भर्खरै :

कुशे औँसी कसरी मनाउने ?

कुशे औँसी कसरी मनाउने ?

आमाबुबाको लागि छोराछारी सबथोक हुने गर्छन् भनेजस्तै छोराछोरीका लागि पनि आमाबुबा सबथोक हुनुपर्दछ । सामाजिक परिवर्तन, आधुनिकीकरण, देखावटीपनले पनि संस्कार, नाता सम्बन्ध, धर्म, परम्परा इत्यादिमा प्रभाव पार्दै आएको छ । चाडपर्वको मर्म र महत्व नबुझी हल्लैहल्लामा, देखासिकीमा पर्व मनाउने क्रम बढ्दो छ । तडकभडकले हाम्रो परम्परामा नराम्रो प्रभाव पार्दै आएको कुरा छ । बच्चा सानो छँदा बाआमाले आफ्नो छोराछोरीको खुसीको लागि दिनरात नभनी पसिना बगाउने गर्छन् । आफ्ना हरखुसी, सपना त्यागी सन्तानको खुसीमै भुल्ने गर्छन् । उनीहरू सन्तानको सुन्दर भविष्यको कल्पनामै रमाउने गर्छन् । त्यसैले हामीले आफ्ना बाआमाको इच्छा र खुसीको लागि विशेष ध्यान दिनुपर्दछ । आफ्नो कामकाजमा जति नै व्यस्त भए पनि उनीहरूसँग समय बिताउने, उनीहरूलाई माया, हेरविचार गर्ने, बिरामी हुँदा औषधिमुलो उपचार गर्नेमा विशेष ध्यान दिने गर्नुपर्दछ । मानिसहरू धर्म लाग्छ भन्दै विभिन्न मन्दिर, मस्जिद, चर्च धाउने गर्छन् त्यो भन्दा पनि आफ्नो जन्म दिने बाआमाको हेरविचार गर्नु पर्दछ । उनीहरूको आशीर्वादले नै सदा सन्तानको भलो हुने गर्दछ । हाम्रो धर्मशास्त्रले पनि आफ्नो जन्मदाताको सेवा गर्नु नै परम धर्म मानेको छ । कतिपय छोराछोरीहरू आफ्ना बाआमाको भावना नबुझी अरुको खराब सङ्गतमा परेर आफ्ना जन्मदातालाई बेवास्ता गर्ने, खान नदिने, हेरचाह नगर्ने वृद्धाश्रममा राख्नसम्म पछि पर्दैनन् । उनीहरूले आफ्ना बाआमाले गरेको मायाको महत्व नबुझेको पनि देखिन्छ । कतिपयले त आफ्ना बुढा बाआमालाई बेवारिसे बनाई विदेशमा रमाइलो गरी बस्ने गर्छन् । आफ्ना बा आमाले गरेको दुःख पसिना भुलेर अर्कै दुनियाँमा रमाइरहेका हुन्छन् । यस्तो वास्तविक सत्यबाट हामी धेरै परिचित रहेका छौँ । हालको साहित्य रचनाले नेपाली समाजको वास्तविक चरित्रको चित्रण गरेको छ । साहित्य मानव जीवनलाई नियाल्ने एक दर्पण हो जुन कुरा आफ्नै आँखाले देख्दा ध्यान दिइँदैन । ती कुरा साहित्यले सजीव वर्णन गरेको पाइन्छ । हालै मैले अखण्ड भण्डारीको उपन्यासबारे अध्ययन गरेको थिएँ । त्यो उपन्यासले बुढ्यौलीको पीडा र अवस्थाबारे मार्मिकरूपमा चित्रण गरेको पाएँ । त्यसैले साहित्यहरूबारे हामीले विशेष चासो दिई अध्ययन गर्नु जरुरी छ । हाम्रा बन्द आँखालाई खोल्ने काम साहित्य गर्दछ ।
हाल युवा पुस्ता विदेसिने क्रम बढेको छ । बाआमालाई पनि अरुको छोराछारी विदेश गएर पढेको र धन कमाएको देखि आफ्ना छोराछोरीलाई पनि विदेश पठाउने रहर जाग्छ । आजको पुस्ता त बिदेसिने सपना बुनेरै हुर्केको हुन्छ । उनीहरूको त कुरै नगरौँ । भएको खेतबारी बेची छोराछोरीलाई विदेश पठाउँछन् भनी तिनै छोराछोरी विदेश पुगी बाआमा र आफ्नो देश भुल्दछन् । अझ कतिपय छोराछोरी जन्माएपछि हुर्काउने र उनीहरूको इच्छा पूरा गर्ने त बाआमाको कर्तव्य त हो भनी सिधै भन्ने गर्छन् । काम र अध्ययनको सिलसिलामा बिदेसिएकाहरू नेपाल फर्कन चाहँदैनन् । तर, यता बुढा बाआमा आफ्ना छोराछोरी आउने बाटो हेरी बस्ने गर्छन् । सबै बिदेसिएकाहरू यस्ता हुन्छन् भन्ने पनि छैन । बिदेसिनु रहर मात्र होइन कतिपयका लागि बाध्यता पनि हो । त्यसैले नेपालमै रोजगारीको व्यवस्था गर्न सके बिदेसिने क्रम केही कम हुन्थ्यो कि ?
आज बुबाको मुख हेर्ने दिन हामीले आफ्ना जन्मदातालाई माया, हेरचाह गरी उनीहरूको मुहारमा खुसी छाउने काम गर्नु पर्दछ । आफ्ना बाआमालाई आज एक दिन मात्र होइन हरसमय हरपल हेरचाह गरी उनीहरूको इच्छाको कदर गर्नु पर्दछ । बाहिरी तडकभडकभन्दा पनि आफ्नो संस्कृति परम्पराअनुसार सरल किसिमले यो दिनलाई मनाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *