भर्खरै :

ङातापोल्हँ चढ्दै गर्दा

ङातापोल्हँ चढ्दै गर्दा

पाँचतले मन्दिरको सिँढीमा रहेका खुड्किलाहरू चढ्दै गर्दा कहिलेकाहीँ म आफै अचम्मित हुन्छु । खुड्किलाको दायाँबायाँ हेर्दा ढुङ्गाका सुन्दर मूर्तिहरू देख्छु । ती मूर्तिहरूबिच आपसमा सम्बन्ध छ जस्तो लाग्छ । घरमा सबैजना ङातापोल्हँ भन्छन् । राजा भूपतीन्द्र मल्लको पालामा सात महिनाभित्र ने.सं. ८२२ कार्तिकदेखि ने.सं. ८२२ जेठ ६ मा ङातापोल्हँ बनेको थाहा भयो । यस मन्दिरको निर्माणमा छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौखेल आदि ठाउँका मानिसहरूले सहयोग गरेको कुरा विभिन्न वेभसाइटहरूमा उल्लेख छ । मुख्यमुख्य भूकम्पमा समेत नभत्केको यो मन्दिरको संरचना मेरो लागि रहस्यको गर्भ लाग्छ । ललितपुरको कुम्भेश्वर मन्दिर र भक्तपुरको ङातापोल्हँ काठमाडौँ उपत्यकाका दुई पाँचतले मन्दिरहरू हुन् । स्थानीय भाषामा तःमारी अर्थात् टौमढीमा अवस्थित यो मन्दिर हेर्न पर्यटकहरू लालायित हुन्छन् ।
मेरी छोरी मलाई ङातापोल्हँबारे प्रश्न गरेर ¥याख¥याखती पार्छे । उसले स्थानीय पाठ्यक्रममा यसबारे सुनेको रहेछ । म भने जवाफ दिन नसकेर छटपटाउँछु ।
१०८.२६ फिट अग्लो यो मन्दिरमा मैले कहिल्यै भित्र छिर्न पाएको छैन । सुन्छु, वर्षको एकपटक भुसाराँ गर्दा त्रिकोणात्मक झन्डा फहराउन कर्माचार्य पुजारीहरू मन्दिर प्रवेश गर्छन् । कोही यसलाई तान्त्रिक देवी सिद्धि लक्ष्मी पनि भन्छन् । कोही भैरवनाथको मन्दिरसँग यसको कथा जोड्छन् । तर, मलाई कुनै कथा आउँदैन ।
ङातापोल्हँ मन्दिरको शिलालेख बिग्रिएको अवस्थामा रहेको इतिहासविद् पुरुषोतमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा भेटाएको बारे सुनेको छु ।
खुड्किलाको सुरुको भागमा दुई पहलमानहरू जय र पताका मूर्तिहरू छन् । त्यसमाथि हात्तीका मूर्तिहरू छन् । हात्तीभन्दा माथि सिंहका मूर्तिहरू छन् । अनि त्यसमाथि सार्दूलको प्रस्तर मूर्ति छन् । सबैभन्दा माथि सिंहिनी र व्याघ्रिनी देवीका मूर्तिहरू छन् । मन्दिरको चारकुनामा गणेशका मन्दिरहरू छन् ।
मलाई लाग्छ, सार्दुलकै बारेमा एउटा सोध बन्न सक्छ । त्यस्तै सिंहको मूर्तिलाई हेरेर छुट्टै कथा बुन्न सकिन्छ । भूकम्पले नभेट्नुमा अर्को अनुसन्धान हुनसक्छ । सिंहिनी व्याघ्रिनी देवीबाट इतिहासलाई धर्मसँग जोड्न सकिन्छ । मन्दिरमा रहेका टुँडालबारे त मलाई रतिभरको ज्ञान छैन ।
भक्तपुरका किसान मजदुर विश्वविद्यालय गएको हिजोको राज्यले हेर्न चाहेको थिएन र स्थापना हुन लागेका विश्वविद्यालयहरू किसानलाई भड्काएरै भए पनि अन्यत्रै सारिए । खर्पन बोक्नेले लाय्कुबारे चासो राखेको हिजोका सम्भ्रान्त शासकहरूले हेर्न चाहेनन् । फलतः हाम्रा थुप्रै मूर्त तथा अमूर्त सम्पदाहरू ओझेलमा परे भने यहाँको इतिहास विदेशीले लेख्ने तहसम्म हामी पुग्यौँ । अनि म ङातापोल्हँबारे जान्न विकिपेडिया खोल्ने अवस्थामा पुगेँ । धन्य, ङातापोल्हँ मन्दिरको साँचो नेपालीहरूसँगै रहेछ । पशुपतिनाथको मन्दिरजस्तै अन्यको हातमा पुग्ला भन्ने मनमा डर छ ।
आज ख्वप विश्वविद्यालय विधेयकलाई पनि विभिन्न बहानामा रोक्ने प्रयासहरू भइरहेका छन् । हिजो हामीले स्थापना हुन लागेका अन्य विश्वविद्यालयहरू गुमायौँ, गुमाइसक्यौँ । तर, आज हामीले ख्वप विश्वविद्यालय गुमायौँ भने हामीले धेरै कुरा गुमाउने स्पष्ट छ । भ्रष्ट र शोषक शासकहरू जनताको कहिल्यै भलो चाहँदैनन् । हाल ख्वप विश्वविद्यालयले पनि राज्यबाट यस्तै नियति भोग्नुपरेको छ ।
ङातापोल्हँको खुड्किलो चढ्दै गर्दा मनमा कुरा खेलिरह्यो, कतिखेर माथि पुगेछु यादै भएन । जबमाथि पुगेँ झल्याँस्स भएँ । किनकि, म ङातापोल्हँजस्तो एक सुन्दर सांस्कृतिक सम्पदामा पाइला टेकिरहेको थिएँ, जुन आफैमा विश्वविद्यालयसरह छ । मैले त्यहाँ गएर अझै पढ्न बाँकी छ र थुप्रै ज्ञान गुणका नयाँ कुरा सिक्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *