भर्खरै :

सन्दर्भ : बत्तीसौँ वार्षिकी – जोधाहा तारामी, पदमबहादुर (२०१३ – २०४९)

सन्दर्भ : बत्तीसौँ वार्षिकी – जोधाहा तारामी, पदमबहादुर (२०१३ – २०४९)

पदमबहादुरको उपनामै प्रसिद्ध छ, ‘तारामी’ भनेपछि बजारै तरङ्गित हुने । एउटा ‘पलिटिकल ब्रान्ड’ भइसकेको, पदमबहादुर थापा तारामी । किनभने, उनी पञ्चायत व्यवस्थाविरोधी थिए । उनी प्रशासकहरूको निम्ति भालुको कम्पट बनेका थिए । उनीविना जिल्ला पञ्चायतका विकास योजना फरफारक हुँदैनथे । पञ्चहरूको हैरानी ! त्यस्तो भयकारी जीव सार्वजनिक निर्माण शाखाको सबओभरसियर भएर पञ्चहरूको सातो खाइरहेका थिए ।
हालको महाबु गाउँपालिका वार्ड नं. ६, टाकुरीमा एउटा विपन्न परिवारमा जेठीपट्टिबाट जन्मेको जेठो छोरो पदमबहादुर (वास्तविक जन्म मितिः विसं २०१३ फागुन १०, स्रोत : बुबा भगीराम) । आमाको नाम थियो पञ्चकली । तीनवटी आमा, १० बहिनी, उनीसहित ७ भाइ । कति ठुलो परिवार !
मगर केटाको ज्यान खँदिलो । लगभग १६५ सेन्टिमिटर अग्लो, कल्सौँडो वर्णको, थेप्चो नाक, चिम्सा आँखा, कालो र जर्रो कपाल, सफाचट अनुहार । यस्तो थियो, स्वरूप तारामीको । रक्सीपानी, चुरोट तमाखु केही नखाने मगर ठिटो !
उसबेला पञ्चहरूको प्रतीक बनेको टोपी र दौरासुरुवाल, उनले कहिल्यै लगाएनन् । सर्ट, प्यान्ट र कहिलेकाँही कोटमै सजिएर हिँड्थे । टाइ भने कहिल्यै लगाएनन् । जे जेलगाए, चिटिक्क पारेर सफासुग्घर नै लगाए । सबओभरसियर जस्तो मान्छे खाली खुट्टा हिँड्ने त कुरा भएन । मैले देख्दा यस्तै थिए तारामी ।
उनी निर्मल र अनुशासनप्रिय थिए† झोकी र नचाहिँदो विषयप्रति आक्रामक पनि थिए । तर, नितान्त ग्रामीण परिवेशबाट बजार पसेको युवक सभ्य र सुसंस्कृत थिए ।
“मिठाको जरै नराख्ने, तीताको पातै नछुने । मन परेको मान्छेलाई प्राणै दिने, मन नपरेको मान्छेलाई देखी नसहने स्वभावको थिए तारामी,” अभिन्न मित्र हस्तबहादुर कटुवाल ।
उनी कक्षा ३ नेरा प्रावि टाकुरीबाट पास भएपछि प्रावि रानीवन एकपाटेमा कक्षा ४–६ पढ्न गए । त्यसपछि विजय निमावि दुल्लुमा कक्षा ६–८ पढि सिध्याए । त्यहाँ उनी २०३१ मा स्वतन्त्र विद्यार्थी सङ्गठनको सभापति पनि भएका थिए, उपसभापति थिए बखत खड्का । यसबाट उनमा राजनैतिक चासो विद्यार्थी कालदेखि नै मुखरित भएको बुझिन्छ । कक्षा ९–१० अध्ययन गर्न त्रिभुवन मावि दैलेखमा गए । त्यहाँ बसाइँ थियो छात्रावासमा । तर, सजिलोको लागि परीक्षा केन्द्र जुम्ला खलङ्गा गएर एसएलसी तृतीय श्रेणी (सि. नं. २०५८८ भी, २०३३) मा उत्तीर्ण गरे । यहाँनेर, शिक्षाको लागि त्यत्रो सङ्घर्ष गरेको तारामीले उच्च शिक्षाको जमर्को किन गरेनन् भन्ने प्रश्न उठ्छ । उनका माहिला भाइ डम्मरबहादुर तारामी भन्छन्, “घरको आर्थिक अवस्था कमजोर भएकोले हुनुपर्छ, दाइ कलेज जान सक्नुभएन ।”
एसएलसीको फलामे ढोका खुलेपछि जागिर खाने हुटहुटी भएको हुनुपर्छ, २०३४ मा उनी नेपाल प्रहरीको ६ महिने रिक्रुट तालिमका लागि छानिएर नेपालगञ्ज गए । तर, तालिमको क्रममा प्रहरीको बोलीवचन छुद्र र अपमानजनक अनुभूत गरेर बिचमै तालिम छोडिदिए ।
उनले दैलेख आइसकेपछि ६ महिना जति खानेपानी कार्यालयको प्लम्बरको जागिर खाए । तत्पश्चात् महेन्द्र प्रावि सोतमा अध्यापन गर्न थाले (२०३५) । त्यसैबिच उनको समुदायको मागअनुसार भैरव निमावि रानीवनमा एक वर्षसम्म अध्यापन गरे । रानीवनमा दरबन्दी सिर्जना हुन नसकेपछि, फेरि सोत फर्केर महेन्द्र प्राविमा पढाउन थाले ।
दैलेखमा २०३४ सालमा पहिलोपटक माक्र्सवादी, लेनिनवादी र माओ त्सेतुङ विचारधारा (माले मावि) अध्ययन मण्डल भेरी–कर्णाली शाखा गठन भयो । उनी त्यससँग आरम्भदेखि नै आबद्ध भए । त्यो अध्ययन मण्डलले माले माविको प्रशिक्षण दिएपछि पार्टी सदस्य हुनको लागि ढोका खुल्थ्यो । त्यस अध्ययन मण्डलका अन्य सदस्यहरू थिए, उदयजङ्ग शाही, कृष्णबहादुर खत्री (सोत), रत्नबहादुर खड्का (किमुगाउँ) र पृथ्वीबहादुर खड्का (तर्ताङ) । २०३५ मा त्यही मालेमावि अध्ययनमण्डल भेरी– कर्णाली शाखालाई परिवर्तन गरी नेपाल मजदुर किसान सङ्गठन जिल्ला समिति गठन गरिएको थियो ।
गहन अध्ययनशील तारामी पार्टी साहित्य अभिरुचिपूर्वक पढ्थे, म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास त दोहो¥याइतेह¥याइ पढ्दथे ।
सङ्गीत र कलाप्रति उनको लगाव कस्तो थियो वा थिएन; मैले केही चाल पाइन ।
२०३७ सालमा उनको जीवनले नयाँ मोड लियो । जिल्ला पञ्चायत दैलेखको छनोटमा उनले पञ्चायत प्रशिक्षण केन्द्र महेन्द्रनगर, बाँके गएर ६ महिने सबओभरसियर तालिम सम्पन्न गरेपछि सार्वजनिक निर्माण शाखा दैलेखमा जागिरे भए । २०४२ मा नेपाली काङ्ग्रेसको आह्वानमा शान्तिपूर्ण सत्याग्रह आन्दोलन सुरु भएको थियो । त्यसको समर्थनमा नेमकिसङ्गठनले सक्रियतापूर्वक सहभागी हुन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दियो । त्यसैक्रममा, दैलेख सदरमुकाममा प्रचार सामग्री बाँड्दाबाँड्दै स्थानीय प्रशासनले उनलाई २०४२ साउनमा पक्राउ ग¥यो । उनका साथै वीरबहादुर थापा, पुण्य रेग्मी, हर्कबहादुर शाही, धीरबहादुर शाही, मणिराम रेग्मी, जाहारकोट तल्लागाउँका लालबहादुर थापा र हस्तबहादुर कटुवाल पनि ८/९ दिनसम्म प्रहरी हिरासतमा राखिए । हस्तबहादुर कटुवालले भनेअनुसार डाँडापराजुल, ओइरीका मणिराम तिवारीलाई भने सामान्य सोधपुछ गरेर छोडिदिएको थियो प्रशासनले । जनवादी मोर्चाका रामराजाप्रसाद सिंहले नारायणहिटी राजदरबारको दक्षिणी ढोका, राष्ट्रिय पञ्चायत भवन र अन्य ठाउँमा बम विस्फोट गराएपछि आन्दोलन हिंसात्मक बाटोतिर जानसक्ने त्रासले गर्दा सत्याग्रहका सम्पूर्ण कार्यक्रम स्थगित भएपछि तारामी रिहा त भए, त्यही कारणले सार्वजनिक निर्माण शाखाको जागिरबाट हात धुनुपन्यो । उनले न्यायिक सहाराको बाटो पनि रोजेनन् । किनभने, उनी पेशेवर कार्यकर्ता भएर कम्युनिस्ट आन्दोलनलाई माथि उठाउन चाहन्थे । उनको सानिशाखाबाट बहिर्गमन भएपछि उता दैलेखमा भने पञ्चहरूले उच्छ्वास फेरे ।
प्रहरी हिरासतमा परेको बेलामा एउटा हाँसोउठ्दो घटना घट्यो । प्रहरी कार्यालयको पश्चिमतिर/अघिल्तिर एउटा झ्याम्म परेको वरपिपलको चौतारी थियो । त्यो चौतारी बखतबहादुर थापाको पितामह भक्तबहादुर थापा (ढुङ्गेखानी) ले बनाउनुभएको थियो । उहाँले भद्रबहादुर थापा ‘लल्लु’ को घरदेखि बज्रभैरव मन्दिरसम्म ढुङ्गा बिछ्याएर २०१६ सालमा ‘भक्त सडक’ पनि निर्माण गर्नुभएको थियो । हिरासत कक्षबाट त्यो चौतारी छर्लङ्ग देखिन्थ्यो । नौमुलेका खुँखार पञ्च डिलबहादुरले चौतारोबाट तारामीलाई गिज्याउँदै, “लौ अब जाक्किइस् ठीक भयो” के भनेका थिए; भित्रबाट तारामीले चोर औँलो ठड्याउँदै भने, “पर्खलास् गाले ! म बाहिरमात्र आइहालूँ ।” डिलबहादुर नकच्चरिएर त्यहाँबाट बेपत्ता भए । निकटस्थहरू भन्छन्, तारामी रिहाइ भइसकेपछि डिलबहादुर उनीबाट भागीभागी हिँड्थे । त्यसरी मगरबन्धुहरूको देखाभेट बन्द भयो, बातचित त परै रह्यो ।
दोस्रो, तर निर्णयात्मक मोडमा उनी पूर्णकालिक कार्यकर्ता भएर काम गर्न थाले । त्यो धेरै हाँकपूर्ण थियो । अघिल्तिर थिए, काँडाघारीको बाटो । बाघभालु लाग्ने । उर्लँदो भेल । आस्था, आबरु भजाएर उपल्लो वर्गको भ¥याङ्ग चढ्न आतुर राजनैतिक व्यापारीहरू । तारामीको भागमा परेका थिए, निष्कपट, सिधासाधा, आवाजविहीन तल्लो वर्ग । त्यहीँ वर्गलाई माथि उठाउने सङ्कल्प थियो तारामीको ।
जनताको राजनैतिक चेतनास्तर बढाउन निर्वाचनलाई उपयोग गर्ने नेमकिसङ्गठनको नीतिअनुसार २०४३ सालमा दैलेखबाट राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार भएका थिए । त्यो एकप्रकारले आफ्नो सङ्गठनको जनमत जोगाइराख्ने रणनीति थियो । अभिलेखअनुसार उनी २०४७ सम्म नेमकिसङ्गठन दैलेखको जिल्ला समिति सदस्य रहेको देखिन्छ । २०४७ सालको उत्तराद्र्धमा पार्टी निर्देशनअनुसार उनी सुर्खेत सरुवा भएर सङ्गठन विस्तारमा लागेका थिए, तल्लो र सचेत वर्गको माझमा । त्यहाँ सङ्गठनलाई उनले बलियो पनि बनाए; त्यसलगत्तै २०४८ मा बाँके सरुवा भएर त्यहाँ भइरहेकै सङ्गठनलाई सुदृढ बनाए ।
हालको बैजनाथ गाउँपालिका वार्ड नं. ३, डिगिया, बाँकेको वन क्षेत्रमा दैलेख, सुर्खेत, जाजरकोट र सल्यानबाट झरेका सुकुमवासीहरूले करिब ५०० वटा छाप्रा बनाएर बसेका थिए । उनीहरूले २०४८ सालमा लालबहादुर बुढा र विष्णु सिंहको नेतृत्वमा लालपुर्जाको माग गर्दै आन्दोलन गरेका थिए । सुकुमवासीहरू धेरै पार्टीका समर्थक भए तापनि त्यो आन्दोलन नेमकिपाको समर्थनमा अघि बढेको ठानेर राष्ट्रिय जनमोर्चा, राप्रपा, एमाले र नेपाली काङ्ग्रेसले बस्ती खाली गर्ने सरकारी निर्णयमा सहमति गरिदिएपछि स्थानीय प्रशासनले आन्दोलन दबाइदियो । त्यस आन्दोलनलाई परोक्षतः तारामीले नै निर्देश गरेका थिए ।
विशेषतः दैलेखको रानीवन र सोतलगायत साठीवटै गाउँ पञ्चायतमा उनले सङ्गठन गरेका थिए । हस्तबहादुर कटुवाल, पदमप्रसाद काफ्ले, कृष्णबहादुर खत्री, बमबहादुर सिंह उनकै प्रेरणा र प्रशिक्षण पाएर हुर्केका कार्यकर्ताहरू हुन् । बाँकेमा विष्णु सिंह र लालबहादुर बुढाजस्ता कर्मठ कार्यकर्ताहरूलाई सङ्गठित र प्रशिक्षित गरेका थिए (कृष्णबहादुर, विष्णु र लालबहादुर अब हामीमाझ हुनुहुन्न) । २०४९ मा बाँकेबाट कैलाली गएर सामाजिक सम्बन्धको उपयोग गर्दै उनले उदयजङ्ग शाहीसँगै कैलालीको मनुवा, दुर्गौली र लम्की क्षेत्रमा बसेर सङ्गठन निर्माण गरी नेमकिपा कैलाली जिल्ला समिति गठन गर्ने जिम्मेवारी पूरा गरे । उनले पार्टी कार्यकर्ताको लर्को नै तयार गरेका थिए, गगन बलामी, गजबहादुर दर्लामी, गोबर्धन तारामी, जङ्गबहादुर तारामी, ज्योति बडुवाल, धनबहादुर थापामगर, निमबहादुर बुढा, सूर्यबहादुर शाही र हिक्मत भण्डारी ।
एक ठेकदारको काम सम्पन्न गर्नेक्रममा “सुर्खेत वीरेन्द्रनगरमा तारामीले टुँडिखेल वरिपरि गुलमोहर वृक्षरोपण गराएका थिए । आज पनि ती गुलमोहर ढकमक फुल्दा मलाई तारामीको सम्झनाले सताउँछ ।” – उदास विनायक
जन्मस्थल रानीवनमा बहुदलीय विचारको बीजारोपण, विकास र विस्तार गर्ने कार्यको जस तारामीलाई नै जान्छ । आफ्नो जन्मस्थल, शिक्षित र कर्मशील भएकोले त्यसो हुनु प्राकृतिक पनि लाग्छ ।
उनी साथीहरूको आलोचना गर्न पनि हिच्किचाउँदैनथे । यसरी, “बुद्धिजीवीहरू गजब लेख्छन्, भाषण पनि दमदार गर्छन् तर सङ्गठन गर्दैनन् ।” तीतो सत्य ¤ उनको विद्यालय जीवन पनि बेजोडको थियो । अकाट्य तार्किक, प्रमाणिक र वैज्ञानिक बहस गर्नसक्ने ल्याकत । त्यसैले होला, छोटो समयमै उनले पढेलेखेकाहरूमाझ ठुलो सामथ्र्य बनाउन सकेको ।
नयाँ बजारस्थित हर्कबहादुरको होटेलमा उनीसँग मेरो पहिलो भेट भएजस्तो लाग्छ, २०३९ सालमा । त्यसपछि त भेटघाट र बातचित भइरह्यो, कर्णबहादुर मल्लको घरमा जहाँ उनको कोठा थियो, जिल्ला अदालत अघिल्तिरको चौर र चियापसलहरूमा । भुर्ती, प्युसेमा धर्मराज बाजेको गोठको अथारोमा सम्पन्न रात्रिकालीन नेमकिसङ्गठनको दैलेख जिल्ला सम्मेलन तयारी समितिको बैठक बसेको थियो । मलाई भने साहित्यिक कार्यक्रम भनेर त्यहाँ लगिएको थियो । त्यस कार्यक्रममा वीरबहादुरले गिटार बजाए, मैले स्वर मिलाएँ, “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ।” त्यहाँ तारामी उपस्थित हुनु स्वाभाविक नै थियो । अर्कोपटक श्यामल दैलेख जाँदा अरु केही साथीहरूका साथ ‘जनताको साहित्य’ मा विमर्श भएको थियो तारामीकै कोठामा । अरु साङ्गठनिक कार्यक्रममा सङ्गत र सहकार्य भएको थिएन ।
सहयोगी भावनाका धनी मानवहरूले नै अधिकतर दुःखकष्ट झेल्नुपर्दोरहेछ । तारामीको जीवनमा पनि त्यस्तै भयो । जागिरे छँदा तलब जति पार्टी गतिविधि, चोटपटक लागेका बिरामीको उपचार र समस्या परेका साथीहरूलाई सहयोग गर्दा ठिक्क हुन्थ्यो । उनी कलेज पढ्दै गरेका पार्टीसम्बद्ध विद्यार्थीलाई पनि पटके आर्थिक सहयोग गर्दथे । ‘भोलि’ को उति सा¥हो चिन्ता थिएन । घरपरिवारलाई काँध हाल्नुपर्ने त्यस्तो केही थिएन । पुग्दो घरबारी वा खेत र पौरखी हातहरू पनि छँदै थिए । जब उनलाई जीवन धान्न धौधौ भयो† साथीहरू र आफन्तहरू टाढा भइदिए । वयस्क जीवनको जल्दोबल्दो समयमा नै उनले अनेक अभावहरूसँग सङ्घर्ष गर्नुप¥यो । तर, पनि मैले तारामी धेरैचोटि हाँसेको देखेको छु, रोएको होइन । दुःखले उनीसँग हार खाइसकेको थियो ।
तारामी कोहलपुरमा नगरपालिकाको नमुना भवन निर्माण कार्यको रेखदेख पनि गर्दथे । राति, उनी र विष्णु सिंह एउटै कोठामा सुतिरहेको अवस्थामा सर्प वा माउसुलीले टोकेको शङ्का लागेपछि नेपालगञ्ज लैजाने तयारी गर्दागर्दै समयमा याम्ब्युलन्स (क्याम्ब्रिज उच्चारण) नपाएर ढिलो हुन जाँदा उपचारमा विलम्ब भई उनको भेरी अञ्चल अस्पतालमा २०४९ आश्विन २४ गते बिहान देहावसान भयो । कोहलपुर निवासी तारामीका घनिष्ठ मित्र अञ्जीर शाहीका अनुसार चिकित्सकले सर्पदंशले मरेको प्रमाणित गरे तापनि वस्तुतः उनलाई माउसुलीले टोकेको थियो । किनभने, उनको सिरानीमुनि एउटा माउसुली च्यापिएर मरेको अवस्थामा भेटिएका थियो । साथै उनको दाहिने पाखुरामा कमिलाले टोकेको जस्तो अति सानो खत पनि थियो ।
एउटा कर्मठ र मनकारी कम्युनिस्ट नेतालाई जाबो मुसलीदंशले ढालिदियो । कसको के लाग्छ ! काठमाडौँदेखि कर्णालीसम्म सिङ्गो पार्टी सङ्गठन भावविह्वल भयो । आज पर्यन्त उनको अभाव खट्किरहेको छ यो गाउँमा, यो देशमा पनि ।
आत्मसम्मान, त्याग र सङ्घर्षको नाउँमा तीनतीन दिनसम्म डबकाभरि पानी मात्र पिएर भोकै बसिदिन्थे; कहाँसम्म भने कहिलेकाहीँ बस भाडा नहुँदा नेपालगञ्जदेखि १६ किलोमिटर लामो सडक पैदलै हिँडेर कोहलपुर पुगिदिन्थे । समुदाय जस्तै सरल, सहज र व्यावहारिक भइदिन समुचित गाँसबासको ख्यालै नगर्ने कम्युनिस्टको सिको गम्भीर हेलचेक्राइँ हो भन्ने धेरै कामरेडहरूबाट सुनिएको पनि छ । थाहै छ, माउसुलीले उनको ज्यान लियो, त्यो नै बेवास्ताको ज्वलन्त दृष्टान्त हो ।
यो आलेख टुङ्ग्याउनै लाग्दा लाम्रा, जुम्लाका रत्नराम गिरीसँग सानोथिमीमा भेट हुनगयो । उहाँले भन्नुभयो, “तारामीजी, बुद्धिकुमार गोसाई दाइलाई लिएर जुम्ला गइरहन्थे ।” यहाँ आएर भूमिगत राजनीतिको उद्घाटन हुन्छ । उसो त कालीकोट र जुम्लाका साङ्गठनिक गतिविधिको समन्वय र सहजीकरण नगरेको पनि होइन ।
घरजम गर्ने उनको कुनै योजना थिएन । सुखभोग गर्ने कुनै सपना थिएन । नेमकिपा नै उनको घर थियो, त्यही उनको जीवन थियो ।
सारमा, तारामी कस्ता थिए त, हिजोआजका हर्क साम्पाङजस्तो ? होइन । तारामी तारामीजस्तै थिए । पृथक र तड्कारो व्यक्तित्व भएका । त्यस्तो व्यक्तिलाई असमयमै गुमाउनुपर्दा थकथक लागिरहेको छ ।
कोहलपुर भएर ओहोरदोहोर गर्दा मलाई भने कामरेड तारामीको सम्झनाले झस्काइरहन्छ ।
यस्ता कामरेड तारामी, म तिमीलाई कसरी बिर्सनसक्छु र ! तिम्रो सम्मानमा यिनै शब्दहरू समर्पण गर्दछु । यही मेरो श्रद्धाञ्जली !
(अभियान (वर्ष ७, अङ्क ४, चैत २०६६), अञ्जीरबहादुर शाही, उदयजङ्ग शाही, उदास विनायक, ज्ञानु तारामी, बखत खड्का, डम्मर थापामगर, मणिराम रेग्मी, रत्नराम गिरी र हस्तबहादुर कटुवालको सहयोगमा)

सानोथिमि, भक्तपुर
२०८१ असोज ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *