भर्खरै :

नेपाल वायु सेवा निगम निजीकरण गर्न खोज्नेले भोलि देश नबेच्ला र ?

नेपाल वायु सेवा निगम निजीकरण गर्न खोज्नेले भोलि देश नबेच्ला र ?

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्या र समाधानबारे बिहीबार छलफल भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा भन्नुभयो, “समस्याको समाधान हुन्छ तर, सरकारहरूमा इच्छा शक्ति नहुँदा समस्या बल्झिँदै आएको हो । संसद् र समितिले सरकारलाई समस्या समाधान गराउन निर्देशन गर्नु जरुरी छ ।”
समितिको बैठकमा यसअघि तारा गाउँ विकास समितिको जग्गामा राज्य लुटिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करको कब्जामा रहेको र सो विमानस्थल अराजक अवस्थामा रहेको विषय उठे पनि सरकार सम्बोधन गर्न सफल नभएको उल्लेख गर्दै सांसद सुवालले टनका टन सुन बोक्ने हवाईजहाज यात्रु बोक्न नसक्ने गरी भूमिस्थ भएको तर्फ नागरिक उड्डयनमन्त्री बद्री पाण्डे (नेका) सँग जिज्ञासा राख्नुभयो ।
बिचौलियाको सोझो सम्बन्ध मन्त्री र मन्त्रीको सचिवालयसँग हुने सार्वजनिक भएको उल्लेख गर्दै सांसद सुवालले ३५ वर्षको यो अवधिमा मन्त्रीले पाउने कमिसन २०५१ सालमा राजस्वमा जम्मा गर्ने दाबी गरेको एमालेले नगरेको तर्फ वर्तमान सरकारलाई सचेत गराउनुभयो ।
नेपाल वायु सेवा निगमका भ्रष्टाचारीहरूलाई कारबाही नगरी अब सरकारबाट निगम सञ्चालन सम्भव नहुने हुँदा निजीकरण गर्नुपर्ने राप्रपाका सांसद पशुपति शमशेर राणाको भनाइ खण्डन गर्दै सांसद सुवालले कसैले सिंहदरबार चलाउन सम्भव नहुने, नेपाल चलाउन पनि सम्भव नहुने भन्दैमा सिंहदरबार र नेपाल बिक्री गर्न नमिल्ने स्पष्टसँग राख्नुभयो ।
सांसद सुवालले जोड दिनुभयो, “निगमभित्रका भ्रष्टाचारी र कर्तव्यच्युतहरूलाई अविलम्ब सजाय दिनु जरुरी छ ।”
नेपाल भ्रमणमा आएका विदेशका मन्त्री सचिवहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग भेटवार्ता गरेको सार्वजनिक भएको उल्लेख गर्दै सांसद सुवालले ती भेटघाटमा के कस्तो विषय उठ्यो सम्बन्धित मन्त्रीहरूलाई समितिमा जानकारी गराउन लगाउनुपर्ने र परराष्ट्रमन्त्रीको भारत भ्रमणबारे पनि समितिमा रिपोर्ट पेस गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमालेका सांसद एकनाथ ढकालले निगम भ्रष्टहरूको अखडा भएको उल्लेख गर्नुभयो ।
राप्रपाका सांसद धवलशमशेर राणाले निगम र प्राधिकरणबारे समितिमा छलफल दुई वर्षदेखि भइरहेको तर सभापति स्वयम् समाधानको लागि कार्यदल गठनमा तदारूक नभएको आरोप लगाउनुभयो ।
राप्रपाका सांसद पशुपतिशमशेर राणाले भारतको विमान सेवा कम्पनीलाई भारत सरकारले टाटा कम्पनीलाई बिक्री गरेको उल्लेख गर्दै नेपाल वायु सेवा निगम पनि निजीकरण गर्नुपर्ने तर्क राख्नुभयो ।
एमालेका सांसद दीपक भट्टले नेपालको हिमालय एयर लाइन्समा चीनको पनि शेयर भएको हुँदा उडानमा कुनै अवरोध नभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
माओवादीका सांसद एवम् पूर्वमन्त्री (नागरिक उड्डयन) सुदन किराती र हितबहादुर तामाङले नीतिगत सुधार गर्नुपर्ने तर्क राख्नुभयो ।
नेकाका सांसद उदयशमशेर राणा, रास्वपाका सांसद शिशिर खनाल, एमालेका सांसद सुनिता बराल, दामोदर बैरागी पौडेल र नेकाका सांसद एनपी साउदले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *