धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
साँघुरो गल्लीमा एउटा टर्चलाइट चोक छ । त्यो चोकमा सबथोक छ । ब्यानरमा लेखिएको छ, यहाँ संसार चियाउने टर्चलाइट पाइन्छ । घामै नछिर्ने त्यो चोकमा मान्छेहरूको भिड छ । टर्चलाइटहरू गल्लीको दायाँबायाँ भित्तामा झुन्ड्याइएका छन् । ब्यस्त त्यो चोकमा टर्चलाइटहरूको मोलतोल भइरहेको छ । मलाई पनि एउटा टर्चलाइट किन्ने मन छ ।
अनि तपाईँलाई पनि लोडसेडिङ हुँदा बाल्नको लागि टर्चलाइटको आवश्यकता छ । यहाँ पाइने टर्चलाइटहरू आधुनिक प्रविधिबाट निर्मित भएकाले अत्यन्त जादुमयी एवम् भरपर्दा छन् । यहाँका हरेक टर्चलाइटमा फरक फरक विशेषताहरू छन् जसले निर्माणकर्ताको इच्छानुसार सत्यताको देखाउने परिभाषा दिन्छ । तिनीहरूलाई चिन्न विभिन्न किसिमका स्टिकरहरू टाँसिएका छन् । नेपालका एक नम्बरी कम्युनिस्टहरूले यहीँ चोकमा टर्च किनेका अरे । नपत्याए नेपाली कम्युनिस्ट भनाउँदाहरूले बोक्ने त्यो टर्चको स्टिकरमा हेर्नुस् । भारतीय प्रेसमा छापेको स्टिकर अझै बाँकी हुनसक्छ । त्यहाँ ट्याग त एङ्गेल्स, माक्र्स, लेलिन र माओ त्सेतुङको छ, तर मुनि लेखिएको हुन्छ, भारतमा बनेको । त्यो टर्चलाइट यति शक्तिशाली छ कि यसले अँध्यारो कोठामा बाल्दा पनि ब्रह्माण्ड देखाउँछ, जहाँ भारतीय स्याटेलाइटहरू पृथ्वीको परिक्रमा गरिरहेका देखिन्छन् । त्यसैले, त्यो टर्चलाइट बोक्ने जो कोहीले पनि राम राज्यको मात्र चर्चा गर्छन् । कोही नेहरूको डक्ट्रिनलाई सम्मान गर्दै उसकै इच्छामा नाच्छन् । हरेक रात नेपाली राजनेता बालुवाटारबाट त्यो टर्च लाइटबालेर लैेनचौर जान्छन् । अनि तराई डुबाई विहारीलाई सिँचाइ गराउन बाँध बनाउँछन् र सस्तोमा भारतलाई बिजुली बेच्न पावर प्लान्ट बनाउँछन् । सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा सबै भारत बनाउँछन् । बुद्धलाई भारतीय बनाउने षड्यन्त्र गराउँछन् । जनतालाई झुक्याउन नयाँ नेपालको सपना देखाउँछन् । व्यवहारमा भने देशको सार्वभौमसत्तालाई भालु बनाई विहारी चटकेको इसारामा नचाउँछन् । मलाई त्यो टर्चलाइट र बोक्ने मान्छेदखि घृणा लाग्छ ।
त्यहीँ चोकमा अर्को टर्चलाइट पनि छ । जसको बल्ब अमेरिकामा बनेको छ । अनि ब्याट्री भारतमै बनेको छ । त्यो टर्चलाइटको भित्र र बाहिर बेग्ला बेग्लै स्टिकरहरू छन् । बाहिरको स्टिकरमा अमेरिकन टर्च टिप लेखिएको छ भने भित्रको स्टिकरमा भारतीय कम्पनी सियस्काको लोगो छ । त्यो टर्चलाइट किन्नेहरूमा संसारकै सबैभन्दा बढी प्रजातन्त्रवादीहरू छन् । केही नेपाली प्रजातन्त्रका हिमायतीहरूले त्यो टर्चलाइट बोकेर राति महाराजगञ्जको महाराजलाई भेटेर मध्यरातमा लैनचौरमा डिनर गर्न जान्छन् । उनीहरू नेपालमात्र नभई संसारभर प्रजातन्त्रको वकालत गर्छन् । अनि गान्धी र मार्टिन लुथार किङको सपना आफ्नो जस्तो गरेर चिच्याउँछन् । आफू भने आन्तरिक प्रजातन्त्रमा विश्वास गर्दैनन् । बरु जर्मनी हिटलर र इजरायली यहुदीको कथा दोहो¥याउँछन् । उनीहरूलाई इजरायलले निर्दोष प्यालेस्टिनी मार्दा प्रजातन्त्रको वासना आउँछ । उनीहरूलाई पसिनादेखि एलर्जी लागेर होला पसिना बगाउने पढेलेखेका युवालाई युरोप र अर्ध दक्ष युवा जति खाडी पठाउँछन् । अनि कसैलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछन् । राष्ट्रिय मेलमिलापको मन्त्र बोकी ए.सी. सहितको बङ्गलामा प्रजातान्त्रिक समाजवादको अभ्यास गर्छन् । मलाई यो टर्चलाइट पनि मन पर्दैन । किनकि, यसमा बाख्रा, सुन, लाउडा आदि गन्हाउँछ ।
अँध्यारो कोठाको चारै भित्ता देखिने अरु थुप्रै टर्चलाइटहरू चोकमा बिक्रीमा राखिएका छन् । एउटा टर्चलाइट यस्तोे छ जसमा स्टिकर उप्काइएको छ । टर्चलाइट बाल्नेबित्तिकै घण्टी बज्छ । त्यो घण्टीको आवाजले देशविदेशका देवीदेवताहरू खुसीले पागल हुन्छन् । फरक भनेको त्यो टर्चलाइटले परको देखाउँछ, वरको देखाउँदैन । अझ आफू बसेको ठाउँ त बिलकुलै देखाउँदैन । त्यो टर्चलाइट किनेरै नेपालमा सत्ताको घण्टी बजाउने धेरै छन् ।
कुनै कुनै टर्चलाइटले बोक्ने मान्छेलाई धर्मको नाममा आस्थाको व्यापार गर्न सिकाउँछन् । कुनैले बुद्धलाई मूर्तिमा सीमित गरी मूर्ति पूजा गर्न सिकाउँछन् । कुनैले लोभलालच र भ्रममा पारेर धर्म परिवर्तन गर्न सिकाउँछन् । मलाई त्यस्तो टर्चलाइट पनि चाहिएको छैन ।
कुनै टर्चलाइटहरू हिमाल चढेर आएका छन् । कुनै समुद्र पारिबाट आएका छन् । त्यो चोकमा विश्वका सबै ठाउँबाट बेच्न ल्याइएका टर्चलाइटहरू छन् । कुनै टर्चलाइट बोक्ने बितिकै नेता पनि साहित्यकार बन्छन्, सिग्मण्ड फ्रायडको चेला भएर सुम्निमालाई नङ्ग्याउँछन् । कुनै टर्चलाइट बोक्नेबित्तिकै पुरुष पनि महिला राज्यको माग गर्न थाल्छन् । अनि मौका छोपेर निर्मला काण्ड मच्चाउँछन् । भाषणमा भने सडकदेखि सत्तासम्म महिला र पुरुषबिच संसार बाँडिनुपर्ने वकालत गर्छन् ।
कुनै टर्चलाइट किन्ने बित्तिकै कोही युवा अफ्रिकी अमेरिकन ¥याप गर्न थाल्छन् । सिन्का भाँचेको खबरलाई अलकापुरी बनाएको गफ हाँक्छन् । अलकापुरीको कथा सुनेको भरमा आफैले बनाएको दाबी गर्छन् । टर्चलाइटहरू पनि अलादिनको चिरागजस्तो अजीब किसिमका छन् ।
कुनै कुनै टर्च लाइट त यति शक्तिशाली छ कि जङ्गबहादुरको भूत दिउँसै देखाउन खोज्छ । अनि राजतन्त्रको भूतलाई सडकमा नचाउँछन् । म भने टर्चलाइटहरूको परीक्षण कक्षमा छु । थोरै मात्र टर्चलाइटहरूले यथार्थ कुरा देखाएका छन् । जसले बहुसङ्ख्यक जनताको भान्सामा चुल्हो बले नबलेको दृश्य देखाउँछन् । अफसोच ! त्यो चोकमा मैले खोजेको टर्चलाइट नै छैन । त्यहाँ त मान्छे छक्याउने विदेशी ब्रान्डका टर्चलाइटहरू मात्र छन् । जसको महँगा ब्याट्र«ी विदेशबाटै मगाइन्छ । विदेशी ब्रान्डमा समस्याभन्दा पनि छलकपट, जालझेल, षड्यन्त्र र दुराचार गर्न उक्साउने टर्चलाइट नै समस्या हुन् ।
किनकि, त्यहाँ कुमालेले बनाएको माटोको दियो छैन, न त तेल राखेर बाल्ने पानस नै छ । टर्च लाइटहरूको झिलिमिलीले आँखाहरू मात्र दिग्भ्रमित छन् । थुप्रै टर्चहरूको परीक्षणपछि म भने टर्चलाइट नै नकिनी फर्केँ । त्यहाँ विदेशी ब्याट्रीमात्र गन्हाउँछ । स्वदेशमै बनेको बत्ती भए सायद त्यति सा¥हो गन्हाउँदैनथ्यो कि जस्तो लाग्छ । मलाई त यस्तो टर्चलाइट चाहिएको छ, जसले यी सबै टर्चलाइटले सिर्जना गरेको भ्रमलाई चिर्न सकियोस् । एउटा यस्तो टर्चलाइट चाहेको छु, जसले साँचो अर्थमा अँध्यारोलाई चिरेर बहुसङ्ख्यक जनतालाई प्रगतिको बाटो देखाउन सकोस् ।
Leave a Reply