भर्खरै :

जनताको विश्वविद्यालयलाई कसैले रोकेर रोक्न नसक्ने

जनताको विश्वविद्यालयलाई कसैले रोकेर रोक्न नसक्ने

यस वर्षको नेपालभाषा साहित्य तःमुंज्याले असोज २८ र २९ गते द्वादशी र त्रयोदशी गरी दुई दिन भनपाको लामुगः टोलमा गर्ने निर्णय गरेको छ । तःमुंज्यालाई सभ्य र भव्य बनाउन साउन २३ गते कृष्णभक्त लवजुको अध्यक्षतामा वडा नं. ९ र १० का विभिन्न क्षेत्रका अनुभवी दाजुभाइ तथा दिदीबहिनीहरू सम्मिलित ग्वसाखल (आयोजक समिति) गठन गरिएको छ । यो सम्मेलन ४३ औँ वसन्त पार गरेर ४४ औँ वर्षमा प्रवेश गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो चुनावी घोषणापत्रअनुसार जनताका छोराछोरीहरूलाई रु. ५०/६० लाखमा पढ्न बाध्य पारेको एमबीबीएस डाक्टरको पढाइलाई रु. १५ लाखमा पढाउने वाचा गरेको थियो । त्यसलाई पूरा गर्न नेमकिपाको बहुमत जनप्रतिनिधि जितेको भक्तपुर नपा एक दशकदेखि सङ्घर्षरत छ । ख्वप विश्वविद्यालयको विधेयकलाई नेमकिपाका सांसद प्रेम सुवालमार्फत भनपाले एक दशकअगाडि स्वीकृतिको लागि संसद्मा पेस गरिएको थियो । यसलाई सबै अग्निपरीक्षाको ढोका पार गरिसकेर अन्तिम चरणमा पुगेपछि शासक दलका नेताहरूले रोके या फर्काए ।
सबै संसदीय समिति, अनुगमन समिति, पत्रकार, बुद्धिजीवी, सांसद, मन्त्रीहरूबाट समेत देश र जनताको हितमा खोल्न समर्थन गरेको ख्वप विश्वविद्यालयको विधेयक अर्थ मन्त्रालयमा पुगेर रोकिएको थियो । ख्वप विश्वविद्यालयको स्वीकृति दिन सरकारले मानेको छैन । देशी तथा विदेशी शक्ति, निजी कलेज, विश्वविद्यालयका मालिकहरूको प्रभाव र दबाबका कारण स्वीकृति नदिएको अनुमान लगाउन गा¥हो छैन । सरकारले ख्वप विश्वविद्यालयको विधेयकलाई अन्तिम अवस्थामा फिर्ता गर्ने भनी अदूरदर्शी र दुर्भाग्यपूर्ण निर्णय ग¥यो । ख्वप विश्वविद्यालय कुनै नाफा कमाउनको लागि नभइकन विशुद्ध वा निःस्वार्थ सेवाको लागि सञ्चालन गर्न लागेको हो । नगरपालिकासँग दुइटा अब्बल दर्जाको ख्वप इन्जिनियरिङलगायत आठवटा कलेजहरू सञ्चालन गरिरहेको अनुभव छ ।
अरु निजी कलेज र विश्वविद्यालयमा जस्तो यसमा शासक दलका नेता, प्राध्यापक र विदेशीहरूको लगानी तथा नाफा नपाउने भएको हुँदा उच्च वर्ग, धनीका सन्तानले मात्र डाक्टर, पीएचडी गर्ने र गरिबका सन्तानले कम शुल्कमा पढेर डाक्टर, इन्जिनियर, पीएचडी र विज्ञ उत्पादन गर्ने भए किन स्वीकृति दिने भनेर रोकेकोमा फिर्ता गरेको हुनसक्छ । सरकारमा बसेर माना खाएर निजी कलेज र विश्वविद्यालयमा लगानी गरेर, सञ्चालक भएर नाफा खाइरहेका (कुम्ल्याइरहेका) मन्त्री, सांसद, प्राध्यापक र विज्ञहरू आफ्नो लगानी नभएको, नाफा नआउने नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित कलेज तथा विश्वविद्यालय घराशायी वा डाँवाडोल हुनुमा उनीहरू सबै जिम्मेवार छन् । सरकारी कलेज, विश्वविद्यालयमा तन, मनचाहिँ निजी कलेज, निजी कलेज र विश्वविद्यालयमा राख्ने शासक दल, नेता, मन्त्री, सांसद, प्राध्यापक र कर्मचारीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । भक्तपुर नपाले सबै आर्थिक भार व्यहोर्छु भन्दाभन्दै ख्वप विश्वविद्यालयको विधेयकलाई उनीहरूको स्वार्थमा खतराको घण्टी बजेको सम्झेर स्वीकृत हुनबाट रोकेका वा फिर्ता पठाएका छन् । जनताका आवाज र नैतिक बलले यसलाई स्वीकृति दिन जुनसुकै दलको अल्पमत, बहुमत र दुईतिहाइको सरकार भए पनि एक न एक दिन बाध्य हुने नै छ ।
ख्वप विश्वविद्यालयको स्वीकृति लिएर सञ्चालन गर्न भक्तपुर नपा जनताका साथ र समर्थन लिएर सङ्घर्ष गरिरहेको छ । जनताका विश्व्विद्यालय भने भक्तपुरलगायत देशका विभिन्न गाउँ र सहरमा धेरै वर्षदेखि नै सञ्चालन हुँदै आएको छ । एउटा दूरदर्शी विचार, सिद्धान्त र आदर्श बोकेको नेपाल मजदुर किसान पार्टीले त्यसअनुसार ४३ वर्षदेखि नै नेपालभाषा साहित्य तःमुंज्यामार्फत हरेक वर्ष हजारौँ हजार स्रोता र द्रस्तालाई दीक्षित पार्दै आएको छ । दुई दिन सञ्चालन हुने तःमुंज्याले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य, शैक्षिक, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, कूटनीतिक, आर्थिक, सामाजिक, भौगोलिक, चिकित्सा, प्राविधिक, कानुन, स्वाधीनता, सार्वभौमिकता, स्वतन्त्रता आदि विषयमा विभिन्न भाषाका विज्ञ तथा बुद्धिजीवी जनताका प्राध्यापक र साहित्यकारहरूबाट लाखौँ हजारौँ देश र विदेशमा रहेका विश्वका जनताले हेरेर र सुनेर दीक्षित हुने अवसर पाएका छन् । यहाँ लाखौँ जनताको सेवामा निःस्वार्थ र समर्पित भएर विज्ञ र अनुभवी देशभक्त प्राध्यापकहरूले प्रवचन र मन्तव्यको माध्यमबाट विश्वविद्यालयको जस्तो कक्षा लिन्छन् ।
यसलाई हरेक वर्ष साथ, समर्थन, सहयोग र माया दिने स्रष्टा, द्रष्टा, स्रोता जनता र देशभक्त वक्ताहरू पनि बढिरहेका छन् । किनकि, यो सम्मेलनले अन्याय, शोषण, उत्पीडनमा परेका वा बाँचिरहेका तमाम गरिब तथा अशिक्षित जनताको स्वतन्त्रताको लागि वा पक्षमा बोलिरहेको छ । उनीहरूको सङ्घर्ष र लडाइँमा साथ, समर्थन र सहयोग दिइरहेको छ । सम्मेलनमा विश्वविद्यालयमा जस्तो युवामात्र नभएर बच्चाबच्चीदेखि ज्येष्ठ नागरिकसम्मका उपस्थिति हुन्छन् । ती विभिन्न क्षेत्र र पक्षका, विषयका मानिसहरू सहभागी हुन्छन् । यसलाई खुला शिक्षालत्न्दा फरक नपर्ला ।
तःमुंज्याले साहित्य, नृत्य, नाटक, प्रवचन, मन्तव्य आदिमार्फत साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादविरुद्ध उनीहरूले विश्वमा गर्दै आएको आक्रमण, दमन, अत्याचारविरुद्ध जनतालाई दीक्षित गर्ने काम गर्दछ । सम्मेलनले पुस्तौँपुस्ता पीडित, अन्यायमा परेका नेपाल, एसिया, अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्वका देश र जनताको साथ र समर्थनमा आवाज उठाउने औँलो उठाउने, काम गर्दै आएको छ । सम्मेलनको आवश्यकता र महत्व झन्झन् बढ्दै गएको छ । अझ निरन्तर बढ्दै जाने छ ।
ख्वप विश्वविद्यालयलाई यहाँका प्रतिक्रियावादी, जनविरोधी तत्वहरू चाहे कम्युनिस्टको मुकुन्डो लगाएको होऊन् चाहे अरु जुनसुकै होऊन् उनीहरूले स्वीकृति दिन खुट्टा कमाइरहेका छन् । त्यसको औषधि भनेको समयमा देशको लागि स्वतन्त्र र स्वाधीन भएर कसैको लोभ, डर र धम्कीको अगाडि नझुकेर ख्वप विश्वविद्यालयको स्वीकृति दिनु हो । सरकार र शासक दल त्यसका नेताहरूले देश र जनताको निःस्वार्थ सेवामा साथ र सहयोग दिनु हो । किनकि, यसमा देशभरकै जनताका छोराछोरीले कम शुल्कमा गुणस्तरीय उत्पादन र श्रमसँग जोडिएको शिक्षा पाउनेछन् । रोजगारीको लागि घर खेत बेचेर, ऋण काँढेर परिवार त्यागेर विदेशमा रगत पसिना बगाउन शासक दलका नेताहरूले ७०/८० लाख नेपाली युवाहरूलाई बाध्य बनाएका छन् । स्वदेशमै पढ्न यही पसिना बगाए आफू जन्मे हुर्केको देशलाई बनाउन, स्वर्ग बनाउन मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *