भर्खरै :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत

भक्तपुर, १ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको बुधबार स्थलगत निरीक्षण गर्नुभयो । सल्लाघारीमा उहाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि उक्त जग्गा माग गरेपछि त्यसको वस्तुस्थिति बुझ्न मन्त्री अधिकारी भक्तपुर आउनुभएको हो ।
सोही क्रममा मन्त्री अधिकारीले नेपाल ट्रस्टको स्वामित्वमा रहेका जग्गाहरू संरक्षणका क्रममा देशभर रहेका जग्गाको खोजी कार्य गर्दै त्यसको संरक्षण कार्य सुरु गरिएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ भन्नुभयो । विश्वविद्यालय सञ्चालनको लागि १०८ रोपनी जग्गा उपभोग गर्न दिने विषयमा आफू सकारात्मक रहेको पनि सो अवसरमा उहाँले बताउनुभयो ।
निरीक्षणकै क्रममा उहाँले जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापनको विषयमा नेपाल ट्रस्ट र भक्तपुर नपाबिच आपसी समन्वय, सहकार्य र छलफल गरी अगाडि बढ्न सकिने बताउँदै ट्रस्टको जग्गा अतिक्रमण हुनबाट रोक्न जरुरी रहेको बताउनुभयो ।
जग्गा सदुपयोग गर्ने भन्नेबारे बृहत् छलफल गरेर अगाडि बढ्न सकिने धारणा राख्दै ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि सरकारले ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकामा भएको भेटपश्चात् मन्त्री अधिकारीले भक्तपुर नपाबाट सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि अवलोकन गर्नुभई त्यहाँको भौतिक अवस्थिति र शैक्षिक विशेषताहरूबारे जानकारी लिनुभयो ।
अवलोकनको क्रममा मन्त्री अधिकारीले भक्तपुर नपाले सञ्चालन गरेका नमुना कलेज र अस्पताल अवलोकन गर्ने अवसर प्रदान गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवादज्ञापन गर्दै विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको उद्देश्य प्रशंसनीय भएको बताउनुभयो ।
विश्वविद्यालय सञ्चालनको लागि भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण र जनशक्ति व्यवस्थापन कार्य पनि उल्लेखनीय भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालयले चाँडै सम्बन्धन प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरू निर्माणमा भक्तपुर नपाले जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको बताउनुभयो ।
भक्तपुर नपाले समाजवादी देशहरूबाट सिक्दै भक्तपुरमा समाजवादउन्मुख कार्यहरू गर्दै आइरहेको बताउँदै शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यले विभिन्न विषयका कलेजहरू सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले मन्त्री अधिकारीलाई भक्तपुर नपाका महत्वपूर्ण प्रकाशन र मयुरको झ्याल उपहारस्वरूप प्रदान गर्दै भक्तपुर नगरपालिकाले गरिरहेका कार्यहरूको निरीक्षण गर्नुभएकोमा मन्त्री अधिकारीलाई धन्यवाद पनि दिनुभयो । मन्त्री अधिकारीले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूको पनि अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, नेपाल ट्रस्ट सञ्चालक समितिका सदस्य योन्जेन शेर्पालगायतको उपस्थिति थियो ।
ख्वप कलेजमा प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेज अफ लमा प्राचार्य अनिता जधारी, ख्वप अस्पतालमा निमित्त मेडिकल डाइरेक्टर डा.मजेशप्रताप मल्ल र ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्यहरू ई.सुजन माक तथा सुनिल दुवालले मन्त्री अधिकारीलाई स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *