भर्खरै :

भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर, ८ कार्तिक । भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार बस्यो ।
बैठकमा प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव हो ।”
उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने पाँचदिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति र उपसमितिहरू गठन गरिएको जानकारी गराउनुभयो ।
भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उहाँले महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीहरूलाई सहयोग हुने अपेक्षा गरिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई सबैको साझा उत्सवको रूपमा मनाउन आग्रह गर्दै भक्तपुरलाई महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महोत्सव अवधिभर नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक, बजार व्यवस्थापन आदि विषयमा सम्बन्धित निकायबाट आपसी समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले महोत्सव सफल पार्न सम्पूर्णको सहयोग रहने अपेक्षा व्यक्त गर्दै पाँचदिने भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
भक्तपुर महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरूबारे सङ्क्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न समितिका सदस्यहरूले भक्तपुर महोत्सव सभ्य र भव्यरूपमा सफल पार्न आ–आप्mनो तर्पmबाट रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *