भर्खरै :

भैरहवामा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम

भैरहवामा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम

भैरहवा, १ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम शनिबार भैरहवामा भयो ।
नेमकिपा रूपन्देहीद्वारा आयोजित उक्त कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले पञ्चायती राज्यस्तरबाटै षड्यन्त्र गरी नेमकिपाका नेताहरूविरूद्ध जाली मुद्दा लगाएको र जनताको आन्दोलनपछि जाली मुद्दा फिर्ता लिन पञ्चायती सरकार बाध्य भएको बताउनुभयो ।
नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनसमर्थन बढ्दै गएपछि बेइमानीपूर्वक देश र जनतालाई धोका दिंदै आएका शासकहरू तिरमिराएको चर्चा गर्दै अध्यक्ष वासीले प्राकृतिक भूकम्पबाट आक्रान्त जनतालाई झन् सताउन पञ्चायती राज्यस्तरबाट षड्यन्त्र भएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर पनि देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले पञ्चायती तथा अहिलेको संसदीय व्यवस्थाको निर्वाचनमा भाग लिएको उल्लेख गर्दै उहाँले समाजमा आफ्नो बेइमानी ढाकछोप गर्न इमानदार जनतालाई फसाउन खोज्नु प्रतिक्रियावादी र प्रतिगामीहरूको चारित्रिक विशेषता हुन्छ भन्नुभयो ।
अध्यक्ष वासीले भारतीय सैन्य हस्तक्षेपबाट पाकिस्तानबाट टुक्रिएको बङ्गलादेशका प्रधानमन्त्री साम्राज्यवादी संरा अमेरिकाको उक्साहटमा भएको विद्यार्थी आन्दोलनबाट भारत भाग्नु परेको उल्लेख गर्नुभयो ।
नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले कोलकत्तामा एक महिला डाक्टरमाथि गरिएको निन्दनीय, अमानवीय बलात्कार तथा हमलाबाट विश्वकै ठूलो प्रजातान्त्रिक देश भनी दाबी गर्ने भारतको असली अनुहार उदाङ्गो भएको उल्लेख गर्दै नेमकिपाका अध्यक्ष का. रोहितको ‘नेपाल – भारत सम्बन्ध र भारत’ पुस्तक पढ्दा देखिने भारतीय महिलाको स्थितिले आङ सिरिङ बनाउँछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भैरहवा बहुमुखी क्याम्पस प्रारम्भिक समितिका अध्यक्ष सुग्रीम साहनीले ‘भक्तपुर काण्ड’ बारे लेखिएको ‘… फाँसी दे !’ पुस्तक अध्ययनको सार सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *