भर्खरै :

भाज्या पुखुको दक्षिण डिल र भक्तपुर बहुमुखी क्याम्पस

भाज्या पुखुको दक्षिण डिल र भक्तपुर बहुमुखी क्याम्पस

गत फागुन २५ गते (मार्च ८, २०२४) को दिन आयोजित भक्तपुरको दूधपाटीस्थित भाज्या पुखु एवम् जलेश्वर मन्दिरको उद्घाटन समारोहमा सरिक हुने अवसर मिल्यो । निकै नै सुन्दर एवम् आकर्षक तथा मौलिक परम्परागत शैलीमा पुनर्निर्माण कार्य सम्पन्न भएको उक्त पोखरी र मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गर्नुभएको थियो । पोखरी परिसर पूर्व–पश्चिमतिरको डिल खुला बाटोको रूपमा चलन चल्तीमा थियो भने उत्तरतिरको डिल पनि अहिले खुलिसकेको छ । दक्षिणतिरको डिल भक्तपुर बहुमुखी क्याम्पसले काँडाको तार जालीले बाँडिराखेको अवस्था थियो ।
उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दक्षिण डिल व्यवस्थापन गर्नेबारे क्याम्पससँग कुरा भइराखेको र छिट्टै सहमतिमा पुग्ने कुरा बताउनुभएको थियो । उक्त समारोहमा क्याम्पस प्रमुख पनि मञ्चमा आसीन हुनुहुन्थ्यो ।
पटकपटकको आग्रह र पत्राचार गर्दा पनि कुनै सुनुवाइ नभएपछि भक्तपुर नगरपालिकाले कार्तिक ७ गते डोजर लगाएर सिमानाको संरचना भत्कायो । यसबाट भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद भयो । सोही विषयमा कुरा गर्न कार्तिक ११ गते आइतबार सरोकारवाला दुवै पक्षले क्याम्पस र नगरपालिकाबिचको असमझदारी सौहार्द तरिकाले टुङ्ग्याउनुपर्नेमा जोड दिए । उक्त बैठकमा त्रिविका रजिस्टारले पोखरीको डिल निर्माण र क्याम्पसको पर्खाल निर्माणले दुवैको सुन्दरता वृद्धि हुनेमा दुईमत नहुने र भक्तपुरको सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताए ।
१. भाज्या पुखुको जनस्रुति
नेपालको कतिपय इतिहासका कुराहरू अझै गर्भमा रहेको छ । कतिपय पुराना कुराहरू बुढापाका वा जनस्रुतिको रूपमा हामीले थाहा पाउने गरेका छौँ । यत्रतत्र छरिएर रहेका पुरातात्विक वस्तुहरूले धेरै कुरा भन्न खोजे तापनि हामीले बुझ्न सकिरहेका छैनौँ ।
भाज्या पुखुको यस्तै कथा गर्भमा लुकेर बसेको थियो । बच्चा बेलामा हामीले भाजु कस भन्ने भारदारले एकैदिनमा पोखरी बनाएर देखाउने सोचले काम सुरु गरेको तर काम नसकिँदै भाले बाँसेपछि काम रोकेको र बिचको थुम्को त्यहीँ भएर बाँकी रहेको भन्ने सुनेका थियौँ । तर, पोखरी पुनःनिर्माण र उत्खनन गर्ने क्रममा पोखरी ८ सय वर्ष पुरानो रहेको प्रमाण त्यस कार्यमा संलग्न रहेका विज्ञहरूबाट थाहा भयो । बिचको बाँकी रहेको थुम्को जलेश्वर महादेवको शिखर शैलीको मन्दिरको भग्नावशेष पो रहेछ । हाल नगरपालिकाले अनुसन्धानबाट पत्ता लागेको प्रमाणअनुसारकै जलेश्वर महादेवको मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको छ । यसको लागि भक्तपुर नगरपालिकालाई धेरै धन्यवाद !
२. पोखरीको दक्षिणतिरको डिलबारे
भक्तपुर बहुमुखी क्याम्पस र नगरपालिकाको विवादित पोखरीको दक्षिणतिरको डिलको प्रमाणको आधारमा निर्णय गर्ने कुरा हो । विसं २०२१ सालसम्म सार्वजनिक भएको पोखरीको डिल कसरी क्याम्पसको सिमानाभित्र गाभियो ? छानबिन गर्नुपर्ने विषय हो । नापी कार्यालयका कर्मचारीको बदमासीका कारण यस्ता विवादहरू सिर्जना भएको अन्यतिर धेरै उदाहरण हामी भेटाउँछौँ । हामी विसं २०४१÷४२ सालतिर भक्तपुर बहुमुखी क्याम्पस पढ्न गएको बेलासम्म क्याम्पसको सिमाना पोखरीको डिलबाट धेरै भित्र थियो । नयाँ नयाँ क्याम्पसका प्रशासनिक कर्मचारी, शिक्षक र विद्यार्थीहरूलाई यो कुरा थाहा नहुन सक्छ अथवा योबारेमा पुराना क्याम्पस प्रशासकहरूबाट बुझेर आफ्नो कुरा राख्नु राम्रो हुने देख्छु । भक्तपुरको सन्दर्भमा यस्ता धेरै सम्पदाहरू सार्वजनिक गर्ने प्रयासहरू भइरहेको छ । सैनिक आवासीय माध्यमिक विद्यालयले चर्चेर राखेको भक्तपुरको रानीपोखरी लगातारको प्रयासपछि पुनर्निर्माणको साथै सर्वसाधारणको लागि खुला गरिएको छ । भाज्या पुखुकै उत्तर–पश्चिमतिरको बाटो पहिले सानो, अप्ठ्यारो घुमाउरो गल्लीजस्तै थियो । नगरपालिकाले दमकल कार्यालयसँगको समन्वयमा दमकल कार्यालयले जग्गा छोडेर बाटो सिधा र चौडा पनि बनेको छ । यो किसिमको समन्वय ज्यादै नै सराहनीय छ ।
भक्तपुर बहुमुखी क्याम्पस र भाज्या पुखु भक्तपुरको मात्र होइन नेपालकै सम्पत्ति र सांस्कृतिक सम्पदा हो । नगरपालिकाले पोखरीको डिल खोलेर क्याम्पसको पर्खाल र गेट निर्माण गरिदिने कुरा सकारात्मक छ । यही कुरालाई लिएर नगरपालिका र पार्टीलाई अनेक लान्छना लगाउने विषय राम्रो होइन । पुरानो तथ्य प्रमाणका साथ आफ्ना कुरा राख्दा राम्रो हुनेछ । सबैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *