चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२

२०३५/३६ सालको विद्यार्थी आन्दोलनले स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने माग पूरा भएपश्चात् अखिल, नेविसङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलगायत अन्य विद्यार्थी सङ्गगठनहरू विद्यार्थी राजनीतिमा सक्रिय हुन थाले । नेविसङ्घ आफ्नो मातृ पार्टी नेपाली काङ्ग्रेसको नीतिअनुसार २०३७ साल वैशाख २० गते हुने जनमतसङ्ग्रहको निर्वाचनमा बहुदलीय व्यवस्थाको पक्षमा प्रचारमा लाग्यो । विद्यार्थी आन्दोलनमा एक ढिक्का भएर लडेका वामपन्थी विद्यार्थीहरू अखिलको सम्मेलन गर्ने सवालमा पाँचौँ र छैटौँमा विभाजित भए । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका विद्यार्थी नेताहरूले विभाजित पाँचौँ र छैटौँ अखिललाई मिलाउन धेरै प्रयास गरे । नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न गुटमा विभाजित भएकोले कम्युनिस्ट आन्दोलन कमजोर भएजस्तै वामपन्थी विद्यार्थी आन्दोलन कमजोर नहोस् भन्ने पक्षमा नेक्राविसङ्घ उभिएको थियो । त्यसैले अखिललाई मिलाउन नेक्राविसङ्घले पहिला पूरा पाँचौँ सम्मेलन गर्ने र त्यसको केही महिनापछि छैटौँ सम्मेलन गर्ने प्रस्ताव राख्दा दुवै पक्ष मानेनन् ।
तत्कालीन नेकपा (चौथो महाधिवेशन) र नेकपा (माले) मा अरुलाई हेप्ने प्रवृत्ति थियो । त्यसको प्रभाव विद्यार्थी राजनीतिमा पनि देखियो । अखिल पाँचौँ मालेको भ्रातृ सङ्गठन हो भने अखिल छैटौँ चौथो महाधिवेशनको भ्रातृ विद्यार्र्थी सङ्गठन हो । आ–आफ्नो मातृ पार्र्टीको नीतिअनुसार दुवै अखिलले जनमतसङ्ग्रह धोखा हो भन्दै जनमतसङ्ग्रहको चुनाव बहिष्कारको नारा दिँदै आ–आफ्नो सम्मेलनको तयारीमा लागे । बहुदलीय व्यवस्था भनेको निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाभन्दा एक पाइला प्रगतिशील भएको र प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थामा गएर जनताको सेवा गर्ने नेमकिसङ्गठनको नीति हो । जनमतसङ्ग्रहलाई उपयोग गर्दै आन्दोलनलाई अगाडि बढाउनुपर्ने तत्कालीन नेपाल मजदुर किसान सङ्गठनको नीति हो । ने.क्रा.वि.सङ्घले राजनैतिक र मौलिक अधिकार प्राप्त नभएसम्म विद्यार्थी सङ्गठनहरू स्वतन्त्र नहुने हुँदा जनमतसङ्ग्रहमा बहुदलको पक्षमा लाग्दै जनताको मौलिक र राजनैतिक अधिकारको लागि आन्दोलन अगाडि बढाउनुपर्ने पक्षमा उभिए । यसरी विद्यार्थी सङ्गठनहरूले आफ्नो विचार विद्यार्थीमाझ राख्दै गर्दा त्रि.वि.ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको घोषणा ग¥यो । अखिलभित्रको विवादलाई थाती राखेर स्ववियु निर्वाचनमा संयुक्तरूपमै नाम दर्ता गरेको हुँदा भक्तपुर क्याम्पसमा पनि ने.क्रा.वि सङ्घको नामबाट नउठी अखिलकै नामबाट प्यानल खडा गरियो । काठमाडौँ उपत्यकामा त्रिवि र त्रिचन्द्र क्याम्पसमा मात्र ने.वि.सङ्घको विजय भयो र बाँकी सबै क्याम्पसमा अखिलको विजय भयो । यसरी वामपन्थी विद्यार्थीहरूको एकताको लागि नेक्राविसङ्घले अखिलकै नामबाट चुनाव लडेको थियो ।
विभिन्न जिल्लामा अखिल पाँचौँको जिल्ला सम्मेलनको क्रममा भक्तपुर जिल्लाको पहिलो जिल्ला सम्मेलन विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा गरियो । जिल्ला सम्मेलन भए पनि राष्ट्रिय सम्मेलन जतिकै महत्व दिएको देखियो । जिल्ला सम्मेलनमा केन्द्रीय नेताहरूले रोहितको विरोधमा बोले । उनीहरूले सामन्तका नाइके राजाले घोषणा गरेको जनमतसङ्ग्रहमा भाग लिने रोहित राजावादी कम्युनिस्ट हो भनी टिप्पणी गरे । झापा विद्रोह क्रान्तिको बाटो हो भनी फलाक्ने अहिलेको एमाले तत्कालीन मा.ले.को हुँकारलाई रोहितले व्यक्तिहत्या क्रान्तिको बाटो हुन सक्दैन भन्नुभएको थियो । अराजकतावादीहरू अन्ततः दक्षिणपन्थी अवसरवादमा पतन भए । अखिल पाँचौँको पहिलो जिल्ला सम्मेलनमा व्यक्त गरेको भनाइबाट अखिल पाँचौँ भनेको सामन्त र शोषकवर्गका सन्तानहरूको विद्यार्थी सङ्गठन हो भन्ने कुरा बुझ्न गा¥हो भएन ।
२०३९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको दोस्रो निर्वाचनमा नेक्राविसङ्घले उपत्यकाको धेरै क्याम्पसमा उम्मेदवारी दियो । नेक्राविसङ्घको छुट्टै प्यानल भएकोले चुनावी सभा पनि नेक्राविसङ्घकै नामबाट भयो । भारतीय विस्तारवादले नेपालको सुस्तामा अतिक्रमण गर्दा नेपाली जनताले विरोध गरेका थिए । तर, अखिलका नेतृत्वकारीहरू राजदरबारमा गएर देशको सार्वभौमिकता रक्षा गर्न द्यौसी खेल्ने नाममा अधिकार माग्न गएको हँुदा अनेरास्ववियु द्यौसीवादमा पतन भएकोले त्यसको विरोधमा क्रान्तिकारी झन्डा उचाल्न नेक्राविसङ्घको स्थापना भएको थियो । प्रगतिशील विद्यार्थी आन्दोलनमा अनेरास्ववियु ठुलो शक्ति हो भने त्यसको हृदय पनि ठुलो हुनुपर्छ । नेक्राविसङ्घको सैद्धान्तिक र व्यावहारिक कुराको खण्डन गर्नुको सट्टा अखिलेहरूले नेक्राविसङ्घ भनेको सानु टापु हो, अखिल महासागर हो भने । उनीहरूले नेक्राविसङ्घ सानो छ तर अखिल देशव्यापी फैलिएको ठुलो सङ्गठन हो भने ।
नेक्राविसङ्घका विद्यार्थी नेताहरूले अखिलमा विद्यार्थी नेताहरूको असैद्धान्तिक आक्षेपहरूको सैद्धान्तिक तवरले जवाफ दिएको उल्लेख गर्न चाहन्छु ।
१) निर्दलीय तानाशाही पञ्चायती व्यवस्थालाई हराउनकै लागि जनमतसङ्ग्रहमा भाग लिएको कारण का. रोहित राजावादी वा पञ्चायतपरस्त नेता नभई बरु जनमतसङ्ग्रहलाई बहिष्कार गरी पञ्चायतलाई जिताउन सहयोग गरेकोमा तत्कालीन माले र अहिलेका एमाले र त्यसको भ्रातृ सङ्गठन अखिल नै राजावादी र पञ्चायतपरस्त हो । सन् १९०५ मा भएको रुसी संसद् ड्युमाको निर्वाचनमा लेनिनले बहिष्कार गर्नुभएको त्यसबेलाको आन्दोलनको घटनाक्रमले ठीक साबित भएको थियो । १९०६ र १९०७ को बहिष्कार गलत भएको स्वीकार गर्दै लेनिनले त्यसपछिका निर्वाचनहरूमा भाग लिएको ऐतिहासिक तथ्य प्रस्तुत गर्दै मालेले जनमतसङ्ग्रह बहिष्कार गर्नु गलत भएको र अध्यक्ष रोहितले भाग लिनु सही भएको कुरा प्रस्ट पारे ।
२) महासागरको दाबी गर्दै हुँकार गर्ने अखिलको घमण्डलाई मुखभरिको जवाफ दिँदै नेक्राविसङ्घका विद्यार्थी नेताहरूले भने, महासागर विशाल छ तर आफ्नो आकार हँुदैन, विशाल महासागरमा दुनियाँभरका फोहरहरू बगाएर थुपारेजस्तै सङ्ख्यामा विशाल देखिएका अखिलमा देश विदेशका फोहरहरू जम्मा भएका छन् । नेक्राविसङ्घ टापु सानो हो । तर, त्यसको आफ्नै आकार छ । महासागरमा राति आउने पानीजहाजहरूलाई बाटो देखाउने लाइट हाउसको काम गरेजस्तै नेक्राविसङ्घले नेपालको वामपन्थी विद्यार्थी आन्दोलनमा बाटो देखाउने काम गरेको छ ।
३) आँखाको नानी सानो हुन्छ । यदि ठुलो शरीर बोकेको जीउमा सानो आँखाको नानी नभए त्यो अन्धो हुन्छ । हात्ती ठुलो भएर के गर्ने ? त्यसको मासु खानु हुँदैन ।
नेपाल ल क्याम्पसको चुनावी सभामा नेक्राविसङ्घका विद्यार्थी नेताहरूले अखिल पाँचौँको सैद्धान्तिक आलोचना गर्दा नेक्राविसङ्घको कार्यक्रम सक्ने बित्तिकै अखिलका विद्यार्थी नेता विरोध खतिवडाले भनेका थिए, “हामीले चाहेको खण्डमा यी भक्तपुरका ज्यापुहरूको मासुका चोक्ता चोक्ता भित्ता भित्तामा टाँग्न सक्छौँ । यो भक्तपुर क्याम्पस होइन, नेपाल ल क्याम्पस हो । यहाँ नेक्राविसङ्घको केही चल्दैन । यहाँ अखिल पाँचौँले चाहेको हुन्छ ।” यसरी उनले सामन्ती स्वभाव देखाए । त्यसको जवाफ नेक्राविसङ्घले आर.आर. क्याम्पसलगायत अरु क्याम्पसहरूमा दिएको थियो ।
२०४१ सालमा स्ववियुको तेस्रो निर्वाचनको सिलसिलामा नेपाल ल क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आमसभा भएको थियो । अखिलका केन्द्रीय नेता विरोध खतिवडालगायत १०–१५ जना अखिलेहरू बसिरहेका थिए । नेक्राविसङ्घको चुनावी सभा सुरु भयो । नेक्राविसङ्घका नेताहरूले भाषणको सुरुमै भने, नेक्राविसङ्घका नेताहरूको मासुका चोक्ता भित्तामा टाँग्ने विचार सामन्ती शैली हो, नेक्राविसङ्घ कसैको अगाडि झुक्दैन । दर्शकहरूको ताली बज्यो । अखिलका नेताहरू मुसो भागेजस्तै भागे । कामदारवर्गलाई ज्यापु भनेर हेला गर्नु सामन्ती चरित्र हो र सामन्तवादको विरोधमा सङ्घर्षरत नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ शोषक सामन्तहरूको धम्कीको अगाडि कहिल्यै शिर निहुरिने छैन ।
स्पार्ताकस दास विद्रोहका नेता तथा कार्यकर्ताहरूलाई दास मालिकहरूले क्रसमा झुन्ड्याएर, हातमा किला ठोकेर मारे तर दास विद्रोहीहरू झुकेनन् । उनीहरूले अन्तिम दमसम्म लडिरहने बताए । सन् १९१७ को रुसी महान् अक्टोबर समाजवादी क्रान्ति त्यसैको सिलसिला हो । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मानेको नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन हो नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ । जस्तोसुकै कठिन परिस्थितिमा पनि नेक्राविसङ्घ सुझबुझका साथ वर्गशत्रुसँग सङ्घर्ष गरिरहनेछ ।
Leave a Reply