शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
‘जनता म्वासा भाषा म्वाइ’ अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने उद्घोषका साथ गत असोज २८ र २९ गते दुई दिन भक्तपुरको लाँम्हुग टोलमा चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या भयो । नेपाल विभिन्न जातजाति र विभिन्न भाषाभाषीको रङ्गीचङ्गी फूल फुलेको एउटा सुन्दर बगैँचा हो । यो नेपालको आफ्नै छुट्टै विशेषता र पहिचान हो । यस्तो सुन्दर बगैँचामा रङ्गीचङ्गी फूलरूपी भाषाहरू क्रमशःओइलाउँदै र हराउँदै गएका छन् । भाषा बचाउ आन्दोलनमा लागेका व्यक्ति, सङ्घ, संस्था, शासक दल र सरकारमा घाम नलाग्ने हो भने एक दिन यो सुन्दर बगैँचा फूलविहीन बगैँचा बन्न बेर छैन । भाषा बचाउ आन्दोलनमा लागेका मानिसले नै आफ्ना सन्तानलाई आफ्नो मातृभाषा सिकाएका छैनन्; बोल्न पे्ररित गरेका छैनन् । श्राद्ध गरेजस्तो हाम्रो भाषा प्राणभन्दा प्यारो छ भनी भिन्तुना भनेर भाषा जीवित हुँदैन ।
सबै जातजाति, भाषाभाषीका मान्छेले आफ्नो सन्तानलाई आफ्नो मातृभाषा नसिकाउँदा नेवारका सन्तानले नेवार भाषा बोल्न जाँदैन, तामाङका सन्तानले तामाङ भाषा बोल्न जाँदैन । त्यस्तै शेर्पा, गुरुङ, राई, लिम्बु, यादव वा चौधरी आदिका सन्तानले ती भाषा बोल्न जाँदैनन् । निश्चय नै पढ्न र सिक्नको लागि नेपाली र अङ्ग्रेजीलगायतका भाषा बोल्नु र लेख्नु ठीक छ तर आफ्नो मातृभाषा पनि बोल्नुपर्छ । विदेशमा नेपाली भाषामा बोल्दा के बेइज्जत हुन्छ ? जुन भाषा हाम्रो नेपालको संस्कृति, पहिचान र गौरव हो । चीनका राष्ट्रपति सि चिन फिङ, जापानलगायतका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री विदेशमा पनि आफ्नै देशको भाषामा बोल्छन् । भाषा बोल्ने, बचाउने र संरक्षण गर्ने जनता नै हुन् ।
नेपालभाषा साहित्य तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित), पार्टी सचिव एवं सङ्घीय सांसद प्रेम सुवाल, पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख एवं आर्किटेक्ट इन्जिनियर रजनी जोशी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, शिक्षक एवं कवि हरिहर तिमिल्सिना, कवि अनिल पौडेल, जनकवि दुर्गालाल श्रेष्ठ, चन्द्रबहादुर उलक, दामोदर सुवाल, सम्पदा संरक्षण अभियन्ता भागवत नरसिहं प्रधान, सम्पदाविद् एवं प्राध्यापक सुदर्शनराज तिवारी, कवयित्री सुलोचना मानन्धर, इतिहासकार एवं नियात्राकार देवीचन्द्र श्रेष्ठ, लेखक एवं इन्जिनियर रामविन्दु श्रेष्ठ, ज्योतिषशास्त्री डा. वीरेन्द्रप्रसाद कायष्ठ, जलस्रोतविद् रतन भण्डारी, प्रा. डा जटाधर झा, प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ, प्रा.डा. राजेन्द्र कोजु, डा.शम्भु पहाडी, डा. सरोज धिताल, प्रा.डा.सिद्धिवीर कर्माचार्य, स्त्रीरोग विशेषज्ञ डा.सानुमाया श्रेष्ठ, लेखक एवं स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, कवि अभय श्रेष्ठ, साहित्यकार सूर्यप्रसाद लाकोजु, विद्वान बज्रमुनि बज्राचार्य, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, शताब्दी पुरुष सत्यमोहन जोशीका सुपुत्र एवं अनुवादक अनुराज जोशीलगायतका वरिष्ठ राजनीतिज्ञ, कानुनविद्, जलस्रोतविद्, शिक्षाविद्, इतिहासकार, भाषाविद्, ज्योतिषशास्त्री, कवि, चिकित्सक, मानवअधिकारकर्मी,साहित्यकार, लेखक, गायक आदिले मन्तव्य, कविता, कथा, निबन्ध, गीत, नृत्य, नाटक आदिमार्फत हजारौँ र सञ्चारमाध्यमबाट देश र विदेशका लाखौँ नेपाली जनतालाई प्रशिक्षण दिने काम भयो । सम्मानित व्यक्तित्व जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षण अभियन्ता भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी, सामाजिक कार्यकर्ता जगतलाल मानन्धर, सफाइकर्मी गणेशराम दुवाल, अग्रज किसान कार्यकर्ता ललितबहादुर अवाल, कार्यक्रमका सभापतिद्वय ख्वप इन्जिनियरङ कलेजका उपप्राध्यापक रत्नशोभा प्रजापति, अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवं सम्पदाप्रेमी विनोदचरण राय आदि सबै समाज र देशका प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ ।
नेपालभाषा साहित्य तःमुंज्यामा हिमाल,पहाड,तराईका गरिब, अन्याय, शोषण, उत्पीडन, अतिक्रमण र हस्तक्षेपको विरोधमा तथा बहुमत जनताको पक्षमा आवाज उठाइएको छ । प्यालेस्टिनलगायतका देश र जनताको स्वतन्त्रता र स्वाधीनताको पक्षमा बोलेको छ† जातीय नरसंहारकारी इजरायली शासक, प्यालेस्टिनी जनताको नरसंहार गर्न उक्साउने, हातहतियार सहयोग गर्ने, बेच्ने साम्राज्यवादी, विस्तारवादी, उपनिवेशवादी देशहरूका विरुद्व आवाज उठाइएको छ । यो अन्तर्राष्ट्रवादी धर्म हो । अतः तःमुंज्यालाई जनताको विश्वविद्यालय भनिएको हो । व्यापक कामदार जनताको विश्वविद्यालय बन्ने डरले नै शासक दलहरूले ख्वप विश्वविद्यालयको स्वीकृति दिन आनाकानी गरिरहेका छन् ।
नेपालभाषा साहित्य तःमुंज्याका प्रमुख अतिथि एवं वरिष्ठ राजनीतिज्ञ, माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले गोर्की र लुसुनजस्तै बहुमत कामदार जनताको पक्षमा जनताले बुझ्ने भाषामा लेखेको साहित्य मात्र प्रगतिशील साहित्य हुन्छ भन्नुभयो । यस्तो साहित्यले मात्र व्यापक जनताको हितमा परिवर्तन ल्याउन सहयोग गर्छ । यस्तै साहित्यले चीन, रुस, क्युवा, उत्तर कोरिया, भियतनामलगायतका देशमा क्रान्ति गर्न मद्दत गरेको थियो ।
राजनीति देशको मूल नीति हो । यो मूलनीति दलले अँगालेको सिद्वान्त र आदर्शअनुसार बनाउँछ । राजनीति जनताकेन्द्रित हुनुपर्छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेमकिपाले जस्तै अरु दलका नेताहरूले काम गरेका भए देश आज स्वर्ग बन्ने थियो तर उनीहरूले देशलाई नर्क बनाए भनी आक्रोश पोख्नुभयो ।
यसरी चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्यामा सहभागी विभिन्न क्षेत्र र विषयका अतिथिहरूले देशको भूगोल, प्रकृति, राजनीति, विज्ञान प्रविधि, इन्जिनियरिङ, चिकित्सा, भाषा, कला, साहित्य, इतिहास, कानुन आदि विषयमा जनतालाई दीक्षित पार्ने काम गरेका छन् । अत तःमुंज्याले जनताको विश्वविद्यालयको झझल्को दिएको छ भन्दा फरक पर्दैन ।
Leave a Reply