भर्खरै :

नयाँ पुस्तालाई सुसंस्कृत बनाउन पुराना पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नु आवश्यक

नयाँ पुस्तालाई सुसंस्कृत बनाउन पुराना पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नु आवश्यक

भक्तपुर, २० । ब्यासी सांस्कृतिक समूहको आयोजनामा गाईजात्रामा पुरस्कार जित्न सफल कलाकारहरूको भेला शुक्रबार भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले मानव सभ्यताको विकासको सिलसिला नै संस्कृति भएको धारणा राख्दै सांस्कृतिक क्षेत्रमा धूमपान, मद्यपानलगायत स्वास्थ्यलाई हानि पु¥याउने चिसो पेयपदार्थ तथा गुणस्तरहीन तयारी (पत्रु) खानेकुराबाट टाढा रहनुपर्ने सुझाव दिनुभयो ।
“नयाँ पुस्तालाई सुसंस्कृत बनाउन पुराना पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नु आवश्यक छ । स्वस्थकर खानेकुरा खानु जरूरी छ । चाडपर्वपछि अस्पतालमा बिरामी बढ्नु खानपान अस्वस्थकर भएर नै हो”, उहाँले भन्नुभयो ।
स्वास्थ्यको लागि व्यायाम पनि जरूरी छ भन्दै सांसद सुवालले डाक्टरहरूले दिनमा एक घण्टा व्यायाम गरिए तीन घण्टा आयु लामो हुने बताउने गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले प्रदर्शन गर्दै आएको खः प्याखँ (डबली नाच) नयाँ पुस्तामा हस्तान्तरण हुनसकेन । यसकारण, पुराना पुस्ताले नयाँ पुस्तालाई सांस्कृतिक विधा हस्तान्तरण गर्नु जरूरी छ ।”
समूहका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, सांस्कृतिक गुरूहरू कान्छा बासुकला, रत्नकाजी नातरी, नेमकिपा व्यासी एकाइ समितिका इन्चार्ज गणेशप्रसाद सुवाल, समूहका सिद्धिराम सुवाल र अजयन्द्र लघुले पनि समसामयिक राजनीति र विविध सांस्कृतिक पक्षहरूबारे चर्चा गर्नुभएको थियो ।
गाईजात्राको क्रममा प्रदर्शित विभिन्न सांस्कृतिक विधामा पुरस्कृत कलाकारहरूलाई सांसद सुवालले कदरसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *