भर्खरै :

मायोपिया अर्थात् दृष्टिदोष : कसरी रोकथाम गर्ने ?

मायोपिया अर्थात् दृष्टिदोष : कसरी रोकथाम गर्ने ?

समयमै पहिचान नहुँदा गुम्न सक्छ दृष्टि
मायोपिया एक प्रकारको दृष्टिदोषको समस्या हो । दृष्टिदोषको समस्या चस्मा लगाउनुपर्ने अवस्था हो । विभिन्न प्रकारका दृष्टिदोषमध्ये मायोपिया एक प्रकारको समस्या हो । यस्तो समस्यामा नजिकैको वस्तुलाई राम्रोसँग सहजै देख्न सकिन्छ भने टाढाको वस्तु हेर्न कठिन हुन्छ ।

फिजियोलोजिकल कारण
मायोपियाका धेरै कारणमध्ये फिजियोलोजिकल कारण बढी महत्वपूर्ण हुन्छ । उमेर बढ्दै जाँदा बालबालिकामा शरीरका अन्य अङ्गहरूसँगै आँखाको आकार पनि बढ्दै जान्छ । जसले आँखाको माइनस पावरलाई पनि बढाउँदै जान्छ । यो प्रकारको मायोपियालाई स्कूल मायोपिया वा फिजियोलोजिकल मायोपिया भन्ने गरिन्छ ।
कतिपय बच्चाहरूलाई जन्मजातरूपमा नै मायोपिया हुने गर्छ । त्यस्ता बच्चाहरू जन्मँदा नै आँखाको दृष्टि माइनस पावर हुन्छ । सामान्यतया बच्चा जन्मँदा प्लस तथा नर्मल पावर हुने गर्छ । यद्यपि, मायोपियाको समस्या भएका बच्चाहरूमा जन्मँदै माइनस पावर हुन्छ ।
कतिपय केटाकेटीहरूको जन्मँदै आँखाको दृष्टि एकदमै कम हुन्छ । बा–आमा अथवा परिवारका कुनै सदस्यलाई मायोपिया भएको छ भने बालबालिकामा पनि देखिन सक्छ । जसलाई कन्जन्नाइटल मायोपिया भनिन्छ । यो एकदमै दुर्लभ हुन्छ ।

आँखाको रोगका कारण हुने मायोपिया
कतिपयमा आँखामा लागेको रोग तथा आँखाको लेन्स सर्दा पनि मायोपियाको समस्या हुने गर्छ । यो थोरैमा मात्रै हुन्छ । आजकाल स्कूले बालबालिकाहरूमा हुने मायोपियाको समस्या प्राथमिकतामा पर्ने गरेको छ । अन्य प्रकारका मायोपियामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । कुनै प्रकारमा लेजर विधिले पनि मायोपियाको उपचार गरिन्छ ।

लक्षणहरू
– बोर्डमा लेखिएका अक्षरहरू पढ्न र सार्न नसक्ने,
– टाउको दुख्ने,
– आँखा झिम्म–झिम्म गर्ने,
– आँखा सानो बनाएर हेर्ने,
– समस्या बढ्दै जाँदा आँखा टेढो हुने,
– आँखाको नानी हल्लिने,
– आँखा चिलाउने, आँसु आउने,

उपचार विधि
संसारभर नै यो साझा समस्याका रूपमा पनि देखापरेको छ । मायोपियाको उपचार विधि एकदमै सजिलो र सस्तो छ । सुरुवातको समयमा बालबालिकालाई चस्मा लगाइदिन सके दृष्टिदोषको समस्या हल हुँदै जान्छ । कतिपय बच्चालाई १६ वर्ष पूरा भइसकेपछि चिकित्सकको परामर्शमा कन्ट्याक लेन्स राख्नुपर्ने हुन्छ ।
कन्ट्याक लेन्स दिनहुँ फेर्नुपर्ने हुन्छ । दिउँसोभरि लगाएर राति भने फुकालेर राख्न सकिन्छ । यसबाट मायोपियालाई हटाउने नभई दृष्टिदोषको समस्यालाई कम गर्न सकिन्छ ।
मायोपियाको उपयुक्त उपचार विधि भनेको लेजर सर्जरी हो । बालबालिकाहरू १६ वर्ष पूरा भइसकेपछि तथा आँखाको दृष्टि स्थिर भएको अवस्थामा मात्रै लेजर सर्जरी गर्न सकिन्छ । लेजर सर्जरीपश्चात् भने दृष्टिदोषको समस्या पूर्णरूपमा हटाउन सक्छ ।

रोकथाम कसरी गर्ने ?
पछिल्लो समय बालबालिकाहरूले मोबाइल फोनको प्रयोग अत्यधिक गर्न थालेसँगै मायोपियाको समस्या पनि बढ्दै गएको पाइएको छ । यो एकदमै बढ्दै जाने समस्या हो । यस्तो समस्या बढ्दै आँखाको आकार घट्दै जाने तथा पर्दा पातलो हुँदै जाने गर्छ । जसका कारण पर्दा च्यातिँदै तथा दृष्टि कमजोर हुँदै जाने हुन्छ । त्यसैले यसको रोकथाम बेलैमा हुनु आवश्यक छ ।
उज्यालोमा बस्ने–खेल्ने बालबालिकामा मायोपिया कम भएको विभिन्न अध्ययनले देखाएका छन् । त्यसकारण, बालबालिकालाई सधैँभरि कोठामा राख्नुभन्दा हरेक दिन छोटो समय भए पनि बाहिर लगेर घुमाउने, कुदाउने, खेलाउने गर्नुपर्छ ।
त्यसबाहेक बालबालिकाको आँखा सामान्त्न्दा भिन्न देखियो, रातो भयो, चिलायो, हेर्दा झिमझिम भइरह्यो, आँखा चिम्सो पारेर हेर्नुप¥यो, आँखामा टेडोपन देखियो अथवा आँखामा कुनै पनि किसिमको समस्या देखाप¥यो भने तुरुन्तै नजिकैको आँखा अस्पतालमा गएर देखाउने र समयमै उपचारमा गराउनुपर्छ ।

– दृष्टि समस्या आउनासाथ झोल औषधि (ड्रप) को प्रयोग गर्ने ।
– माइनस पावरलाई बढ्न नदिन चिकित्सकको सल्लाहमा चस्माको प्रयोग गर्ने ।
– कन्ट्याक लेन्सको प्रयोग गर्ने ।
– मोबाइल तथा ल्यापटपको प्रयोग कम गर्ने ।
– बच्चालाई कम्तीमा दैनिक २ घण्टा घरबाहिर खेल्न दिने ।

नेपालका ५० प्रतिशत बालबालिकामा हुनसक्छ मायोपिया
संसारमा सन् २९५० सम्ममा ८० प्रतिशत जनसङ्ख्यामा मायोपियाको समस्या हुने आकलन गरिएको छ । त्यस्तै, कोरोना महामारीश्चात् मायोपियाको समस्यामा अझै बढेको अनुसन्धानहरूले देखाएका छन् ।
कोरोना महामारीका समयमा बालबालिकाहरूले घरमै बसेर अध्ययन गर्नुपर्दा स्क्रिनको प्रयोग बढ्यो । त्यसकारण, कोरोनापछि मायोपियाको समस्या बढेको हो । नेपालका करिब ५० प्रतिशत बालबालिकामा मायोपियाको समस्या रहेको अनुमान छ ।
(डा. अधिकारी बाल नेत्ररोग विशेषज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *