अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मूलको पानी सङ्लो भए संसार राम्रो हुन्छ । संस्कारबिनाको राजनीति गतिलो हुँदैन । राजनीतिमा संस्कार भएन भने मनपरी हुन्छ, सिद्धान्त र विचार छोडेर अंशबन्डाको राजनीति हुन्छ । बिजुली पानी भारतमा, लोडसेडिङ नेपालमा भइरहेको छ । सरकारले नेपाली जनतालाई हेर्ने दृष्टिकोण राम्रो हुनुपर्छ । चोरको साथी चोरै हुन्छ; भ्रष्टाचारीको साथी भ्रष्टाचारी हुन्छ; बुद्धिमानीको साथी बुद्धिमानी हुन्छ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । पुँजीवादी संसारमा हुर्केको विचार पुँजीवादी नै हुन्छ । धान रोपेर गहुँ फल्दैन । जति प्रधानमन्त्री भए पनि देशमा जल्दाबल्दा समस्या नानीदेखि लागेको बानीझैँ हुँदो रहेछ । जुन जोगी आए पनि कानै चिरेको झैँ लाग्छ । बिजुलीको लाइन मात्र काट्ने होइन जिन्दगीभर शरिर दान दिए पनि पुग्दैन ।
त्यही व्यक्ति पालो पालो गरेर चार पाँचपल्ट प्रधानमन्त्री बन्छ । शासनको नाउँमा देश नै बर्बाद पार्छ । शासकवर्गले राम्रो काम गरेन । जनतासँग सरसल्लाह नगरी विकृति फैलाउने काम कुनै प्रधानमन्त्रीले गर्नु राम्रो होइन । खबरदारी गर्नुपर्छ । ललिता निवास प्रकरण, भुटानी शरणार्थी, गिरीबन्धुको जग्गा प्रकरण, ३३ किलो सुन काण्ड, बालमन्दिरको जग्गा र महाकालीसन्धिले पश्चिमबाट सूर्य उडाउने कुरा कहाँ गयो ? वामपन्थी भन्नेले दिल देखाउँदैन । शासकहरूले जिम्मेवार नभएको कुरा गर्नु हुँदैन । पदमा बस्नेहरूले कुनै हालतमा चरित्रहीन काम गर्नु हुँदैन । एक्काइसौँ शताब्दीमा पनि सरकारले गरिबको जिन्दगीलाई बाँच्ने आधार दिएन । गरिबको घाउ गरिबले मात्र थाहा हुन्छ, घाइतेले मात्र चोटको पीडा थाहा हुन्छ । सरकारले नेपालीलाई नेपालमा बस्न नदिने प्रपञ्च गरी विदेश पठाउने कार्य गरेको छ । धनीले गरिबलाई कहिल्यै हेर्दैन । सरकार साधारण जनतालाई मान्छे ठान्दैन भन्छ । शासकवर्गलाई मोज छ, जनतालाई बोझ छ । जनताको आँखा दूरविनसरह हुन्छ ।
Leave a Reply