भर्खरै :

सहकारीहरू आर्थिक कारोबारमा मात्र सीमित नरही शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय रहनुपर्नेमा जोड

सहकारीहरू आर्थिक कारोबारमा मात्र सीमित नरही शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय रहनुपर्नेमा जोड

भक्तपुर, १५ भदौ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर र एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नरही शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।
हाल समाजमा मानसिक रोग तथा अन्य रोगहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सहकारी संस्थामा कारोबार गर्न आएका सदस्यहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरी सदस्यहरूको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुुभयो ।
उहाँले पत्रु खानपिनका कारण बालबालिकामा दन्त तथा अन्य स्वास्थ्य समस्याहरू बढ्दै गएको बताउँदै संस्थालाई आफूले सञ्चालन गर्दै आएको सिद्धि गणेश स्वास्थ्य क्लिनिकमा रहेको सेवाहरूको व्यापक प्रचार गर्न सल्लाह दिनुभयो ।
उहाँले धनले भन्दा मनले धनी हुनुपर्ने विषय औँल्याउँदै समुदायको पनि प्रगति गर्दै जानुपर्ने बताउनुभयो ।
असल बानी व्यहोरा पैसाले किन्न सकिँदैन, समाजलाई जोगाउँदा हामी आफै जोगिँछाँै, उहाँले भन्नुभयो ।
भाषण कलाभन्दा अभिव्यक्ति क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै उहाँले अभिव्यक्ति क्षमता वृद्धि गर्न राम्रो स्रोता बन्नुपर्ने र निरन्तर अध्ययन गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्था व्यक्तिले होइन नीतिले सञ्चालन गर्नुपर्ने तथा पारदर्शी नभएका र सुशासनमा नचलेका सहकारी संस्थाहरू मात्रै समस्यामा परेको बताउनुभयोे ।
उहाँले सदस्यहरूले आफ्नो अधिकार मात्र मागी उत्तरदायित्व पूरा नगर्दा पनि संस्था समस्यामा पर्ने बताउनुभयो ।
एकहप्ते उद्घोषण तथा भाषण कला तालिमका प्रशिक्षक रवीन्द्रप्रसाद कुसीले बोल्नेको पिठो पनि बिक्ने नबोल्नेको चामल पनि नबिक्ने उदाहरण दिँदै बोल्ने क्षमताको महत्वबारे चर्चा गर्नुभयो ।
उहाँले उद्घोषण तथा भाषण कलाको लागि सैद्धान्तिक र व्यवहारिक ज्ञानको आवश्यकता रहने प्रस्ट पार्दै सो कला विकास गर्दा समाजमा सफल बन्न सक्ने बताउनुभयो ।
संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसमितिका सदस्य रामहरि ताम्राकार, प्रशिक्षणका प्रशिक्षार्थी जमुना बाइजु, राज सैँजु, राज्यलक्ष्मी न्याइच्याई र विजय सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *