भर्खरै :

क्युवाका नयाँ सहकारी

–क्लिफ दुराण्ड
सोभियत सङ्घको विघटन पछिका दशकहरुमा विभिन्न धारका समाजवादीहरु पुराना सिद्धान्त र विचारधाराको नवीकरणमा मात्र लागेनन् बरु ऐतिहासिक रुपमा विकास भएका समाजवादका आधारहरुमाथि समेत पुनर्विचार गर्न पुगे । विशेषतः राज्य केन्द्रित ‘व्यवहारमा विद्यमान समाजवादी’ (actually existing Socialism) ढाँचामाथि व्यापक रुपमा प्रश्न उठाइयो । के वास्तवमा समाजवाद केन्द्रीय तहबाट योजना बनाइने, तहगत रुपमा नियन्त्रण गरिने र राज्य प्रशासित हुने हो वा होइन ? अथवा के समाजवाद ‘सम्बद्ध उत्पादकहरु’ (associated producers) को सशक्तिकरणमा केन्द्रित हुने बन्दोबस्त हो ? समाजवादको तत्कालीक कार्यभार उत्पादन शक्तिको विकास गर्नु हो वा मानव जातिको प्रगति गर्नु हो ? समाजवादी बन्दोबस्तमा के बजार भन्ने कुरा हुन्छ वा हुँदैन ? राज्यको सम्पत्ति नै समाजवादी सम्पत्तिको सबभन्दा उँचो र एक मात्र सम्पत्तिको रुप हो ? मजदुरको स्वामित्वमा रहेका र मजदुरले व्यवस्थापन सम्हाल्दै आएका सहकारीहरु के हुन् ?
एक्काइसौं शताब्दीको समाजवाद निर्माण गर्ने कामको थालनी दिवंगत ह्युगो चाभेजको बोलिभारियाली क्रान्तिसँग मुलभूत रुपमा जोडिएको छ । तर यी प्रश्नहरुका ताजा जवाफ भने क्युवा, मेक्सिकोको जापाटिस्टा क्षेत्र र अन्यत्र पनि खोजिन सकिन्छ । यी सबै देशहरुका परिस्थिति भिन्न–भिन्न छन् तथापि यी समकालीन समाजवादी कार्यक्रमका केही साझा मूल्य–मान्यता पनि छन् । ती हुन्ः जनतालाई बलियो बनाउनु, प्रजातान्त्रिक सहभागिता, विकेन्द्रीकरण, सहकार्य र मानव विकास ।
म यहाँ तिनै साझा विशेषताहरुका आधारमा ती समाजवादी कार्यक्रमको विश्लेषण गर्ने प्रयास गर्नेछु । इतिहासकारहरुले पूँजीवादले साझा स्रोत दोहन गरेर कसरी पूँजी सङ्कलन गरेको थियो भन्ने विषयमा लामा–लामा लेखहरु लेखिसकेका छन् । डेभिड हार्भे र अरु लेखकहरुले भने जस्तै यो क्रम आज पनि चालु नै छ । David Harvey, The New Imperialism (Oxford University Press, 2003), 137–82.
मैले समाजवादी समाज र अर्थतन्त्र निर्माणलाई त्यो पूँजीवादी प्रक्रियाको विपरीत प्रक्रियाको रुपमा बुझेको छु । समाजवाद पूँजीवादसँग भएका सबै साझा स्रोत फिर्ताको प्रक्रिया हो । साझा स्रोत भन्नुको अर्थ मानव विकासमा योगदान गर्ने सबै स्रोतहरु हुन् । ती स्रोतहरु मानव समुदायबीच प्रजातान्त्रिक तरिकाबाट वितरण र व्यवस्थापन गरिए तिनले मानव जातिको विकासमा सर्वोकृष्ट तरिकाले सहयोग पु¥याउने छन् । George Caffentzis, “Divisions in the Commons,” in Cliff DuRand, ed., Moving Beyond Capitalism(London: Routledge, 2016), 64–80.

त्यसअन्तर्गत प्राग–पूँजीवादी विगतका जङ्गल र जमिन पर्दछन् । साथै शिक्षा र स्वास्थ्य प्रणाली, उद्यान र बजार, जलमार्ग र समाजका साझा संस्कृति, ज्ञान र उत्पादन स्रोतहरु पनि समावेश छन् । Michael A. Lebowitz, The Socialist Alternative (New York: Monthly Review Press, 2010), 146–48.
पूँजीवादी बन्दोबस्तले यी र यस्ता स्रोतहरु निजीकरण गरेर र व्यापारिक बस्तु बनाएर त्यसमाथि आफ्नो नियन्त्रण जमाउन खोज्छ । नवउदारवादी भद्रगोल युगमा उर्जादेखि शिक्षासम्म, पर्ती जग्गादेखि प्राविधिक आविस्कारसम्म, सबैलाई पूँजी र व्यापारका लागि शिकार मानिन्छन् । Anatole Anton, “Public Goods as Commonstock: Notes on the Receding Commons”, in Anatole Anton, Milton Fisk, and Nancy Holmstrom, eds., Not for Sale (Boulder, CO: Westview, 2000), 3–40.
वृहत् अर्थमा समाजवादी निर्माण त्यस्ता स्रोतहरुको सामाजिकीकरणको प्रक्रिया हो । तिनलाई निजी क्षेत्रको स्वामित्वबाट सबै जनताको बनाउने प्रक्रिया हो । सामाजिक भनेको हामी सबैलाई एक अर्कासँग जोड्नु हो । कुनै संस्था सामाजिकीकरण गर्नु भन्नुको अर्थ त्यसलाई साझा बस्तुको रुपमा आकार दिनु वा निर्देशित गर्नु हो । Eric Olin Wright, “The Socialist Compass,” in Wright, ed., Envisioning Real Utopias (London: Verso, 2010), 110–49.
संस्थाको सामाजिकीकरण भन्नुको अर्थ त्यो संस्थालाई साझा धनको रुपमा व्यवहार गर्नु, सबैलाई निःशुल्क रुपमा ती स्रोत उपलब्ध हुनु र सबैको हितमा उपयोग गर्नु हो । त्यसलाई एउटा चरणतर्फको संक्रमण भन्न सकिन्छ । त्यो चरणलाई साझावाद९ऋयmmयलष्कm० भन्न सकिन्छ ।
तर साझा स्वामित्व मात्र भएर पनि पुग्दैन । कुनै पनि साझा स्रोतलाई प्रजातान्त्रिक तरिकाबाट व्यवस्थापन गरिएको छ भनी हामी कसरी सुनिश्चित हुन सक्छौं र ? प्रजातन्त्र साझा संस्थामा निर्भर रहन्छ र त्यस्तो संस्थाको साझा पहिचान हुन जरुरी छ ।Cliff DuRand, “The Possibility of Democratic Politics in a Globalized State,” in DuRand and Steve Martinot, eds., Recreating Democracy in a Globalized State (Atlanta: Clarity, 2012), 195–215.
अर्थात त्यो स्रोतका साझेदारहरुले आफूलाई त्यो साझा स्रोतको समुदायसँग जोडेर परिचय दिनसक्नु पर्दछ । अनि उनीहरु त्यो राम्रो शासनप्रति प्रतिबद्ध पनि हुनुपर्दछ । धेरै ढाँचाको साझेदारीको प्रजातान्त्रिक व्यवस्थापनको लागि उपयुक्त तरिका भनेको मेरो विचारमा सहकारी हो ।
आज क्युवाली क्रान्ति अघिल्लो शताब्दीको केन्द्र प्रशासित राज्य समाजवादबाट अघि बढिसकेको छ । त्यहाँका नेताहरु ती निकायहरुलाई नयाँ तरिकाबाट सामाजिकीकरण गर्न खोजिरहेका छन् । सन् १९६० को दशकमा क्युवाली सरकारले समाजका स्रोतहरु पूँजीवादबाट खोसेर लियो तर सबै स्रोतहरु भने सामाजिकीकरण भएका थिएनन् । बरु राज्यले समाज र जनताको प्रतिनिधिको रुपमा आफ्नो भूमिका बढायो । परिणामतः जनतालाई सबै प्रक्रियामा सक्रिय सहभागिताबाट टाढा राखियो Michael A. Lebowitz, The Contradictions of “Real Socialism” (New York: Monthly Review Press, 2012).
अभिभावकीय भूमिकामा राज्यले आधारभूत स्वास्थ्य सेवा र शिक्षा निःशुल्क प्रदान ग¥यो । साथै रोजगारी पनि सुनिश्चित ग¥यो । त्यसवापत जनताले राज्यप्रति बफादारिता दियो । तर आफ्नो भाग्य आफै बनाउने सहभागितामुखी प्रजातन्त्रको नायकहरु बन्नुको सट्टा जनता निस्क्रिय सहभागी मात्र बने । फलतः बीसौं शताब्दीको अन्त्यसम्ममा राज्य भन्दा पनि जनता अझ कमजोर बन्दै गएको देखियो । (जबकि समाजवादमा राज्य क्रमशः कमजोर बन्दै जाने सिद्धान्त छ ।–अनु.)
आज क्युवाली राज्यले राजकीय शक्ति तल जनतातिर प्रत्यायोजन गर्दैछ । स्थानीय तह र सहकारीहरुलाई राजकीय अधिकारसम्पन्न गरिरहेको छ । अधिकांश सम्पत्ति राज्यको भएको अवस्थामा सम्भव भएसम्म राज्यका सम्पत्तिको व्यवस्थापनमा त्यो सम्पत्तिका वास्तविक मालिकहरुलाई जिम्मेवार बनाइएको छ । स्वामित्व र व्यवस्थापनलाई अलग–अलग गरी साना कलकारखानाको व्यवस्थापनको जिम्मेवारी सामूहिक रुपमा मजदुरहरुलाई दिइएको छ । स–साना निर्णय स्थानीय स्तरबाटै गराउने सिद्धान्तअनुसार आवश्यक परेको अवस्थामा माथिल्लो तहबाट अनुगमन गर्ने गरी दैनिक कार्यमा गर्नुपर्ने निर्णय स्थानीय स्तरबाटै गराउने गरिएको छ । यी सुधारमार्फत क्युवाली राज्यले समाजको आधार तहबाट माथिल्लो तहसम्म प्रजातन्त्र पुनःनिर्माण गरिरहेको छ । संवैधानिक राज्यका अधिकारहरु संवैधानिक नागरिक समाजलाई प्रत्यायोजन गरिरहेको छ । Cliff DuRand, “The Dialectic of Constituent Power and Constituted Power,” in DuRand, ed., Moving Beyond Capitalism, 195–99.


यदि समाजवादी निर्माणको अर्थ पँुजीजन्य स्रोत साझा हितको लागि फिर्ता लिनु हो भने क्युवाको सन्दर्भमा त्यस्तो पूँजीजन्य स्रोत राज्यबाट फिर्ता लिनु हो, त्यो पनि राज्यको सक्रिय सहभागितामा । यसको प्रष्ट दृश्तान्तको रुपमा राज्यनियन्त्रित रेस्टुराँ, कलकारखाना, यातायात सेवा र निर्माण कम्पनीहरुलाई सहकारीहरुमा रुपान्तरण गर्नुलाई लिनु पर्दछ । सन् १९६८ देखि सरकारले चलाउँदै आएका व्यापार आज ‘भूतपूर्व’ सरकारी कर्मचारीले चलाइरहेका छन् । तिनलाई कामदारहरुले व्यवस्थापन गर्ने व्यापारमा रुपान्तरण गरिएको छ । पहिले जस्तै तिनलाई सरकारकै कुनै मन्त्रालयअन्तर्गत सञ्चालनमा गरिएको छैन । बरु त्यस्ता कामदार नियन्त्रित उद्योगले राज्यबाट ऊसँग भएका बन्दोबस्त (जस्तै भवन, मेसिनआदि) भाडामा भने लिन सक्दछ । एउटा स्वतन्त्र सामाजिक उद्योग भएका कारण उसका नाफा र घाटा सबैको लागि ऊ स्वंय नै जिम्मेवार हुने गर्दछ । खर्च र कर तिरिसके पछि केही जगेडा कोष बाँकी राखी बचेको नाफा सहकारीका सदस्यहरुबीच वितरण हुने गरेको छ । प्रारम्भिक अध्ययनले सहकारीका कामदारहरुको आम्दानी विगतको तुलनामा सात गुणाले बढेको देखाएको छ । Camila Piñeiro Harnecker, “Cuba’s Cooperatives: Their Contribution to Cuba’s New Socialism,” in DuRand, ed., Moving Beyond Capitalism, 184–94.।
सहकारीलाई एक प्रकारले साझा श्रमको रुपमा बुझ्न उपयुक्त हुनेछ ।Marcelo Vieta, “Autogestion: Prefiguring a ‘New Cooperativism’ and the ‘Labour Commons,’” in DuRand, ed., Moving Beyond Capitalism, 55–63.
सहकारी समूहमा आबद्ध कामदारले साझा श्रम गर्नु हो । उनीहरुले सचेततापूर्वक आफ्नो उत्पादन र लक्ष्य प्राप्तिको लागि मिहिनेत गर्छन् । त्यो लक्ष्य भने उनीहरु र अझ ठूला समुदायको साझा हुने गर्दछ । सहकारीले एउटा सामाजिक व्यक्तित्वलाई बलियो बनाउने गर्दछ । जो–कोहीको दैनिक जीवन सहकारीको सामाजिक सम्बन्ध र सहकार्यको मूल्यमान्यतामा आधारित हुने गर्दछ । सामूहिक निर्णय प्रक्रियामा सहभागिताले सामाजिक जिम्मेवारीको भावनालाई बलियो बनाउने गर्दछ । व्यक्तिको हित साझा हितसँग जोडिएको हुन्छ । परिणामतः व्यक्तिलाई सामाजिक प्राणी बनाउँछ अर्थात माक्र्सको शब्दमा प्रजाति प्राणी (species being) बनाउँछ ।
सहकारीले कामलाई मात्र सामाजिकरण गर्ने गर्दैन । कामदारलाई पनि सामाजिक बनाउने गर्दछ । सहकारीहरु समाजवादका स–साना विद्यालयहरु हुन् ।
यद्यपि कामदारहरु स्वंयले व्यस्थापन गरेका सहकारीहरुमा कामदारहरुको सामाजिकीकरण स्वतःस्फूर्त हुने भने होइन । यो एउटा क्रमिक शिलशिला हो । विशेषतः पहिले राज्यनियन्त्रित संस्थालाई सहकारीमा रुपान्तरण गरिएको अवस्थामा सामाजिकीकरणको प्रक्रिया एकैबाजी हुने गर्दैन । पहिले मजदुर र व्यवस्थापनको नाममा तहगत संरचनामा चलिरहेको संस्थाको सामाजिकीकरण प्रक्रिया शिलशिलाबद्ध रुपमा हुनु स्वाभाविक हो । लामो समयदेखि बस्दै आएको बानीलाई तोड्न पुनःशिक्षाकै आवश्यकता हुने गर्दछ । उदाहरणको लागि म मध्य हवानास्थित पहिले राज्यले चलाएको सिलाई कारखानामा पुगेको थिएँ । त्यो कारखानामा कमिज उत्पादन गर्ने गर्दछ । त्यहाँ निर्वाचित प्रबन्धकले आफ्ना सहपाठी मजदुरहरुलाई ‘मेरा कामदार’ भनेर बोलाउने गरेको पाएँ । जब कि उनले हरेक महिना हुने कारखानाको साधारणसभामा उनीहरुका हरेक प्रश्नको सटिक जवाफ दिनुपर्ने प्रावधान छ ।
पुरानो बानी एकैबाजी हटाउन गाह«ो हुने गर्दछ । नयाँ बन्दोबस्तअन्र्तगत उनले देखेको मुख्य परिवर्तन भनेको हिजो जस्तै आज उनले माथिल्लो कार्यालयमा जवाफ दिनुपरेकी छैन र अहिले उनले केही स्वायत्तता पाउने गरेकी छिन् । त्यही भएर क्युवाको दर्शन प्रतिष्ठानले नयाँ सहकारीहरुबीच नियमित तालिम आयोजना गर्ने गरेको छ । ती तालिमको मुख्य लक्ष्य भनेको प्रजातान्त्रिक स्व–व्यवस्थापनबारे सहकारीका सदस्य र प्रबन्धकहरुलाई शिक्षित गर्नु हो ।

सहकारीले कामलाई मात्र सामाजिकरण गर्ने गर्दैन । कामदारलाई पनि सामाजिक बनाउने गर्दछ । सहकारीहरु समाजवादका स–साना विद्यालयहरु हुन् ।

अहिलेको अवस्था विशेषतः नयाँ र आफै बन्दोबस्त गरिरहेका सहकारीहरुका लागि नयाँ अवसर पनि बनेको छ । त्यस्ता सहकारीहरुमा नयाँ सामाजिक सम्बन्ध बनाउन सजिलो हुने गरेको छ । शुरुबाटै मजदुरहरुलाई आफू साझा हितका लागि संगठित भएका हौं भन्ने कुरा बुझाउन सजिलो हुने गरेको छ । इल बिकी रेष्टुराँ त्यस्तै आफ्नै व्यवस्थापनमा खुलेको नयाँ सहकारी हो । यो सहकारीले सन् २०१४ फेब्रुअरीमा स्वीकृति पाएको थियो । त्यसलाई एउटा सानो समूह मानिसहरुले सञ्चालनमा ल्याएका हुन् । त्यसले मध्य हवानास्थित विश्वविद्यालय नजिक सरकारको एउटा भवन भाडामा लिएको छ । जब त्यो भवन जीर्णोद्धार गरियो(राज्यको ऋण सहायतामा) आफ्नै व्यवस्थापनमा चलेको यो संस्थामा सचेत रुपमा अरु पनि मानिस सदस्य बने । सन् २०१५ को नोभेम्बरबाट औपचारिक रुपमा शुरु भएको यो कारखानामा हाल दुई सय सदस्यहरु छन् । आज त्यो रेष्टुराँ मनग्य कामदार भएको रेष्टुराँ, पास्ट्री (केक आदि विक्री गरिने पसल) र बार बनेको छ । त्यहाँका सदस्यहरुले आंशिक समयमात्र काम गरे पनि हुन्छ । तथापि उनीहरुले सरकारी कर्मचारी हुँदा भन्दा बढी तलब बुझ्ने गर्दछन् ।
बितेका दुई वर्षमा मैले सेन्टर फर ग्लोबल जस्टिसबाट क्युवामा दुई वटा प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अवसर पाएँ । दुई वटा भ्रमणका क्रममा क्युवाका त्यस्ता नौ वटा नयाँ शहरी सहकारीमा भ्रमण गरियो । हामीले गाडी सेवा सञ्चालन गर्ने यातायात सहकारी, फर्निचर सहकारी, निर्माण सहकारी र अरु धेरै रेष्टुराँहरुको अध्ययन गरेका थियौं । त्यस्ता शहरी सहकारी सयौं सङ्ख्यामा अरु नयाँ पनि खुलिसकेका छन् । तिनले अर्थतन्त्रको गैरसरकारी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । त्यसअतिरिक्त निजी सेवामा स–साना निजी व्यापारहरु पनि फस्टाइरहेका छन् । उदाहरणको लागि, व्युटी पार्लरहरु, आतिथ्यता तथा पर्यटक सेवा केन्द्र(जस्तै रेष्टुराँ र भाडाका कोठाहरु) । सहकारीहरुले राज्यले दिने रोजगारी र निजी व्यापारमा मालिकको मूनि बसेर काम गर्नुपर्ने अवस्थालाई समेत समाजवादी विकल्प प्रदान गर्ने गरेको छ ।
क्युवाली कृषि लामो समयदेखि सहकारीमा निर्भर रहँदै आएको छ । सन् २०१२ को डिसेम्बरमा मात्र त्यहाँको राष्ट्रिय सभाले सहरी सहकारी खोल्ने नीति पारित ग¥यो । त्यस्ता सहकारीलाई पनि प्रयोगको हिसाबमा मात्र अनुमति प्रदान गरियो । सन् २०१६ मा बृहत् सहकारी कानुन आउने आशा गरिएको थियो । तर अब सन् २०१७ को अन्त्यसम्म त्यो कानुन बन्ने सम्भावनाको आशा गरिन थालेको छ । यी र अरु सुधारको सम्बन्धमा क्युवाली नेतृत्वमा मतभेद छन् । उनीहरु सहकारीको प्रयोगलाई बिस्तार गर्ने सम्बन्धमा सावधान छन् । धेरै मजदुरहरु आफू सहकारी बनाउन तयार रहेको तर मानिसहरुको विश्वास जित्न अझै व्यवस्थापन कुशलता शैली कुर्नुपर्ने अवस्था भएको बताए ।
यसैबीच निजी व्यापार तीब्र गतिमा बढिरहेको छ । अर्थतन्त्रको झण्डै दुई सय उपक्षेत्रमा क्युवाली जनतालाई स्वरोजगारमा जान अनुमति दिइएको छ । निजी व्यापारले ज्यालादारी मजदुर राख्न सक्ने भएका छन् । ती सबै निम्न पूँजीवादी संस्थाहरु हुन् । तर तिनीहरु पूँजीवादी होइनन् किनभने ती सबै साना आकारका छन् र मालिक आफै त्यहाँ काम गर्ने गर्दछन् । क्युवाको नीति निर्देशिकाले निजी धन जम्मा गर्न रोक लगाएको छ । त्यसले साना पूँजीपति वर्गलाई ठूलो पूँजीपति बन्नबाट रोक लगाउने गरेको छ । उनीहरु पूँजीपति वर्ग होइनन् भने जनजात समाजवादी पनि होइनन् । निसन्देह स–साना निजी व्यापारले समाजवादी सचेतना त बलियो बनाउने छैन बरु साना पसलेहरुको साँघुरो व्यक्तिवादलाई बलियो बनाउनेछ । पार्टीको सातौं महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा राउल क्यास्ट्रोेले जोडका साथ भनेका छन्,‘निम्नपूँजीवादी विचारधारा व्यक्तिवाद, स्वार्थी भावना, नाफाको चाहना, तुच्छता र बढ्दो उपभोक्तावादले प्रतिनिधित्व गर्ने गरेका छन् ।’Raul Castro, Report to Seventh Congress of the Cuban Communist PartyGranma, April 18, 2016, http://en.granma.cu.


प्रभावकारी कानुनी सीमा, करप्रणाली र नियन्त्रणले निम्न पूँजीपति वर्गलाई समाजवादअनुकूल बनाउन सक्छ तर समाजवादी नै होइन । तर अर्कोतिर सहकारीहरुले कामदार जनता र उनीहरुको समुदायको दैनिक जीवनका व्यवहारमा समाजवादको प्रतिनिधित्व गर्दछ । यदि सामाजिक बन्दोबस्त दिर्घकालीन रुपमा दिगो बनाउने हो भने त्यो बन्दोबस्तले नैतिक मान्यतामा जरा गाडेको हुनुपर्दछ, जनताको चरित्रमा बसेको हुनुपर्दछ । उनीहरुका साझा मूल्य र संवेदनशीलता उनीहरुका संस्थाअनुकूल हुनुपर्दछ । दिर्घकालमा सहकारीले यो समाजवादी एकाधिकारलाई योगदान गर्ने गर्दछ । Olga Fernandez, “The Necessary Renovation of Socialist Hegemony in Cuba: Contradictions and Challenges,” in Cliff DuRand, ed., Moving Beyond Capitalism (London: Routledge, 2016), 179–83.
समाजवादको लागि समाजवादी राज्य मात्र होइन, समाजवादी जनताको पनि आवश्यक हुने गर्दछ र सहकारीले जनतालाई बलियो बनाउने गर्दछ ।
क्युवाप्रति नयाँ नीति अंगाल्दै राष्ट्रपति ओबामाले क्युवामा निजी व्यापारको विकासमा सहयोग गर्न खोजे । त्यो निजी व्यापार सहकारीभन्दा भिन्न थियो । Cliff DuRand, “US Policy on Cuba: From Regime Change to Systemic Change,” Truthout, January 8, 2015, http://truth-out.org.
राष्ट्रपति ट्रम्पले क्युवाली समाजवादलाई भित्रैबाट भत्काउने कामलाई निरन्तरता दिन्छन् वा दिंदैनन्, त्यो त हेर्न बाँकी नै छ । जे भए पनि क्युवाली नेतृत्व उत्ताउलो निजी क्षेत्रको भ्रष्ट प्रभावबारे सजग छन् । फुर्तिला समाजवादी जनताबीच सहकारीको प्रबद्र्धनले बलियो पूँजीवादविरुद्ध प्रभावशाली रक्षा हुनेछ । प्रगतिशील कर प्रणाली र भन्सार नीतिले निजी व्यापारलाई ठूलो आकारमा वृद्धि हुन रोक लगाउन सक्छ । तरै पनि निजी व्यापारले ठूलो आकार लिए तिनलाई सहकारीमा परिणत गर्न सकिन्छ । परिणामतः त्यसका सबै नाफा र निर्णय प्रक्रियामा कामदारहरुको हात रहनेछ । यसरी निजी व्यापारलाई सहकारीमा बद्ल्ने प्रक्रिया स्वीडेनको प्रसिद्ध मेडनर योजनाको आमूल परिवर्तनकारी संस्करणमार्फत गर्न सकिन्छ । त्यो तरिकाअन्तर्गत नाफाको प्रतिशत व्यापारमा समताको प्रतिनिधित्व गर्दै मजदुरहरुको कोषमा स्थानान्तरण हुने गर्दछ । त्यसो गरिए केही वर्षको अन्तरालमा मजदुरहरु मालिक बन्नेछन् र व्यापार सहकारीमा परिणत हुनेछन् । आशा गरौं, ठूला निजी व्यापार सामाजिकीकरण गर्ने कुनै अरु तरिका पनि पक्कै हुनुपर्छ ।
निजी क्षेत्रमाथि नयाँ नियमनकारी बन्दोबस्तको विकास गरी त्यो बन्दोबस्त बलियो बनाउनुपर्दछ । साथै क्युवाले आक्रामक गतिमा समाजवादी सहकारी क्षेत्रको प्रबद्र्धन गर्नुपर्दछ । त्यसो गरेर क्युवाले सहकारी श्रमको उत्पादनशील शक्ति विकास गर्न सक्छ, सहकारी सदस्य कामदार जनताको जीवनस्तर उकास्न सक्छ र समाजवादी निर्माणतर्फ जान अत्यावश्यक सामूहिक सचेतनाको विकास गर्नुपर्दछ ।
लेखक मेक्सिकोको सान मिग्यल डि एलेण्डेको सेन्टर फर ग्लोबल जस्टिसका सहायक अनुसन्धानकर्ता हुन् ।
अनुवादः नीरज
मन्थ्ली रिभ्यु

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *