भर्खरै :

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

बेरुत, २० अक्टोबर (एएफपी) । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निवासमा आक्रमण गरेर उनको हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलनमाथि आरोप लागेपछि यी आक्रमण भएका हुन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, “शत्रु (इजरायली) विमानहरूले आज बिहान हारेत ह्रेइकमा एक मस्जिद र अस्पताल नजिकै एक आवासीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरहरूमा दुई वटा आक्रमण गरे ।”
इजरायली सेनाले यसअघि नै छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक बस्ने नागरिकहरूलाई तुरुन्तै खाली गर्न ‘जरुरी चेतावनी’ जारी गरेको थियो ।
सेनाका अरबी प्रवक्ता अभिचय अद्राईले टेलिग्राममा भन्नुभएको थियो, “तपाईँ हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडीएफ (इजरायली सेना) ले निकट भविष्यमा कारबाही गर्नेछ ।”
केन्द्रीय सहर कैसरियामा इजरायली प्रधानमन्त्रीको निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएको तर प्रधानमन्त्री नेतान्याहू र उहाँकी पत्नी घरमा नभएकाले कोही पनि घाइते नभएको नेतान्याहूको कार्यालयले शनिबार जनाएको थियो ।
इरानले नेतन्याहूको निवासमा भएको आक्रमणको पछाडि हिजबुल्लाहको हात रहेको बताएको छ । हिजबुल्लाहलाई इरानले हतियार तथा वित्तीय सहयोग गर्दछ ।
इरानको आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिशनले भन्यो, “यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो ।” हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन ।
इजरायलले अक्टोबर १ को क्षेप्यास्त्र प्रहारका लागि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध बदला लिने प्रतिज्ञा गरेको छ । इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *