३८ वर्षपछि पनि खोजिरहेको, खोजिरहने एउटा फाइल ‘भक्तपुर काण्ड’ !
- भाद्र २९, २०८३
संरा अमेरिकी सञ्चार माध्यम ‘द ग्रेजोन’ का खोज पत्रकार किट क्लारेनवर्गको यही भदौ २४ गते ‘सरकार परिवर्तनको अमेरिकी आवरणमा नेपालका नयाँ नेताहरू हुर्काइएको’ लेख सार्वजनिक भयो । निर्वाचन तथा राजनीतिक प्रक्रिया सबलीकरणको लागि साझेदारी समूह (CEPPS) ले रास्वपाका रवि लामिछाने, बालेन साह, सागर ढकाल, सुदन गुरूङलाई सहयोग गर्नुपर्ने सूचीमा राखेको थियो । CEPPS संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएबाट सञ्चालित प्रजातन्त्रको लागि राष्ट्रिय सहयोग (NED) को एउटा शाखा भएको, अर्को शाखा अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्था (IRI) भएको, आईआरआईको दुई प्रतिष्ठान निर्वाचन प्रणालीका अन्तराष्ट्रिय प्रतिष्ठान (IFES) र राष्ट्रिय प्रजातन्त्र प्रतिष्ठान (NDI) भएको सो लेखमा उल्लेख छ । यी अमेरिकी संस्थाहरूले नेपालको गत वर्ष भदौ २३ र २४ गतेको विद्रोहलाई उक्साएको पनि लेखमा उल्लेख छ । सो लेखमा रास्वपा र ‘हामी नेपाल’ लाई CEPPS ले चासोको सूचीमा राखेको, NED प्रायोजित CEPPS ले तालिम दिएका नेपालका धेरै नयाँ अनुहारलाई रास्वपाका नेता र सांसद बनाइएको पनि उल्लेख छ ।
नेपालका कतिपय सञ्चारमाध्यममा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवलाई जेनजीको स्वतःस्फूर्त क्रान्ति भनी लेखिएको तर नेडले नेपाली युवालाई अराजकता पैदा गर्न सिकाएको सो लेखमा उल्लेख छ । नेकाको समर्थन प्राप्त एमालेका प्रधानमन्त्री केपी ओलीले भदौ २४ गते राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको सिफारिसअनुसार संंविधानविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गरे । अन्तरिम सरकारले जेनजी प्रदर्शनको क्षतिबारे छानबिन गर्न विशेष अदालतका पूर्वमुख्यन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा असोज ५ गते आयोग गठन ग¥यो । सो आयोगले ढिलो गरी अर्थात् फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन सकिएपछि फागुन २४ गतेमात्र प्रतिवेदन पेस ग¥यो । सो प्रतिवेदन सञ्चारमाध्यममा प्रकाशित भयो तर सरकारले औपचारिक रूपमा सार्वजनिक गरेन । सो प्रतिवेदनमा उल्लेख आरोपीहरूलाई पनि रास्वपाबाट चुनावमा जिताइयो ।
कार्की आयोगको प्रतिवेदनमा भदौ २४ गते बिहान ‘हामी नेपाल’ का सुधन गुरूङ नेपाली सेनाको मुख्यालयमा पुगेको र ‘हामी नेपाल’ को ‘युथ अगेन्स्ट करप्सन’, र ‘युवा हब’ नाम भएका दुई ओटा सर्भर
(भर्चुअल समुदाय) डिस्कर्डमा बढी सक्रिय भएको, सन् २०२५ मा अमेरिकी युवाहरूले गेमरहरूबिच सहकार्यको लागि डिस्कर्ड निर्माण गरिएको, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीलालाई डिस्कर्डमा मत लिएर चयन गरिएको पनि उल्लेख छ । सामाजिक सञ्जाल सन् २०१० मा प्रवेश भएको अल्गोरिदम गलत सूचना फैलाउने विष जस्तै भएको, भदौ २३ गतेपूर्व नै नेपाली जेनजी आन्दोलनकर्ताले “श्रीलङ्काले ग¥यो, बङ्गलादेशले ग¥यो, अब नेपालको पालो, हामी गोर्खाली उठ्ने समय भएको छ” लगायत पोस्ट गरेको पनि कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ ।
केही सामाजिक सञ्जालमा प्रेषित भएका सूचनामा भदौ २३ गते अघि नै एआई निर्मित सिंहदरबारलगायत सार्वजनिक संस्था जलाइएको, विध्वंस गरिएको भिडियोहरू रहेको, डिस्कर्डको एउटा समूहमा पेट्रोल बम बनाउने, तोडफोड, लुटपाट र आगजनी गर्न प्रेषित गरिएको तर यी सबै पे्रषित विषयलाई तत्कालीन ओली सरकारले बेवास्ता गरी बसेको पनि कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी खोज पत्रकार क्लारेनवर्गले आफ्नो लेखमा सीआईएको छाया नेडले अमेरिकी अनुकूल नबस्ने निकारागुआ, भेनेजुयला, युक्रेन, हाइटीमा सरकारविरोधीहरूलाई उक्साएको, सुशीला कार्कीको अन्तरिम सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदनअनुसार जेनजी प्रदर्शनको नाममा निहत्था जनताको हत्या र देशभरिझैँ आगजनी गर्ने आरोपीमाथि कारबाही नगरेको बरू नयाँ पार्टी खोल्न लगाई तिनीहरूलाई सरकारमा पुग्ने गरी निर्वाचन प्रचार गर्न सिकाएको उल्लेख छ । यथार्थ पनि यही हो । देश र जनताको निःस्वार्थ सेवाको लागि स्थापना भएका राजनीतिक पार्टीहरू २–४ वर्षमा सरकारमा पुग्ने गरी चुनाव जितेको कतै नभएको पनि अध्येताहरू बताउँदै छन् ।
कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि बानेश्वरमा तिब्बती शुद्ध रगत (TOB) लेखिएको कालो शर्ट लगाएका मोटरसाइकल पड्काउँदै चालकहरू होहल्लामा लागेपछि प्रहरीसँग भिडन्त सुरू भएको, बानेश्वरका प्रत्यक्षदर्शीका अनुसार कफ्र्यु जारी गर्नुअघि प्रशासनले मेगाफोनमार्फत सूचना दिएको तर प्रभावकारी नभएको र त्यसैको परिणाम हताहत धेरै भएको उल्लेख छ ।
भदौ २३ र २४ गतेको उपद्रवअगाडि नै संरा अमेरिकी संस्थाहरू सीआईए, नेड, आइआरआई, CEPPS, NDI, IFES, SFT, लगायतका संलग्न रहेका विदेशी सञ्चारमाध्यममा प्रकाशित भइरहे पनि यसबारे त्यसबेलाका सरकार प्रमुख एमालेका केपी ओली र ओलीलाई समर्थन गर्ने नेकाका देउवा, गगन लगायतले केही बोलिरहेका छैनन् । ओलीले त्यसबेला सुरक्षा निकायका प्रमुखहरूलाई ‘आ–आफ्नो जिम्मेवारी बहनु गर्नू’ भनी निर्देशन दिएको बोले । उनले अमेरिकी संस्थाहरूबाट नेपाली युवालाई उपद्रवको प्रशिक्षण भएको बारे किन बोलेनन् ? यो प्रश्न हालसम्म अनुत्तरित छ ।
नेका र एमालेका समर्थनमा तीनपटक प्रधानमन्त्री भएका तत्कालीन माओवादी र हाल नेकपा भनिएका पुष्पकमल दाहालले केही समयअघि आफूलाई टीओबी, बारबरालगायतको गतिविधिबारे थाहा भएको तर नेका, एमालेसमेतको तागतको अगाडि तिनीहरूको केही नलाग्ने भनी मौन बसेको खुलासा गरेका थिए । दाहालले जेनजीको भदौ २३ गतेको आन्दोलनलाई यथार्थ र भदौ २४ गतेपछि विदेशी घुसपैठ भएको बताए । उनले पनि कुन विदेशी घुसपैठ भए स्पष्ट भन्न सकेनन् । के देउवा, ओली, दाहाल, गगनलगायत ३५ वर्षयता पटक पटक सरकारमा गएका दलका नेताहरूले अमेरिकी खोज पत्रकार क्लारेनवर्ग र जिम नोरेकासका लेखहरू जसमा जेनजी उपद्रवमा संरा अमेरिकी सरकारका गुप्तचर संस्था सीआईए र यसअन्तर्गतका संस्थाहरू संलग्न भएको अध्ययन गरेका छैनन् ? के यी नेताहरू यति अनभिज्ञ हुन् ?
Leave a Reply