अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुरको केन्द्रमा ङातापोल मन्दिरको अगाडि एउटा दबु छ । दबुमा एकाबिहानैदेखि परेवाहरूको रजगज चलिरहेको छ । चारा खान पाएर परेवाहरू रमाइरहँदा म भने ङातापोलको माथिल्लो सिँढीमा बसेर प्रकृतिको सुन्दर दृश्य अवलोकन गरिरहेको छु । बेला बेलामा भैरवको मन्दिरमा बज्ने शङ्ख र घण्टीको ध्वनिले वातावरण सुमधुर छ । अनि डमरुको आवाजले मनमा थप ऊर्जा मिलेको छ । दबुको एक कुनामा गाढा हरिया रङ्गका खर्बुजाहरू बेच्नका लागि राखिएका छन् । कुनै खर्बुजा काटेरै भित्रका रातो भाग देखिने गरी सजाइएका छन् ।
म कहिले ङातापोलमा भएका मनोरम कलाकृतिप्रति मोहित हुन्छु, त कहिले परेवाहरू भुर्रर्र उडेको दृश्यले सम्मोहित हुन्छु । यसरी रमाइरहँदा अचानक मेरो ध्यान तल्लो सिँढीमा रहेको दुई पहलमानको मूर्तिमा आकर्षित भयो । पहलमान जय मल्लको शीरमा अचम्मको चरो बसिरहेको थियो । त्यो चरो हेर्दा गौँथलीजस्तो देखिन्थ्यो । तर, शरीरको रङ्ग गौँथलीभन्दा भिन्न थियो । तत्कालै मैले तस्बिर मोबाइलमा कैद गरेँ ।
उक्त चरा ८ देखि १२ से.मि. लामो देखिन्थ्यो । सायद पखेटा फिजाउँदा १४/१५ से.मि. जति लामा देखिन्थ्यो । चुच्चो एकदम लामो, कालो र तल घुमेको थियो । उज्यालोमा चम्किलो निलो वा हरियो देखिन्थ्यो । छातीको छेउमा सुन्तला रङ्गका टुक्राहरू छन् । मनमा खुल्दुली भयो ।
मैले चरोलाई नियालेर हेर्न थालेँ । चरोको मुखमा सानो कीरा थियो । मस्टिष्कलाई केन्द्रिकृत गरी हेरिरहँदा त्यो चरोमा हतास, डर र भय देखिन्थ्यो । मैले वरिपरि हेरेँ । त्यो चरो जस्तै देखिने अरू थुप्रै चराहरू ङातापोल अगाडिको दबुमा यताउति गरिरहेका थिए । परेवाहरू नयाँ चरालाई देखेर छक्क परी हेरिरहेका थिए । मनमा खुलदुुली बढ्दै गयो । ती नयाँ चराहरू पाहुना चराजस्ता लाग्न थाले ।
तर, हेर्दा हेर्दै सोचेभन्दा अलग दृश्य मेरो आँखामा कैद भयो । त्यो गौँथलीजस्तो लाग्ने चराका प्वाँखहरू निस्केका देखिन्थे । कसैको जीउमा कुनै व्याधाले गुलेलीले ताकेझँै लाग्ने खालका आला घाउहरू देखिन्थे । होइन, होइन गुलेली हुँदै होइन । गोलीका छर्राहरू थिए । कल्पनामा डुब्दै गर्दा बारुदको गन्ध पनि महसुस भयो । अहँ, यी चराहरू नेपालका रैथाने चरा हुँदै होइनन् । कुनै समुद्र पारिको देशबाट नै आएको हुनुपर्छ भन्ने लाग्यो । आफूलाई रोक्न सकिनँ । ती चराहरू भएतिर नजिकबाट हेर्न गएँ । उनीहरूका आँखामा आँसु र रगत सँगै बगिरहेको देखेँ । कसैको एउटा प्वाँख थिएन, त कसैको एउटा खुट्टा । तीमध्ये एउटा चराको खुट्टामा फलामको साँचो झुण्डिएको थियो । अर्कोको खुट्टामा कागजको टुक्रो थियो । टुक्रोमा नक्बा भनेर लेखिएको थियो । अनि कुनैको खुट्टामा सानो रुमालले बेरिएको थियो, जसमा लेखिएको थियो– एबभिकतष्लष्बल पभााष्थभज। बुझ्न गा¥हो लागिरहेको थियो ।
यस्तो लाग्थ्यो, कुनै युद्ध भूमिबाट ज्यान जोगाएर नेपाल छिरेका हुन् । होइन, होइन, कुनै सन्देश लिएर आएका हुन् । म सोच्न विवश भएँ, आखिर तीखा आवाजमा गाउनमा माहिर देखिने ती चराहरू को हुन् र किन आएका हुन् ? किन हाम्रा परेवाहरूसँग मौनताको अन्तर्राष्ट्रिय भाषामा केही भनिरहेका छन् ? तर हाम्रा परेवाहरूको ध्यान त्यो गौँथलीजस्ता देखिने चराहरूमा जाँदै गएन । किनकि यिनीहरूलाई घुरघुर मात्र गर्न आउँछ, खुला आकाशमा देश परदेश भुर्रर्र गरेका छैनन् । गरेकै भए पनि अन्तर्राष्ट्रिय पन्छी भाषाबारे अवगत छैनन् । यदि भएको भए यसरी पाहुना लागेका आगन्तुक चराको बाध्यता र विवशताको कथा नसुनी बस्ने थिएनन् ।
मन ब्याकुल भयो । कल्पनाको संसारबाट बाहिर आई गुगलमा खोजेँ । त्यो त सन् २०१५ मा घोषणा गरिएको प्यालेस्टिनको राष्ट्रिय सुनाँैलो चरा अर्थात् प्यालेस्टिन सनबर्ड पो रहेछ । उच्च तापक्रम र सुख्खा हावापानी भएका क्षेत्रमा समुद्री सतहदेखि ३२०० मिटरको उचाइमा प्यालेस्टिन, इजरायल र जोर्डनमात्र नभई साउदी अरेवियादेखि यमन र ओमानमा समेत उडान भर्ने ती प्यालेस्टाइनियन सनबर्ड (Cinnyrisosea) को एक सानो पासेरिन चरा परिवार मध्यपूर्वबाट कसरी नेपाल आए भन्ने मैले बुझ्नै सकिनँ । अनि मैले यो पनि बुझ्न सकिनँ कि उडान भर्दा कति सङ्ख्यामा आएका थिए र नेपालमा कति चरा आइपुगे ? किनकि आजभोलि त्यो प्यालेस्टिन सनबर्ड उड्ने प्यालेस्टाइनी आकाशमा चराहरू उड्न निषेध छ । प्यालेस्टिनको मुटुमा बस्ने प्राकृतिक सौन्दर्य र इजरायलविरुद्ध प्रतिरोधको प्रतीक त्यो चरा अब खुलेर उड्न सक्ने स्थिति छैन । न त प्यालेस्टाइनी भूमिमा बिरुवाहरूको प्रजननमा सघाउ पु¥याउन परागसेचन कार्य गर्न सहज छ । प्रत्येक दिनप्रत्येक रात इजरायली दुष्ट सेनाबाट परिचालित गोला, बारुद र मिसाइलले सनबर्ड चराको परिवारमात्र नभई सम्पूर्ण प्यालेस्टाइनी जनतालाई प्यालेस्टिनबाट भगाउनेहरूकै चिहानमा निमिट्यान्न पार्ने अठोट गरेको छ । त्यो प्यालेस्टिन सनबर्डको नामै फेरेर अरेन्ज बर्ड अर्थात् सुन्तला चरा राख्न खोजेको तथ्यले प्यालेस्टिनलाई विश्व मानचित्रबाट नै हटाउन खोजेको कुरा संसारले बुझेको थियो । तर त्यो दुष्प्रयास सफल भएन । त्यसकारण मलाई लाग्यो, ङातापोलको दबुमा आइपुगेको त्यो प्यालेस्टाइनियन सनबर्डले इजरायललगायतका साम्राज्यवादी दुष्ट शक्तिसँग लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि नेपाल आइपुगेको हो । नेपाली परेवाहरूले शान्तिको सन्देश लिएर त्यो प्यालेस्टिन चरा भएको देशमा पुग्न सक्ला नसक्ला तर निर्दोष प्यालेस्टाइनियन सनबर्डको पक्षमा स्वतन्त्रताको आवाज नउठाएमा इतिहासले धिक्कार्ने स्पष्ट छ ।
Leave a Reply