अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बौद्ध लेखक एवं जीवनीकार रत्नसुन्दर शाक्यले ‘बौद्ध जगत्का स्मरणीय व्यक्तित्वहरू’ आठौँ भाग प्रकाशित गरेर बौद्ध विद्वान्हरूको जानकारी दिए । पुस्तकमा लेखक, दार्शनिक र पालि साहित्यका विद्वान्हरूको चर्चा छ । समुदायमा अविस्मरणीय योगदान पु¥याएका उदाहरणीय व्यक्तित्वहरूको जीवन चरित्रको अध्ययनले नयाँ पुस्तालाई थप जागरूक बनाउने छ । लेखक शाक्यले यो आठौँ भागमा १६ जना बौद्ध जगत्का व्यक्तित्वहरूको चर्चा गरेका छन् । शान्तिका प्रतीक बुद्धको शिक्षाबाट प्रेरित भएर अन्तर्राष्ट्रिय समुदायमा बौद्ध विद्वान्हरूले शिक्षालाई महत्व दिएको देखिन्छ । नेपाल, भारतलगायत एसिया, युरोप र अमेरिकासम्म बुद्ध धर्मको प्रचारप्रसार गरेर बौद्ध दर्शनको विकास र विस्तारमा आ–आफ्नो स्थानबाट प्रवचन गरेर, कृति प्रकाशन गरेर बौद्ध विद्वान्हरूले जनताको घर आँगनमा पु¥याउने काम गरेको देखिन्छ ।
पुस्तकमा भारतको मगधस्थित विक्रम शिला महाविहारमा कार्यरत शाक्य श्री भद्रले सानो उमेरमै व्याकरण र यजुर्वेदको शिक्षा हासिल गरेका थिए । उनी १२ औँ शताब्दीको अन्तिम दशकमा भारतीय बौद्ध संस्कृतिको अभ्युदयमा विशिष्ट स्थान रहेका ख्रो फु लोचवाले आचार्य शाक्य श्री भद्रसमेतलाई साथमा लिई आसाम बर्मा सीमाको बदरपुर हुँदै ग्याँचीमा पुगेका थिए । उनले तिब्बतमा शिष्य तयार गर्ने र विहारको पुनः निर्माण गर्ने काममा सघाएका थिए ।
पाटनको ओकुबहालका निपुण कलाकार महान् शिल्पी पण्डित अभयराज शाक्यले महाबुद्ध चैत्य कीर्ति बनाए । यो त्यसबेलाको सर्वोच्च र अद्भूत कलात्मक सम्पदा थियो । २०७२ सालको भूकम्पले क्षति पु¥याएको उक्त चैत्यको उनकै वंशजबाट मर्मतसम्भार गरिएको थियो ।
लर्ड चाल्मर्सले पालि भाषा रोमन लिपिमा अध्ययन गरेका थिए । पेरिसमा भएको प्राच्य विद्हरूको सम्मेलनमा सहभागी उनले तथागतको व्याख्या गरेका थिए ।
श्रीलङ्कामा बुद्ध धर्म प्रचार प्रसारमा सहयोग पु¥याउने सरडोन बारोन जयतिलक पाली संस्कृत आदि शिक्षाका ज्ञाता हुन् । सरडोन सिंहलको व्यवस्थापिका सभाको सभासद् र पछि सभापतिमा नियुक्त भएका थिए । उनी विदेशमन्त्री पनि भए ।
इङ्गल्यान्डका भिक्षु जे.एफ.एम. केखनी निर्वाणसम्बन्धी लेख पढेर बुद्ध धर्मतर्फ लागेका थिए । उनी पालि साहित्यको अध्ययन गर्न बर्मा पुगे । दार्जिलिङ, सिक्किम र कालिम्पोङको यात्रा गरेका उनले सिक्किम राजाको अनुरोधमा गान्टोकको विभिन्न ठाउँमा बुद्धसम्बन्धी प्रवचन दिएका थिए ।
डा. कार्ल साइडेनस्टुकर जर्मनीका नागरिक थिए । प्राकृतिक विज्ञान, औषध विज्ञान र विभिन्न भाषा विज्ञानसम्बन्धी अध्ययन गरेका उनले सन् १९०३ मै जर्मनीमा पहिलो बौद्ध सङ्गठन स्थापना गरेका थिए । उनले ‘म्भच द्यगममजष्कत’ नामका बौद्ध मासिक पत्रिका निकालेका थिए । यो पच्छिममा प्रकाशित पहिलो बौद्ध पत्रिका हो । उनले हामवर्ग म्युजियम इथ्नोलोजी विभागमा काम गरेर पुरातात्विक सामग्री र दस्ताबेजसम्बन्धी अध्ययन गरेका थिए ।
डा. विलियम फ्रेडरिक स्टेड जर्मनका पालि साहित्यका अर्का जानकार व्यक्ति हुन् । संस्कार पालि र भाषा विज्ञानका ज्ञाता स्टेड सन् १९१४ मा प्रथम विश्व युद्ध सुरु हुनासाथ जर्मनी छोडी इङ्गल्यान्ड गएका थिए । उनले पालि साहित्यसम्बन्धी असङ्ख्य लेख रचना एवं समालोचनात्मक निबन्ध लेखेका थिए । उनी निष्कपट, बहुभाषिक र बौद्ध धर्म दर्शनका विद्वान् थिए ।
रत्नबहादुर वज्राचार्य पाटनका बौद्धिक व्यक्तित्व हुन् । उनले कुटीमा नेपालको मौलिक महायानी बौद्ध ग्रन्थ आर्यगुणकारण्ड व्युह सूत्रको व्याख्या गरेका थिए । बौद्ध जातिलाई उत्थान गर्ने ध्येयले ‘धर्मोदय’ पाठशाला खोली उनी प्रधानाध्यापक भएका थिए । उनी वीर पुस्तकमा नेपालभाषा र तिब्बती भाषाको प्रबन्धक भएका थिए ।
इटालीका भिक्षु ऊ. लोकनाथ जीव विज्ञान र औषध विज्ञानको अनुसन्धानमा लागेका व्यक्ति हुन् । उनले भारतलाई समुन्नत बनाउन बुद्ध धर्म अत्युत्तम भएको, जातिभेदकै कारण भारत गुलाम भएको जस्ता पत्र पुस्तकालय खोल्ने भीमराव अम्बेकडरलाई पठाएका थिए ।
चीनको हुनान प्रान्तस्थित चालिङ नगरमा जन्मेका अर्का बौद्ध विद्वान् हुन् प्रो. तान युन शान । चीनका नेता माओ त्सेतुङको राजनीतिक गतिविधिमा सरिक भएका उनी पछि देश छोडी मलेसिया र सिङ्गापुर पुगेका थिए । कविवर रवीन्द्रनाथ टैगोरबाट बुद्धदेवको प्रशंसा गरेबाट बुद्धप्रति थप निष्ठावान भएका उनले विश्व भारतीमा चिनियाँ भाषाको पाठ्यक्रमसमेत तयार गरेका थिए । उनी राहुल साङ्कृत्यायनलाई ग्रन्थ लेखनमा सहयोग गर्ने एक व्यक्ति हुन् ।
बर्माका भिक्षु ऊ. कित्तिमा सम्पूर्ण जीवन बुद्ध धर्मकै प्रचारमा जीवन बिताउने बौद्ध विद्वान् हुन् । संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषाका ज्ञाता उनी बौद्ध गृहस्थहरूलाई मैत्री र करुणाको उपदेश दिने उनी छुवाछूतविरोधी थिए ।
इङल्यान्डको लविशाम सहरमा जन्मेका डा. इडवार्ड कोन्जे माक्र्सवादी जगतका सुविख्यात व्यक्ति थिए । उनको परिवार वैज्ञानिक समाजवादका प्रवर्तक कार्लमाक्र्सका मित्र फ्रेडरिक एङ्गेल्ससित सम्बन्धित थिए । बोन र हेमवर्ग विश्वविद्यालयबाट पाश्चात्य एवं भारतीय दर्शनको तुलनात्मक अध्ययन गरेका उनले पीएचडी गरेका थिए । जर्मनीमा कम्युनिस्ट पार्टीको स्थापना र सञ्चालनमा योगदान गरेका उनी माक्र्सवादीका सक्रिय कार्यकर्ता थिए । इङङ्गल्यान्डमा मजदुर दलमा सामेल भई उनले विभिन्न कृति लेखेपछि उनी राजनीतिबाट धर्म नीतितिर लागे । उनी बुद्ध धर्मको तीन यान थेरवाद, महायान र बज्रयानका विशेष ज्ञाता थिए ।
भिक्षु विमलानद महास्थविर पनि अर्का बौद्ध विद्वान् हुन् । श्रीलङ्कामा रहेर उनले श्रीलङ्काकै नागरिकता लिए । उनले तानसेनमा महाबोधि विहारको निर्माण गरे । उनको योगदानको कदरस्वरूप श्रीलङ्काको अमरपुर निकायबाट ‘महानायक’ पद र सरकारको तर्फबाट प्रवल गोर्खा दक्षिणबाहुबाट उनी सम्मानित भएका थिए ।
हर्षमुनि शाक्य लगनटोल निवासी हुन् । युवा बौद्ध समूह काठमाडौँका अध्यक्ष हर्षमुनिको आफ्नो अनुभव यात्रा संस्मरण, नेपाली जनजाति, देश देशावर (विदेश) मा रहेका शाक्यहरूको गतिविधि सम्मिलित बुद्ध धर्मको विकासमा शाक्यहरूको देन कृति प्रकाशित भएको थियो ।
पाटनका एक कर्मठ समाजसेवी बुद्धिजीवी वाद्यवादकका गुरु मोतीलाल शिल्पकार पाटनका निवासी हुन् । एक उद्योगी, व्यापारी र समाजसेवीको रूपमा परिचित शिल्पकारले नेपाल बौद्ध परियति शिक्षाको पाठ्यक्रमअनुरूप धेरै पुस्तक लेखे ।
पाटनको नागबहाल वाकुननी निवासी अनगारिका उप्पलवण्णाले देश विदेशका बौद्ध व्यक्तित्वहरूको जीवनी लेखे । उनले युरोपका बौद्ध विद्वान्हरूसँग भेटघाट गरी बौद्धिक ज्ञानलाई फराकिलो पार्ने काम गरे ।
लेखक शाक्यले बौद्ध जगत्मा बौद्ध ज्ञान छर्ने काम गरेर आफ्नो कर्तव्य निर्वाह गरे । लेखक रत्नसुन्दर शाक्यप्रति साधुवाद छ । प्रकाशक युवा बौद्ध पुचःका प्रकाशनको निरन्तरताको कामना छ ।
Leave a Reply