भर्खरै :

सत्तासीन दलका नेताहरू नै सरकारप्रति असन्तुष्ट

सत्तासीन दलका नेताहरू नै सरकारप्रति असन्तुष्ट

काठमाडौँ, २६ कार्तिक । पञ्चायती व्यवस्था अन्त्यसँगै बहुदलीय व्यवस्था हुँदै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक र गणतान्त्रिक भनिने दलका नेताहरूले पटक पटक सरकारको नेतृत्व गरे । तर, सरकारको नेतृत्व गर्ने दलहरूको सरकारको राजनीति सही भएन । मूल सङलो भएन भने कुलो सङलो हुँदैन भनेझैँ दलका शीर्ष नेताहरूमा सही लाइन या सही विचार भएन भने त्यस दल मातहतका वर्गीय सङ्गठन र अन्य नेता तथा कार्यकर्ताहरू पनि सही ठाउँमा हुनेछैनन् । आज सत्तासीन र ठुला दलका नेताहरू निःस्वार्थी र इमानदार नहुँदा माथिल्लो तहका नेतादेखि स्थानीय तहका कार्यकर्ता र जनप्रतिनिधिहरू भ्रष्टाचार, अनियमितता र आपराधिक काममा फसे । देशमा भ्रष्टाचार शून्य बनाउन, सुशासनको अनुभूति दिन अघि बढ्नुपर्ने सत्तासीन दलका नेताहरू नै त्यस्तो काममा फसेपछि जनताले सरकारलाई कसरी विश्वास गर्ने ?
समाज वर्गमा विभाजित छ; यो सत्य हो । हुनेखाने र हुँदाखाने वर्गबिच बेमेल हुनु पनि यथार्थ हो । एक थरीले जीवनमा जोहो गर्न परिश्रम या पसिना बगाउनु पर्दैन भने अर्को थरीले श्रम नगरी सुखै छैन । श्रमको भरमा बाँच्न बाध्य वर्गलाई जीनव सुनिश्चित बनाउने आधार सरकारले तयार गर्नुपर्छ कि पर्दैन ? त्यो काम कुनै दलको सरकारले गरेको छैन । यसकारण, प्रत्येक पटकको निर्वाचनमा फरक फरक दलको सरकार बन्यो । कहिले बहुमतको सरकार त कहिले संयुक्त सरकार बन्यो । न बहुमतको सरकार टिक्यो न संयुक्त सरकार नै टिक्यो । सत्तासीन दलले बहुमत जनताको पक्षमा काम गर्न सकेन; जनताको विश्वास जित्ने काम गर्न सकेन । बरु देश, दल र जनताकै बदनाम हुने काम सत्तासीन दलका नेताहरूबाट भयो । संयुक्त दलको सरकारमा मात्र होइन बहुमत प्राप्त सत्तासीन दलका नेताहरूबिच पनि अन्तद्र्वन्द्व भयो; नेतृत्व फेर्नु प¥यो या अविश्वास बढ्यो । दल दलबिच त झनै अविश्वास हुने भयो । एउटै पार्टीभित्रका नेताहरूबिच देखिएको अविश्वास अन्य दल दलबिच हुनुमा के आश्चर्य । माओवादी र एमालेको एकता त्यस्तै अविश्वास, सत्ता र पदको राजनीति चरमोत्कर्षमा पुगेर अन्ततः पार्टी नै फुट्यो ।
अहिलेको दुई ठुला दलको संयुक्त सरकारले पनि जनताको विश्वास जित्ने खालको काम गर्न सकेन । नेकाका शीर्ष नेताहरू नै सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । सत्तासीन दलका शीर्ष नेताहरूले इमानदार, निःस्वार्थी, चरित्रवान, नैतिकवान नेता तथा कार्यकर्ता तयार गर्न सकेनन् । ठुला दलका नेता तथा कार्यकर्ताहरू सत्ता, शक्ति र सम्पत्ति आय आर्जनमा दौडधूप भए; कुर्सी र धनार्जनको निम्ति तँछाडमछाड गर्न थाले । पार्टी र वर्गीय सङ्गठनको निर्वाचनमा पदको निम्ति ज्यानको बाजी राखेर लड्न थाले† राजनीति र सेवाभन्दा पद ठुलो सम्झे । उनीहरू जवाफदेही भएनन् । उनीहरूमा कर्तव्यबोध भएन । देश, जनता, पार्टी र समाजप्रति कर्तव्यबोध नहुने दल र दलका नेताहरू कसरी देश र जनताप्रति समर्पित हुन्छन् ? के सरकारको काम नेताहरू सिंहासनमा बस्नुमात्र हो । जनतामाथि रजाइँ गर्नु हो ? सन्तुलित विकास गरेर रोजगारीको व्यवस्था गर्नुपर्दैन ? देशलाई आत्मनिर्भर बनाउने पूर्वाधार तयार गर्नुपर्दैन ? ऋणमुक्त देश बनाउन आयस्रोत बढाउने पूर्वाधारहरू तयार गर्नुपर्दैन ? स्वदेशमै रोजगारी व्यवस्था गरेर बाँच्ने आधार तयार गर्नुपर्दैन ? अपराधीहरूलाई कारबाही गरेर देशमा सुशासन ल्याउनु पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *