भर्खरै :

के नेकाले एमाले र माओवादीलाई बिरालोले मुसालाई खेलाएजस्तै खेलाउँदै छ ?

के नेकाले एमाले र माओवादीलाई बिरालोले मुसालाई खेलाएजस्तै खेलाउँदै छ ?

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री केपी ओलीले भदौ १९ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई ‘राउन्ड किक’ हानेको बताएका थिए । यसको जवाफमा दाहालले ओलीलाई भदौ २० गते भने, “प्रधानमन्त्री भइबसेका नेता (ओली) ले आफूले गरेको ठगी, बेइमानी, जालझेललाई ‘दाहाललाई राउन्ड किक’ बताएको अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले (ओलीले) देख्ने छन् ।”
२०७९ मङ्सिरमा भएको निर्वाचनपछि ओलीले दाहाललाई दुईपटक प्रधानमन्त्री बनाए । यसअघि ओलीले दाहाललाई एकपटक प्रधानमन्त्री बनाएका थिए । दाहालले ओलीलाई दुईपटक बनाएका थिए । नेकाले ओलीलाई पहिलोपटक प्रधानमन्त्री बनाएको हो । यसअघि एमालेमा रहँदा नेकाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएको थियो । एमालेले नेकाका सभापति गिरिजाप्रसाद कोइरालालाई एकपटक प्रधानमन्त्री बनाएको थियो । नेपाली काङ्ग्रेसले दाहाललाई दुईपटक प्रधानमन्त्री बनायो भने माओवादीले नेकाका सभापति शेरबहादुर देउवालाई एकपटक प्रधानमन्त्री बनायो ।
सरकारको काम कारबाही अध्ययन गरेकाहरू नेका, एमाले र माओवादीमाझ कुनै भिन्नता नभएको बताउँछन् । राजनीतिक विषय फरक दाबी गरे पनि नेका, एमाले र माओवादी सरकारको आर्थिक र विदेश मामिलामा फरक भएन ।
सार्वजनिक संस्थानहरूमा भएको भ्रष्टाचारलाई नियन्त्रण नगरी नेका, एमाले, माओवादीका सरकारहरूले ती संस्थानहरूलाई भारतीयहरूलाई समेत बिक्री गरे; ८० लाखभन्दा बढी नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा पठाए । वैदेशिक रोजगारीमा पठाइएका नेपाली महिला–पुरूष कतिपयको घर व्यवहार भत्किएको छ ।
नेका, एमाले र माओवादीमाझ कुनै दुईवटा पार्टी मिलेर सरकार बनेपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच विषवमन हुन्छ । सत्ता समीकरण परिवर्तन भएपछि त्यही विषवमन हुन्छ ।
केपी ओलीले माओवादीका दाहाललाई दस वर्षको सशस्त्र द्वन्द्वको बेला भारतको दिल्लीमा कपालमा जेल (तेल) राखेर बसेको बताएका थिए । दाहालले ओलीलाई सङ्घीयता र गणतन्त्रविरोधी बताएका थिए । यसकारण, नेपाली जनता भन्दै छन्, “नेपाली काङ्ग्रेसले कम्युनिस्ट दाबी गरेका एमाले र माओवादी केन्द्रलाई बिरालोले मुसालाई खेलाएजस्तै खेलाउँदै छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *