अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भदौ ७ गते शुक्रबार संसदीय छानबिन समितिले करिब ५१ वटा प्रश्न तयार पारेर १० घण्टा लामो बयान लियो । बयानको क्रममा उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । उनले सञ्चारमाध्यमलाई गोरखा मिडियासँग आफ्नो संलग्नताबारे लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको पनि बताए । तर, रास्वपाकै निलम्बित महामन्त्री मुकुल ढकालले लामिछानेलाई नै सम्बोधन गरेर भदौ ७ गते पठाएको पत्रमा “लामिछाने अपराधी रहेको आफूले प्रमाणित गर्न सक्ने” उल्लेख गरे । उनले लेखे, “तपाईँ (लामिछाने) ले सहकारी ठगी गर्नुभएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।” नेपाली काङ्ग्रेसका सांसद गगन थापाले पनि २०८१ वैशाख २८ गतेको संसद् बैठकमा सहकारीमा ऋण लिएको छैन भन्ने तत्कालीन गृहमन्त्री लामिछाने ‘आफैले माग फाराम भरेको लिखत र सहकारीको करिब १ अर्ब अपचलन गरेको प्रमाण पेस गरौँ !’ भनेर चुनौती दिएका थिए, तर थापाले अहिलेसम्म प्रमाण भने सार्वजनिक गरेका छैनन् ।
लामिछानेले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कसरी रकम आयो भन्नेबारे आफूलाई जानकारी नभएको जवाफ दिएको समितिका सभापति सूर्य थापाले बताए । लामिछानेले बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण र प्रवाह रकम सम्बन्धमा आफ्नो हस्ताक्षर, कागजात, नागरिकता समावेश नभएको जिकिर गरे । तर, लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रूपमा प्रशासकीय र आन्तरिक काममा निरन्तर संलग्न रहेका थिए । लामिछाने २०७८ वैशाख ५ गतेदेखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । यही अवधिमा मात्रै ४ सहकारीबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन गरेको सीआइबी र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । (कान्तिपुर, २०८१ भदौ ७)
प्रश्नभित्रै प्रमाण छरपस्ट !
लामिछानेले सहकारी संस्थामा आबद्ध नभएको दाबी गर्दैगर्दा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको मेम्बर आईडी नं. ००१–०८७१५६ र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको मेम्बर आईडी नं. ००१–०५८५०६ मा उनको नामसहितको केवाईएम (नो योर मेम्बर) रहेको देखियो ।
प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७७।१२।१८ गते लामिछानेका नाममा २ करोडको ऋण खडा गरी सो रकममध्ये १ करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैङ्कको खातामा सोही मिति (३१ मार्च २०२१) मा जम्मा भएको देखिन्छ । लामिछानेले २०७७।१२।१८ मै गोर्खा मिडिया नेटवर्क प्रालिको १,८०,००० कित्ता सेयर खरिद गरेको पनि देखिन्छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७८।०३।२२ गते कुमार रम्तेलको नाममा १ करोड ९० लाख ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैङ्कमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम लामिछानेको नाममा रहेको ऋण शीर्षक १०५–२२४ मा ७,००,०००।– र अन्य पुराना ऋणहरू कुमार रम्तेल १०५–५० मा ५९,९३,४२०।–, छविलाल जोशी १०५–२११ मा १५,८०,०००।– जम्मा गरी फछ्र्याेट देखाई कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको सिद्धार्थ बैङ्कको खातामा २०७७।०६।११ गते १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैङ्कको खातामा २०७८।०१।०५ गते १ करोड, २०७८।०१।०९ गते ३० लाख र २०७८।०३।०४ गते १ करोड समेत जम्मा ३ करोड ३० लाख जम्मा भएको देखिन्छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७७।१०।२९ गते छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैङ्कको खातामा २ करोड ४५ लाख जम्मा गरेको देखिन्छ । यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाएर गोलमाल गरेको पाइयो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा विपिनकुमार आचार्यका नाममा २०७८।०९।१२ गते १ करोड ५६ लाख १५ हजारको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैङ्कको खातामा १ करोड ५० लाख रकम जम्मा गरेको देखिन्छ ।
भूपेन्द्रबाबु राईको नाममा २०७७।०६।११, २०७८।०१।०५ र २०७८।०३।०४ गते ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा पठाइएको ३ करोड ३० लाख रुपैयाँ २०७८।०३।३१ गते फछर्याेट देखाई सोही रकमको नयाँ ऋण खडा गरेर पुनः २०७८।०६।१३ गते ५० लाख र २०७९।०२।०४ गते ३० लाखसमेत ८० लाख पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको देखिन्छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा पुष्पराज गिरीको नाममा पेस्की जनाई २०७८।०६।२४ गते २५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैङ्कको खातामा जम्मा गरेको देखिन्छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७७।०६।११ गते १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको सिद्धार्थ बैङ्कको खातामा र २०७८।०१।०५ गते १ करोड र २०७८।०१।०९ गते ३० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैङ्कको खातामा जम्मा गरेको देखिन्छ । नियमअनुसार निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्दैन ।
पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा २०७७।१२।३० गते गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण स्वीकृत गरी रु. ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैङ्कको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा २०७८।०७।०५ गते शेरबहादुर ठगुन्नाको नाममा कर्जा नं. ११६–४५७७ गते रु. ५० लाख कर्जा देखाई निजकै बचत खाता नं. ४९–०१०५९ मा जम्मा गरी उक्त रकम मेगा बैङ्कको चेक नं. २९२९०९४६ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा भुक्तानी प्राप्त भएको देखिन्छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा २०७८।०९।०६ मा विपिनकुमार आचार्यको कर्जा खाता नं. ११६–४६१६ मा रु. १ करोड कर्जा देखाई बचत खाता नं. ४९–०१२५० मा जम्मा गरिएको र उक्त कर्जाको सेवा शुल्क एवम् अन्य शुल्क गीतेन्द्रबाबु राईको बचत खाता नं. ३१–१४४५३ बाट रकमान्तर गरी कट्टा गरिएको कम्प्युटर लेखा प्रणालीबाट देखिन्छ । उक्त बचत खाता नं. ४९–०१२५० बाट रु. १ करोड सहकारीकै गोर्खा फाइनान्सको चेक नं. १०००८५१५२८ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिलाई भुक्तानी गरिएको देखिन्छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८।०२।०३ गते ५० लाख मेगा बैङ्कको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८।०३।०९ गते ५० लाख मेगा बैङ्कको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा रकम प्रवाह भएको देखिन्छ । उल्लिखित रकम २०७८।०३।३१ गते लामिछानेको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गर्नुका साथै कर्जा खडा गरी पेस्की सेटल गरेको देखिन्छ । सहकारीको सेयर सदस्य नै नभएको व्यक्तिले उक्त कर्जा कसरी लिए ? सहकारी संस्थाका सदस्यबाहेक अन्य व्यक्तिको बचत जम्मा गर्न वा ऋण प्रवाह गर्न पाइँदैन ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण रकम रु. १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,०००।– र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३०।– समेत जम्मा रु. १ करोड ३० लाख ८९ हजार २०८०।०३।१३ गते गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको देखिन्छ । लामिछानेको व्यक्तिगत कर्जा चुक्ता नगरी २०७९।०३।०२ मै छाडिसकेको गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा कुन आधारमा ऋण कायम भयो, शङ्कास्पद छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको रु. २ करोड पेस्की रकम २०७८/०३/३१ गते फछर्यौट भई सोही दिन लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीका नाममा सोही रकमको ऋण मिलान गरेको देखिन्छ ।
विदेशी कम्पनी उल्लेख गरिएको ‘लाओ एसिया प्यासिफिक स्याटलाइट’ लिमिटेडबाट १४ जुन २०२२ मा गोर्खा मिडिया नेटवर्क प्रालिले रु. ५५ लाख १७ हजार ७ सय २३ रुपैयाँ ऋण लिएको पनि देखिन्छ ।
लामिछाने प्रबन्ध निर्देशक रहेकै समय चुक्ता पुँजी १२ करोड रहेको कम्पनीमा १६ करोड घाटा भयो । उक्त समयको मुख्य खर्च निकासा हेर्दा लामिछाने, गीतेन्द्रबाबु राई, शम्भु गुरागाईंँ र विपिनकुमार आचार्यको तलबलगायत देखिन्छ । त्यस अतिरिक्त विपिनकुमार आचार्य सञ्चालक रहेको कम्पनीमा अत्यधिक सञ्चालन खर्च निकासा हुने गरेको देखिन्छ ।
लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिबाट बिनाप्रयोजन कर्मचारी पेस्की शीर्षकअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा ६ लाख ४५ हजार र आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख रकम पेस्की लिएको देखिन्छ । लामिछानेले आर्थिक वर्षको अन्त्यसम्ममा पनि उक्त पेश्की रकम फछर्यौट गरेनन् ।
लामिछानेले गोर्खा मिडिया प्रालिको सेयर खरिद गरी सञ्चालक एवम् प्रबन्ध निर्देशक बनेको समय कम्तीमा पाँच वर्ष संस्था चलाउने प्रतिबद्धता जनाएका थिए । तर, आठ महिनामै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेर गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनलाई नै सङ्कटमा पारेको जानकारहरू बताउँछन् । यसको जिम्मेवार रवि लामिछाने नै हो भन्नेसमेतको व्यहोरा लेखेर उक्त कम्पनीका हालका सञ्चालकहरूले संसदीय छानबिन समितिमा बुझाएका छन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको ऋण तथा पेस्की रकमहरू पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यतासमेत लामिछानेकै भएको व्यहोरा भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले खुलाएको देखिन्छ ।
लामिछाने आफू उपप्रधानमन्त्री र गृहमन्त्री रहेको बेला प्रतिनिधिसभामा सम्बोधनका क्रममा सहकारीको बचत रकम अपचलनका अभियुक्त गीतेन्द्रबाबु राई रहेको स्थानको नजिकसम्मको सूचना सरकारले प्राप्त गरिसकेको र मलेसिया सरकारका समकक्षीसँग छलफलसमेत गरेको जानकारी गराएका थिए । तर, लामिछानेले गीतेन्द्रबाबु राईलाई पक्रने प्रयास कहिल्यै गरेनन् । यी सबै घटनाले रास्वपाका सभापति रवि लामिछानेको गतिविधि शङ्कास्पद रहेको देखिन्छ ।
काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानतासमेत ६ वटा सहकारीका पीडितले जीबी राई, रास्वपाका सभापति रवि लामिछाने र छबिलाल जोशीमाथि अनुसन्धान र कारवाही माग गर्दै भदौ १२ गते शुक्रबार प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाए । अब, संसदीय छानबिन समितिको निष्कर्ष कस्तो आउला र सरकारले के गर्ला हेर्न बाँकी नै छ ।
२०८१ भदौ १६ गते
Leave a Reply