भर्खरै :

अमेरिकी सैन्य अखडाका लागि बङ्गलादेशमा ‘क्रान्ति’

अमेरिकी सैन्य अखडाका लागि बङ्गलादेशमा ‘क्रान्ति’

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले संरा अमेरिकामाथि सङ्गीन आरोप लगाएकी छिन् । हाल भारतमा निर्वासित रहेकी उनले अगस्ट १२ गते ‘इकोनोमिक्स टाइम्स’ सँग भनिन्, “सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता त्यागेकी भए र अमेरिकालाई बङ्गालको खाडीमा दबदबा कायम गर्न दिएकी भए म सत्तामै रहन सक्थेँ । देशवासीहरूसँग मेरो अनुरोध छ – कृपया, चरमपन्थीहरूको बहकाउमा नआउनुहोला ।”
देशमा विद्यार्थीले हप्तौँसम्म हिंसात्मक सडक आन्दोलन गरेपछि हसिनाले अगस्ट ५ मा राजीनामा दिइन् । सरकारी सेवामा कोटा प्रणालीका कारण विद्यार्थी आक्रोशित थिए । भारतको सैन्य हस्तक्षेपको सहयोगमा सन् १९७१ मा पाकिस्तानविरुद्ध सङ्घर्ष गरेका स्वतन्त्रता सेनानीहरूका दरसन्तानलाई ३० प्रतिशत आरक्षण सुनिश्चित गर्ने प्रावधानलाई सर्वोच्च अदालतले ब्युँताएपछि २०२४ जूनमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । विद्यार्थीले आफूमाथि अन्यायी बन्दोबस्त थोपरिएको र शैक्षिक योग्यताभन्दा पनि पुर्खा हेरेर रोजगारी दिँदा आफूले सीमित अवसर पाउने महसुस गरे ।
जुलाई १५ मा ढाका विश्वविद्यालयका विद्यार्थीले विरोध जनाए र कोटा प्रणालीमा सुधार गर्नुपर्ने माग राखे । अकस्मात् उनीहरूमाथि लाठी र मुङ्ग्रो लिएका व्यक्तिहरूले हमला गरे । यस्तै हमला अन्य स्थानमा पनि भए । त्यो हमलामा सत्तासीन पार्टी अवामी लीगसम्बद्ध समूहको हात रहेको हल्ला सलहझैँ फैलियो ।
केही पर्यवेक्षकले हिंसा सुरु गर्ने समूहलाई विदेशी शक्तिले भाडामा प्रयोग गरेको अनुमान गरेका छन् । सडक प्रदर्शनकारीहरूप्रति क्रूर व्यवहार भएको भनेर पश्चिमा मिडियाले सिरियाको सन् २०११ मार्चको जनआन्दोलनमा पनि व्यापक प्रचार गरेका थिए । यद्यपि, ती मिडियाले प्रदर्शनकारीहरू हतियारबद्ध भएको र पहिलो दिनको हिंसामै ६० सिरियाली प्रहरी मारिएको समाचार लेखेनन् । बङ्गलादेशको जस्तो स्थितिमा प्रश्न उठ्छ – यो जनस्तरबाट उठेको आन्दोलन हो कि बाहिरिया स्वार्थका कारण मञ्चन गरिएको नियोजित घटनाक्रम हो ?
जुलाई १८ सम्ममा ३२ जनाको मृत्यु भएको खबर थियो भने जुलाई १९ मै मृतक सङ्ख्या ७५ पुग्यो । इन्टरनेट बन्द छ भने १० दिनमै ३ सत्न्दा बढीको हत्या भइसकेको छ । साथै घाइतेको सङ्ख्या हजारौँ पुगिसकेको छ ।
कसैले बङ्गलादेशी जनआन्दोलनलाई ‘जेन जी क्रान्ति’ भन्दै छन् । कतिपयले यसलाई ‘मनसुन क्रान्ति’ भन्दै छन् । तर, विज्ञहरू अझै पनि विद्यार्थी आन्दोलनकारीहरूमाथि भएको सुरुआती हिंसात्मक हमलाको स्रोतबारे एकमत भएका छैनन् ।
गत जनवरी ७ मा भएको निर्वाचनलाई जोड्दा हसिना लगातार चौथोपल्ट विजयी भएकी हुन् । पछिल्लो निर्वाचनलाई अमेरिकाको विदेश मन्त्रालयले ‘निष्पक्ष वा स्वतन्त्र भएन’ भनेको थियो । निर्वाचनको परिणाम आएपछि क्षेत्रीय शक्ति भारत र चीनले ७६ वर्षीय हसिनालाई बधाई दिएका थिए ।
इस्लामी चरमपन्थीहरूबाट आउने धम्की झेल्दै हसिनाले सन् २००९ यता देशमा अमनचयन कायम गर्दै आएकी थिइन् । केही विद्यार्थी अभियन्ताहरूको भनाइअनुसार बङ्गलादेशी हिन्दूहरूमाथि निसाना साँध्नु विद्यार्थी आन्दोलनको सन्देश वा सोच कहिल्यै थिएन ।
छोटकरीमा जमात भनिने जमात–ए–इस्लामीले बङ्गलादेशको ५३ वर्षे इतिहासमा संसद्मा कहिल्यै बहुमत ल्याएको छैन । तैपनि, यो पार्टीले बेलाबखत विपक्षी दल बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) सँग गठबन्धन गर्दै आएको छ । कोटा प्रणालीविरोधी आन्दोलनमा भएको मृत्युको लागि हसिनाले यिनै दुई पार्टीलाई जिम्मेवार ठह¥याएकी थिइन् । त्यसपछि यी दुई विपक्षी पार्टीमाथि गत अगस्ट १ मा प्रतिबन्ध लगाइएको थियो ।
मुहम्मद युनुस नोबल पुरस्कार प्राप्त प्रतिष्ठित अर्थविद् हुन् । हाल उनलाई नयाँ निर्वाचन नभएसम्मका लागि अन्तरिम सरकार प्रमुख मानिएको छ । शान्ति सुरक्षा कायम गर्नु नै आफ्नो मुख्य चासो हुने उनले बताए ।
केवल तीन वर्ग किलोमिटर क्षेत्रफल ओगटेको लाम्चो आकारको सेन्ट मार्टिन टापु बङ्गालको खाडीको उत्तरपूर्वी भागमा पर्छ । संरा अमेरिका चीनलाई सन्तुलनमा राख्नका लागि दक्षिणपूर्वी एसियामा आफ्नो उपस्थिति बढाउने सुरमा छ । यहीनिर सेन्ट मार्टिन टापुमा उसको नजर परेको छ ।
मे २८ गते चीनले विदेशी सैन्य अखडाका लागि अनुमति नदिने हसिनाको निर्णयको प्रशंसा ग¥यो । सो निर्णयलाई चीनले बङ्गलादेशी जनताको बलियो राष्ट्रिय भावना र स्वाधीनताप्रतिको प्रतिबद्धता भन्यो ।
कुनै देशको नाम नलिई हसिनाले बङ्गलादेशी सरहदभित्र विदेशी हवाई अखडा बनाउन अनुमति दिए जनवरी ७ को निर्वाचनमा आफूलाई कुनै झन्झट बिनाको पुनः निर्वाचनको प्रस्ताव राखिएको बताइन् ।
‘द डेली स्टार’ अखबारसँग हसिनाले भनिन्, “मैले एक अमुक देशलाई बङ्गलादेशमा हवाई अखडा निर्माण गर्ने अनुमति दिएकी भए मलाई कुनै समस्या हुने थिएन ।”
बङ्गलादेश पहिले पूर्वी पाकिस्तान थियो । बेलायतशासित भारतलाई हिन्दू बहुल भारत र मुसलमान बहुल पाकिस्तानमा विभाजित गरेपछि सन् १९४७ मा बङ्गलादेश पाकिस्तानको हिस्सा बनेको थियो । पाकिस्तानसँग स्वतन्त्रता सङ्ग्राम लडेर सन् १९७१ मा बङ्गलादेशको स्थापना भएको थियो । सन् १९७५ अगस्ट १५ मा सैनिक विद्रोह भयो । त्यसक्रममा परिवारका धेरै सदस्यसहित हसिनाका बुबा शेख मुजिबर रहमानको हत्या भयो ।
केन्द्रीय गुप्तचर निकाय सीआइएको सहयोगमा अमेरिकी विदेश मन्त्रालयले संसारका धेरै देशको राजनीतिमा हात गिजोलेको लामो इतिहास छ । उदाहरण धेरै छन् । ‘सत्ता परिवर्तन’ गर्न संरा अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण ग¥यो । सन् २०११ मा ‘अरब उभार’ को नाममा निर्वाचित सरकार ढाल्न अमेरिकाले लिबियामाथि हमला ग¥यो । अमेरिकाले नै सिरियाका ‘मुक्तियोद्धा’ हरूलाई सघायो† ती ‘योद्धा’ पछि अल–कायदाका आतङ्ककारी बनेका थिए । निर्वाचनमा चलखेल गरेरै अमेरिकाले इजिप्ट मुस्लिम ब्रदरहुडका सदस्यलाई राष्ट्रपति बनायो । अमेरिकी नागरिक लीला जाफरलाई इजिप्टको निर्वाचनमा धाँधली गराएको कसुरमा पाँच वर्ष जेल सजाय सुनाइयो । तर, उनले सजाय भोग्नुअघि नै हिलारी क्लिन्टनले कायरोस्थित अमेरिकी दूतावासमार्फत जाफरलाई अमेरिका भगाइन् । जाफर अहिले ह्वाइट हाउस कार्यालयमा पिस कोरकी निर्देशक छिन् ।
विदेशमा आफ्ना स्वार्थहरू पूरा गर्न संरा अमेरिकाले प्रायः विग्रहमुखी मुद्दा वा आपसी कलहलाई प्रयोग गर्छ । इस्लामी समूहले हसिनालाई बङ्गलादेशबाट खेदेपछि हिन्दू मन्दिर र व्यवसायमाथि हमला भएको खबर आयो । खासगरी भारतमा मुलधारका टीभी च्यानलले यी समाचार बाहिर ल्याए ।
मुसलमान बहुल बङ्गलादेशको सबैभन्दा ठूलो धार्मिक अल्पसङ्ख्यक हो हिन्दू । बङ्गलादेशमा हिन्दूहरू झन्डै ८ प्रतिशतको हाराहारीमा छन् । हिन्दूहरूले सुरुदेखि नै हसिनाको पार्टी अवामी लीगलाई समर्थन गर्दै आएका छन् । यहीनिर अल्पसङ्ख्यक हिन्दू तथा दङ्गामा सामेल विद्यार्थीको विचार बाझिन्छ ।
हसिना बाहिरिएको एक हप्ताभित्रमा बङ्गलादेशी हिन्दू तथा अन्य धार्मिक अल्पसङ्ख्यकमाथि कम्तीमा २०० पटक हमला भए । यो सूचना अल्पसङ्ख्यक अधिकार समूह बङ्गलादेश हिन्द–बौद्ध–इसाइ एकता परिषद्ले दिएको हो ।
हसिना भारत प्रस्थान गरिसकेपछि हप्तादिन चलेको हडतालमा प्रहरीतर्फ पनि धेरै घाइते भए । यसबाट प्रदर्शनकारीहरू सशस्त्र थिए भन्ने पुष्टि हुन्छ ।
ढाकास्थित ‘बङ्गलादेश शान्ति तथा सुरक्षा अध्ययन संस्थान’ ले हसिनापछिको युगमा समावेशिता तथा बहुलता बङ्गलादेशको महत्वपूर्ण सिद्धान्त रहने विश्वास लियो । बङ्गलादेशलाई लिएर वासिङ्टन डीसीस्थित राजनीतिक र सुरक्षा समूहबिच अहिले यिनै शब्द (समावेशिता तथा बहुलता) को सुगारटान चलिरहेछ ।
हसिनालाई बङ्गलादेशका क्षेत्रीय शक्तिहरूबिच सन्तुलित सम्बन्ध राखी असल काम गरेको श्रेय दिने गरिन्छ । उनले भारतसँग विशेष सम्बन्ध राखिन् तर चीनसँग पनि आर्थिक एवम् सुरक्षा गाँठो कस्दै लगिन् ।
सन् २०२३ मार्चमा हसिनाले १ अर्ब २१ करोड डलरको चीन निर्मित पनडुब्बी उद्घाटन गरिन् । बङ्गालको खाडीको तटमा अवस्थित बङ्गलादेशको कोक्स बजारमा त्यसको कार्यालय छ ।
मे २८ गते विदेशी हवाई अखडा निर्माणको अनुमति दिन अस्वीकार गरेपछि चीनले हसिनाको तारिफ ग¥यो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, “चीनले प्रधानमन्त्री हसिनाको मन्तव्यलाई नोट गरेको छ । त्यसमा स्वाधीन रहने र बाह्य दबाबदेखि नडराउने बङ्गलादेशी जनताको राष्ट्रिय भावना प्रतिबिम्बित भएको छ ।”
माओले केही देशले केवल आफ्ना मतलबी हित हेर्ने, अन्य देशको निर्वाचनमा खुलेआम लेनदेन गर्ने, अन्य देशको आन्तरिक मामिलामा क्रूरतापूर्वक हस्तक्षेप गर्ने, क्षेत्रीय सुरक्षा एवम् स्थिरतालाई न्यूनाङ्कन गर्ने तथा आफ्नो बर्चस्व र मिचाहा प्रवृत्तिलाई भड्किलो तवरले देखाउने गरेको बताएकी थिइन् ।
चीनले बङ्गलादेशका विभिन्न आयोजनामा २५ अर्ब डलरभन्दा बढी लगानी गरेको छ । दक्षिण एसियाली देश पाकिस्तानपछि त्यहाँ धेरै लगानी गर्ने देश चीन हो । सैन्य सामग्री आपूर्ति गरेर चीनले बङ्गलादेशसँग रक्षा साझेदारी पनि बढाइरहेको छ । उसले बङ्गलादेशलाई युद्धविमानका साथै ट्याङ्क, जलबेडा र मिसाइलमारक जहाज उपलब्ध गराइरहेको छ ।
निकट सम्बन्ध बनाउनका लागि भारतीय प्रम नरेन्द्र मोदी र हसिनाले लामो समयदेखि आ–आफ्नो देशको लोकतान्त्रिक प्रक्रियालाई समेत बेवास्ता गर्दै आएका छन् । बङ्गलादेशले भारतीय कर्पोरेसनहरूसँग ठुलो आकारमा दुईपक्षीय व्यापार बढाउँदै छ ।
गत जनवरीमा मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै लेखे, “सफल निर्वाचन गरेकोमा म बङ्गलादेशका जनतालाई बधाई दिन्छु । हामी बङ्गलादेशसँग स्थायी र जनतामुखी साझेदारी थप सुदृढ बनाउन प्रतिबद्ध छौँ ।”
भारतीय मूलधारका समाचार संस्थाहरू प्रायःमोदीको हिन्दू राष्ट्रवादी सरकारको मुखपत्र बनिरहेको अवस्था छ । तिनले बङ्गलादेशको इस्लामी पार्टीउपर केन्द्रित भएर लेख्दै छन् । एउटा खबरको शीर्षक यस्तो थियो, “जमात–ए–इस्लामी के हो ? यो शेख हसिनाको सरकार ढलाउने पाकिस्तान समर्थित राजनीतिक दल हो ।” त्यस्तै, मोदीको भारतीय जनता पार्टी (भाजपा) का एक वरिष्ठ नेतालाई उद्धृत गर्दै अर्को सञ्चार गृहले लेख्यो, “जमातले बङ्गलादेशको बागडोर हातमा लिन सक्छ ।”
केही आलोचकहरूले भारतले निर्वाचनमा हसिनालाई जिताउन ‘भित्रभित्रै’ सघाएको दाबी गरे । कतिपयले बङ्गलादेशी निर्वाचन सम्बन्धमा अमेरिकी र युरोपेली आलोचनालाई मत्थर पार्न नयाँ दिल्लीले आफ्नो प्रभाव प्रयोग गरेको बतायो । मोदीको हिन्दू राष्ट्रवादी पार्टी भाजपा सन् २०१४ मा सत्तासीन भयो । हिन्दू राष्ट्रप्रति प्रतिबद्धता जनाएका मोदीले धर्मनिरपेक्षतातिर पिठ्यु फर्काएर भारतको विदेश नीतिको मूल सिद्धान्तलाई फितलो पारेको छ ।
सन् २०१९ मा मोदी सरकारले विवादास्पद नागरिक विधेयक ल्यायो । मुसलमानविरोधी भनेर त्यसको चर्को आलोचना भयो । भाजपाको आप्रवासीविरोधी उग्र विचारधाराका कारण पार्टीका चरमपन्थी नेताले मुसलमान ‘घुसपैठिया’ भनी नाराबाजी गर्दै आएका छन् । पश्चिम बङ्गालमा निर्वाचन प्रचारप्रसारको क्रममा भारतीय गृहमन्त्री अमित शाहले बङ्गलादेशी आप्रवासीलाई ‘धमिरा’ भने ।
मुसलमान बहुजन र हिन्दू अल्पजनबिच शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने पुरानी नेतृलाई हटाउने ‘क्रान्ति’ ले बङ्गलादेशी समाजमा नयाँ अध्याय सुरु गरेको छ । के यो अध्याय अस्थिरताको अवधि हुनेछ ? समाजमा इस्लामी पार्टी जमातको दबदबा बढ्ने त होइन ? के बङ्गलादेशको धर्मनिरपेक्ष इतिहास विस्मृतिमा फालिनेछ ?अन्तिम प्रश्न फेरि पनि सोझिन्छ – सेन्ट मार्टिन टापुमा नयाँ अमेरिकी सैन्य अखडा कहिले खुला ?
(लेखक स्टिभन सायुनी वरिष्ठ पत्रकार हुन्।)

स्रोत : ग्लोबल रिसर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *