भर्खरै :

साल्भाडोर एयेन्डेको अन्तिम सम्बोधन

साल्भाडोर एयेन्डेको अन्तिम सम्बोधन

(चिलीको लागि त्यो समय अँध्यारो औँसीको रातजस्तै थियो । जुन एयेन्डेले भविष्यवाणी गरेजस्तै ‘आफ्ना वचन तोड्नेहरू’ का टाउकामा ‘बज्रपात’ हुनेछ । राष्ट्रपति भवन ला मोनेडाभित्र एयेन्डे र उहाँका विश्वासिला कार्यकर्ताहरूले भरूवा बन्दुक र मेसिनगनको सहारामा आत्मसमर्पण गर्न बारम्बार अस्वीकार गरिरहनुभयो । हमलाकारीहरूले रेडियो स्टेसनमाथि बमबारी गर्नुअघि ६५ वर्षका राष्ट्रपति एयेन्डेले राष्ट्रपति भवनभित्रकै एउटा लाइनको प्रयोग गरी अन्तिम पटक चिलीका जनतालाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा एयेन्डेले ‘चिली साल्भाडोर एयेन्डे र त्यसको भाग्य’ प्रति आफ्नो आस्थाका लागि ‘यो रूखो र अमिलो क्षण’ मा सङ्घर्ष चालु राख्न आह्वान गर्नुभएको थियो । ‘सौम्य र दृढतापूर्ण’ उहाँको आवाज चिलीका श्रमिक जनतासम्म गुञ्जिरहेको थियो, “ढिलो चाँडो एउटा उत्तम समाज निर्माणतर्फ स्वतन्त्र मानिस हिँड्न सक्ने फराकिलो बाटो खुल्नेछ ।” त्यो क्षणको सम्झना गर्दै एयेन्डेका सञ्चार सचिव फ्रिडा मोडाकले पछि भने, “एयेन्डेलाई अन्तिम पटक देखेको त्यो क्षण म कहिल्यै भुल्न सक्दिनँ, उहाँको टाउकोमा हेलमेट थियो र उहाँले हातमा मेसिनगन बोक्नुभएको थियो ।”
यहाँ ‘Chile : The other September 11’ बाट नेपाली रूपान्तरण प्रस्तुत छ ।)
यो मातृभूमि र यति प्यारो सिद्धान्त जोगाउन म मेरो जीवन तिलाञ्जली दिनेछु । आफ्ना वचन भुल्नेहरूमाथि बज्रपात हुनेछ, जसले आफ्ना शब्दप्रति इमानदारी कायम गर्न सकेनन्, जसले सेनाको अनुशासनलाई भत्काए ।
जनता, सजग र सतर्क हुनुपर्छ । तपाईँहरूले आफूलाई उत्तेजित हुनबाट रोक्नुपर्छ, तपाईँहरू आफै नरसंहारमा उत्रनु गलत हुनेछ तर तपाईँहरूले आफ्ना सम्पत्तिलाई पनि जोगाउन आवश्यक छ । तपाईँहरूले आफ्नै पहलकदमीमा एउटा गौरवपूर्ण र उत्तम जीवन बनाउने अधिकारको भने रक्षा गर्नुपर्नेछ ।
आफूलाई लोकतन्त्रवादी बताउँदै यो विद्रोह गराउनेहरू, आफूलाई जनताका प्रतिनिधि भन्दै अन्योलमा परेका र चिलीलाई दुरूह खाल्डोमा हुत्याउने यो पाइलालाई मूर्खतापूर्वक सम्भव तुल्याउनेहरूलाई पनि भन्दै छु ।
जनताको अत्यन्त पवित्र भावना र मातृभूमिको नाममा म तपाईँ जनसमुदायलाई विश्वास जोगाउन आग्रह गर्छु । न त आपराधिकता न दमनले नै इतिहासको गति रोक्न सकिनेछ । यो समय छिचोलिनेछ, यो जटिल र कठिन समय पार हुनेछ ।

उनीहरूले हामीलाई ध्वस्त गर्न सम्भव छ तर भविष्य जनताकै हुनेछ, श्रमिकवर्गकै हुनेछ । उत्तम जीवनको खोजीमा मानव जाति अगाडि बढिरहनेछ ।
सहयोद्धा कमरेडहरू, उनीहरूले रेडियोहरू बन्द गराउन सक्छन् र म तपाईँहरूबाट बिदा हुँदै छु । यो क्षण मेरो टाउकोमाथि विमानहरू उडिरहेका छन् । उनीहरूले हामीमाथि गोलीको वर्षा गर्न सक्नेछन् । तर, हामी यहाँ छौँ, कम्तीमा यो देशमा आफ्नो जिम्मेवारी कसरी पूरा गर्नुपर्छ भन्ने कुरा जानेका मानिसहरू पनि छौँ भनी उदाहरण प्रस्तुत गर्न हामी यहाँ बसेका छौँ । म जनताले आदेश दिएअनुसार नै र मेरो आफ्नै स्वविवेकी इच्छाबमोजिम राष्ट्रपतिको गरिमा जोगाउन त्यसो गर्नेछु …. (अवरोध) तपाईँलाई सम्बोधन गर्ने पक्कै पनि यो मेरो अन्तिम मौका हो । रेडियो पोर्टल्स र रेडियो कर्पोरासिओनका टावरहरू वायुसेनाले ध्वस्त गरिसके । मेरा शब्दहरू निराशा अङ्कित छैनन् बरू भ्रम चिर्ने हेतुले म आफूलाई अभिव्यक्त गर्दै छु । चिलीको सिपाहीका रूपमा शपथ तोड्नेहरूका निम्ति कुनै नैतिक सजाय हुनेमा म आशावादी छु …. जलसेनाको कमान्डरमा आफूलाई पदस्थापन गर्ने सैनिक अधिकृत मेरिनो, हिजैमात्र सरकारप्रति आफ्नो बफादारी घोषणा गर्ने चिली राष्ट्रिय प्रहरी काहाबिनेरोसका महानिर्देशक क्रूर सैनिक जनरल मेनदोजा ।

यो अवस्थामा श्रमिक जनतालाई मैले भन्न बाँकी यति हो, म कदापि राजीनामा गर्दिनँ । हजारौँ हजार चिलीका जनताको आत्मसम्मानपूर्ण स्वविवेकमा हामीले छरेको बीज त्यति सजिलै नष्ट गर्न नसकिनेमा म विश्वस्त छु । उनीहरूका हातमा शक्ति छ, उनीहरूले हामीलाई सिध्याउन सक्नेछन् । तर, शक्ति र अपराधले सामाजिक अग्रगति रोकिनेछैन । इतिहास हाम्रो हो र जनताले इतिहास निर्माण गर्नेछन् ।
मेरो देशका श्रमिक जनता, न्यायको महान् चाहनालाई अभिव्यक्त गर्ने, संविधान र कानुनलाई सम्मान गर्छु भनी वचन दिएको एक जना व्यक्तिमाथि तपाईँहरूले गर्नुभएको विश्वास र सधैँ सधैँ देखाउनुभएको समर्थनप्रति म हार्दिक आभार व्यक्त गर्छु र मैले आफ्नो वचन पूरा गरेको छु ।
परिभाषाको यो क्षण मैले भन्नुपर्ने अन्तिम कुरा के हो भने तपाईँहरूले यो पाठ सिक्नुहुनेमा म आशावादी छु प्रतिक्रियावादी तत्वसँग मिलेर विदेशी पुँजी र साम्राज्यवादले (संवैधानिक सुनिश्चितताको सम्मान गर्ने) उनीहरूको परम्परा तोड्न सेनालाई उपयुक्त वातावरण बनाइदिएका छन् । यही परम्पराका जनरल स्वनिडियर र कमान्डर अराया अहिले त्यही सामाजिक क्षेत्रको शिकार बनेका छन् जो यतिबेला आफ्ना खेत खलियान र सुख–सयल जोगाउन सत्ताको पर्खाइमा घर–घरमा छन् ।
म यो देशका सबै महिलाहरूलाई सम्बोधन गर्न चाहन्छु, ती किसान महिलाहरूलाई जो हामीमाथि विश्वास गर्छन्, ती महिला मजदुरहरू जो कडा मेहनत गर्छन्, ती आमाहरू जसलाई उनीहरूका केटाकेटीप्रति हाम्रो मायाबारे राम्रो थाहा छ, सबैलाई सम्बोधन गर्न चाहन्छु । म हाम्रो भूमिका देशभक्त पेसाकर्मीहरूलाई सम्बोधन गर्न चाहन्छु, ती पेसाकर्मीहरू जो अन्य पेसाकर्मीहरूका बदमासीविरूद्ध लागिरहेका छन् । ती बदमास पेसाकर्मीहरू पुँजीपतिवर्गले आफूलाई दिएका सुविधा जोगाउन आफ्नो वर्गीय धरातलसमेत बिर्सने गर्छन् ।


म ती युवाहरूलाई सम्बोधन गर्न चाहन्छु जसले सङ्घर्षको लागि गीत गाए र आफ्ना सबै खुसी अर्पण गरे । म सबै चिलीका पुरुषलाई सम्बोधन गर्न चाहन्छु । ती मजदुर, किसान, बुद्धिजीवीहरू जो हाम्रो देशमा केही घण्टा अघिदेखि विद्यमान फासीवादको कोपभाजनमा परेका छन् । आफ्नो आवाज उठाउनुपर्ने दायित्व भएका जनसमुदायको शान्त मुहारबिच पुल भत्काउने, रेल मार्ग तोड्ने तेल एवम् ग्यास लाइन विच्छेद गर्ने आतङ्कवादीहरूलाई इतिहासले मूल्याङ्कन गर्नेछ ।
रेडियो मागालानस अब पक्कै धेरै चाँडै बन्द हुनेछ र मेरो सौम्य दृढतापूर्ण आवाज धेरै बेर सुनिने छैन । तर, त्यसले केही फरक पार्नेछैन । तपाईँहरू सुनिरहनु हुनेछ । म सधैँ तपाईँहरूकै पक्षमा हुनेछु र तपाईँहरूले मलाई कम्तीमा देशप्रति बफादार आत्मसम्मानपूर्ण मानिसका रूपमा सम्झनुहुनेछ । जनताले आफूलाई रक्षा गर्नुपर्छ, आत्मसमर्पण गर्ने होइन । जनता न त आफूलाई न्यूनाङ्कन गरेको सहन सक्छन् न त अपमानित भई बस्न तयार हुन्छन् ।
मेरो जन्मभूमिका मजदुरहरू ! मलाई चिली र यसको भाग्यप्रति विश्वास छ । देशद्रोह थोपर्न खोजिएको यो रूखो र अप्ठ्यारो क्षणलाई जनताले धूलो चटाउनेछन् । ढिलो–चाँडो एउटा उत्तम समाज निर्माणतर्फ स्वतन्त्र मानिस हिँड्न सक्ने फराकिलो बाटो खुल्नेछ ।
चिली जिन्दावाद ! जनता जिन्दावाद ! श्रमिक जनता जिन्दावाद ! यिनै मेरा अन्तिम शब्दहरू हुन् । म ढुक्क छु, मेरो बलिदान निरर्थक हुनेछैन, बेइमानी, कायरता र देशद्रोहलाई सजाय गर्ने यो पक्कै पनि नैतिक शिक्षा हुनेछ ।
(सन् १९७३ सेम्टेम्बर ११ का दिन चिलीका राष्ट्रपति साल्भाडोर एयेन्डेले राष्ट्रपति भवनको रेडियो मागालानसबाट जनतालाई गरेको अन्तिम सम्बोधन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *