भर्खरै :

नगर प्रमुख प्रजापतिसँग जर्मनीका राजदूत एच. ई. उडो युएन भोल्जको भेट

नगर प्रमुख प्रजापतिसँग जर्मनीका राजदूत एच. ई. उडो युएन भोल्जको भेट

भक्तपुर, ७ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालका लागि जर्मनीका राजदूत महामहिम श्री एच. ई. उडो युएन भोल्जले भेट गर्नुभयो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले नेपाल र जर्मनीबिच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै जर्मनी सरकारले नेपालको शिक्षा, प्राविधिक क्षेत्र तथा सम्पदा संरक्षणमा महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा जर्मनीले पु¥याएको योगदानप्रति नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उक्त सन्देश जर्मनी सरकार र जनतासमक्ष पु¥याइदिन राजदूतलाई अनुरोध गर्नुभयो ।
भक्तपुरमा सन् १९७४ देखि सञ्चालन भएको भक्तपुर विकास परियोजनामार्फत यहाँका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा जर्मनी सरकार र जर्मनीका जनताको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले भक्तपुरवासीले उक्त योगदान सधैँ स्मरण गरिरहने बताउनुभयो । स्थानीय भाषा, संस्कृति र वातावरणबारे पर्याप्त जानकारी नहुँदा जर्मनी पक्षबाट केही कमीकमजोरी भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
जर्मनी सरकारको सहयोगमा भक्तपुरमा निर्माण भई सञ्चालनमा आएका दुईवटा उपचार पोखरी पछि नेपाल सरकारलाई हस्तान्तरण गरिएको स्मरण गर्दै उहाँले तालिम प्राप्त जनशक्तिको अभावमा ती पोखरी व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । लामो समयदेखि बन्द रहेका हनुमानघाट र सल्लाघारीस्थित उपचार पोखरीहरूको पुनर्निर्माण कार्य भइरहेको जानकारी दिँदै उहाँले निर्माण सम्पन्न पछि पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको इतिहास, नेवारी संस्कृति, वास्तुकला, जात्रा, धर्म र सामाजिक जीवनबारे जर्मन लेखकहरूले गरेको अध्ययन महत्वपूर्ण रहेको उल्लेख गर्दै निल गोट्सोले भक्तपुरलाई ‘जीवित सङ्ग्रहालय’ का रूपमा व्याख्या गर्नुभएको स्मरण गर्नुभयो । उहाँले जर्मन विद्वानहरूका यस्ता अध्ययन तथा प्रकाशन नेपाल र भक्तपुरको इतिहास बुझ्न महत्वपूर्ण सन्दर्भ सामग्री बनेको बताउनुभयो ।
भेटमा जर्मनीका राजदूत उडो युएन भोल्जले भक्तपुरसँग जर्मनीको सम्बन्ध विशेष रहेको बताउँदै भक्तपुर विकास परियोजना विशिष्ट महत्व बोकेको परियोजना भएको उल्लेख गर्नुभयो । उहाँले उक्त परियोजना सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसले भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ तथा विकासमा महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । उहाँले भक्तपुर उपत्यकाकै सफा र व्यवस्थित सहर भएको पनि उल्लेख गर्नुभयो ।
भक्तपुर विकास परियोजनाको इतिहास र यसले पु¥याएको योगदानबारे नयाँ पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गर्न लागेको उहाँले बताउनुभयो । प्रदर्शनीले विगतमा भएका विकासका प्रयास र उपलब्धिबारे नयाँ पुस्तालाई बुझ्न सहयोग पुग्ने बताउनुभयो । उहाँले जर्मन चान्सलर १९८७ मा भ्रमण गर्नुभएको ४० वर्ष पुगेको अवसरमा केही विशेष कार्यक्रम राख्ने योजना रहेको पनि सो अवसरमा जानकारी दिनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले जर्मनीका राजदूतलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल तथा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित विभिन्न प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *