भर्खरै :

श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता दिशानायके

श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता दिशानायके

दक्षिण एसियाली मुलुक श्रीलङ्कामा पहिलोपटक वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । सन् २०४८ मा बेलायत उपनिवेशबाट स्वतन्त्र भएदेखि श्रीलङ्कामा विभिन्न कुलीन परिवार र आफन्तहरूले ७५ वर्षसम्म शासन सत्ता कब्जा गरिराखेका थिए । सन् २०२४ मा भएको निर्वाचनबाट फरक पार्टीका कम्युनिस्ट नेताहरू एङ्गेल्स र लेनिनको तस्बिरसहित कम्युनिस्ट पार्टीको हँसिया, हठौडा अङ्कित झन्डा फहरियो । दिशानायके यथार्थमै माक्र्सवादी–लेनिनवादी सिद्धान्त बोकेका नेता भए साम्राज्यवादी, विस्तारवादी र पुँजीवादीहरूले राम्रो काम गर्न दिने छैनन् । निरन्तर दुःख दिइरहनु उनीहरूको वर्गीय धर्म हो । जनहितमा काम गर्न दिइने छैन । जतिसुकै शत्रुले दुःख दिए पनि सिद्धान्त नछोडी बुद्धिमत्तापूर्ण ढङ्गले शासन सञ्चालन गरेमा अवश्य सफल हुनेछ ।
यो अप्रत्यासित निर्वाचन परिणाम दक्षिण एसियामा मात्र नभई विश्वमै चर्चाको विषय बनेको छ । सन् २०२४ सेप्टेम्बर २१, शनिबार भएको निर्वाचनमा नेसनल पिपुल्स पावर एलाएन्सका ५५ वर्षीय नेता दिशानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको निर्वाचन आयोगले घोषणा ग¥यो ।
विपक्षी दलका नेता सजिथ प्रेमादासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहे भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अभावको अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिताको नीति लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा सीमित रहे । आर्थिक मन्दीका कारण आम श्रीलङ्काली जनता पीडादायी कष्टकर अवस्था भोग्नुपरेपछि दिशानायकेको समर्थनमा एक्कासि वृद्धि भयो । सांसदहरू, बौद्ध धर्मगुरुहरू सहभागी भएको समारोहबिच दिशानायकेले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपतिको शपथग्रहण गराउनुभयो । शपथग्रहणपछि दिशानायकेले भन्नुभयो, “जनताको राजनीतिज्ञप्रतिको विश्वासलाई पूर्णरूपमा पुनःस्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।”
नवनिर्वाचित राष्ट्रपति दिशानायकेले अगाडि भन्नुभयो, “म जादुगर होइन । मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन् तर म उत्तम सल्लाह लिनेछु र मैले सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग आवश्यक छ ।”
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिशानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनेले तत्काल राजीनामा दिए । मङ्गलबार नै राष्ट्रपति दिशानायकेले आफ्नो दलका सांसद डा. हरिणी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथलाई मन्त्री बनाएका छन् । राष्ट्रपति दिशानायकेले लगत्तै मङ्गलबार राति संसद् विघटन गर्नुभएको छ । उहाँले संसदीय निर्वाचनको मिति सन् २०२४ नोभेम्बर १४ का दिन तोक्नुभएको छ । विघटित संसदमा कुल सांसद सङ्ख्या २२५ सदस्यीय संंसद्मा उहाँको दल नेसनल पिपुल्स पावर (एनपीपी) का तीन जनामात्र सांंसद थिए । कुल सदर मतको ३ प्रतिशतमात्र मत पाउन सकेको थियो ।
श्रीलङ्काको नयाँ राष्ट्रपतिको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार अनुरा कुमारा दिशानायकेले पछिल्लो समयमा गरिब लक्षित नीति र भ्रष्टाचारविरोधी गतिविधि गरेकाले उहाँ जनतामाझ लोकप्रिय हुनुहुन्छ । खासगरी उहाँले ‘परिवर्तनको उम्मेदवार’ का रूपमा श्रीलङ्कावासी मतदातालाई रिझाउन सफल हुनुभएको छ ।

अनुरा कुमारा दिशानायके को हुनुहुन्छ ?
दिशानायके एक सामान्य कामदारवर्गमा जन्मेका व्यक्ति हुनुहुन्छ । बुबा सामान्य मजदुर र आमा एक गृहिणी हुनुहुन्छ । निम्न मध्यम वर्गीय परिवारमा हुर्के बढेका दिशानायकेको जन्म श्रीलङ्काको उत्तरी मध्य प्रदेशस्थित थम्बुथ्थेगामाको गोलेबेला सहरमा सन् १९६८ नोभेम्बर २४ मा भएको हो । सार्वजनिक विद्यालयबाट शिक्षा लिएका दिशानायकेले पछि भौतिकशास्त्रमा स्नात्तक उत्तीर्ण गर्नुभयो । उहाँ श्रीलङ्का र भारतबिच सन् १९८७ मा भएको सम्झौतामा हस्ताक्षर गरेदेखि विद्यार्र्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
उहाँ न कुनै राजनीतिक घरानाका हुनुहुन्छ न राजधानी कोलम्बोका बासिन्दा । श्रीलङ्काको नेसनल पिस काउन्सिलका निर्देशक डा. जेन परेरा भन्नुहुन्छ, “मानिसहरूले पूर्ण परिवर्तन चाहे । मुख्य कुरा भ्रष्टाचार अन्त्य होस्, पछिल्लो ७५ वर्षमा शासन सत्तामा रहेकाहरू बाहिरिनुपर्छ र नयाँ आउनुपर्छ भन्ने भावना देखियो ।”
जनता विमुक्ति पेरामुना (जेभीपी) हिंसाको बाटो छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि दिशानायके पार्टीमा आबद्ध हुनुभयो । जेभीपीले सन् १९८७ देखि १९८९ सम्म श्रीलङ्का सरकारविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो । सन् १९९७ मा जेभीपीको केन्द्रीय समितिमा निर्वाचित दिशानायके, ग्रामीण क्षेत्रमा निम्न र माध्यम वर्गीय युवामाझ रहेका असन्तुष्टिका कारण उत्पन्न विद्रोेह राजनैतिक प्रतिद्वन्द्वी र कतिपय नागरिकविरुद्ध लक्षित थियो । उहाँ सन् २००० मा सांसद र २००४ मा छोटो समयका लागि मन्त्रीसमेत रहनुभयो । सन्् २०१४ मा जब उहाँ जेभीपी प्रमुख बन्नुभयो, त्यसयता उहाँले आफ्नो दललाई विगतको हिंसात्मक आन्दोलनबाट टाढा राख्न खोज्नुभएको छ । उहाँले जेभीपीले गरेको ‘सशस्त्रद्वन्द्वका क्रममा धेरै कुराहरू भए, जुन हुनुहुँदैनथ्यो,’ यो कुरा सन् १९१४ को एक अन्तर्वार्तामा भन्नुभएको थियो ।
सन् २०१९ वा पाँच वर्षअगाडि भएको राष्ट्रपतीय निर्वाचनमा तीन प्रतिशत मात्र मत पाएका अनुरा कुमारा दिशानायकेले यस पटक भने श्रीलङ्काको नयाँ राष्ट्रपति चुनिन सफल हुनुभएको छ ।

भ्रष्टाचार र दण्डहीनता अन्त्यको एजेन्डा
प्रणालीगत भ्रष्टाचार र राजनीतिक दण्डहीनतालगायतका कारण श्रीलङ्काली जनता फरक राजनैतिक नेतृत्वको पक्षमा देखिए । त्यसमाथि राजापाक्षे सरकारविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निभाउनुभएको कारण पनि दिशानायकेलाई राष्ट्रपतिमा निर्वाचित हुन सहयोग पुगेको देखियो । दिशानायकेले आफूलाई भ्रष्टाचारविरोधी र गरिब जनताका पक्षधर नेताका रूपमा प्रस्तुत गर्नुभयो । उहाँ करको दायरा घटाउने र बजार तथा अर्थतन्त्रसम्बन्धी नीतिमा कडाइ गर्ने पक्षमा हुनुहुन्थ्यो । उहाँले देशको अर्थतन्त्रलाई लयमा ल्याउन कृषि तथा सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको थियो ।
आर्थिक सङ्कट चुलिएपछि श्रीलङ्कामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि लामो समयदेखि रहेको राजापाक्षे परिवारको शासन अन्त्य गरेको थियो । पूर्वराष्ट्रपति एवम् प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो भने उहाँका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भाग्न बाध्य भएका थिए । त्यसपछि संंसद्ले पहिला ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई नयाँ राष्ट्रपति बनायो ।
त्यही बेला उहाँको दल जेभीपीले सामाजिक न्याय र भ्रष्टाचार विरोधी नारा दियो । उहाँको अभियानको मुख्य मुद्दा भ्रष्टाचारविरोधी छँदै थियो । उहाँले अलजजिरासँग भन्नुभएको थियो, “सबभन्दा महत्वपूर्ण उहाँ कुनै वंशका हुनुहुन्थ्यो, कोलम्बोका पनि होइनन् । त्यसैले उहाँलाई हामीमध्येकै एक मान्नुपर्छ ।” युनाइटेड नेसनल पार्टी (यूएनपी) र श्रीलङ्का फ्रिडम पार्टी (एसएफपी) ले नेतृत्व गरेको गठबन्धनको वरिपरि घुमेको शासन सत्ता दिशानायकेलाई सुम्पिए ।

नयाँ राष्ट्रपति दिशानायकेका चुनौतीहरू
राष्ट्रपति दिशानायकेसामु देशको अर्थतन्त्र पुनः लयमा फर्काउने चुनौती छ । त्यसैले अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिहरूसँग उचित तथा सन्तुलित सम्बन्ध कायम गर्दै जानुपर्ने हुन्छ । आउँदो संसदीय निर्वाचनमा बहुमत सांसद जित्नु आवश्यक छ । अघिल्लो संसदीय निर्वाचनमा कुल सांसद सङ्ख्या २२५ मध्ये दिसानायकेको एनपीपी पार्टीका ३ जनामात्र जितेका थिए । एनपीपी पार्टीले कुल सदर मतको ३ प्रतिशतमात्र मत पाउन सकेको थियो ।
श्रीलङ्काको राजधानी कोलम्बो चर्च र होटलहरूमा सन् २०१९ अप्रिल २१ मा शृङ्खलाबद्ध विस्फोटहरू भए । उक्त घटनामा २९० जनाले ज्यान गुमाए र सयौँ घाइते भए । घटनाबारे छानबिन गर्ने वाचा चुनावमा गरेअनुसार सफल हुन कठीन छ । भ्रष्टाचार रोक्न बाचा गर्ने राजनीतिज्ञहरू भ्रष्टाचारमै डुबिरहेको अवस्थामा ऋणमुक्त श्रीलङ्का बनाउने बाचा कसरी पूरा गर्ने हुन् प्रश्न उठेको छ । कानुन उल्लङ्घन गर्नेहरू बढी भएको अवस्थामा कानुनी शासन सुदृढ बनाउने कुरोे निश्चय नै चुनौतीपूर्ण छ ।
नेशनल पिपुल्स् पावर (एनपीपी) गठबन्धनका उम्मेदवार दिशानायकेले पछिल्लो समयमा गरिब लक्षित नीति र भ्रष्टाचारविरोधी गतिविधिहरू गरेकाले जनतामाझ लोकप्रिय बनेको छ । खासगरी उनले ‘परिवर्तनको उम्मेदवार’ का रूपमा श्रीलङ्काली मतदातालाई रिझाउन सफल भए ।
नवनिर्वाचित राष्ट्रपतिसमक्ष देशको अर्थतन्त्र उकास्ने र दसौँ लाख मानिसलाई गरिबीबाट पार लगाउने चुनौती छ । पूर्ववर्ती सरकारले व्यापक कर वृद्धि गरेकोलाई लगाम लगाउने बाचालाई मतदाताहरूले रुचाएका थिए । संसद् विघटन गरी नयाँ जनादेश लिने र आफ्ना नीति तथा योजना कार्यान्वयन गर्ने उनको भनाइ छ । ‘जनताको चाहनाअनुसार नचल्ने संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ छैन’ भनी नवनिर्वाचित राष्ट्रपति दिशानायकेले भन्नुभएको छ ।
देशको बढ्दो मुद्रास्फीति, जीवनयापनकै लागि हुने गरेको ठुलो खर्च र गरिबीका कारण जनता स्थिर मूल्य र जीविकोपार्जन सहज बनाउने उपायको खोजीमा छन् । नवनिर्वाचित नेतृत्वले आन्तरिक र बाह्य विश्वास जित्नसक्ने अपेक्षा जनताको छ । राष्ट्रपति दिशानायकेलाई देशको ऋण चुक्ता गर्नु चुनौतीको विषय छ । अर्थतन्त्रलाई पुनः स्थापित गर्नु चुनौतीपूर्ण छ । सार्वजनिक खर्चको व्यवस्थापन र सार्वजनिक राजस्व उत्पादन बढाउन पनि उहाँका लागि चुनौती छ ।
श्रीलङ्काको हाल ३६ अर्ब डलर वैदेशिक ऋण छ । त्यसमा सबैभन्दा बढी ऋण करिब २९ अरब रकम पश्चिमा साम्राज्यवादीहरूको हात खुट्टाहरू एडीबी, विश्व बैङ्क, आइएमएफसँग रहेको छ । चीनसँग ७ अर्ब मात्र ऋण भएको तथ्याङ्क सार्वजनिक भएको छ । साम्राज्यवादी देशहरूको नीति ऋण दिई त्यो देशमा नवउदारवादी सरकार गठन गर्न लगाउने, त्यसपछि क्रमशः देशमा भएको कलकारखाना, शैक्षिक संस्था, स्वास्थ्य सेवालगायत सम्पूर्ण सार्वजनिक सम्पति निजीकरण गराउने, युवा निर्यात गराउने, खाद्यान्नलगायत सबैमा परनिर्भर बनाउने, शिक्षा र स्वास्थ्य पँुजीपतिवर्गको पहुँचको मात्र बनाई नवउपनिवेश देशको रूपमा परिणत गरी एक सार्वभौम देशलाई परनिर्भतातर्फ लगी आफूले नाफा कुम्ल्याइरहने रहिआएको छ ।
त्यति मात्र नभएर साम्राज्यवादीहरू चीनको परियोजनाहरू जुन जीतजीतको सिद्धान्तमा आधारित छ, जस्तो एकक्षेत्र एक मार्ग (बीआरआई), विश्व विकास अगुवाई (जीडीआई), विश्व सुरक्षा अगुवाइ (जीएस्आई) र विश्व सभ्यता अगुवाइ (जीसीआई) कार्यक्रम लागु नगराउन दबाब दिने गर्छन् । साम्राज्यावादीहरू चीनले ऋण दिई ‘ऋण पासो’ मा पार्छ भनी ‘दुष्प्रचार’ गरिरहेका छन् । तर, त्यस्तो जाली कुरामा नलागी अफ्रिकाका ५४ वटा देशमध्ये ५३ देश र ल्याटिन अमेरिकाका २४ देशमध्ये २१ देश चीनको परियोजनामा आकर्षित भई लागेर आत्मनिर्भता र एक उत्पादक तथा औद्योगिक मुलुकको रूपमा परिणत गर्न ती देशहरू अगाडि बढिरहेका छन् वा फाइदा लिइरहेका छन् ।
श्रीलङ्काका लागि नेपालका पूर्वराजदूत एवम् अर्थशास्त्री विश्वम्भर प्याकुरेल भन्नुहुन्छ, “मानिसहरूको अपेक्षा धेरै छ, तर आईएमएफले यति कडा सर्तहरू राखेको छ कि त्यो पूरा गर्न सहज छैन ।” भारत, चीन र अमेरिकाको तीव्र भूराजनीतिक प्रतिस्पर्धाका बिच कूटनीतिक सम्बन्ध बनाउनुपर्र्नेछ । त्यसैले ६ देखि १२ महिना राष्ट्रपति दिशानायकेका लागि चुनौतीपूर्ण हुने श्रीलङ्कन विश्लेषकहरू बताउँछन् ।
अहिले चीनको १४० देशहरूसँग व्यापार सम्झौता गरेको छ । चीनले विभिन्न योजनाहरू कार्यान्वयन गरी विश्वका मानव जातिको कल्याणको लागि, प्रगतिको लागि कार्य गरिरहेको छ । उदाहरणको लागि सन् २००० देखि २०२३ सम्ममा अफ्रिकी महादेशभित्र विकास निर्माण कार्यहरूमा १० हजार कि.मि. रेलमार्ग, १ लाख कि.मि. राजमार्ग, १ हजार वटा पुल, १०० वटा बन्दरगाह, ६६ हजार विद्युत् ट्रान्समिसन लाइन निर्माण गरिसकेको छ । त्यस्तै सन् २०२४ सेप्टेम्बर ४, ५ र ६ तारेखमा चाइना–अफ्रिका फोरमको बैठक भयो । चीनले अब अफ्रिकी देशहरूलाई ५० अरब डलर बराबरको ऋण, अनुदान र निर्माण कार्य गर्न सहयोग घोषणा गरेको छ । अफ्रिकी देशहरू पश्चिमा देशहरूबाट चेतिसकेका छन् । अब चीनसँग सम्बन्ध राम्रो गरी आफ्नो देशलाई पनि उत्पादक, विकसित देशको रूपमा परिणत गर्न खोजिरहेका छन् । अब श्रीलङ्काले पनि चीनसँग नजिक भएर काम गर्न सकेमा देश उभो लगाउन सक्ने हुन्छ वा आर्थिक उन्नति गर्न सक्छ भन्ने धारणा राजनीतिक विश्लेषकहरूको रहेको छ ।

आशावादी छन् श्रीलङ्काका जनता
पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका छोरा तथा २०२२ मा अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेका भतिजा ३८ वर्षिय नमल राजपाक्षेले २.५ प्रतिशत मत प्राप्त गरेका थिए । राजापाक्षेका उत्तराधिकारी विक्रमासिंघेले आर्थिक सुधार केही रूपमा ल्याए तर उनले आन्दोलनका जनादेशलाई बेवास्ता गर्नुका साथै राजापाक्षे परिवारलाई अभियोग लाग्नबाट बचाएपछि दिशानायकेलाई राष्ट्रपति बन्न सहज बनेको ठानिन्छ ।
राष्ट्रपति दिशानायकेले भन्नुभयो, “हाम्रोसामु जुन गहिरो सङ्कट छ, यो कुनै एउटा सरकार, पार्टी वा व्यक्तिले अन्त्य गर्न सक्दैन । मैले पहिले पनि भनेको छु, म कुनै जादुगर होइन । म यो देशमा जन्मिएको एक आम मानिस हुँ ।” सङ्कट समाधानका लागि सामूहिक प्रयासमा जोड दिँदै उहाँले भन्नुभयो, “मेरो प्राथमिकता सबै प्रतिभाको आत्मसात गर्ने, ज्ञान एकीकृत गर्ने र राज्य सञ्चालनमा राम्रो निर्णय हुनेछ ।”
श्रीलङ्काको शासन सत्ताको वरिपरि ७५ वर्षसम्म रहेकाहरूलाई रोकेर दिशानायकेलाई राष्ट्रपति चुन्ने श्रीलङ्काली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । आन्दोलनबाट आएको व्यक्ति दिशानायकेले भावनाअनुसार देशको प्रगतिको लागि कार्य गर्नुहुने विश्वास विश्लेषकहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *