सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
हाम्रो देश आज पनि खेती र वन–जङ्गलको आम्दानीमा निर्भर छ । वैज्ञानिक खेतीको विकास नभएसम्म त्यसलाई आकाशे खेती भन्नुपर्छ । आकाशे खेतीको जगमा निर्माण भएको अर्थतन्त्रको भवन मौसमको हेरफेरमा चिरा पर्ने सम्भावना हुन्छ । देशको अर्थतन्त्रलाई प्राकृतिक स्रोतकै आधारमा जिउँदो राख्नु जङ्गली र गाउँले अवस्था हो । मानिसको बुद्धि र मेहनतले तयार गरेको साधनमा बाँच्न जान्नु सभ्यताको श्रीगणेश हो । हलो जोत्नु, मल हाल्नु र कुलो लगाउन जान्नु मानिसले सभ्यताको सङ्घारमा पाइला हाल्नु थियो । खेतीको विकासले व्यापार र यातायातलाई अगाडि बढाउन मद्दत मिल्यो । व्यापार र यातायातको विकासले उद्योगको क्षितिजलाई उघारिदियो । उद्योगको विकासले देशमा सम्पन्नता ल्यायो† विज्ञान र प्राविधिक ज्ञानलाई हौस्यायो ।
हाम्रो देश एक विकासोन्मुख देश हो । पुँजी र प्राविधिक ज्ञानलाई प्रयोग गरेर हामीले कसरी छिटो आर्थिक विकास गर्ने हो भन्ने विषय नै हाम्रो देशको आर्थिक विकासको बाटोमा तेर्सिएको ठुलो प्रश्न हो । निश्चय नै उद्योगको विकासविना समृद्धि र सम्पन्नता आकाशको फल हुनेछ; आत्मनिर्भरता र स्वतन्त्रता कागजमा सीमित वस्तु मात्रै रहनेछ । उद्योगको विकास गर्न पुँजीको आवश्यकता छ । एकआपसमा जेलिएको आर्थिक विकासको सन्दर्भमा कुन क्षेत्रलाई कसरी प्राथमिकता दिने हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
हाम्रा केही अर्थशास्त्रीहरू खेतीमै जोड दिन्छन् । तिनीहरू पुँजी र प्राविधिक ज्ञानको कमी अनुभव गर्छन् र बजारको कमीले उद्योगको विकास गर्न सकिन्न भन्ने सोच्छन् । तिनीहरू देशको भू–राजनीतिक बाध्यता नै यसको महत्वपूर्ण कारण मान्दछन् । कारण जेसुकै भए पनि त्यस ठम्याइले देशलाई अगाडि बढाउँछ वा अरूको भरमा पार्छ ? यसबाट देशको अर्थतन्त्र अगाडि बढ्ला वा झन्झन् चौपट होला ? प्रश्न हाम्रो अगाडि छ । पुँजी, प्राविधिक ज्ञान, अनुभव र बजारको कमीले देशलाई औद्योगिक बाटोमा लैजान सकिन्न भन्ने सोच्नु निराशावादी सोचाइ हो र यसले देशलाई होइन विदेशलाई फाइदा गर्छ । उद्योगको विकास नभई खेतीको विकास हुन्न भन्ने कुरा खेतीमा जोड दिने अर्थशास्त्रीहरूलाई थाहा हुनैपर्छ । खेतीको ज्यावल, मल, कीरा मार्ने विषादी र सिँचाइको बन्दोबस्तले खेतीको राम्रो विकास हुन्छ । कृषि–ज्यावल कारखाना, मल कारखाना, कीरा मार्ने विषादीको निम्ति रासायनिक कारखाना तथा सिँचाइको निम्ति पक्की नहर बनाउन इँट एवम् फलामको कारखाना र इँटा भट्टाको खाँचो पर्छ । ती कारखानाहरूको निम्ति कोइला या विद्युत्, फलाम खानी, जुट वा बोरा बनाउने कारखाना, विषादी राख्ने टिन र विषादी छर्ने सामान बनाउने कारखाना र त्यसको ओसारपसारको निम्ति बाटो घाटो र यातायातको साधन आवश्यक हुन्छ । हरेक मोटर वा ट्रकसँगै एउटा ज्यासलको आवश्यकता हुन्छ । यी सबै कुरालाई ध्यान दिँदा कृषिसम्बन्धी उद्योगको खाँचो अनुभव हुन्छ । यसबारे ध्यान नदिई खेती गर्दा के त्यसको आत्मनिर्भरता तासको घरजस्तै भत्किन्न ?
सुरुमा खेतीको निम्ति आवश्यक उद्योगको निर्माणले दोहोरो–तेहोरो फाइदा हुन्छ ।
एक, खेतीमा भएको बोझ हलुका हुन्छ; मौसमी खेतीबाट फालिने श्रम शक्तिको उपयोग हुन्छ; किसानहरूमा श्रमिक स्वभावको विकास हुन्छ र समाज मध्यकालीन अध्यात्मवादी युगबाट वैज्ञानिक औद्योगिक युगमा पदार्पण हुन्छ ।
दोस्रो, कृषिको लागि चाहिने विदेशी ज्यावल, मल, कीरा मार्ने विषादी र सिमेन्ट आदिको निम्ति विदेशिने रकम बच्छ; उद्योगको थप श्रम र व्यापारको वृद्धिले राष्ट्रिय पुँजीको विकासमा सहायता पुग्छ । खेतीसम्बन्धी मुख्य र सहायक कारखानाले खप्पिस ज्यामीहरूको विकास हुन थाल्छ र औद्योगिक मनोवृत्ति एवम् औद्योगिक विकासले टेवा पाउँछ ।
तेस्रो, कृषि विकास भन्नु सारा गाउँ वा देशकै विकास गर्नु हो† देशको ९० प्रतिशत किसान जनताको जीवनस्तर उठाउनु हो† त्यो विशाल श्रमशक्तिलाई परिचालन गर्नु हो ।
प्रश्न उठ्न सक्छ, कृषिको विकास गर्न पनि त पुँजीको आवश्यकता हुन्छ । हो, कृषिको विकास गर्न पुँजीको आवश्यकता हुन्छ । तर, गरिब विकासोन्मुख देशले कसरी त्यो आवश्यकता पूरा गर्न सक्छ ? के पुँजीविना त्यो सम्भव छ ? विश्व बैङ्क, मित्र राष्ट्र वा अन्य अन्तर्राष्ट्रिय ऋणदाताहरू पुँजीका स्रोत भए तापनि साम्राज्यवादी हतियारको रूपमा रहँदै आएका छन् । यसको विकल्पमा अहिले उपनिवेशवादविरोधी देशहरूको आर्थिक सङ्गठन ब्रिक्स, एसियाली पूर्वाधार विकास बैङ्क आदि देखापरेका छन् । होइन, विदेशी सहायता र ऋणमा भर नपरी आफ्नो खुट्टामा उभिने हो भने राष्ट्रिय पुँजीकै खाँचो पर्छ । त्यसको निम्ति राष्ट्रिय ऋण र राष्ट्रिय पुँजीलाई उत्साहित गर्ने पुँजी नीति अपनाउनु आवश्यक छ ।
उत्पादनमा वृद्धि ल्याउनु नै पुँजी जम्मा गर्ने पहिलो खुड्किलो हो । पहिलो बालीमा उत्पादन गर्ने योजना बनाउँदा पुँजीको कमी हुन्छ । तर, हामीसँग पुँजी बनाउने श्रमशक्ति छ । भएकै कृषि ज्यावलले हामी उत्पादन वृद्धि गर्छौँ । हामी आफ्नै घरका झारपात र गोबरबाट कम्पोस्ट मलको विकास गर्छौँ । कच्चा नहर वा इँटाको नहर बनाएर पानी खेत–खेतमा पु¥याउँछौँ । इँटा त काठ वा दाउराले पोल्छौँ । नहर खन्न र इँटा बनाउन ज्यालादारी नभई श्रमदान र देश विकासको सामूहिक भावनाले पनि सुरुमा काम गर्न सक्छौँ । गोडमेलमा बढी ध्यान पु¥याउँछौँ । यसले हाम्रो उत्पादनमा वृद्धि ल्याउँछ । एक बालीमा वृद्धि भएको उत्पादनलाई कृषि ज्यावल, नयाँ बिउ र कीरा मार्ने विषादीमा लगाउँछौँ । अर्को बालीको उत्पादन झन् बढ्छ । हामीसँग यसरी बिस्तारै पुँजी जम्मा हुन थाल्छ । सानो राष्ट्रिय पुँजीकै भरमा पर्दा देशको अर्थतन्त्र पछि पर्छ । साम्राज्यवादविरोधी देशहरूको पुँजीलाई उपयोग गर्दा देशको आर्थिक विकास छिटो हुन्छ । त्यसैले, सबभन्दा पहिले आफ्नो श्रमलाई भूमिमा लगाउनुपर्छ, कसरत गर्दा शरीर बलियो भए जस्तै यसबाट जग्गामा बढी उत्पादन हुन्छ । भनिन्छ, तपाईँको हलो माटोमा जति गहिरो गड्छ उति जरा लामो हुन्छ; जति जरा लामो हुन्छ फल उति राम्रो हुन्छ । अनि, कुलो र नहरमा जोड दिनुस् किनभने ‘पानी खेतीको निम्ति रगत हो’; मल दिनुस् ‘मल खेतीको निम्ति ग्लुकोज हो ।’ कुलो र नहर खेतीको लागि हाम्रो शरीरका रगतनलीहरू जस्तै हुन् । कीरा मार्ने विषादी रोग निको पार्ने उपचार हो; यसले शरीरमा बल बढाउँछ; फल सपार्छ । नयाँ–नयाँ बिउले भिटामिन र टनिकयुक्त फल दिन्छ । उखान छ, ‘राम्रो बिउको राम्रो फल ।’
कृषि उद्योगको विकासले हलो, ट्याक्टर, धान झाँट्ने थ्रेसर मेसिन, सामान लैजाने साधनको विकास हुन्छ । मल, कीरा मार्ने विषादी र नयाँ बिउको विकास हुन्छ । यसले खेतीमा दोब्बरभन्दा बढी विकास हुन्छ । यस हिसाबले खेतीको वृद्धिले उद्योगको विकासमा मद्दत गर्छ र उद्योगले खेतीमा ठुलो सहयोग गर्छ । यो एक आपसमा भरपर्ने कुरा हो । तर, प्राथमिकता कसलाई दिने ? हाम्रो वास्तविक स्थिति र परम्पराले हामीलाई खेतीमा प्राथमिकता दिन भन्छ । खेतीकै खाना खाएर जग्गामै कारखाना बनाउँछौँ । अन्न खाएरै खानी खन्छौँ र जग्गामा फुलेको कपासबाट कपडा बुन्छौँ । आफ्नै भूमिमा, आफ्नै जगमा उभिन्छौँ । यसकारण, हामी भूमिलाई आधार बनाएर मात्रै देशको विकास गर्न सक्छौँ ।
त्यसो भए हामीले उद्योगमा ध्यान नदिने त ? उद्योग हाम्रो हात हो । आज उद्योगको विकास नै सभ्यताको विकासको नापो भइसकेको छ । उद्योगले हाम्रो मेहनत बच्छ । १ मुरी धान बराबर १ जोर जुत्ता हुन्छ । यसको अर्थ जुत्ता ५–६ दिनको श्रम हो र धान ५–६ महिनाको फल हो । सहरको केही पाउ लिएर गाउँको केही धार्नी दिनु भनेको यही हो । खेतीमा भन्दा उद्योगमा नाफा हुन्छ । खेतीको मौसमपछि वा अन्न स्याहारेपछि फाल्तु वा उब्रेको श्रमलाई जग्गामा नगदे बाली लगाउन खर्चेजस्तै पुँजी, खानी र अरू वस्तुको उचित उपयोगमा ल्याउन उद्योगको विकास गर्नु आवश्यक छ । नदी–नाला र झरनाबाट बगिरहेको हिमालको बरदानलाई उपयोग गर्न पनि हामीले उद्योगको विकासमा ध्यान दिनु आवश्यक छ । सार्वभौमिकता र स्वतन्त्रताको निम्ति आत्मनिर्भरता अत्यावश्यक छ । यो कुरो हाम्रो जस्तो भू–परिवेष्ठित र तुलनात्मकरूपले निर्बलियो देशको निम्ति अझ सही छ । आत्मनिर्भरताको निम्ति औद्योगीकरण पनि जरुरी छ । तर, आफूसँग नभएको उद्योग र प्रविधिमा भने आत्मनिर्भरताको नाममा परम्परावादी भई अरूबाट नलिए देश पछि पर्छ ।
प्रश्न उठ्न सक्छ, के पुँजी, यातायात, प्राविधिक ज्ञान, कच्चा माल र बजारको कमी भएको अवस्थामा औद्योगीकरणको नीति सफल हुन सक्ला ? एक–एक थोपाले घडा भरिन्छ । २–४ वर्षभित्र कृषिमा ठुलो विकास गर्न सके हामीसँग केही पुँजी जम्मा हुनेछ । विदेशी सामानको उपयोग नगर्ने राजनीतिक चेतनाको विकास र स्वदेशी वस्तु उपयोग गर्ने देशप्रेमको भावनाले पुँजी कमीको समस्यालाई धेरै हदसम्म फुकाइदिन्छ । यातायातको विकासमा पनि जनताको सहयोगले ठुलो महत्व राख्छ । यातायातको विकासकै सिलसिलामा किसानहरू मजदुरमा परिणत हुन्छन् । मानसिकरूपले मजदुर भएका किसानहरू बिस्तारै प्राविधिक कामदारको निम्ति लायक हुन्छन् । उच्च प्राविधिक ज्ञानको निम्ति हामीसँग अन्तर्राष्ट्रिय सद्भाव र सहयोग पनि छ । अन्तर्राष्ट्रिय सद्भाव र सहयोग पनि नेपालको एउटा ठुलो पुँजी हो । यो अदृश्य पुँजी नेपाली रगत र उदारता, कूटनीतिक सफलता र बढ्दो अन्तर्राष्ट्रिय देन हो । औद्योगीकरणको उद्देश्यले कच्चा मालको विकासमा द्रुतता ल्याउँछ । ‘बजारको कमी’ भन्नाले बाहिरी बजार भएमा ठुलो आकारको उत्पादन हुन्छ भनी बुझौँ ! ठुलो आकारको उत्पादनले वस्तुको लागत मूल्यमा कमी ल्याउँछ अथवा सस्तो सामानले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ । तर, नेपालको दुवैतिर ठुल्ठुला र उद्योगमा विकसित देशहरू भएका हुनाले त्यो बाहिरी बजार पाउन सम्भव छैन । हामीकहाँ बाहिरी बजारको उद्देश्यले नभई पहिले घरेलु आवश्यकता पूरा गर्न मध्यम र सानो दर्जाका उद्योगहरू स्थापना गर्नुपर्छ । विद्युत्को उत्पादन र हामीमा प्राविधिक ज्ञानको राम्रो विकास भएपछि प्रथम दर्जाका उद्योग बनाएर विदेशी बजारमा पनि नेपालले योगदान दिन सक्नेछ । कस्तुरी, चरेस, गाँजा, भाङ र जडीबुटीजस्ता नेपालकै प्रकृतिमा पाइने र अन्य देशमा नपाइने वस्तुको उद्योग स्थापना गर्दा नेपालले पनि विदेशी बजारमा ठाउँ पाउनेछ । फलफूल, खाद्य पदार्थ, दूध र मासुजन्य उत्पादन उद्योगमा नेपालले विकास गर्ने सम्भावना बढेको छ ।
तर, अहिलेलाई मध्यम र साना दर्जाकै उद्योगहरू स्थापना गर्नु उत्तम हुनेछ । यसका निम्न कारण छन् :
१) पुँजी, प्राविधिक श्रम र अनुभवबाहेक देशको भौगोलिक स्थिति पनि यसको कारण हो । देशको सबै ठाउँमा यातायातको विकास छिट्टै गर्न सकिन्न । एउटै ठाउँमा ठुलो उद्योग राखिएको खण्डमा ओसारपसारमा बढी खर्च लाग्छ ।
२) त्यति नै पुँजीले २–३ ठाउँमा उद्योग खोल्नाले सबै इलाकामा समान र सन्तुलित विकासको सम्भावना बढ्नेछ ।
३) भिन्न–भिन्न ठाउँ र हावापानीमा भिन्दाभिन्दै उद्योग खोल्नाले उद्योगमा विविधता र विशिष्टता हासिल गर्न सजिलो हुन्छ ।
४) युद्धको सम्भावना कम भए पनि त्यसको अन्त्य भएको छैन तर त्यसको रूप भने फेरिँदै छ । सबै फुल एकै टोकरीमा राख्नु जोखिमपूर्ण हुन्छ । सुरक्षाको दृष्टिले पनि ठुल्ठुलो उद्योग एकै ठाउँमा नराखी सबै विकास क्षेत्रमा मझौला र साना उद्योगको विकास गर्नु उचित हुन्छ ।
आज ठुल्ठुला उद्योगको युगमा के स–साना उद्योगको अस्तित्व रहला ? वा, ठुला उद्योगको युगमा साना उद्योग टिक्न सक्लान् ?
जापान, जर्मनी, बेलायत, अमेरिकाजस्ता उद्योगमा अगाडि बढेका देशहरूमा पनि मझौला, साना र घरेलु उद्योगसमेत चालु छन् । स्विजरल्यान्ड, चेकोस्लोभाकिया, अल्बानिया, हङ्गेरी, बुल्गेरियाजस्ता देशको त कुरै छोडौँ ।
चीनजस्तो विशाल जनसङ्ख्या र ठुला उद्योगको सम्भावना भएको देशमा पनि ठुला–साना दुवैथरी उद्योगलाई सँगसँगै लाने नीति लिइएको थियो । पुँजीको कमीका कारण पुरानो उद्योगलाई पनि उपयोग गर्न वा नयाँ उद्योगले मात्रै बेकारी समस्यालाई छिट्टै हटाउन नसक्ने हुँदा चीनले त्यो नीति लिएको थियो । यसकारण, हाम्रोजस्तो भर्खर उद्योगमा ‘बामे सर्न’ लागेको देशको निम्ति मझौला र सानो दर्जाका उद्योग देशको आकार, जनसङ्ख्या, पुँजी आदि सबै दृष्टिले उचित देखिन्छ । ठुल्ठुला उद्योगहरू ठाउँठाउँमा केन्द्रित हुँदा जनसङ्ख्या एक ठाउँमा केन्द्रित हुनुका साथै बजार, बसोबास र वायु प्रदूषणको पनि समस्या आउँछ । विदेशका ठुलठुला औद्योगिक सहर र केन्द्रको निम्ति यो ठुलो समस्या भइसकेको छ । ठुलो वस्तुको ठुलै कमजोरी हुने गर्छ । त्यसलाई सम्हाल्न पनि गा¥हो पर्छ । विकसित देशसामु पनि आज वायु प्रदूषणबाट जोगिनका लागि औद्योगिक केन्द्रीयताबाट जोगिनु ठुलो चुनौती बनिरहेछ । यसकारण, मझौला र साना उद्योगले गर्दा भविष्यमा हामी प्रदूषणका ती समस्याबाट जोगिनेछौँ ।
देताँ, तनाव न्यूनीकरण, भद्रता, निःशस्त्रीकरण र शान्ति प्रयासले प्रत्यक्ष युद्धको सम्भावना घटाएको छ तापनि हरेक शान्ति र स्थिरताको नारापछि एउटा युद्ध भएको छ । यसकारण, हाम्रो औद्योगीकरणको नीतिलाई रणनीतिक दृष्टिले पनि हेर्न आवश्यक हुन्छ । देशको एउटै ठुलो उद्योग एकै ठाउँमा मात्र छ भने त्यो जोखिमको कुरो हुनेछ । मझौला र साना उद्योग घरभित्र वा जमिनभित्र पनि बनाउन र सञ्चालन गर्न सकिने बन्दोबस्तलाई बिर्सन सकिन्न । त्यस्ता उद्योगमा जस्तोसुकै बमबारीको समयमा पनि उत्पादन यथावत चालु रहन सक्छ । भियतनाम यसको ज्वलन्त उदाहरण थियो । आफूले नियन्त्रणमा राख्न नसकिने वस्तुले नै आफूलाई नियन्त्रण गर्छ वा त्यो भालुको कम्पट हुन्छ । यसकारण, नेपालको उद्योग नेपालको भूगोल र स्थानीय स्रोतअनुकूल हुनुपर्छ भन्ने निर्योल गर्न सकिन्छ ।
उद्योग स्थापनाको इलाका पनि छलफलको महत्वपूर्ण विषय हो । औद्योगिक क्षेत्र देशको भित्री मधेस वा मध्य पहाडी इलाकामा रहनुपर्ने देखिन्छ । यसका निम्न कारण छन् :
१) तराई हाम्रो अन्नको भण्डार हो । खेतीको बढ्दो विकासले मात्रै उद्योगलाई चाहिने कच्चा पदार्थ र अन्नको माग पूरा गर्नेछ । यसकारण, तराईमा औद्योगिक खेतीको विकास गर्नुपर्छ ।
२) भित्री मधेस वा मध्य पहाडी इलाकामा खानी र यातायातको विकास गरिनुपर्छ । त्यसले सस्तो ज्यामी र न्यून पुँजीको सम्भावना बढाउँछ तथा बेकारी समस्या पनि सुल्झिन्छ । दक्षिणको जनसङ्ख्याको दबाब घट्छ । समान आर्थिक विकासको अवसर प्रदान गर्छ । आर्थिक वा यातायातको दृष्टिले पनि त्यो लाभदायी हुन्छ ।
३) कच्चा पदार्थ, शक्ति र श्रमको नजिकै उद्योग भएपछि उत्तर र दक्षिण† पूर्व र पश्चिममा विभिन्न किसिमका खेतीपाती, खानी, यातायात र उद्योगको विकास भएर देशका समस्त भागले आर्थिक विकासमा समान योगदान दिने मौका पाउनेछन् । कामको निम्ति विदेशी नोकर र विदेशी तोपको खुराक भएर नेपाली जनताले कलङ्कको टिको लगाउनुपर्ने छैन ।
४) सुरक्षाका दृष्टिले उद्योगलाई सीमा क्षेत्रमा राख्नु राम्रो कुरा होइन । आजको युगमा उद्योगको चाल नै देशको ढुकढुकी हो । यसको सुरक्षा गर्नैपर्छ । यसकारण, भित्री मधेस र मध्य पहाडी इलाकालाई नै उद्योगको क्षेत्रमा बदल्नुपर्छ ।
आफ्नै देशको वनजङ्गल, खानी र हावापानीमा उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योगलाई पहिलो स्थान दिनु सबै दृष्टिले लाभप्रद हुनेछ । यसरी देशभरि मझौला, साना र घरेलु उद्योग आकाशका ताराजस्तै चमचम चम्कनेछन् र पछि ठुल्ठुला उद्योग चन्द्रमा जस्तै एक–दुइटा उदाउनेछन् ।
टिपोटहरू :
१) २०७८ सालको जनगणनाअनुसार कृषि पेसामा लागेकाहरू ६८ प्रतिशत छन् ।
२) सन् २००९ मा आर्थिक सहकार्यका निम्ति ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर स्थापित ब्रिक्स साम्राज्यवादइतर विकल्प बन्दै छ ।
३) फ्रान्सेली शब्द देताँको अर्थ सम्झौता गरी तनाव मत्थर पार्नु हो ।
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास
Leave a Reply