भर्खरै :

अरनिको राजमार्ग र गट्ठाघरको दुर्घटना

अरनिको राजमार्ग र गट्ठाघरको दुर्घटना

अरनिको राजमार्ग खण्डको गट्ठाघरमा गत साउन ३१ गते बिहीबारका दिन भएको दुःखद र भयावह दुर्घटना हुनुमा बस, ट्रक, मालबाहक तथा अन्य भारबहन सवारी साधनहरूलाई छुट्टै लेनको व्यवस्था नहुनु एउटा प्रमुख कारकको रूपमा लिन सकिन्छ । त्यस्तै, राजमार्गमा सवारी साधनहरूलाई सहजता दिने र रेखदेख गर्ने अधिकारी तथा निकायलाई राजमार्ग सञ्चालन गर्न बनाइएका ट्राफिक नियम कानुन (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताअनुसार) सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक तालिम (शिक्षा) भएको भए यस्ता दुर्घटनाहरू धेरै हदसम्म कम हुने थियो होला । अरनिको राजमार्गको सूर्यविनायक–कोटेश्वर–माइतीघर खण्डमा यस्ता दुर्घटनाहरू बारम्बार हुँदा सम्बधित निकाय तथा विज्ञहरू (ट्राफिक इन्जिनियर र अन्य सरोकारवालाहरू) बाट यस्ता दुर्घटनालाई न्यूनीकरणका उपायहरू÷सुझावहरू प्रतिक्रिया वा टिप्पणीको स्वरूप आउनुपर्ने थियो । आशा गरौँ, यसमा छिट्टै नै केही पहल होला ।
वेबसाइटका अनुसार राजमार्ग (Highway) भनेको एक प्रमुख सडक मार्ग (A main road, especially one connecting major towns or cities) हो, जसले एउटा सहरबाट अर्को सहरसम्म सिधा (बिनारोकतोक) र छिटो पुग्नको लागि बनाइएको भनी परिभाषित गरेको पाइन्छ । यस्तै राजमार्गहरूमा अन्तर्राष्ट्रिय मान्यताअनुसार घटीमा ६४ कि. मि. प्रतिघण्टादेखि बढीमा १२० कि. मि. प्रतिघण्टा गतिसम्म जान पाइने गति सीमा (Speed Limit) राखिएको पाइन्छ । राजमार्गको वर्गीकरणअनुसार गति सीमाको मापदण्ड बनाएका हुन्छन् र यो मुलुकअनुसार फरक–फरक हुन सक्दछ । यस अर्थमा राजमार्ग भनेको सहायक राजमार्ग, साधारण सडक, मार्ग वा मूल बाटो (बजारको) भन्दा पृथक हुन्छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ ।
अरनिको राजमार्ग (Araniko Highway) नेपालको ‘राष्ट्रिय राजमार्ग’ को सूचीमा पर्दछ । यस अरनिको राजमार्गमा सवारी साधनहरूको गति नियन्त्रणको लागि ५० कि. मि. प्रतिघण्टा गतिभन्दा बढी जान नसकिने सीमा सङ्केत राखिएका साइन बोर्ड (Sign Board) देख्न सकिन्छ । यो तोकिएको गति कति ठीक छ छैन भन्ने कुरा धेरैले छलफलमा उठाएको देखिन्छ । नेपालमा राजमार्गमा गति नियन्त्रणको मापदण्डको निर्धारण यातायात व्यवस्था विभागले गर्दछ । काठमाडौँ उपत्यकाको हकमा अरनिको राजमार्गमा बढीमा ५० कि. मि. प्रतिघण्टा निर्धारण गर्नुमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र यो तोकिएको गतिमा गाडी चलाउँदा इन्धनको खपतमा केही कम (?) हुन सक्ने भएकोले निर्धारण गरिएको हुन सक्दछ । तर, कुनै पनि गाडीलाई ५६–८० कि. मि. प्रतिघण्टा गुडाउँदा इन्धन कम खपत हुने कुरा अनुसन्धानहरूले देखाएको पाइन्छ ।
कतिपय मुलुकहरूमा राजमार्गहरूमा बस तथा भारबहन सवारी साधनहरूको गति (Speed) हलुका तथा मध्यम खालका सवारी साधनहरू (दुई र चारपाङ्ग्रे दुवै) भन्दा कम गति (Slow Speed) मा गुड्ने भएकोले छुट्टै लेन (Dedicated Lane for Bus/Trucks) को व्यवस्था गरिएको पाइन्छ । यस्तो लेनको व्यवस्था गर्न सकेको खण्डमा ट्राफिक जामको समय कम हुन सक्ने र चालकले गाडी चलाउँदा अगाडिको दृश्यता बढाउन मद्दत गर्दछ । यसै सन्दर्भमा केही समयअगाडि (मेरो आफ्नो लेखमा) ‘हिमालयन टाइम्स’, ‘मध्यमार्ग’ साप्ताहिक तथा ‘अनलाइन मजदुर’ को विचार स्तम्भ (माघ १, २०७८) मा ‘काठमाडौँ–भक्तपुर खण्डको अरनिको राजमार्गको जाम समस्या’ लेखमा बस, ट्रक, मालबाहक तथा अन्य भारबहन सवारी साधनहरूलाई छुट्टै लेनको व्यवस्था गर्नुपर्ने भन्ने कुरा स्मरणयोग्य देखिन्छ । यसरी दुर्घटनाहरू दिनानु दिन बढि रहेकोले पनि छुट्टै लेनको व्यवस्था गर्नुपर्ने आवश्यक भइसकेको छ । अहिले अरनिको राजमार्गमा दायाँ २ लेन र बायाँ २ लेन गरी जम्मा ४ (दायाँ बायाँको सर्भिस लेनबाहेक) लेनको छ ।

छलफलको लागि अरनिको राजमार्गको दायाँ र बायाँको सर्विस लेन (Service Lane) योजना मुताबिक भएको देखिँदैन । सर्विस लेनको धेरैजसो ठाउँहरूमा निःशुल्क र धुलो हिलोरहित सुविधासम्पन्न स्थायी ग्यारेज र पार्किङको रूपमा परिणत भइसकेको अवस्था देखिन्छ । यदि यी दुवै सर्विस लेनहरूलाई राजमार्गको मुख्य मार्गमा समाहित गरी ६ लेनको (३ लेन दायाँ र ३ लेन बायाँ) भइदिएको भए यातायात सञ्चालनमा धेरै सहजता हुने अनुमान गर्न सकिन्छ । स्मरण होस्, विभिन्न समाचार र सामाजिक सञ्जालहरूमा अरनिको राजमार्गको सूर्यविनायक–कोटेश्वर खण्ड ६ लेनको (३ लेन दायाँ र ३ लेन बायाँ) बन्ने चर्चामा आएको थियो ।
अहिले अरनिको राजमार्गमा दायाँ २ लेन र बायाँ २ लेन गरी जम्मा ४ (दायाँ बायाँको सर्भिस लेनबाहेक) लेनको छ । तलको नक्सामा देखाइए जस्तै यो छुट्टै लेन भनेको बस, ट्रक तथा अन्य भारबहन सवारी साधनहरूको लागि मात्रै हुनुपर्दछ जुन राजमार्गको बायाँपट्टि (Left side) को हुनेछ । साधारणतया यो लेनमा गुड्ने सवारी साधनहरूले सँगैको अर्थात् दायाँ लेन (Right Lane) मा गुडाउन (आपत्कालीन तथा ओभर टेक गर्ने विशेष अवस्थामा बाहेक) निषेधित गरिनुपर्दछ । यसले गर्दा सँगैको दायाँ लेनमा हलुका तथा मध्यम खालका सवारी साधनहरू (दुई र चारपाङ्ग्रे दुवै) लागि मात्र हुनेछ र यसरी लेन फरक छुट्याउँदा भारबहन सवारी साधनहरू यो दायाँ लेनमा जान निषेध भएपछि हलुका तथा मध्यम खालका सवारी साधनहरू सहजरूपमा गुडाउन सकिने हुन्छ ।
सारांशमा, राजमार्गमा यस्ता दुर्घटनाहरू न्यूनीकरण गर्न (तल उल्लेखित) केही उपायहरूलाई छलफलमा ल्याउन सकिन्छ ।
– राजमार्गमा बस, ट्रक, मालबाहक तथा अन्य भारबहन सवारी साधनहरूलाई छुट्टै लेन (Dedicated Lane) को व्यवस्था गर्नुपर्ने ।
– राजमार्गमा सम्बन्धित निकायबाट खटिने पदाधिकारी तथा व्यक्तिहरूलाई अनिवार्य राजमार्ग सञ्चालनसम्बन्धी नियम कानुनको सैद्धान्तिक तथा व्यावहारिकरूपमा प्रशिक्षण वा तालिमको व्यवस्था गर्नुपर्ने । जसले गर्दा राजमार्गमा कहाँ, कुन बेला, कस्तो ठाउँ र अवस्थामा सवारी साधनहरू रोक्ने, ट्राफिक चेकजाँच अथवा कारबाही गर्नेबारेमा राजमार्गमा खटिने व्यक्तिहरू संवेदनशील भई आफ्नो कार्य गर्न सक्ने ।
– राजमार्गमा चल्ने सबै खाले (दुइपाङ्ग्रे, चारपाङ्ग्रे र त्योभन्दा बढीका पाङ्ग्रे) का सवारी साधनहरूका चालकहरू/प्रयोगकर्ताहरू (Stakeholders) लाई पनि राजमार्ग सञ्चालनसम्बन्धी नियम कानुनको बारेमा जानकारी र नियमितरूपमा सुसूचित र सचेत गराई यसको कडाइसाथ पालना गराई अनुशासित भई सवारी साधनहरू चलाउँदा यस्ता दुर्घटनाहरूमा कमी आउन सक्ने ।
– अहिलेको विज्ञान र प्रविधिको युगमा राजमार्गलाई चुस्त दुरुस्त राख्न Digital Technology तथा Artificial Intelligence (AI) प्रविधिहरूको बढीभन्दा बढी प्रयोग गर्ने । कालान्तरमा राजमार्गहरूलाई Navigation नियन्त्रण प्रणालीमा जानुपर्ने हुनसक्दछ (यो हाम्रो जस्तो देशको लागि खर्चिलो हुन सक्दछ) ।
– ट्राफिक इन्जिनियरिङको सिद्धान्तअनुसार राजमार्गमा ट्राफिक बत्ती, ट्राफिक सङ्केत, गाडी गुड्ने लेनमा स्पष्ट मार्किङ, रात्रिकालिन सडक बत्ती, बस स्टप तथा अन्य आधारभूत पूर्वाधारहरूलाई सधैँ चुस्त दुरुस्त अवस्थामा राख्न उत्तिकै जरुरी देखिन्छ ।
– ट्राफिक इन्जिनियर तथा सम्बन्धित विज्ञहरूबाट आएको सुझाव र छलफलको आधारमा कार्ययोजना अगाडि बढाउनुपर्ने ।
यसमा सम्बन्धित निकायले राजमार्गहरूमा भोलिका दिनहरूमा हुनसक्ने क्षतिलाई प्राथमिकतामा राखी यथाशीघ्र कार्यान्वयन गर्नसकेको खण्डमा दुर्घटनाहरूलाई न्यूनीकरणको दिशातिर जान सकिन्छ कि ?
(उल्लेखित सुझावहरू लेखकका व्यक्तिगत विचारहरू हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *