जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
संसारमा अहिलेको वैचारिक द्वन्द्व समाजवाद र पुँजीवादबिचको हो । संसारका विभिन्न मुलुकमा साम्राज्यवाद, विस्तारवाद र पुँजीवादको विरोध बढ्दै छ । साम्राज्यवादी तथा विस्तारवादी देशहरूको आक्रमण, थिचोमिचो, हस्तक्षेपको निन्दा गर्दै समाजवादी, वामपन्थी शक्ति र देशभक्त जनता उठ्दै छन् । त्यसमध्ये केही देशबाहेक संसारका अधिकांश मुलुक साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाको विरोधमा छन् । साम्राज्यवादी देशहरू अहिले पनि सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी देशहरूलाई आफ्नो उपनिवेश बनाउन चाहन्छन्, त्यहाँ पुँजीवादको पुनः स्थापना गर्न चाहन्छन् । अरू देशलाई जुधाउने, आन्तरिक कलह बढाउने, द्वन्द्व चर्काएर हतियार बेच्ने काम अमेरिकाले गरिरहेको छ । साम्राज्यवादी देशहरू समाजवादी व्यवस्थालाई सैद्धान्तिक र राजनीतिकरूपले असफल पार्न अनेक षड्यन्त्र रच्छन्; अन्तरध्वंस मच्चाउँछन् ।
समाजवादी अर्थतन्त्र पुँजीवादी अर्थतन्त्रभन्दा नयाँ हो । विगतका कमी कमजोरी औँल्याएर समाजवादी अर्थतन्त्रलाई मजबुत बनाउने काम समाजवादी देशको हो । समाजवादी देशले गरिरहेको काम यही हो । क्युवाको स्वास्थ्य स्थिति विकसित देशमा जस्तै छ । क्युवाको सबै जनता साक्षर छन् । स्वास्थ्य उपचार निःशुल्क हुन्छ; शिक्षा निःशुल्क हुन्छ । काममामको बन्दोबस्त छ । यसरी राम्रो व्यवस्था हुनुको कारण देशको जनमुखी आर्थिक नीति हो; समाजवादी अर्थतन्त्र हुनु हो । क्युवा साम्राज्यवादी हस्तक्षेप र आक्रमणको विरोध गर्छ; प्रजातान्त्रिक जनगणतन्त्र पनि विरोध गर्छ । आक्रमण र हस्तक्षेपको विरोध ग¥यो भनेर अमेरिका ती देशहरूमा नाकाबन्दी गर्छ । आक्रमण र हस्तक्षेपको पनि विरोध गर्न नहुने ! जनमुखी आर्थिक नीति तयार गर्नु नै समाजवादी अर्थतन्त्र हो; समाजवादीहरू समाजवादी अर्थतन्त्रको पक्षमा छन् ।
अर्थतन्त्र विकास गर्न र जनताको काम मामको व्यवस्था गर्ने काम समाजवादी अर्थतन्त्रले गर्छ । चीन, क्युवा, प्रजग कोरियाजस्ता देशहरूले जनमुखी नीति तयार गरे; समाजवादी अर्थतन्त्रअनुसार काम गरे । ऐन, कानुन र सरकारले गर्ने निर्णय बहुमत जनताको पक्षमा हुन्छ । समाजवादी अर्थतन्त्रले ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ को सिद्धान्त लागु गर्छ । त्यस व्यवस्थामा कसैले कसैलाई शोषण गर्दैन; अरू देशमाथि आक्रमण र लुटपाट गर्दैन । तर, अमेरिकाजस्ता साम्राज्यवादी देशहरू अरूलाई जुधाएर हतियार बिक्री गर्छन् र आयआर्जन गर्छन् । संसारभरि आफ्नो हैकम कायम गर्न ती शक्तिशाली देशहरू गुप्तचर खेलाउँछन्; झूटको खेती गर्ने र आन्तरिक द्वन्द्व बढाएर दल फुटाउने मान्छे प्रयोग गर्छन् । यसको लागि पैसाको छेलोखेलो गरिएको हुन्छ । रुस–युक्रेन र इजरायल र प्यालेस्टिनको युद्ध यसैका कारक हुन् ।
संसारका स्वाधीन र सार्वभौम मुलुकमा फाटो ल्याउने, द्वन्द्व चर्काउने, आन्तरिक कलह गराउने, साम्राज्यवादविरोधी देशमा आर्थिक नाकाबन्दी गराउने, देशको विकासमा बाधा पु¥याउने, विकास रोक्ने, व्यापार युद्ध गर्ने, सधैँ आफ्नो प्रभुत्व कायम गर्ने काम संयुक्त राज्य अमेरिकाले गरिरहेको यथार्थ हो । अमेरिकाले युद्ध गर्न र गराउन उक्साउने काम र आर्थिक हतियार सहयोग गरे पनि संयुक्त राष्ट्र सङ्घ मौन छ । संसारका स्वाधीन र सार्वभौम मुलुकको सुरक्षा गर्न, शान्ति कायम गर्न भूमिका खेल्ने संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बनेको छ । संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली भएकोले पनि संसारका विभिन्न मुलुक आक्रान्त र असुरक्षित बनेका हुन् । यहाँ कुन देशमा कहिले आक्रमण हुन्छ र ध्वस्त पार्छ भन्ने थाहा हुँदैन । यसरी साम्राज्यवादविरोधी देशहरू जहिल्यै आतङ्कित र असुरक्षित भएर बस्नुपर्ने स्थिति छ । यसरी संसारका स्वाधीन र सार्वभौम देशलाई आतङ्कित पार्ने, आक्रमण गर्ने देशलाई कसले कहिले कारबाही गर्ने ? के यो संसार भनेको संसारका साम्राज्यवादी शक्तिशाली देशहरूको हो ? के अरू मुलुकहरू उनीहरूकै अधीनमा बस्नुपर्ने ? अरूको भरमा, अरूको अधीनमा रहेर देश कहिल्यै स्वतन्त्र र सार्वभौम हुन्छ ? यसमा संयुक्त राष्ट्र सङ्घ किन मौन ! अतः जहिलेसम्म देशमा साम्राज्यवादी, विस्तारवादी र उपनिवेशवादी शक्तिहरू रहन्छन् तहिलेसम्म संसारमा शान्ति हुने छैन; देश सुरक्षित हुने छैन र निर्ममपूर्वक शासन गर्न पाउने छैन । यसका दोषी साम्राज्यवादी देशहरू नै हुन् ।
Leave a Reply