बाँधको माथिल्लो भागमा फलामे जालीलाई फिल्टरको रूपमा प्रयोग गर्न सकिन्छ । चुनौतीको रूपमा रहेको प्लास्टिकजन्य तथा अन्य नकुहिने फोहरहरू यी बाँधहरूको जालीमा अडकिने भएकोले सङ्कलन गर्न सजिलो हुन सक्दछ र ड्यामको पर्खालको मुनि जम्मा भएको मलिलो माटो पनि सङ्कलन गरेर आम्दानीको स्रोत पनि हुन सक्दछ । केही दशक अगाडि वाग्मती नदी बचाउ अभियानका अभियन्ता स्वर्गीय हुतुराम वैद्यज्यूले “Unparking the UN Park” भन्ने लेखमा यस्ता साना अर्थात् होचा बाँधहरू बनाउन सुझाएका थिए । यसको दीर्घकालीन योजनाको लागि Detailed Project Report (DPR) को आधारमा यथासक्य कार्यान्वयन गर्दै जानु उपयुक्त हुनेछ ।

साउन २१, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *