भर्खरै :

भक्तपुर काण्डको विरोध एवं भत्र्सना जारी राख्नु आवश्यक

भक्तपुर काण्डको विरोध एवं भत्र्सना जारी राख्नु आवश्यक

भक्तपुर, १ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा भदौ काण्डको विरोध एवं भत्र्सना गर्दै शनिकार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव पे्रम सुवालले प्रतिक्रियावादीहरूले नेमकिपा र यसका नेता तथा कार्यकर्तालाई समाप्त पार्ने उद्देश्यले देशभित्र र प्रवासमा समेत षड्यन्त्र गर्दै आएको चर्चा गर्दै तत्कालीन पञ्चायती शासकहरूले २०४५ भदौ ९ गते नेमकिपाविरुद्ध रचेको एउटा षड्यन्त्र ‘भक्तपुर काण्ड’ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नीतिदेखि असह्य पञ्चायती शासकहरूले भक्तपुर काण्ड षड्यन्त्र रचेका थिए । त्यस्तै, जर्मनीमा हिटलर सत्तामा आउनेबित्तिकै संसद् भवनमा आगो लगाउन दिए, त्यसको आरोप जर्मनीका कम्युनिस्टहरूविरुद्ध लगाए, भक्तपुर काण्ड पञ्चायती सरकारको त्यस्तै एउटा आरोप थियो ।”
सचिव सुवालले भन्नुभयो, “सच्चा कम्युनिस्टहरूले मजदुर र किसानहरूलाई विद्यालय र विश्वविद्यालयको शिक्षा प्रदान गर्दै छ । नेमकिपाले यो विषयलाई उठाउँदै आएको छ । जनताको सरकारले कामदारवर्गका महिलाहरूलाई उत्पादन श्रमसँग जोडेको शिक्षा प्रदान गरी स्वदेशमा रोजगारीको व्यवस्था गर्छ । संसद्वादी पार्टीका सरकारहरूले बर्सेनि दुई लाख बढी नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीहरूको सस्तो ज्यामी बन्न पठाउँदै छन् । बालबच्चा नेपालमा छोडेर वैदेशिक रोजगारीमा पठाइएका अधिकांश महिलाहरूको घर व्यवहार भत्किएको छ ।”
कामदारवर्गमाथि शोषण भएको हुँदा दुःखमा जीउनु परेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सिंहदरबार कब्जा गर्न गएकाहरू गतिला नहुँदा जनतालाई दुःख भएको हो । सर्वसाधारण जनतालाई अन्धविश्वासबाट मुक्त राख्ने राम्रो उपाय विज्ञानसम्मत शिक्षा प्रदान गर्ने हो । प्रतिक्रियावादीहरूको लोभ, लालचमा क्रान्तिकारीहरू फस्नु हुँदैन ।”
सचिव सुवालले भन्नुभयो, “प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्ने तागत जम्मा गर्न भक्तपुर काण्डको विरोध एवं भत्र्सना बर्सेनि गर्नु जरुरी छ ।”
नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले देश र जनताको हितमा मोहियानी हक आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, साँढे धपाउने अभियान, भ्रष्टाचारविरोधी आन्दोलन, भारतीय विस्तारवादको विरुद्धमा आन्दोलन गरेको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकामा विकासको नाउँमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका नाउँमा भ्रष्टाचार गर्ने गरेको पनि प्रकाश पार्नुभयो । उहाँले महिलाहरू राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सक्षम हुन पार्टी प्रकाशनहरूको अध्ययनमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चाँगुनारायण नगर समितिका अध्यक्ष सानुमाया लागेको सभापतित्वमा भएको कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्ले र कमला भारती गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *