“राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ”
- आश्विन २३, २०८१
मैले केही दिनअघि दिदीबहिनीहरूसँग मिलेर ‘तडकभडक’ नाचगानसहित भेटघाट गरेँ, मैले तडकभडकसहित मनाए भनेर के मलाई र दिदीबहिनीलाई थुन्ने ?
गृह मन्त्रालयले विज्ञप्ति निकालेपछि कतिले यो ठीक भएन भनेर लेखे ।
‘तीज मनाउँदा महिलाले धेरै तडकभडक नगर्नू’ भन्ने विज्ञप्ति दिने विचार गृह मन्त्रालयका कर्मचारीलाई कहाँबाट आयो होला ? त्यो विज्ञप्ति दिने गृह मन्त्रालयले कति जनालाई ‘तडकभडक गरे’ भनेर समाते होला ? ‘तडकभडक नगर्नु’ भन्ने गृह मन्त्रालयले प्रचण्डको नातिनीको विवाह गोकर्णमा गराउँदा हजारौँ मान्छेहरू बोलाउँदा तडकभडक गरेको आरोप लगाउन सक्थ्यो होला ?
देउवा पुत्रको विवाहमा अनेकौँ चोटि ‘पार्टी’ हुँदा तडकभडकको आरोप लगाउन सक्थ्यो होला ? ‘भ्यालेन्टाइन ‘डे’ मा तडकभडक गरेर नमान्नु’ भनेर गृह मन्त्रालयले विज्ञप्ति निकाल्न सक्छ होला ?
तथाकथित ‘नेताहरूलाई चुइँक्क बोल्न नसक्ने, नेपाली महिलाले ‘तडकभडक’ गरे भनेर विज्ञप्ति निकाल्ने ?
मधेशमा १६ वर्षकी किशोरीको विवाह हुँदा त्यहाँको वडा अध्यक्षदेखि सरकार प्रमुखहरू गएर ‘कन्यादान’ ‘दाइजो’ दिँदा गृह मन्त्रालयले विज्ञप्ति निकाल्न सक्छ होला ? सक्दैनन् ।अनि महिलाहरूलाई जे भने पनि हुन्छ भनेर विज्ञप्ति निकाल्ने ?
‘बाल विवाह र बलात्कार’ बारे विज्ञप्ति कहिले निकाल्ने ?
‘आफ्नो संस्कृति नबिगार्ने’ मनसायले सरकारले त्यो विज्ञप्ती निकालेको हो भने “गाउँठाउँमा बर्थ डे केक” काटेर संस्कृति नबिगार्नु, विज्ञप्ती निकाल्छ होला ?
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै गृह मन्त्रालय र सीडीओहरूको केही काम नभएर यस्तो विज्ञप्ती निकालेको हो ?
गृह मन्त्रीज्यू, आफ्नो काम गरौँ न, अर्काको व्यक्तिगत विचार, व्यवहारमा किन चासो ? महिलाहरूले तपाईँसँग आएर हामीलाई दर खान पैसा दिनु भनेका छन् र ?
बरु चुनावको बेला हामीसँग पैसा माग्ने होइन र तपाईँहरू ? तपाईँको घरमा, होटेलमा के खान हुन्छ, कति नाचगान गर्न हुन्छ भनेर नेपाली महिलाहरूले तपाईँलाई केरकार गरेका छन् र ? त्यो विज्ञप्तिले तापाइँको मन्त्रालयको काम कति ‘गहिराइमा’ भइरहेको छ भन्ने जनताले बुझ्दैनन् र ? ‘अपराधी र डाँका’ समात्न भने विज्ञप्ति ननिकाल्ने, ‘दर खाँदा विज्ञप्ति’ निकाल्ने अरे ।
यस्ता शब्द लेखेबापत सजाय दिने हो ? हामीलाई जेल हाल्ने विज्ञप्ति निकाल्ने हो कि ?
Leave a Reply