भर्खरै :

मैलिँदो हावा, फैलिँदो क्यान्सर

  • भाद्र १७, २०८१
  • डा. सामना ओली
  • विचार
मैलिँदो हावा, फैलिँदो क्यान्सर

चिकित्सा अध्ययनमा लाग्नुभन्दा पहिल्यै नै क्यान्सरबारे नसुनेकी र नदेखेकी होइन । पढ्दै गएर काम गर्न थालेपछि क्यान्सरलाई पनि सहजै अरु रोग जसरी आफ्नो दैनिकीको पाटो बनाउँदै गइयो । तर जब स्वर्गीय अमेरिकी डाक्टर पल कलानिथीको ‘व्हेन ब्रेथ बिकम्स्स एअर’ (When Breath Becomes Air) भन्ने आत्म–वृत्तान्त पढेँ तब मेरो क्यान्सरलाई हेर्ने दृष्टिकोण पूरै परिवर्तन भयो । आफ्नो स्वास्थ्य मात्र नभई व्यक्तिगत जीवन अनि पारिवारिक र पेशागत जीवनमा क्यान्सरले पार्न सक्ने आमूल परिवर्तनहरु उपचारभन्दा बाहेक बिरामीलाई चाहिने आत्मबल बिरामी सँगसँगै क्यान्सरलाई भोग्नुपर्ने परिवारजनको धैर्यता र क्यान्सरले आँखा अगाडि जीवनलाई सकाउँदै जाने त्रासदी मैले त्यो किताबबाट निकै गहिराईको साथ बुझेँ । एक हिसाबले भन्नुपर्दा सो किताबले रातारात मेरो क्यान्सर अध्ययनप्रतिको रुचिलाई तीव्र गति दियो ।
उक्त किताबमा जिन्दगीलाई क्षणभरमै स्टेज ४ को फोक्सोको क्यान्सरले परिवर्तन गरिदिन्छ । यस्ता लिखित अलिखित पलका कथाहरू हरेक दिन फोक्सोको क्यान्सरको दस्तावेजमा दर्ता हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनको २०२०को डाटाअनुसार हरेक वर्ष लगभग २२ लाख जना नयाँ फोक्सोको क्यान्सरको बिरामी रिपोर्ट हुन्छन् भने लगभग १८ लाख जना यसकै कारण मर्ने गर्छन् । यसले गर्दा आज पनि फोक्सोको लङ्स क्यान्सर संसारभरमै पुरुषहरूमा पहिलो र महिलाहरूमा दोस्रोमा धेरै हुने क्यान्सरमा पर्दछ । यो क्यान्सरलाई प्राथमिकता दिँदै यसबारे जागरुकता बढोस् भनेर २०१२ देखि हरेक अगस्त १ लाई । ‘वर्ल्ड लङ्स क्यान्सर डे’ को रूपमा मनाइन्छ । आज पनि देखापर्ने लगभग ८५ प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानको कारण हुने गर्दछ । बाँकी १५ प्रतिशत क्यान्सर भने अप्रत्यक्ष धुम्रपान (आफूले धुम्रपान नगरे पनि अरुले धुम्रपान गर्दा त्यहाँ हुनु), वातावरण प्रदूषण, औधोगिक धुँवा, जेनेटिक्स्, विकिरण, वातावरणमा युरेनियम्, आर्सेनिकजस्ता धातु, फोक्सोका अरु रोग इत्यादिले गर्दा हुन्छ । सरल भाषामा भन्दा फैलिँदो फोक्सोको क्यान्सरको प्रमुख कारण आफू वरिपरिको मैलिँदो हावा हुन आउँछ ।
क्यान्सरहरूमै ‘साइलेन्ट किलर’ भनी कहलिएको फोक्सोको क्यान्सर अधिकांश समय धेरै फैलिसकेपछि मात्रै थाहा हुन्छ । यसो हुँदा उपचार पद्दतिका पाटाहरू साघुरिँदै जाने र बिरामीलाई दिन मिल्ने औषधि वा रेडिएसन पूर्णरूपले रोगको निवारणका निम्ति पर्याप्त नहुने देखिएको छ । त्यसैले हाम्रो लागि सरल विकल्प भनेको फोक्सोको क्यान्सरका लक्षणहरूको समयमै पहिचान र जाँच (स्क्रीनिङ) हो । उक्त स्क्रीनिङ छातिको सिटी स्क्यानले गरिन्छ । छाती दुख्नु, लामो समयसम्म खोकी लागिरहनु, सास फेर्न गाह्रो हुनु, अप्रत्यासित रूपमा तौल घट्नु, खकारमा रगत आउनु, थकान महसुस गरिराख्नु यो क्यान्सरका केही लक्षणहरू हुन् । यसो हेर्दा टिबी र फोक्सोका अन्य रोगका लक्षणहरूसँग मिल्दो जुल्दो लाग्ने यी लक्षणहरूका कारण नै आम जनमानस प्रायः क्यान्सरको पहिचानसम्म पुग्न ढिला हुने गर्छन् । लक्षणका अलावा पनि केही वर्गका व्यक्तिहरू भने ‘सिटी स्क्यान’ गरी क्यान्सर स्क्रीनिङ गर्न तत्पर रहनुपर्छ । यो वर्गमा ५५ देखि ८० वर्षका जमात धुम्रपान गरिरहेका वा गएको १५ वर्षभित्र धुम्रपान त्यागेका व्यक्तिहरू वा विगत ३० वर्षदेखि दिनको २० वटासम्म चुरोट पिउनेहरू र क्यान्सर स्क्रीनिङका लागि इच्छुकहरू पर्दछन् । स्क्रीनिङका लागि गरिने सिटी स्क्यानका भने आफ्नै फाइदा–बेफाइदाहरू छन् । आफ्नो लागि के गर्दा उचित होला भनी जान्न र ‘फाइदा– जोखिम’ को लेखा–जोखा गर्न आफ्नो डाक्टरसँग परामर्श लिनु उचित हुन्छ ।
अमेरिकी क्यान्सर सोसाइटीको अनुसार सामान्यतः देखापर्ने फोक्सोको क्यान्सरका सबै स्टेजलाई सँगै राखेर हेर्दा ५ वर्ष सर्भात्ल रेट (मतलब क्यान्सर पहिचान पछि उपचार सुरु भएकाहरूमा ५ वर्षसम्म बाँच्नेहरूको दर) ७ – २८ प्रतिशत छ । यो डाटा हेर्दा त्यति सन्तोषजनक नभए पनि नफैलिएको क्यान्सरहरूमा भने ५ वर्ष सर्भात्ल रेट ३०–६५ प्रतिशतसम्म छ ।
हामीले गहिरिएर फोक्सोको क्यान्सरलाई बुझ्ने हो भने यो आफैँमा जटिल क्यान्सर हो । यसको पहिचान, उपचार, जटिलता आफैँमा समस्त अर्वुद्ध रोगको निदानमा संलग्नहरूको लागि एउटा चुनौती हो । स्वास्थ्यको नियमित परीक्षण, वायु प्रदूषणको रोकथाम, धुम्रपानविरुद्ध अभियान अनि व्यक्तिगत तहमा आफैँमा धुम्रपानप्रतिको आचरण परिवर्तन हामीले बच्नका निम्ति गर्न सक्ने उपायहरू हुन् । मैले क्यान्सर विभागमा काम सुरु गरेको केही हप्तामा सबै भन्दा बढी देखेको क्यान्सर पनि फोक्सोकै क्यान्सर हो । रोग जति नै जटिल भए पनि हरेक दिन आफ्ना बिरामीहरूमा देख्ने अदम्य साहसले मलाई जीवनप्रति कृतज्ञ बनाउँछ अनि हरेक दिन खुलेर जिउनुको औचित्य सिकाउँछ । मृत्यु नै संसारको एक मात्र शावस्त सत्य हो भन्ने थाहा हुँदाहुँदै पनि जिन्दगीलाई आफ्नो तरिकाले जिउन अलिकति ढिला भएछ भन्ने कुरा बुझ्न हामीलाई किन क्यान्सरजस्तै रोग सामुन्ने परेपछि मात्र याद आउने होला ?
आफ्नो ड्युटीको हरेक दिन एक चिकित्सकभन्दा बाहिरी पाटोमा बसेर म आफ्ना बिरामीहरूलाई हेर्नेगर्छु । एक जीवनसँग जोडिएको अनेकौँ जीवनको सङ्घर्षले मलाई धेरैपल्ट भावुक बनाउँछ तर यति हुँदा हुँदै पनि क्यान्सरको विकरालताको वैज्ञानिकतासँग म अभिन्न रहन सक्दिन। निकट भविष्यमै क्यान्सर अझै फैलिएको र मौलाइएको देख्न पाइने छ । त्यसका लागि हामी तयार रहनुपर्छ ।
(ओली हाल विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा डिपार्ट्मेन्ट अफ अंकोलोजीमा मेडिकल अधिकृत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *